काठमाडाैं– वैचारिक युवा समाजद्वारा आयोजित एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (EIMUN 2023) संयुक्त राष्ट्र संघको एउटा नमूना महासभा हो जसले विश्वका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाहरूबारे छलफल गर्न अवसर प्रदान गर्दछ। यो महासभा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो जसको मूल उद्देश्य सहभागीहरूमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीपहरू बृद्धि गर्नेमा केन्द्रित छ। युवाको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ EIMUN अघि बढ्दै आएको छ।
वैचारिक युवा समाजले सन् २०१४ मा नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ महासभा EIMUN बाट आफ्नो यात्रा सुरु गरेको थियो। सन् २०१६ देखि यस संस्थाले नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरी EIMUN सञ्चालन गर्दै आएको छ। यस वर्षको सबैभन्दा प्रतिक्षित र भव्य नमुना संयुक्त राष्ट्र संघ महासभा EIMUN को ८ औ संस्करण पाँच दिन लामो सम्मेलन हुनेछ। यो सम्मेलन सन् २०२३ को १० जुलाईदेखि - १४ जुलाईसम्म काठमाडौंमा आयोजना हुनेछ। सम्मेलनमा दक्षिण र मध्य एसिया र त्यसभन्दा बाहिरका प्रतिनिधिहरुका साथैअन्तर्राष्ट्रिय प्रेस र आयोजक समिति सहित २०० जना सहभागी हुनेछन्।
विभिन्न नमुना संयुक्त राष्ट्र संघ अभिमुखीकरण, तालिम र कार्यशालाहरूको सफल समापनसँगै नेपालका सात प्रदेशहरूमा प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनहरूको शृङ्खला आयोजना गरेसँगै EIMUN २०२३ ले विश्वभरका युवाहरूको सुदृढ नेटवर्कहरू सिर्जना गर्ने लक्ष्य राखेको छ। यस सन्दर्भमा वैचारिक युवा समाजले प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनमार्फत् यस वर्ष ५०० जना युवालाई प्रत्यक्ष रुपमा सशक्त बनाउन सफल भएको छ।