संयुक्त राष्ट्र संघले जुन १५ लाई विश्वभर ‘ज्येष्ठ नागरिकविरुद्ध विश्व दुर्व्यवहार सचेतना दिवस’ -World Elder Abuse Awareness Day_ का रूपमा मनाउन आह्वान गर्ने गरेको छ । विभिन्न मुलुकका सरकारहरूले यो दिवसलाई एउटा राम्रो मौकाका रूपमा लिएर देशभर दुर्व्यवहारविरुद्ध सचेतना जगाउने काम गर्छन् भने कुनै देशमा यो दिवसमा केवल दुई–चार ठूलाठालु मानिस मात्र जम्मा हुन्छन् । उनीहरू भाषण गर्छन् । चिया बिस्कुट खान्छन् अनि ताली पड्काएर जान्छन् । थाहा छैन, हाम्रो देशको सरकारी निकायले यो वर्ष कसरी ज्येष्ठ नागरिक दुर्व्यवहार सचेतना दिवस मनाउँछन् ? त्यो हेर्न बाँकि नै छ ।
विश्वमा ज्येष्ठ नागरिकहरूमाथि हुने दुर्व्यवहारविरुद्ध आवाज उठाउने संघ/संस्थामध्ये मुख्य रूपमा संयुक्त राष्ट्र संघ, हेल्पेज इन्टरनेसनल र आइएनपीइए (INPEA) हुन् । यी सवै संस्था विभिन्न देशका संस्थासँग मिलेर काम गर्ने सञ्जाल हुन् । यस वर्ष हेल्पेज इन्टरनेसनल ले जुन १५ मा यो दिवस मनाउन ‘दुर्व्यवहार नसहौं’ (Refuge To Abuse) भन्ने नारा तय गरेको छ ।
नेपालमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, नेपान, अस्मि, एजिंग नेपाललगायत संस्थाहरूले सचेतनाका काम गर्दै आएका छन् । तर उचित नियम कानुनको अभाव, ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहारबारे चेतना नहुनु, स्रोतको अभाव, नियमनकारी निकाय प्रभावकारी नहुनु आदि कारणले यो विषय अझै ओझेलमा परेको छ ।
सरकारले जसरी मनाओस् उसैलाई जिम्मा दिऊँ । कम्तिमा हामी आफैं आफ्नो गाउँ टोलमा हुनु भएका ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारविरुद्ध सचेत रहौं । यदि त्यस्तो दुर्व्यवहार देखियो वा सुनियो वा भोग्नु पर्ने स्थिति आयो भने त्यस्ता दुर्व्यवहारको प्रतिकार गरौं । दुर्व्यवहार गर्नेलाई उचित दण्ड सजायँको भागीदार बनाऔं ।
दुर्व्यवहार के हो ?
अन्तर्राष्ट्रिय मान्यता के छ भने यदि कुनै ज्येष्ठ नागरिकलाई हेलाँ गर्ने, हेपाहापूर्ण व्यवहार गर्ने, वेवास्ता गर्ने, शारीरिक वा मानसिक पीडा दिने, उनीहरूको धन सम्पत्तिको अपचलन गर्ने, भौतिक रूपमा कुटपिट वा दुःख दिने काम गर्ने, यौनिक दुर्व्यवहार गर्ने आदि सबै दुर्व्यवहार भित्र पर्ने कुरा हुन् ।
नेपालको सन्दर्भमा प्रायः हुने दुर्व्यवहार यस्ता छन्–
एक्लिँदै जानु पर्ने अवस्थाः हाम्रो गाउँ समाजमा ज्येष्ठ नागरिकलाई एक्लै छाड्ने प्रवृत्ति बढेको प्रष्टै देख्न सकिन्छ । चाहे रोजगारीको खोजी गर्न बाहिर भएको निहुँमा होस् वा केटाकेटी पढाउन बाहिर बस्नु पर्ने निहुँमै किन नहोस् यो क्रम दिनानुदिन बढ्दो छ । कतिपय अवस्थामा यसरी एकल्याउने सन्तानहरूको चाहना हुँदैन तापनि उनीहरू त्यसो गर्न बाध्य हुन्छन् । आफ्नो सुखको खोजीमा वा भनौं “दाल बाक्लो खान” बूढाबूढीलाई एक्लो पारेर हिँड्नेको संख्या पनि कम छैन ।
हेपाहापूर्ण व्यवहारः बुढ्यौली बढ्दै जाँदा कान नसुन्ने, आँखा कमजोर हुने, बोली लक्पकिने, शरीर कमजोर हुने, विभिन्न प्रकारका रोगको संक्रमण हुने जस्ता विविध कारणले शारीरिक र मानसिक कमजोरी बढ्न जान्छ । त्यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूको अवस्थालाई बुझ्ने भन्दा पनि हेप्ने प्रवृत्ति समेत समाजमा पाइन्छ । वच्चाले त नबुझेर त्यस्तो गरेको होला भन्न सकिएला तर ठूलैबाट पनि त्यस्तो व्यवहार हुनु निकै दुःखद हो । कुनै अस्वाभाविक व्यवहार सानाले गरे भने उनीहरूले बुझेनन् त के गरून् भन्छौं हामी । तर त्यस्तै व्यवहार ज्येष्ठ नागरिकबाट अन्जानमै हुन गएको रहेछ भने मात्तिएर वा सडेर यस्तो गरेको भन्ने गरिन्छ ।
