‘अभिभावक’ शब्द संस्कृत तत्सम शब्द हो जसको अर्थ हुन्छ– पालनपोषण गर्ने, हेरविचार गर्ने वा संरक्षक । शैक्षिक क्षेत्रमा यसको प्रयोग छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने अर्थमा प्रयोग भएको पाइन्छ । यस लेखमा अभिभावक शब्दको नालिबेली केलाउनु भन्दा पनि आजको परिवेशमा आफ्ना सन्तान तथा छात्रछात्राप्रति अभिभावकले कस्तो भूमिका निर्वाह गर्नुपर्दछ भन्ने विषयलाई उठान गर्न खोजिएको छ ।
हिजोको अभिभावकत्व आफ्ना सन्तानमा सद्गुण विकास होस् भन्ने मान्यतामा आधारित थियो । भविष्यप्रतिको चिन्ताभन्दा कर्तव्य, दायित्व र इमान्दारितामा जोड दिइन्थ्यो भने सन्तानको दिनचर्या र जीवन शैलीप्रति मातापिता तथा अभिभावक जानकार हुन्थे । गुणदोष पहिचान गराउने कार्य हुन्थ्यो ।
आज हेर्दा केही भिन्न महसुस गर्न सकिन्छ । आफ्ना सन्तानलाई ऐच्छिक स्वतन्त्रता प्रदान गर्नु, लुगाकपडा, कापी, किताब, पोशाक, शुल्क आदि उपलब्ध गराउनु, सन्तानको गुणको बखान गर्नु, उनीहरूका गल्तीलाई लुकाएर आफू इमान्दार बन्न चाहनु आजको अभिभावकत्व हो कि भन्ने स्थिति सिर्जना भएको छ । वर्तमान अवस्थामा अभिभावक सम्पूर्ण रूपमा आफ्ना सन्ततिको शैक्षिक उन्नयन खोज्दा खोज्दै पनि असफल बन्दै गएको देखिन्छ ।
विद्यार्थीका समस्याप्रति हामी धेरै जानकार छौं। तर समाधानका लागि हामी सही अर्थमा व्यावहारिक रूपमै प्रयत्नशील छौं कि छैनौं भन्ने नै अहिलेको मूल प्रश्न हो । शिक्षण पेसाबाट प्राप्त अनुभव, विभिन्न शिक्षण सिकाइका सिद्धान्तहरू, बालमनोविज्ञान, विद्यार्थी र अभिभावकसँगको निकटता, कुराकानी, छलफल, विद्यालय र विद्यालयप्रति अभिभावकको अपेक्षा आदि जस्ता विषयवस्तुलाई हामीले कुराकानीकाे विषय मात्र बनाएका छाैं कि तिनलाई व्यवहारमा उतार्ने प्रयत्न पनि गरेका छाैं ? आजका अभिभावक, विद्यालय र शिक्षक प्रत्येकले एक अर्काप्रति गर्ने अपेक्षा र उनीहरूबाट निर्वाह भइरहेको भूमिका यथार्थमै वस्तुनिष्ठ र परिपूरक छन् कि दाेषाराेपण गर्ने प्रकृतिका मात्रै छन् ? यी केही यस्ता सवाल हुन् जसकाे आलाेकमा हामीले आजका विद्यार्थीकाे भविष्य नियाल्नुपर्ने हुन्छ ।
विद्यार्थी किताब रट्ने मेसिन होइनन् । उनीहरूभित्र अथाह सिर्जना, प्रतिभा र अनगिन्ती सम्भावना लुकेको हुन्छ । परीक्षामा प्राप्त गरेको अङ्कले मात्र उनीहरूभित्रका अथाह प्रतिभाको गुणस्तरलाई मापन गर्दैन । हामी अभिभावकहरू आफ्ना सन्तान ६ घण्टा रहने विद्यालयको भूमिका बढी खोज्न थालेका छौं र ‘विद्यार्थीको पहिलो पाठशाला घर हो’ भन्ने मर्मलाई बिर्संदै गएका छौं । घर विद्यार्थीको खाने, खेल्ने, सुत्ने र विश्राम गर्ने थलो मात्र होइन भन्ने कुरालाई हामीले मनन गर्नु आवश्यक छ । यसो गरेमा हाम्रो घर विद्यालयमा सिकेको औपचारिक र अन्य ठाउँहरूबाट सिकेको अनौपचारिक ज्ञानको प्रयोगस्थल बन्न सक्छ र यथार्थमा हुनुपर्ने यही हो । जुन कार्य गर्नबाट हामी चुक्दै गइरहेका छौं ।
