आफू भित्रको संभावनालाई चिनेर एकाकार गरी जीवन बाँच्नुलाई अध्यात्म भनिन्छ । आफ्ना सम्भावना र क्षमता चिन्न सकेन भने कमजोरी अनुभवमा आउँछन् । यसलाई चिन्ने विधि हुन्छन् । हामी आफैं नाप्न पनि सक्छौं ।
अहिले हामी सतही जीवन बाँचिरहेका छौँ । कसैले राम्रो भन्दिए राम्रो छु कि जस्तो लाग्छ । कसैले नराम्रो भन्दिए दुःख लाग्छ । अरूको मतको भरमा हाम्रो जीवन बाँचेको छ । प्रत्येक मानिससित ‘म को हुँ ?’ भन्ने प्रश्नको उत्तर बुझ्ने र सोही अनुसार व्यवहार गर्ने वा जीवन बाँच्ने जसको आफ्नै सोच कमजोर छ, उसले अरूबाट खुशी खोज्छ । जसले आफ्नो शक्ति र पर्याप्त देख्दैन उसले अरूको शक्ति र सामर्थ्य हडप्नतिर जोडबल गर्छ । उ अनैतिक, भ्रष्टाचारी, अत्याचारी, दुराचारी र बलात्कारी हुन्छ । हुन्छ । त्यो सामर्थ्य पहिचान हुन सकेन भने मानिस अलमलिन्छ ।
आफूलाई चिन्नु भनेको आफ्ना क्षमताहरूलाई चिन्नु हो । आफ्नो क्षमतालाई चिन्ने पनि प्रक्रिया हुन्छन् । एउटा, आफ्नो क्षमताको सीधा सीधा परिचालन गर्ने हो । अर्काे भनेको गलत घारणाबाट हात धुने हो । जसले हाम्रो सृष्टि गरेको छ, उसले हाम्रो शरीर र मस्तिष्कभित्र हामीलाई मूलतः सातवटा क्षमता दिएको हुन्छ । ती सात क्षमतालाई जान्नेलाई सप्तऋषी भनिन्छ । यी क्षमतालाई चिनेर सोही अनुरूप जीवन बाँच्ने विधिलाई हामी सिकाउछौं र प्रयोग पनि गर्छाैं ।
अध्यात्म बाहिर पढ्ने विज्ञान होईन । आफूलाई पढ्ने विज्ञान हो । व्यक्ति आफू भित्रको क्षमतालाई जगाएर स्वस्थ्य हुनसक्छ । यसलाई स्वास्थ्यको क्षमता भनिन्छ । आफ्नो स्वास्थ्यको क्षमता बिर्सेपछि मानिस बिरामी हुन्छ । उसले औषधी सेवन गर्नु पर्छ ।
आफूभित्रको स्वास्थ्यको क्षमता योगाभ्यासद्वारा सक्रिय हुने गर्छ । कुनै औषधी वा चिकित्सकले स्वास्थ्य दिंदैन । रोग निको बनाउने प्रयास गर्ने हो । स्वास्थ्य त हामी आफू भित्रै हुन्छ । यो मूलाधार चक्र भित्रको क्षमता हो । यसमा दुईवटा क्षमता हुन्छ । स्वास्थ्य र कर्म । हामी भित्रको मूलाधार चक्र सक्रिय भयो भने कर्महरू बलावान् हुन थाल्छन् । हामी जुन काम गर्छौं त्यो कामबाट सफलता प्राप्त गर्न सक्छौं । कसैलाई देखाउनभन्दा पनि आफ्नो जागरणले काम गर्न थाल्छाैं । कामहरू जिम्म्मेवार हुन्छन् । हामी कर्तव्यपरायण त हुन्छौं नै साथ साथै प्रगतिको बाटोतर्फ अग्रसर हुन थाल्छौं ।
