मधुमेह अर्थात् डाइबटिजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । इन्सुलिन हर्माेनको अनियमितता हुँदा मधुमेह हुन जान्छ ।
चिनीको मात्रा कम हुनु भनेको अलग कुरा हो । कसैले चिनीको मात्रा कम भए पनि मधुमेह भन्ने गरेको सुनिन्छ । यो भ्रम हो । यसको मतलब शरीरमा बढी इन्सुलिन उत्पादन हुनु हो । इन्सुलिन बढी उत्पादन भयो भने हाइपोग्ल्यासेमिया भनिन्छ ।
मधुमेहमा इन्सुलिन लगाउने ब्यक्तिले सल्फोनाईल युरेज ग्रुपको औषधी खाईरहेका छन् भने चिनीको मात्रा कम हुन सक्छ । कतिपय औषधीको कारणले पनि चिनीको मात्रा कम हुन सक्छ र यो हाइपोग्ल्यासेमिया हो ।
धेरै जस्तो मानिस मोटो भयो भने इन्सुलिन अल्छी हुँदै जान्छ । हाम्रो शरीरमा भएको रिसेप्टर्समा इन्सुलिन गए पनि प्रयोग गर्न नसक्ने अवस्था हुँदै जान्छ । यो प्रायः मोटोपन हुँदा मात्र हुने गर्छ ।
इन्सुलिन भनेको हर्माेन हो जुन प्यांक्रीयाज ग्रन्थीबाट उत्पादन हुन्छ । सामान्य मानिसले मधुमेह भनेको इन्सुलिनको कमी वा अल्छिपनाले भएको भनेर बुझ्दा हुन्छ । इन्सुलिनले चिनी अर्थात् कार्बाेहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन्छ ।
समान्य मानिसले मधुमेह भनेको खासै बुझेको हुँदैन । उसलाई खाना नखाउ र यो औषधी खाउ भनेर मात्र बुझाउन सकिन्छ । आजभोली भने मानिस सचेत पनि भएका छन् । प्रायः मानिसले के–कसो भनेर बुझ्न खोज्छन् । पहिला चिकित्सकले औषधी लेखिदिन्थे । बिरामीले औषधी खाने गर्थे । राम्रो भयो, भएन भनेर आउने गर्थे ।
अचेलका बिरामी जानकारी पनि खोज्छन् । कारण जान्न चाहन्छन् । किन औषधी गर्ने ? किन नगर्ने ? व्यायामैले मात्र पनि ठीक हुन्छ कि ? हुँदैन भने किन हुँदैन ? आदि सबै पक्षबारे आश्वस्त हुन चाहन्छन् । विश्व मधुमेह अभियान पनि यसै कारण भैइरहेको छ । आज हामीले बुझायौँ भने भविष्यलाई जोगाउन सक्छौं ।
विश्वव्यापी रूपमा १०.५ प्रतिशत वयस्क जनसंख्यालाई मधुमेह रोग लागेको अनुमान छ । नेपालमा पनि मधुमेह प्रभावितहरूको प्रतिशत यसै हाराहारीमा रहेको अनुमान छ ।
रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिँदैन । पानी, रक्तकोष, विभिन्न लवण तथा रसायनहरूको समिश्रणबाट बनेको रगतमा विभिन्न तत्व र पदार्थहरू निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा वा गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र शरीरको आन्तरिक कार्य सञ्चालनमा बाधा पुग्न जान्छ । जीवन यापनमा आइरहेको परिवर्तन, विलासी जीवनशैली तथा शारीरिक परिश्रमको कमीले मधुमेहका रोगी दिनदिनै बढिरहेका छन् ।
विश्वमा करिब ४२ करोड मानिस मधुमेह प्रभावित रहेको र आगामी सन् २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्षसम्म उमेर समूहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको अनुमान छ ।
ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रूपमा छ । नेपालका ग्रामीण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मात्र मधुमेहबाट प्रभावित छन् । विश्वमा रोग लागेर मृत्यु हुनेहरूमध्ये ५ प्रतिशत मधुमेहका रोगी छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिए आउदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
सन् २००५ मा मात्रै करीब ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाएका थिए । यो संख्या वर्षेनी बढिरहेको छ । मधुमेहका रोगीमध्ये करीब ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत ३० वर्षमा बालबालिकामा हुने मधुमेह तीन गुणाले बढेको छ ।