आज अभिभावक र विद्यार्थीहरूका बिचमा ठूलो खाडल देखापर्दै गएको छ । विद्यालय पक्कै पनि राम्रो हुनुपर्छ । यसमा दुइ मत छैन। यद्यपि विद्यालय राम्रो हुँदैमा विद्यार्थी स्वतः राम्रो हुन्छ भन्न सकिन्न किनकि सिकाइ विद्यालयको कक्षाकोठा मात्र सीमित हुँदैन । विद्यार्थीको जीवनसँग जोडिएका कुरालाई आकृतिकरण गर्ने कार्य विद्यालयले गर्दछ ।
अभिभावकले विद्यालयमा गएर विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई तपाईंको जिम्मामा छाडेका छौं ,जे बनाइदिने हो बनाईदिनुहोस्, हामीलाई त फुर्सदै हुँदैन, हामी केही जान्दैनौं भन्ने जस्ता कुरा र व्यवहारबाट विद्यार्थीको सिकाइ अगाडि बढ्न सक्दैन । यसको साटो अभिभावकहरूले विद्यार्थीहरूलाई छोटो भएपनि गुणस्तरीय समय प्रदान गरेर उनीहरूसँग कुराकानी गर्ने, भावना साटासाट गर्ने, हाँसखेलमा सहभागी गराउने, पारिवारिक शान्तिमा ध्यान दिने कार्य गर्नु अति नै आवश्यक देखिन्छ । त्यसको साटो धर्मगुरुझैँ बनेर विद्यालयमा ‘यो वा त्यो भएन’ भन्दै गुनासो मात्र गर्नु वा पसाङ्ग्रिएको काठजस्तो बनेर अर्घेलो झिक्नु अनि वर्षको एकपटक विद्यालय हातामा प्रवेश गरेर लामो भाषण दिएर जानु समस्याको समाधान होइन ।
विद्यार्थी परिवारको स्नेह र संरक्षण चाहन्छ । बालबालिकालाई उपयुक्त माया र संरक्षण प्रदान गरी सकारात्मक व्यवहार गरेमा कुनै पनि सन्तान अभिभावकबाट टाढा हुँदैन । प्रारम्भमा भनेझैँ महँंगो कपडा र उसका शैक्षिक वस्तुहरू प्रदान गर्नु मात्र माया होइन भन्ने बुझ्नु जरुरी देखिन्छ । हामी अभिभावकले उनीहरूका आवश्यकतालाई सकारात्मक ढङ्गले पूरा गर्नुपर्दछ तर उनीहरूका सम्पूर्ण चाहनाहरू होइन ।
नकारात्मकता एउटा छुटाउनै नहुने समस्याका रूपमा रहेको छ । हाम्रो अभिभावकत्व नकारात्मकतातर्फ ज्यादा मोडिएको जस्तो देखिन्छ । ‘पढिनस् भने फेल हुन्छस्’ , ‘तँ हली बन्छस्’ ,‘तैँले के गरेर खालास् र ?’ ‘फलानो पढिरहेको छ तँचाहिँ आलु खा’ जस्ता अनेक वाक्य वाक्यांशबाट बालबालिकाको मस्तिष्क बिथोलिएको छ । हामीले अत्यन्त धेरै दबाब दिएर उनीहरूभित्रको सिर्जनालाई बन्द गरिदिएका छौं । हामीले यति धेरै माया गर्दा गर्दै पनि उनीहरूको खुसी लुटिएको छ । ‘यसो नगर र उसो नगर’ भन्दै हामीले हाम्रा कुराहरूमात्र लादिरहेका छौं । फलस्वरूप उनीहरूमा आत्मविश्वासको कमी, नैराश्यता, हीनताबोध आदिको भाव मौलाउँदै गएको छ ।
विद्यालय कुनै वस्तुको उत्पादन गर्ने कारखाना होइन, जहाँबाट उस्तै किसिमका वस्तुहरू उही तौल, आकृति र उस्तै स्वादका होउन् । हरेक बालबालिका फरक हुन्छन् । फरक जात जाति, वर्ण ,लिंग ,धर्म ,चालचलन र संस्कारबाट विद्यालयको कक्षाकोठामा एकत्रित भएका बालबालिकाबाट हामीले गर्ने अपेक्षा के हो वा कति अपेक्षा गर्ने भन्नेतर्फ ध्यान दिँदा मात्र पनि धेरै समस्या समाधान हुनसक्छन् ।
हामीले हाम्रो सन्तानबाट ज्यादै महत्वाकाङ्क्षा राख्यौं कि ? कतै उनीहरुका मनमा हामीले कसैसँग तुलना गरेर उभित्र हीनताबोधको थुप्रो लगाइदियौं कि ? हामीले उनीहरूको शैक्षिक उपलब्धिको बाधक र दुश्मनका रूपमा रहेको डरलाई उनीहरूको मनमा प्रवेश गराइदियौं कि? यी प्रश्नहरूमा हामी गम्भीर बन्नुपर्ने देखिन्छ । यसका अतिरिक्त गृहकार्यको बोझ, पढाइमा निरन्तरको दवाव आदि कुराहरू छुट्टै अध्ययनको पाटो हुनसक्छ ।