सकारात्मक सोचको स्रोत पनि हामी भित्रनै हुन्छ । ब्यक्तिभित्र हरेक कुराको स्रोत हुन्छ । विशुद्धी चक्रलाई निष्क्रिय गर्ने हो भने सकारात्मक सोच्नै सकिँदैन । सकारात्मक सोचौँ भन्दैमा केही हुँदैन । रिसाउनु हुँदैन भनेर सल्लाह दिएर नरिसाउने हुँदैन । त्यसैले प्रयोगमै ल्याउन जरूरी छ । यसो गरे सकरात्मक सोच आउँछ भनेर विधि नै सिकाउनु पर्छ । यी सबै कुराको विधि नै जीवन विज्ञान हो ।
योगमा निश्चित पद्धतिहरू छन् । यसको विज्ञान छ । पद्धति भनेको प्रक्रिया हो । उदाहरणका लागि हामी खाना खाने प्रक्रियालाई लिन सक्छौं । खाना कसैले पस्किन पर्याे, जान पर्याे, हात धुन पर्योे, गएर तयारी भएर बस्न पर्योे । खानामा हात लानुपर्योे । के खाने के नखाने छान्नुपर्योे । मुखमा लानुपर्योे, निल्नुपर्योे । पचाउनु पर्योे । त्यस्तै आफू भित्रको क्षमता जोगाउने पनि प्रक्रिया हुन्छन् ।
हाम्रा पुर्खा(ऋषीमुनि)हरूले कमाउन र खान मात्र जिन्दगी बिताएका हुन् त ? यिनले मानवका परम सम्भावनाको खोजी गरेका छन् । जीवन विज्ञान सबै सम्भावनाहरूलाई बैज्ञानिक रूपमा प्रयोग गर्ने साझा थलो हो । संसारभर हामी ५५ देशमा काम गर्छाैं ।
सकारात्मक सोचको मामलामा पहिले केही अनुसन्धानहरू भएका थिए । यस सन्दर्भमा दक्षिण एसियाका अरु देशहरू भन्दा नेपाल अगाडी छ । तर अनुसन्धानको नतिजालाई मात्र भन्दा पनि हामीले अन्य कुराहरूलाई पनि हेर्नुपर्ने हुन्छ । हामीभित्र बाध्यात्मक सोच भएसम्म हामी चाहेर पनि सकारात्मक सोच्न सक्दैनौँ ।
सकारात्मक सोच लिनु अघि आफ्ना विचारहरू नियन्त्रित छन् वा अनियन्त्रित भन्ने हेर्नुपर्छ । विचारलाई नियन्त्रणमा लिने वा विचार नै कम गर्ने पद्वति पनि हुन्छ जुन छैटौं चक्रमा निर्भर गर्दछ । यसलाई हामी आज्ञा चक्र भन्छौँ ।
बाध्यात्मक सोचलाई सकारात्मक सोचतर्फ उन्मुख गर्नका लागि ध्यान गर्न सिक्नुपर्छ । ध्यान त्यस्तो आगो हो जहाँ सबै नकारात्मक कुराहरू जल्छन् र सकारात्मक विचार उम्रने ठाँउ बन्दछ । ध्यान माध्यमबाट हामी नकरात्मक विचार प्रवेशनै गर्न नसक्ने बनाउन सक्छौँ । ध्यानले तपाईं हामीभित्र फायारवाल सिर्जना गर्छ जहाँ नकारात्मक विचारका भाईरस छिर्न सक्दैन ।
जसको आफ्नै सोच कमजोर छ, उसले अरूबाट खुशी खोज्छ । जसले आफ्नो शक्ति र सामर्थ्य पर्याप्त देख्दैन उसले अरूको शक्ति र सामर्थ्य हडप्नतिर जोडबल गर्छ । उ अनैतिक, भ्रष्टाचारी, अत्याचारी, दुराचारी र बलात्कारी हुन्छ ।
