भक्तपुर– ज्येष्ठ नागरिकका सवालमा अढाई दशकदेखि क्रियाशील सामाजिक अभियन्ता श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा आएको छ ।
भक्तपुरस्थित सिद्धि स्मृति अस्पतालमा शनिबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव, राष्ट्रियसभा सदस्य बिमला पौडेल राई, बरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास बरिष्ठ पत्रकार भैरव रिसाल, सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धाैवडेल लगायतले पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण गर्दै मन्त्री यादवले ‘सहज बुढ्यौली’ कृति जेष्ठ नागरिकका लागि निकै उपयोगी रहेको उल्लेख गर्दै मन्त्रालयको पहलमा जेष्ठ नागरिकका महासंघ मार्फत् यसलाई देशभर पुर्याउने प्रतिवद्धता जनाए । वृद्धवृद्धाका लागि सरकारले १६५ शैयाको अस्पताल बनाउने योजना रहेको पनि उनले सुनाए । ‘मुलुकको आर्थिक अवस्था त्यति अनुकूल नभए पनि ज्येष्ठ नागरिकका सेवा–सुविधा बढाउन सरकार प्रयत्नशील छ,’ उनले भने ।
राष्ट्रियसभा सदस्य विमला पौडेल राईले लामिछानेको पुस्तक जेष्ठ नागरिक, नीति–निर्माता र कार्यान्वयन गर्ने निकाय, स्थानीय तह र सम्बद्ध सबैको हात–हातमा पुर्याउन आवश्यक रहेको बताइन् ।
वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासले यो किताबले हरेकको बुढ्यौलीलाई सहज बनाउन धेरै हदसम्म सघाउने बताए ।
पत्रकार भैरव रिसालले पुस्तकमा गफ नभई चाहिने जानकारीहरू मात्र रहेको बताए । मुलुक किन बिग्रेको भन्ने प्रश्न गर्दै उलने राजनीतिक वृत्तलाई आग्रह गरे, ‘नयाँ वर्ष २०८० देखि कृपया नेताहरूले झूटो बोल्न छाडिदिनुस् । ढाँट्न छाड्ने हो भने मुलुक आफैँ बन्छ ।’
पुस्तकका टिप्पणीकार चेतनाथ कँडेलले यो पुस्तक मुलुकभरका जेष्ठ नागरिकलाई व्यस्त, स्वस्थ्य र मस्त राख्न सिकाउने मूलमन्त्र सरह बनेको बताए ।
पुस्तकका सम्पादक श्रीश भण्डारीले जेष्ठ नागरिकका दैनिकी सहज बनाउने र उनीहरूका समस्या हल गर्ने सवालमा यो कृतिलाई एउटा आधिकारिक दस्तावेज मान्न सकिने बताए । उनका अनुसार पुस्तकमा ज्येष्ठ नागरिकका सामाजिक सन्दर्भदेखि लिएर उनीहरूका कथा–ब्यथा र समस्याको विस्तृत चिरफार गर्दै समाधानका उपायको साङ्गोपाङ्ग विवेचन गरिएको छ ।
लेखक लामिछानेले देखावटी रूपमा नभई व्यवहारमै नम्र, भद्र र राष्ट्रप्रेम भएका व्यक्तिहरूको संगतबाटै ‘सहज बुढ्यौली’ लेखिएको बताए ।
ईर्टनल पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको २६४ पृष्ठको यस किताबमा बुढ्यौलीको तयारी, बुढेसकालका संभावित स्वास्थ्य समस्या र समाधान, खानपान र आचरण, सकारात्मक सोचाइ र सहयोगी व्यवहार, ज्येष्ठ नागरिकमैत्री भौतिक संरचनाको निर्माण, ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार र ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत सवालहरू समेटिएको छ । कृतिमा केही यस्ता प्रेरक व्यक्तित्वहरूको जीवन–प्रसंग समेटिएको छ जो अन्य ज्येष्ठ नागरिक र आम व्यक्तिका लागिसमेत प्रेरणाको स्रोत बन्न सक्छन् ।
३०० रुपैयाँ मूल्यको याो पुस्तक बिक्रीबाट प्राप्त हुने सबै रकम रामेन्द्र सेवा कोषमार्फत सामाजिक कार्यमा उपयोग गरिने जनाइएको छ ।