वेवास्ता गर्नेः ज्येष्ठ नागरिकको अवस्था के कस्तो छ वा उनीहरूका आवश्यकता वा चाहना के छन् भनेर कसै न कसैले हेर्ने, बुझ्ने र त्यसै अनुसार काम गर्नु पर्ने हुन्छ । त्यसो नगरिनु पनि एक प्रकारको दुर्व्यवहार नै हो । ज्येष्ठ नागरिकहरू प्रायः आफूलाई दुर्व्यवहार भयो भनेर प्रतिकार गर्न त परै बताउन पनि असमर्थ हुन्छन् । उनीहरू केवल विवेकको अपेक्षा गर्छन् । तर समाज यस्तो भैसक्यो कि यहाँ विवेकको अपेक्षा गर्नु वेकार जस्तै भइसकेको छ ।
सार्वजनिक यातायातमा हुने दुर्व्यवहार : नेपालजस्तो मुलुकमा सार्वजनिक यातायातमा अक्सर अझै पनि ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार हुने गरेको छ । बसका चालक र सहचालकले दुर्वचन वोल्छन् । कतिपय युवा यात्रुले समेत ज्येष्ठ नागरिकलाई सिट नछाड्ने, वेवास्ता गर्ने वा वचन लगाउने गरेको देखिन्छ । यस्ता दुर्व्यवहारका कारण ज्येष्ठ नागरिकहरू चूपचाप शारीरिक र मानसिक पीडा भोग्न बाध्य हुन्छन् ।
भौतिक वा शारीरिक दुर्व्यवहार : घचेट्ने, लडाईदिने, चिमोट्ने, कुट्ने पिट्ने, कपाल लुछ्ने, भुत्ल्याउने आदि सबै शारीरिक दुर्व्यवहार हुन् । यस्ता घटना प्रायः अरूले नदेख्ने गरी भएको हुन्छ । वृद्धाश्रम, स्याहार केन्द्र वा हेरचाह केन्द्रहरू जस्ता संस्थामा बसेका ज्येष्ठ नागरिकमाथि यस्तो दुर्व्यवहार अझ बढी हुने गरेको पाइन्छ । कोरोनाकालमा यस्ता घटना अविकसित मुलुकमा मात्र नभई विकसित भनिएका देशहरूका वृद्धाश्रममा समेत प्रसस्तै भएको जानकारी आएका थिए ।
मानसिक यातना: ज्येष्ठ नागरिकहरू यसै पनि विभिन्न चिन्ताले घेरिएका हुन्छन् । उनीहरू प्रायः स्वास्थ्य, परिवार र सन्तानको चिन्ताले अन्यौलग्रस्त दशामा हुन्छन् । जुनुसुकै वहानाले परिवारमा एक्लो पारिँदै गएका ज्येष्ठ नागरिकलाई अनुकूल अवस्था नबनाइदिँदा उनीहरू स्वतः मानसिक समस्यामा पर्न पुग्छन् । पहाड, तराई, पूर्व, पश्चिम सबै ठाउँका ज्येष्ठ नागरिकहरूमा यस्तो समस्या बढ्दो छ । वृद्धाश्रम, दिवासेवा केन्द्र वा हेरचाह केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरू अझ बढी पीडावोध गरिरहेका छन् । यो क्रम बढ्दै जाँदा उनीहरूमा डिप्रेसन, अल्जाईमर्स जस्ता घातक स्वास्थ्य समस्या हुने सम्भावना रहन्छ ।
ज्येष्ठ नागरिकको सम्पत्ति अपचलनः आर्थिक उत्पीडन ज्येष्ठ नागरिकमाथि हुने अर्को जघन्य दुर्व्यवहार हो । ज्येष्ठ नागरिक स्वयंले आर्जन गरेको होस् वा उनीहरूलाई कतै कसैले दिएको किन नहोस्, त्यस्तो धन सम्पत्ति चोर्ने, लुकाई दिने वा हडप्ने काम अत्यन्तै नीच र आपराधिक कुकर्म हो । यस्ता दुर्व्यवहारविरुद्ध सख्त कानुनी कारवाही हुनु पर्ने हो । तर ज्येष्ठ नागरिकहरू यस्तो दुर्व्यवहारबारे उनीहरूले सम्बन्धित व्यक्ति वा संस्थालाई जानकारी समेत दिन सकिरहेका हुँदैनन् । कसैले सरकारी निकाय वा सामुदायिक क्षेत्रमा यस्तो दुर्व्यवहारको कुरा पुर्याएमा ज्येष्ठ नागरिकहरू अझ धेरै यातनाको शिकार हुनु पर्ने कुराले त्रस्त हुने गर्छन् । सामान्यतः बुढेसकाल बढ्दै जाँदा ज्येष्ठ नागरिकहरूको खर्च बढ्दै जान्छ भने आम्दानी घट्न थाल्छ । उनीहरूमाथि आर्थिक दुव्र्यवहार समेत हुने हो भने ज्येष्ठ नागरिकहरूको हालत अझै कस्तो होला भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