मधुमेह मुख्यतः तीन प्रकारका हुन्छन् ।
प्रकार १ः यो सामान्यतया बालबालिकामा हुने गर्छ जहाँ इन्सुलिनको उत्पादन शून्य अर्थात् अत्यन्त न्यून हुन्छ । रोगीलाई बचाउन कृत्रिम रूपमा इन्जेक्सनद्वारा इन्सुलिन दिनुपर्ने हुन्छ । अचेल १ बर्षदेखि १९ बर्षको उमेरमै पनि मानिसहरूलाई मधुमेह हुन थालेको देखिन्छ ।
प्रकार २ः यो सामान्यतः प्रौढ अवस्थामा हुने गर्छ । विश्वमा भएका मधुमेहमध्ये धेरै यही प्रकारको मधुमेहका रोगी छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र शरीेर पनि इन्सुलिन ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जाँदा मानिस यो प्रकारको मधुमेहबाट ग्रसित बन्ने गर्छन् ।
प्रकार ३ (जेस्टेसनल मधुमेह) : गर्भबती महिलाहरूमा जुनैपनि बेला रगतमा चिनीको मात्रा उच्च हुनगई मधुमेह हुन जान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ । प्रत्येक ६ जनामा एक गर्भवती महिलालाई यो प्रकारको मधुमेह देखिन सक्छ ।
मधुमेह लागिसके पछि फेरि यसलाई नलागेकैजस्ताे अवस्थामा पुर्याउन संभव छैन । यस अर्थमा यसकाे उपचार सम्भव छैन । यो रोग लागिसकेपछि रोगीको आयु बढाउने अर्थात् रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाँकि रहन्छ ।
मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनीको मात्रा घटाउनु हो । रक्तकोशमा क्षति पुर्याउने अन्य तत्वको निवारण गर्नु हो । यसका लागि विभिन्न उपाय अपनाउन सकिन्छ । इन्सुलिनको मात्रा यथावत् राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत् नियमित इन्सुलिन लिने गर्नुपर्छ ।
रक्तचाप नियन्त्रण, खानामा विशेष ध्यान पुर्याउने, बढि कार्वोहाइड्रेट भएका खानेकुरा नखाने जस्ता उपाय अपानाउनु पर्छ । धुम्रपान र मध्यपान त्याग्नुपर्छ । बढि चिल्लोयुक्त पदार्थको सेवन गर्नु हुँदैन । खाना एकदमै सन्तुलित र नियमित हुनुपर्छ । नियमित व्यायाम अनिवार्य छ ।
सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ ।
मधुमेह भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउकोदेखि खुट्टासम्मै । त्यममध्ये प्रायः देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाने हुन्छ ।
नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना ज्यादा हुन्छ । अर्काे असर मिर्गाैलामा गर्छ । मिर्गाैलाबाट प्रोटिन लिक गराएर मिर्गाैला फेल हुने सम्भावना बढ्छ । हृदयघात, मस्तिस्कघात हुने सम्भावना बढ्छ ।
त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुटाको घाउ निको नहुने र खुट्टानै काट्नुपर्ने सम्भावना एकदमै बढी हुन्छ । यी मुख्य असर हुन् । अन्य फुटकर असरहरू भई नै रहन्छन् ।
मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ । लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरूमध्ये झण्डै ६० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेर थाहै पाउन सक्दैनन् । छ भन्ने जानकारी पनि हुँदैन ।
किनभने मधुमेह भैसक्दा पनि खासै गाह्रो नै हुँदैन । गाह्रो नभएसम्म चिकित्सककोमा जाने चलन पनि हुँदैन ।
मधुमेह पुरानो रोग हो । यो ठीक हुने रोग पनि होईन । यो बढ्दै जाने क्रममा नै छ । तर पहिलेभन्दा यसमा धेरै विकास पनि भएको छ । पहिला विलिङ हार्ट इन्सुलिन, त्यसपछी फेड्रीकले इन्सुलिनको उत्पादन गरेका थिए । यो एउटा ठूलै क्रान्ति थियो ।
