लिङ्ग जैविक निर्मितिको विषय हो । लैङ्गिक, जातिय, वर्गीय, क्षेत्रीय विभेद सामाजिक र सांस्कृतिक रूपमा निर्मित ज्वलन्त पक्षहरू हुन् । हालसम्म नेपाली साहित्य, सञ्चार र संस्कृतिमा महिलालाई लोग्नेछोरोको आश्रित वर्गका रूपमा चित्रण गरिँदै आएको पाइन्छ । नेपाली साहित्यकी सशक्त हस्ताक्षर पारिजातको ‘अनिदो पहाड’की सुबानी, ‘शिरिषको फूल’की सकम्बरी, पद्मावती सिंहको ‘समानान्तर’ की सुस्मिता (म पात्र), शारदा शर्माको ‘ताप’ उपन्यासकी चन्द्रिका जस्ता नारी पात्रहरूले पुरुष सत्ताका कारण उत्पन्न मानसिकता र व्यवहारिक मिचाइलाई चुनाैति दिएका छन् । लोग्नेछोरोको साथ र सद्भावविना नारीको अस्तित्व र व्यक्तित्वले पूर्णता पाउन नसक्ने पितृसत्तात्मक मानसिकता वर्तमान समयमा पनि जर्बजस्त रूपमा देखिनु बडो खेदपूर्ण छ । पितृसत्तामा महिलालाई लोग्नेछोरोको पूरकका रूपमा लिइन्छ ।
प्रकाश सपुतको हालसालै बजारमा निकै चर्चा पाएको ‘फुलमाया’ शीर्षकको गीतमा एउटी महिलालाई केबल याैन खेलाैनाका रूपमा प्रस्तुत गरिएको छ । फुलमाया गरिबी, अभाव र अपमानलाई मेट्ने तिर्खा पालेर सहर पसेकी छिन् । तर सहरमा भेटिएका हरेक पुरुषले पालैपालो उनको कौमार्य लुटेका छन् । एउटी निरीह र विवश युवती कसरी नगरवधु बन्न बाध्य हुन्छिन् ? त्यो विवशताकको सजीव चित्रण हो फुलमायाकी ‘सकम्बरी’ ।
दलाल, पूँजीवादी अर्थव्यवस्थामा हरेक चिजलाई भौतिकवादी र उपभोक्तावादी दृष्टिकोणबाट हेर्ने गरिन्छ । यस गीतमा पनि फुलमाया उत्तरार्धमा ‘सकम्बरी’ भनिएकी महिलाको सौन्दर्यलाई सम्पन वर्गका पुरुषहरूले आफ्नो कामवासना पूर्ति गर्ने साधनका रूपमा प्रयोग गरेको देखिन्छ । फुलमायाको शरीर लुट्नेहरूले नै उल्टै उनको अस्तित्वको कुरा गर्नु विरोधासपूर्ण देखिन्छ । हुन त यस्तो दोहोरो चरित्र नेपाली समाजको ठूलो गुण हो । आदरणीय स्रष्टा श्यामप्रसाद शर्माले ‘आइमाई साथी’ निबन्धमार्फत् सात दशकअघि यस्ता चरित्रलाई व्यङ्ग्य गरेका थिए। आज पनि समाजमा मात्र हाेइन सिंगाे मुलुकमै त्यस्तै चरित्र भएका अधिकांश अगुवा सत्ता, शक्ति र पदमा आसीन भएर इमान्दार, देशभक्त र सिधासाधा नागरिक तथा व्यक्तिहरूमाथि राज गर्दै गुड्डी हाँक्छन् । मानौँ रातो भाले बडो सान देखाउँदै परम्परागत खरको छानोमाथि बसेर बास्दै छ ।
नेपाली समाज र संस्कृति बडो विचित्रको छ या भनौ हामीले बनाएका छौँ । विभिन्न बाध्यताले देह व्यापार गर्ने महिला नगरवधु, वेश्या वा गणिका कहलाउँछे । उसको अस्मिता लुटिन्छ तर त्यही कार्यमा सम्लग्न पुरुष चोखो हुन्छ । ऊ फुँडो कहलाउँदैन । यस्तो लाग्छ यो समाजमा विचरा पुरुषको त कुनै इज्जत र मर्यादा नै छैन । आजकाल भनिन्छ नि माइन्ड भए पो माइन्ड हुनु ? यस कुरालाई देखाउनु गीतको सबल पक्ष मान्नुपर्छ ।