फलानो बच्चाले ध्यान दिएर पढ्दा पनि अनुत्तीर्ण भयो भनेको सुन्नु भएको छ ? अथवा ध्यान दिएर काम गरेको व्यक्ति असफल भएको देख्नु भएको छ ? कि ध्यान दिएर आफ्नो शरीरलााई ख्याल राख्ने व्यक्ति रोगी भएको देख्नु भएको छ कि जे मनलाग्यो त्यही गर्ने व्यक्ति ? जीवनमा केही पनि हासिल गर्नु छ, वा जोड्नु छ भने सबैभन्दा पहिले ध्यान जोड्नुपर्छ । त्यसपछि हाम्रो जीवनमा कहिल्यै दुःख, विपन्नता वा असफलता आउँदैन । हामी सबैलाई चाहिने कुरानै ध्यान हो ।
अब हामीभित्र भएको ध्यानको क्षमता बढाउन चाँही के गर्ने ? अथवा काममा ध्यान लागेन भने के गर्ने ? काममा ध्यान लाग्न जीवन विज्ञानले सिकाउँछ । गाडी चालाउदा ध्यान दिएन बने सडक दुर्घटना बढ्छ । हाम्रो देशमा भन्दा पनि बिग्रेका बाटामा गाडी चलाउदा दुर्घटना भएको सुनिँदैन देखिँदैन । तर नेपालमा सवारी चालकको ध्यान कम छ । जब व्यक्तिको ध्यान अगाडीको कामबाट अलग जान्छ तब दुर्घटना घट्छ । बिद्यार्थी, कर्मचारीलगायत सबै पेशाकर्मीमा ध्यान कम छ । त्यसैले सफलताको दर पनि न्यून छ ।
हामी बच्चालाई सधै ‘ध्यान दे’ भनेर सम्झाईरहेका हुन्छौँ । तर ध्यान छ/छैन भनेर कहिल्यै सोध्दैनौँ । आफ्नो ध्यानलाई कसरी समेट्ने भनेर कहिल्यै सिकाएका हुँदैनौ । विद्यालयमा यो बिषयमा पाठ्यक्रम हुन जरूरी छ । रट–स्मरणमा जोड दिन लगाईरहेका हुन्छौँ ।
ध्यान सिक्ने एउटा विज्ञान अथवा विधि हुन्छ । यदि त्यो विधि अभ्यास गर्ने हो भने एक घण्टामै मन ताजा र तनावमुक्त हुन्छ । त्यसपछि हामी जे गर्न सक्छौं, त्यो गर्न सक्ने बन्छौँ ।
ध्यान भंग हुने सात कारण छन् । नकारात्मक विचार पनि सातै कारणले जन्मन्छन् । ध्यान भंग भए पनि सात कारणले भंग हुन्छन् । हाम्रो स्वास्थ्य ठिक छैन भने हामी काममा ध्यान दिन सक्दैनौँ । हाम्रो ध्यान जति सबै बिग्रेको स्वास्थ्यमै केन्द्रित हुन्छ । कुनै औँला काट्यो भने हाम्रो ध्यान जति सबै त्यही काटेको औँलामै जान्छ । काममा जानै सक्दैन । कर्ममा सफल भइएन भने पनि हामी ध्यान केन्द्रित गर्न सक्दैनौं ।
हामीभित्र सुख क्षमता पनि रहेको छ । सात क्षमतामध्ये यो दोश्रो क्षमता हो । सुख अनुभव गर्न नसकेको खण्डमा ध्यान छरिन्छ । सुखको क्षमता पनि तपाईं हामीभित्रै छ । त्यसलाई उजागर गर्न पर्छ ।