‘मेरो सन्तान हो तर मेरो सन्तान म होइन’ हामीले यसतर्फ विचार पुर्याउन नसकी हामी हाम्रा विगतका कथाहरू, भोगाइहरू, हाम्रा दुःखहरू जबरजस्ती सुनाइरहेका छौं । हामी हाम्रा हिजोका कुराहरू आफ्नो सन्तानलाई सुनाउन सक्छौं तर केही कुरा सिकाउन बाध्य पार्न सक्दैनाैं।
हामी हाम्रा बालबालिकाहरूलाई आफूजस्तै बनाउन कोसिस गरिरहेका छौं, जुन कुनै पनि दृष्टिले ठीक होइन । जसको फलस्वरुप हामी आफ्नै बालबालिकाप्रति सकारात्मक बन्न सकेनौं । हामीले आत्मीयता गुमाउँदै गयौं । हामीले सम्पूर्ण माया उनीहरूप्रति खन्याउँदा खन्याउँदै पनि उनीहरूले त्यसलाई अनुभूत गर्न सकेनन् । हामीमा भएको मायाको ट्याङ्की उनीहरूले पूर्णतः खाली भएको देख्न थाले । अनि बिस्तारै दुर्व्यवहारले स्थान पाउँदै गयो । यस्तो अवस्थामा न हामी खुसी हुन सक्यौं न हाम्रो बच्चा नै खुसी भयो ।
हामीले जानी नजानी आफू आमाबाबु भएको अभिमान गरिरहेका छौं । ‘म त आमा पो हुँ , तैले मसँग मुख मुखै लाग्ने ?’ भन्दै हाम्रो अहं भाव प्रस्तुत हुँदा आत्मीयता टाढियो । हामी हिटलर भयौं । गल्ती हामी पनि गर्छौं हाम्रा बालबालिकाले मात्र गर्दैनन् । आफू ठूलो भएको उन्मादमा हामीले गरेको गल्तीलाई स्वीकार्न नसक्दा पनि केही समस्याहरू देखिएका छन् जसले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर परिरहेको छ ।
सन्तानको दोष मात्र देख्ने प्रवृत्ति, कठोर आदेश दिएर त्यसलाई अक्षरशः पालना गर्नुपर्छ भन्ने विचार,पारिवारिक जिम्मेवारी बुझाउनुको साटो पारिवारिक किचलोबाट प्रभावित हुने स्थितिको सिर्जना, उचित आहार विहारको अभाव आदिका कारण बालबालिकामा झगडालु स्वभाव, मोबाईल आदिको अति प्रयोग, पढाइलाई बोझिलो ठान्ने प्रवृत्ति आदि देखिएको छ । यसले गर्दा अपेक्षाकृत शैक्षिक उपलब्धि हासिल हुन सकेको छैन ।
हामी अभिभावकले हाम्रा बालबालिकालाई राम्ररी पढी उनीहरुका चाहना नभई आवश्यकतालाई पूरा गर्दै नैतिकता, आचरण, मर्यादा र असल गुण सिकाउनु जरुरी भइसकेको छ । संस्कारको वास्तविक प्रयोगको थलो घर परिवार भएकाले बालबालिकाप्रति हाम्रो दायित्व ठूलो छ भन्ने कुरा बुझौं । हाम्रो विगत पक्कै कठोर थियो । समयको गतिशीलतासँगै जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । यसलाई सहजतापूर्वक लिँदै भूतकालको विचार त्यागेर वर्तमानमा बाँचौ ।
बालबालिकासँग कुराकानी गरौं । उनीहरूलाई हरेक कार्य गर्नमा निषेध नगरौं । गाली र आलोचनाभन्दा प्रशंसा धेरै गराै । आत्मविश्वास बढाउनेतर्फ लागौं । विद्यालय प्रशासन र विद्यालयका शिक्षकहरूसँग सकारात्मक सहकार्य गरौं । हाम्रा बालबालिकालाई परनिर्भर नबनाई आत्मनिर्भर र स्वावलम्बी बनाउनेतर्फ सोचौं । घरपरिवारमा संस्कार प्राप्त नगरी बिग्रन पुगेको बालकलाई सुधार्न कठिन हुने हुँदा सम्पूर्ण अभिभावकहरू यसतर्फ सचेत हुनु जरुरी देखिन्छ ।