फुलमायामा प्रकाश सपुत नगरवधु बन्न बाध्य भएका महिलाहरू जो आफ्ना अनगिन्ती इच्छा, आकांक्षा र रहरहरूलाई छिटो पूरा गर्ने महत्वाकांक्षाका कारण गलत बाटोमा हिँडेका छन्, तिनलाई सचेत गर्न चाहन्छन् । तर बाटो देखाउने तरिका सचेत रूपमा गरिएको छ त ? उही परम्परागत ट्रेन्डलाई अनुसरण गरिनु गीतको सबैभन्दा दुर्बल पक्ष हो । त्यो भन्दा खतरनाक कुरा त भिडियोमा यौनकर्मी महिलालाई देखाउन पुरै चलचित्रको अश्लिल शैली अपनाइएको देखिन्छ । प्रकाश सपुत स्वयं पुरुष भएकाले उनमा पनि पितृसत्ताको मूल्य मान्यता हाबी हुनु अस्वभाविक भने पक्कै होइन ।
केही महिना अघि मात्र बिबिसीले समस्यालाई पहिचान गर्न नसक्ने आधारमा नेपाली सामान्य ज्ञानमा कमजोर रहेको तथ्य साबित गरेको थियो । नेपाली जनतालाई धर्म, संस्कृति र पार्टीका नाममा विभाजन गर्दैै समाजमा, देशमा एकलौटी शक्तिमा शासन गरी आएका एकथरी वर्गहरू छन्, जसका पञ्जाबाट बुद्धिजीवी भनाउँदाहरू पनि अछुतो रहन सकेका छैनन् । किनकि यहाँ सबैलाई चाहिएको त अवसर, शक्ति र सम्मान हो । दुनो सोझ्याउने खेती नगरी इज्जतदार भइँदैन क्यार । समाजमा आशा र विश्वासको दियो जलाउने जीवनको मूल्य, मान्यता र सत्य पस्कने गीत, सङ्गीत र साहित्यलाई पनि पार्टीकै बिल्ला भिराइन्छ । यो ठूलो विडम्बना हो, देशका लागि । उद्देश्यपूर्ण र सार्थक जीवनको खोजी गर्न समाजको आमूल परिवर्तन हुनुपर्छ । परिवर्तनका लागि सचेत, सङ्गठित जीवन र कार्यगत सक्रियताको आवश्यकता पर्छ र त्यसअनुरुप कार्य नहुँदा सानोतिनो सङ्घर्षले पूँजीवादको स्वाद चाख्न पल्केका वर्तमान परिवेशका प्रकाश सपुतहरू जन्मन्छन् ।
समाजलाई सबैभन्दा चाँडो प्रभावित पार्न सक्ने वर्ग कलाकार, पत्रकार, नेता, शिक्षक र त्यहाँका अगुवा तथा सामाजिक अभियन्ताहरू हुन् । पारिजातले भन्नुभएको थियो, “कलम बन्दुक र बारुतभन्दा बढी विस्फोटक हुन्छ ।” यस कुराको पुष्टि कृष्णसेन इच्छुक लगायतका कति निहत्था कवि, कलाकारहरू राज्य आतंकको सिकार बनेको इतिहास साक्षी छ । आज नेपाली नागरिक राज्य व्यवस्थामा जुन पद्धति, प्रणालीको खोजीमा रवि लामिछानेको पछि लागेका छन् त्यो उनको खोजमूलक पत्रकारिताको सफलता हो । उनी उज्यालो देखाउने मार्गमा अग्रसर हुँदाहुँदै पनि उनले सामान्य ठानेको विषयले राज्यलाई दोहोरो खर्च अर्थात् उप–चुनाव गराउने स्थितिमा पुर्यायो । सपुतका गीतका शब्दहरू सायद उनको हृदयबाट निक्लिएका छन् तर गीतमा प्रस्तुत कथावस्तुको पाटो कति फितलो छ भने आमा भन्छिन् , “फुलमाया भर्खरकी फूलजस्तै छे । मानौँ कुनै भँमराले स्पर्श नगरेको फूल । तर उनी त म्युजिक भिडियोमा काम गरी मोडल बन्ने मोह भएकी महिला हुन्, गाउँकी सिधा, निश्चल र निष्कपट केटी होइनन्, जसलाई सपुत देखाउन चाहन्छन् । उनमा पैसा कमाएर ऐस, आराम गर्ने, आडम्बर देखाउने रहरहरूको चाङ लागेको छ, त्यसैले उनले रोजेको बाटो बाध्यता मात्र होइन अनावश्यक आकांक्षाको चुरे पर्वत हो ।