साहस छैन भने सानो सानो कुरालाई लिएर पनि हामी डराउछौँ । डराएर जीवन बाच्छौँ । यस्तो अवस्थामा ध्यान कसरी लगाउन सक्छौँ ? डराएर जीवन बाँचिरहेका हुन्छौँ । अन्धकारसँग डर लाग्छ । कसैले केही भनिदिएला कि भन्ने डर लाग्छ । सानो सानो कुरामा डर लाग्न थाल्छ । यो तेश्रो चक्र हो । मणिपूर चक्र कमजोर छ भने सानो सानो कुरामा डर लाग्छ । हजार कुरा मनमा आउँछन् ।
हामीसँग प्रेमको क्षमता भनेर चौथो क्षमता हुन्छ । हृदयमा काम वा परिवारप्रति प्रेम छैन भने निराशाका बादल आउने गर्छन् । डिप्रेसिभ हुन थाल्छन् । यसको मूल उपचार चाहिन्छ । व्यक्तिभित्र सकारात्मक र सिर्जनशील सोच जन्माउने विधि हुन्छ । सकरात्मक सोच्नुपर्छ भनेर मात्र हुँदैन । सोच्नलाई सिक्नुपर्छ । सिर्जनशील तरिकाले सोच्नु पर्छ । हरेक पटक नयाँ कसरी गर्ने सोच्नुपर्छ । यो सम्भावना विशुद्धिको पाँचौ चक्रमा छ ।
छैटौं संकल्पको सम्भावना हो । यदि संकल्प क्षमता प्रबल छ भने हामी जे गर्छौं त्यसैमा टिक्छौं । यसलाई संस्कृतमा धृति भनिन्छ ।
अर्काे भनेको आफैंलाई चिन्ने क्षमता हो । म को हुँ भनेर चिन्नु पर्छ । यो क्षमता प्रत्येक मानिसले लिएर आएको हुन्छ । तर यसलाई चिन्न सक्नुपर्छ । दुर्भाग्यको कुरा– यो ज्ञान हामीले न परिवारबाट सिक्न पाएका हुन्छौं, न त विद्यालयहरूमै यसबारे पढाई हुन्छ ।
आफूलाई चिन्न सके जीवनमा हामीले कहिल्यै दुख भोग्न पर्दैन । जन्म, मृत्यु आफैले देख्नुपर्छ । अरूले भनेका भरमा हुँदैन । हामीले आफ्नो सातौं क्षमतामा काम गर्ने हो भने विस्तारै आफूले आफूलाई चिन्न थाल्छौँ । त्यसपछि हाम्रा निर्णय वलवान हुन्छन् । सम्बन्धमा स्थिरता आउँछ । काममा जोस आउछ । जीवनमा सुख आउँछ ।
आज पनि जानी नजानी आफ्नो क्षमतामा काम गर्ने सबै सफल भएका छन् । यदि सानो बच्चालाई हात–खुट्टा बाँधेर राख्ने हो भने उसले आफू हिँड्न सक्छु भनेर थाहै पाउँदैन । हिड्न सक्छु भनेर थाहा पाउनलाई अरूले हिडेको देख्नुपर्छ । कसैले हिँड्न सहायता दिनुपर्छ । आज एकपटक उठ्दा कोल्टे फेर्न डराउने बच्चा कुनै दिन म्याराथन दौडन सक्छ । किनभने उसले सबै दौडेको देख्छ । म पनि दौडन सक्छु भनेर थाहा पाउँछ । र आफ्नो दौडन सक्ने क्षमतालाई जगाउँछ ।
हामी भित्रका सबै क्षमता त्यस्तै हुन् । जसरी हामीलाई हात खुट्टा दिइएको छ, त्यसरी नै सातवटा चक्र दिईएको छ । तपाईंले कहिल्यै सोच्नु भएको छ ? कहाँबाट सोच्नुहुन्छ ? मस्तिष्कबाट ? होईन, मस्तिष्कले सोच्दैन । यो त हार्डवेयर हो । हामी त विशुद्धि चक्रबाट सोच्छौँ । जसको विशुद्धि चक्र बलियो छ, उसका विचारहरू बलवान छन् । प्रतिभाशाली हुन्छ । बुद्धिमत्ता उच्च हुन्छ ।
