चितवन– अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरू दैनिक जलेर खरानी बनिरहेका छन् । मृत्युपछि जलेर खेर जाने नानी प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा कैयन्का लागि संसार अझै अन्धाकारमय छ ।
यकिन तथ्याङ्क नभए पनि ग्रामीण क्षेत्रमा धेरैजसो बासिन्दा आँखाको नानीको समस्याका कारण अन्धोपनामै जीउन बाध्य छन् । भरतपुर आँखा अस्पतालले आँखाको नानी सङ्कलन सुरु गरेको पाँच वर्षमा १८ जनाबाट ३५ वटा नानी मात्रै सङ्कलन भएको छ । यो संख्या देवघाटमा दैनिकअन्त्येष्टि गर्न ल्याउने शवको संख्याभन्दा निकै कम हो ।
कोभिडका कारण धेरै काम हुन नसके पनि पछिल्ला दिनमा संख्या बढेको पाइएको छ । आँखा दान गरे अर्काे जुनिमा अन्धो भइन्छ भन्ने अन्धविश्वास र आँखा दान गर्दा सिङ्गो आँखा नै निकाल्नुपर्छ भन्ने भ्रमका कारण धेरैले नानी दान गर्न इच्छुक हुँदैनन् ।
‘आँखा दानकै कारण अर्काे जुनीमा अन्धो हुने होइन । आफ्नो आँखाका कारण अर्काे दुई जीवित व्यक्तिले संसार देख्न पाउँछन् । यो त झन् पुण्यको काम हो भनेर बुझाउन सकिएको छैन,’ संघका सभापति कृष्णराज धरेलले भन्नुभयो, ‘मेरा बुबाको स्वर्गारोहणपछि गत महिना मात्रै हामीले बुबाको आँखा दान गर्यौँ । यसबाट हामीलाई सन्तुष्टि मिलेको छ ।’
आँखाको नानी झिक्दै गर्दा माथिल्लो झिल्ली निकालेर प्लाष्टिकको झिल्ली राख्ने गरिन्छ । यसरी निकालिएको नानीका कारण मृतकको आँखाको स्वरुपमा परिवर्तन आउँदैन । धरेलले भन्नुभयो, ‘नानी निकालेको, ननिकालेको थाहै हुँदैन ।’
भरतपुर आँखा अस्पतालमा विगत पाँच वर्षमा ८ सय ४४ ले आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् । १ सय १४ ले प्रत्यारोपण गरेका छन् । प्रत्यारोपण गर्न चाहने धेरै छन् भने दान गर्ने कम । कर्निया विशेषज्ञ डा. पुष्पा गिरीले आँखा दानसम्बन्धी जनचेतनामा कमी भएको बताउनुभयो ।
मानिसको मृत्यु भएको ८ घण्टाभित्र आँखाको नानी सङ्कलन गर्न सकिन्छ । ‘मृत्यु भएपछि जति छिटो नानी सङ्कलन गर्न सकियो त्यति नै राम्रो हुन्छ । ‘अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।’
नानी निकालेपछि पुनः कृत्रिम नानी राखेर पहिलेजस्तै अवस्थामा राखिन्छ । डा. गिरीका अनुसार आँखाको नानीमा चोट लागेका, सरुवा रोग भएका, क्यान्सर भएका व्यक्तिबाहेक सबैको आँखाको नानी निकालेर प्रत्यारोपण गर्न सकिन्छ । भर्खर जन्मिएको बच्चादेखि वृद्धसम्मलाई नै आँखा प्रत्यारोपण गर्न सकिन्छ ।
आँखाको भित्री नसा र पर्सा राम्रो तर नानीमा समस्या भएकालाई प्रत्यारोपण गर्न सकिने अस्पतालका डा. मारिया गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैलाई प्रत्यारोपणबाटै संसार देखाउन सकिन्छ ।’ अस्पतालका अर्का चिकित्सक मनिषा श्रेष्ठले आँखाको नानी प्रत्यारोपण गर्न चाहने बढ्दो भएको बताउनुभयो । समयमै आम नागरिकलाई सन्देश प्रवाह गरेर नानी संकलन गर्न सके धेरैलाई दृष्टि सकिने उहाँको भनाइ छ ।
यहाँ सङ्कलन गरिएको नानी काठमाडौँको तिलगङ्गास्थित नेपाल आँखा बैंकमा पठाउने गरिएको छ । तिलगङ्गामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपणका लागि आवश्यक नानी पनि तिलगङ्गाबाटै ल्याउने गरिएको छ ।
अस्पतालका आँखा बैंक संयोजक छाया श्रेष्ठले आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्नसक्ने बताउनुभयो । बाह्र घण्टाभित्र नानी सङ्कलन गरेर अस्पताल आइपुग्ने ठाउँमा पुगेर सङ्कलन गरिने उहाँको भनाइ थियो । ‘अस्पताल वा घर जहाँ भए पनि हामी २४ सैँ घण्टा नानी सङ्कलन गर्छौं,’ उहाँले भन्नुभयो, ‘धेरै टाढा भए सोही स्थानको आँखा अस्पतालसँग समन्वय गरेर नानी सङ्कलन गर्ने व्यवस्था मिलाउँछौं ।’ रासस