सपुत भन्छन्, “कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न । हामी त आठ.....।” यो क्षेत्रमा जादूको छडी घुमाएर पैसा कमाउने बडो जण्ड भूत सवार हुँदो रहेछ । कहिले अर्काको सृजनाको नक्कल गर्दै, कहिले चर्चामा आउनकै लागि नाटक गरेर । अझ डरलाग्दो कुरा त स्थापित मूल्य मान्यताको धज्जी उडाएर । यो गज्जबको नशाजस्तो विकृति हो यस क्षेत्रको । यस क्षेत्रमा पूँजीवादको हावा मात्र नभई आँधीबेहरी नै चल्छ कि ? यसै क्षेत्रमा मह जोडी, रामेश, रायन, जीवन शर्मा, लोचन भट्टराई, कुन्ती मोक्तान, शिशिर योगीजस्ता कति हस्तिहरू आज पनि सामाजिक विकृतिविरुद्ध सचेत विद्रोह, व्यङ्ग्य चेतना फैलाउँदै, स्वस्थ मनोरञ्जन गराएर सुखसयलपूर्ण र सम्मानित जीवन बिताउँदै छन् । यसतर्फ नयाँ पुस्ताको अझ भनौँ एक जना आशालाग्दो प्रतिभाको आँखा नजानु अवश्य पनि विचारणीय पाटो हो ।
फुलमाया गीतको उत्तरार्धमा ‘शिरिषको फूल’ उपन्यास समाएर आफूलाई सकम्बरी भनाउन चाहन्छे । त्यो सकम्बरी जो आफ्नो निम्ति फुल्नु, फक्रनु अनि झर्नुलाई जीवन बनाएर आफ्नो अस्तित्वबोध गर्छे । पुरुषको आधिपत्य स्वीकार नगर्ने पारिजातभित्रको अति स्वाभिमानी नारीको प्रतीक हो सकम्बरी । ऊ महिलालाई यौनदृष्टिले हेर्नेे पुरुष सुयोगवीरलाई आत्मग्लानिले भुतुक्कै पार्ने सामर्थ्य राख्छे । त्यस्ती सकम्बरी जसलाई सुयोगवीर ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने हिम्मत गर्न सक्दैन । कुनै समय नेपालको ‘नोबेल पुरस्कार’सरह मानिने ‘मदन पुरस्कार’ प्राप्त ऐतिहासिक उपन्यासको पात्रलाई पार्ट अफ जोक्स बनाउने मानसिकता कहाँबाट आयो ? ‘शिरिषको फूल’ जसले अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा दर्जा पाएको छ र नेपालकी उपन्यासमा पारिजातद्वारा संरचित कृतिका रूपमा नेपाल चिनाउँदै छ । कहाँबाट आयो त्यत्रो साहस ? ‘पापी सहर’को रहर जाग्यो ? सन्दर्भमा ‘पापी सहर’भनेर काठमाडौँलाई आरोप गरिन्छ नि, त्यो शब्दमा सुधारको अत्यन्त आवश्यकता देखिन्छ । यसले नाच्न जान्दैन आँगन टेढो भन्ने नेपाली उखानलाई उजागर गर्छ ।