आज हामीसँग इन्सुलिन छ । धेरै नयाँ मोलिक्युल, औषधी आएको छ । नयाँ तरिकाको इन्सुलिन, मनुसिङ यन्त्र, ग्लुकोमिटरहरू उपलब्ध भैसकेका छन् । हामीले हे¥यौं भने धेरै विकास भैसकेको छ । हरेक बर्ष नयाँ कुराहरू आईरहेका छन् । सरकारले गरीबीको रेखामुनिका बिरामीलाई इन्सुलिनको व्यवस्था गर्न सके यो क्षेत्रमा अझ धेरै विकास हुन सक्छ ।
दश बर्ष अगाडी बिरामीलाई मधुमेह रोगको स्वीकार्य पनि थिएन । अचेल थाहा पाउने थुप्रै सञ्जाल तथा माध्यामहरू छन् । जागरुकता धेरै नै फैलिएको छ । मानिसहरू यसका लक्षण प्रति जानकार देखिन्छन् । पहिलेभन्दा अहिले धेरै संख्यामा बिरामीको निदान भएको छ । लक्षण हुने बित्तिकै जाँच गराउने बढेका छन् । स्वास्थ्य जाँच महिनैपिच्छे गराईरहनेहरू पनि छन् ।
सरकारले स्वास्थ्य बिमा गराएको भएर अझ बढी मानिस जाँच गराउन अग्रसर देखिन्छन् । अस्पतालहरूका तर्फबाट पनि स्क्रीनिङ भैराखेको छ । खाना सुध्रँदै गएको छ । सँगसँगै मधुमेह पनि बढ्दै गएको देखिन्छ । प्राकृतिक पोषणयुक्त खानेकुराहरू खाउँ भन्ने सबैमा परेको देखिन्छ । योभन्दा अगाडीको पुस्ताले नयाँ खानेकुरा मनपराएको देखेपनि अचेल मोटाउनु हुँदैन भन्ने जानकारी सबैलाई छ । मोटाएपछी भात कम गरौं, सलाद मात्र खाऔँ भन्ने दिमागमा बस्न थालेको छ । यो सबैको कारण समाजिक सञ्जाल पनि हो ।
त्यसो त बिरामीका कमजोरीहरू पनि धेरै छन् । बिरामीले औषधी खाँदा खाँदा दिक्क मानेर आएको देखिन्छ । कति जना इन्सुलिन लाएर छोडेर आउने हुन्छन् । कतिले मेडिकल औषधी छाडेर आयुर्वेदिकतिर गएपछि मिर्गाैला फेल भएर आएका उदाहरण पनि छन् । हेलचेक्राँइ बढेर हृदयघात भएकोसम्म पनि देख्न सकन्छि । यस्ता अवस्था टन्नै छन् । जटिलता टन्नै छन् । तर यथार्थ स्वस्कारेर औषधी र खानामा ध्यान दिने हो भने दीर्घकालसम्म पनि मधुमेहको असरबाट बच्न सकिन्छ ।
मधुमेह भएको दुई चार बर्षपछि नै औषधी कति खानु भन्ने सोच धेरैमा आउँछ । लामो समयले दिक्क बनाउँछ । यसलाई राम्रो सँग बुझ्न जरूरी छ । केही बर्षको औषधी सेवनपछि समस्या साधारण जस्तो लाग्ने हुने हुनाले धेरैले औषधी छोड्ने गर्छन् । त्यसले मिर्गाैला, हृदय वा अन्य अंग बिगारिसकेको हुन्छ । त्यसैले आफ्नो रोगकाबारेमा नबुझी औषधी खाने वा छाड्ने दुबै गर्नु हुँदैन ।
हामी सधैं १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउने गर्छाैं । यस दिन ‘एक्सेस टू डायबेटिज’ भनेर २०२१ देखी २०२३ सम्मका लागि अभियान सुरू भएको छ । यो बर्षको प्रमुख विषयवस्तु ‘एजुकेट टू प्रोटेक्ट टूमरो’ छ । आज हामी सम्पूर्ण मान्छे, बिरामी, स्वास्थ्यकर्मी लगायतलाई शिक्षा दिन्छौ कि भोलिको दिन राम्रो होस् भनेर ।
माइक्रो र म्याक्रो भ्यास्कुलर जटिलता भोलिको दिनमा आउनेवाला छ । त्यसलाई सामान्य बनाउनका लागी कार्यक्रमहरू गर्छाैं । यस कार्यक्रममा म्याराथन, व्यायाम लगायत खानाको उचित बानी बसाल्नु पर्छ भनेर प्रोत्साहन गर्छाैं । खुट्टाको केयर, आँखाको रेटनल एक्जामिनेसन लगायत हृदय चेक जाँच गराउने कुराहरू गर्छाैं ।
यो दिवसको प्रगति भनेको बिरामीलाई सचेत गराउनु नै हो । हामी यो क्रमलाई हरेक बर्ष निरन्तरता दिइरहेका छौं । मधुमेहका कारण कसैको खुट्टा काट्न नपरोस् । आँखा गुमाएर अन्धो हुन नपरोस् । हृदयघात भएर लाखौं खर्च गर्दा पनि ज्यान नजोखिने स्थिति नआओस् । प्रत्येक टोल, वस्ती र व्यक्तिले यो सन्देश प्राप्त गर्न सकून् । आजको शिक्षा नै भोलिको सुरक्षा बन्न सकोस् ।
* (यस अघिको शीर्षक र त्यसमा रहेकाे तथ्यमा त्रुटि हुन गएकाले क्षमा याचना सहित सच्याइएको छ– सम्पादक)