यौनजन्य दुर्व्यवहार : हेरचाह गर्ने व्यक्ति, स्याहारकर्ता, युवा वा आफ्नै परिवारका सदस्यबाट समेत यौनजन्य दुर्व्यवहार हुने गरेका थुप्रै घटना हामीले सुनिरहेका छौं । उनीहरूको यौनाङ्ग लुकी लुकी हेर्ने वा उनीहरूलाई पनि यौनिक दृष्टिले छेडछाड गर्ने काम गरिन्छ भने त्यो पनि अत्यन्त घिनलाग्दो दुर्व्यवहार हो । यस्ता गतिविधि धेरै नै हुने गरेका भए पनि सार्वजनिक भने कमै मात्र हुन्छन् । नेपाली परिवेशमा यसलाई लाज लाग्ने विषयका रूपमा हेर्ने गरिन्छ । आफू यौन दुर्व्यवहारमै परे पनि कसैलाई भनियो भने झनै नराम्रो हुने भयका कारण उनीहरूले कसैलाई भन्दैनन् ।
विकसित मुलुकहरूमा यस्ता घटना घट्दा डटेर मुकाबिला गर्ने गरिन्छ । किनभने त्यहाँ राज्यले कानुनी रूपमा उनीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गरेको हुन्छ । हाम्रो त नियम कानुन नै फितलो छ । भएकै नियम कानूनको पनि नियामक निकाय वलियो नहुँदा कार्यान्वयन भएको अवस्था छैन । ती निकायका सम्बन्धित अधिकारीहरू समेतमा पनि तदारुकता देखिँदैन । यस्ता सवालमा वेवास्ता नै गरिएको छ भन्दा पनि फरक पर्दैन ।
नेपालको सन्दर्भमा समस्या त के भने यस्ता गहन विषयमा खास अध्ययन अनुसन्धान भएकै छैन । यस्ता सवालहरूमा राज्यले अनुसन्धान गरी उचित रणनीति बनाई अविलम्ब कार्यन्वयन गर्नु पर्ने हो । तर राज्य केवल शक्तिको भागबन्डा र स्रोत कुम्ल्याउने कुरामा व्यस्त छ भन्दा अत्युक्ति हुदैन ।
ज्येष्ठ नागरिक दुर्व्यवहारबिरुद्ध सचेतना दिवसको सन्दर्भमा हामी प्रत्येकले आफैंलाई र समाजलाई भन्न सक्नुपर्छ– यस मामिलामा मेरो प्रतिवद्धता यो हो भनेर । यो भनेको तपाईं हामी सबैले म आफ्नो तर्फबाट के गर्छु भन्ने प्रतिज्ञा गर्ने कुरा नै हो ।
प्रतिज्ञा पूरा गर्ने विभिन्न तरिकामध्ये तलका कुनै छानेर वा सबै गर्न वा योभन्दा फरक बिधि अपनाउन पनि सकिन्छ । प्रस्तुत प्रतिज्ञा पूरा गर्ने बिधि र तरिकाहरू हेल्पेज इन्टरनेसनलको फेसबुकबाट साभार गरिएको हो । मलाई त मन पर्याे, तपाई पनि यी तरिका अपनाउनु हुन्छ कि ?
१. आफ्नो टोल छिमेकमा रहनु भएका ज्येष्ठ नागरिक र उनका परिवारलाई भेटेर छलफल गरी दुर्व्यवहारबाट जोगिन/जोगाउन नियम कानुनबारे जानकारी दिँदै विभिन्न विधि एवं तरिकाहरूबारे छलफल गरी सहयोग गर्ने ।
२. ज्येष्ठ नागरिक दुर्व्यवहारसम्बन्धी गीत, कविता, लेख, नाटक लेख्ने, खेल्ने वा प्रकाशन गर्ने ।
३. ज्येष्ठ नागरिक दुर्व्यवहारसम्बन्धी कार्यक्रम सार्वजनिक ठाउँमा राखी आम नागरिकसँग छलफल चलाउने जसले गर्दा यो विषयमा जनचेतना बढोस् ।
४. फेसबुक, ट्वीटर, इन्स्टाग्राम वा छापामार्फत् आम साथीभाई इष्ट मित्रलाई यो विषयमा जानकारी गराउने ।
५. आफ्नो पहुँच भएसम्म सरकारी निकाय, सामाजिक संघ संस्थामा यो विषयमा छलफल राखी ज्येष्ठ नागरिकहरूलाई कसरी दुर्व्यवहार मुक्त गर्ने भन्ने कुराको जनवकालत गर्ने ।