यो यही सहर हो, जसले देशका नेता, अभिनेता, साहित्यकार, बुद्धिजीवी जन्माएको छ । यही सहर जहाँ आफ्नो पुर्खाको विरासत सम्हाल्दै आफ्नो सम्पन्न संस्कृतिबाट नेपाललाई विश्वमा चिनाउँदै छन् । ती वर्ग जसले शिक्षा र विकासको नाउँमा बाबुबाजेले छाडेर गएका पुर्खाको धरोहर परम्परागत घर, मुटुसरह जमिन दिएर बेघर भएका छन् । तिनको प्यारो जन्मभूमिलाई वेश्या पुरुषले नगरवधुको कौमार्य लुटेझैँ उपभोग गरेर पापी सहरको नाम दिँदा मन दुख्दैन काठमाडौँका बासिन्दाको ? बाहिरबाट आएर बसेका नव धनाढ्यलेझैँ आफ्नो फाइदाका लागि धाक जमाउन परे काठमाडौँ अनि अवसर लिँदा जिल्लाबासीको पहिचान दिन्छन् । ओ काठमाडौंका सोझा नेवारहरू हो, अब त जाग । काठमाडौं उपत्यकालाई ‘पापी सहर’ भन्नेमाथि आबाज बुलन्द बनाऊ । तिम्रो बाजा, चाडपर्व, भेषभूषा, परिकारले नेपाललाई संसार चिनाउने क्षमता बोकेको छ । यु डिर्जभ इट प्रीय काठमाडौंवासी ।
अब यता आऔँ– पैसा कमाउने मनको धोकोकोे सीमा निर्धारण गर्न सकिएन ? कस्तो रङ्गीन रहर जाग्यो ? एउटा उच्च शिखरमा स्थापित स्रष्टाको विचारअनुसार निर्मित पात्रलाई चोमलुङ्गाको फेदिमा झार्ने दुर्भावना ? कृतिको गरिमा, स्रष्टाको आशयअनुसार पात्रको चरित्र निर्माणको उद्देश्य बुझ्न आवश्यक छैन ?
पारिजात जसले ‘नैकापे सर्किनी’ कथा लेखेर एउटी निरीह र गरिब देखिएकी कथित अछुत भनिएकी महिला कसरी आफ्नो अस्तित्व रक्षाका लागि अभिजात भनाउँदा पुरुषलाई टक्कर दिन सक्छे भनेर बाटो देखाई दलित भनेर हेप्नेलाई विद्रोहको राँको देखाएर गइन् । स्रष्टा पारिजात जस्ले ‘मानुषी’ कविता लेखेर समाजका लोग्नेछोरालाई सहअस्तित्वको सन्देश दिन्छिन् । ‘जुठी दमिनीको अभिव्यक्ति’ कवितामार्पmत् कथित दलित युवतीको भर्भराउँदो यौवन र सौन्दर्यमाथि र्याल काढ्दै यौन तृप्ति मेट्न खोज्ने कथित उच्च जात र वर्ग भनाउँदो मालिकलाई नाजबाफ बनाउँछिन् । पारिजातभित्रको छुवाछुत विरुद्धको आक्रोश हो त्यो । एउटा सचेत मार्गदर्शन हो । कुनै अशिक्षित युवती त्यस्तो जवाफ दिन सक्दिन ।

गणतन्त्रपछि संविधानले नेपालका महिला, आदिवासी, जनजाति, मधेसी समुदाय र भिन्न क्षमता भएका वर्गलाई सकारात्मक विभेद गर्दै आरक्षणको व्यवस्था गरेको कुरा परिवर्तन चाहने वर्गलाई जलनको विषय बन्ने गरेको देखिन्छ । नारीलाई आधा आकाश मान्ने पारिजातका कतिपय रचनाहरू केवल पारिजातजस्ता स्वाभिमानी, स्वतन्त्रताप्रेमी साँच्चै देशभक्त स्रष्टाले मात्र रच्न सक्छन् । प्रकाशजस्ता मानिसले बुझ्न धेरै धैर्य र साधनाको जरुरत पर्छ । पारिजात जसबाट पे्ररित भएर आज कति महिलाले समाजमा चेतनाको ज्योति जगाए, त्यस्ती स्रष्टाको पात्र तिम्रा लागि नगरबधु बन्ने महिलाको यथार्थ देखाउन लायक बन्न पुग्यो ? नगरबधुमा परिवर्तन हुँदै अस्तित्वको खोजी गर्ने प्रवल संभावना पनि हुन सक्छ, सकम्बरीको चरित्रबाट प्रभावित भएर तर आफूलाई सकम्बरी भन्दिनँ । अब उसलाई जीवनको भोगाइले बुद्धिमानी र सचेत बनाएको छ । सकम्बरी उसको प्रेरक चरित्र हो, ऊ सकम्बरी होइन भन्ने यथार्थलाई उस्ले बुझ्छे । मात्र गीति भिडियो बेचेर रातारात धनी र चर्चित बन्ने प्रकाशको मनको धोकोले यसरी प्रस्तुत गरियो फूलमयालाई ।