मानिसभित्रको अमूल्य सम्पत्ति भनेको क्षमता हो । आफ्नै क्षमतालाई नचिन्नु दुर्भाग्य हो । आफ्नो खातामा कसैले दश अर्ब रूपैयाँ हालिदियो तर आफूलाई थाहा भएन भने म गरिबीमै बाँचिरहेको हुन्छु ।
योगका विधि हुन्छन् । जीवन विज्ञानको आफ्नै पद्धति छ । बाहिरबाट क्याप्सुल खुवाउने वा आशिर्वाद दिने कुरा होईन । जीवन विज्ञानले मूलतः तीनवटा पद्धति अंगाल्छ । पहिलो, योग विज्ञान । दोस्रो, मनोविज्ञानद्वारा विकसित पद्धति । व्यवस्थापनको विज्ञानले विकास भएको पद्धति । यी सबै पद्धतिलाई जीवन विज्ञानले एकै ठाँउमा राखेर प्रयोग गर्छ ।
मानिसले विकास गरेका सबैभन्दा राम्रा–राम्रा पद्धति सिकियो भने निश्चित रूपमा हामी अग्रणी बन्छौं । विचार परिवर्तन हुन्छ । सोच्ने तरिका परिवर्तन हुन्छ । सही बाटोबाट हिँडेर पनि हामी सफल हुन्छौं भने गलत बाटोबाट कहिल्यै हिड्दैनौं । त्यसैले आफ्नो क्षमता चिन्न आवश्यक छ । आफ्नो क्षमतालाई जगायो भने तीन दिन नखाई बस्न तयार हुन सक्छाैं तर झूटो बोल्न तयार हुँदैनौँ । हामी आफैंमा स्वाभिमान आउँछ । गलत काम किन गर्ने भन्ने भावना जागृत हुन्छ ।
जसको आफ्नो कमजोर सोच छ, उसले अरूबाट खुशी खोज्छ । जसले आफूमा भएको शक्ति र सामथ्र्य मात्र पर्याप्त देख्दैन उ अतिरिक्त शक्ति र सामथ्र्य आर्जन गर्नतिर जोडबल गर्छ । उ अनैतिक, भ्रष्टाचारी, अत्याचारी, दुराचारी र बलात्कारी हुन्छ । आफू आफैंमा पर्याप्त नभएकाले अर्काको शरीर पनि शोषण गरेर खुशी हुन्छु भन्नु नै बलात्कारी बन्नु हो । बलात्कार व्यक्तिको सोचबाट जन्मन्छ । बलात्कारीलाई फाँसी दिएर पनि बलात्कारी सोच कहिल्यै मर्दैन । त्यसैले बलात्कार हुन नदिन बलात्कारको सोचलाई बदल्न जरूरी छ ।
मान्छे आफैंमा नास्तिक हुँदैन । उसले जानेन वा विज्ञान बुझेन भने उ नास्तिक हुन्छ । यदि हामीले आफैंले आफूलाई चिन्यौँ भने आफ भित्रको बल कहाँबाट आएको रहेछ भनेर खोज्न थाल्छौँ । हाम्रो बल ब्रह्माण्डबाट आएको हो । हामी ब्रह्माण्डका उत्पत्ति हौं । सारा ब्रह्माण्डको बल छ भने कसैले कसैलाई थुक्ने काम गर्दैन । बिकृत सोचमा ध्यान नै जाँदैन । हामीले कसैको अक्सिजन वा घाम त चोरेका छैनौं नि । किनभने हामीसँग प्रसस्तै छ । कमजोर सोचबाट चोरी जन्मिन्छ । त्यसैले समाजमा सुव्यवस्था, शान्ति र सुशासन कायम गर्नु छ भने प्रत्येक मानिसलाई आध्यात्मिक बनाउन जरूरी छ ।