राष्ट्रकविको पगरी गुथेर जीवनभर राज्यको सुविधा प्राप्त गरेका कविवर माधव घिमिरेलाई ‘राष्ट्रकवि’ सम्मान दिँदा दाहाल यज्ञनिधिले कारण सहित विमति जनाएका थिए । उनको भनाई थियो– घिमिरेले थिचिएका, हेपिएका नेपाली जनता, आइमाई र लोग्नेछोराको पक्षमा सशक्त आवाज उठाउने हिम्मत गर्न सकेनन् । दुनो सोझ्याउन ऐतिहासिक राजामहाराजाको गुणगान गाउनमा अमूल्य मस्तिष्क खर्चिरहे । पारिजातले जस्तो निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा रचना गर्ने साहस देखाएनन् कविवर घिमिरेले, सबलाई चेतना भया ।
पारिजातले छुवाछुतजस्ता जातिय, लैङ्गिक, वर्गीय, क्षेत्रीय विभेद विरुद्ध बुलन्द आवाज उठाउँदा पञ्चायतकालदेखि प्रजातन्त्रसम्म राज्यको कुनै सुिवधा नलिई स्वाभिमानका साथ नेपाल र नेपाली चिनाउँदै बाँचिन् र नेपालको अनारिक हुँदै नेपाली नागरिकको मनमस्तिष्कमा अमर बनेर राज गर्दै छिन् । तिनको कृतिलाई मनोरञ्जनको विषयमा हल्का जोक्स् बनाउने हिम्मत गर्ने ? यस्ता फितलो कथावस्तु भएको गीत पस्किएर विवादमा आउँदै धनी बन्न रङ्गीन सपनाले हौसला दियो ? सकिन्छ यश कुमारले झै कथित दलित भनिएको मानवीय विषयलाई उठाऊ, सकिन्छ नारी पात्रलाई काल्पनिक रूपमा सही अर्थमा सशक्त बनाएर देखाऊ ताकि तिमीले ज्ञान दिन चाहेको असचेत युवतीहरू लाभान्वित हुन सकुन् ।
पारिजात प्रतिष्ठानद्वारा वर्षेनी विभिन्न उपशीर्षकमा दिइने पारिजात सम्मान पुरस्कार ग्रहण गर्ने सुअवसर पाउने स्रष्टाहरू साधनाको पचासौँ वर्ष बिताइसक्दा पनि पारिजातप्रति उनको कृति, त्याग, स्वाभिमानको उचाइबाट पग्लिएर भन्छन्, म अझै यस सम्मानको योग्य छैन कि ? आफैँलाई प्रश्न तेर्स्याउँछन् अनि पारिजातको नामसँग ससम्मान जोडिन पाएकामा आफ्नो छाती तराईजस्तै फैलाउँदै पुलकित हुन्छन् । एकपटक फेरि तिनको अनुहारमा पारिजातको स्वाभिमान र अमरताको प्रतिछायाँ झल्किन्छ । दर्शकहरू हर्षले विभोर हुन्छन् । ती रचनाकारहरू फेरि केबल देश र जनताका लागि पारिजातजस्तै इमान्दार भएर सृजना गर्ने मनमनै प्रण गर्छन् । यस्तो गर्विलो कुराको अनुभूति प्रकाशजस्ता कुनै पनि मूल्यमा चर्चामा आउनमा गर्व गर्ने कलाकारले कहिले बुझ्लान् ? सपुतको उद्देश्य सायद राम्रो होला तर मिठो स्वर र शब्दको जादूमा अश्लिल चित्र देखाउँदै रस दिनु भनेको सलक्क, राम्रा र कलकलाउँदो तरकारीमा विषादी प्रयोग गरेर मन्द विष खुवाएजसतो भएन र ?