भनिन्छ, शिक्षाभन्दा संस्कार महत्वपूर्ण हुन्छ । त्यसैले जीवनमा संस्कारको ठूलो महत्व छ । संस्कार भनेको एक तवरले व्यवहार हो । व्यवहारभित्र शिष्टचार, बोलीचाली, सम्बन्धलगायत थुप्रै कुरा पर्छन् । चिकित्सकहरूले मेडिकल संस्कारलाई बुझ्न अत्यन्तै आवश्यक छ ।
हामी बारम्बार गुनासा सुन्छौं– किचिकित्सक घमण्डी हुन्छन् । अरूसितका कुरा छोडौं, चिकित्सक चिकित्सकबीच नै न्यानो सम्बन्ध हुँदैन भन्ने पनि सुनिन्छ । आफूले गरेको सबै राम्रो, अरूले गरेको उपचारै गलत वा अपुरो भनिदिने गरेका जस्ता गुनासा पनि उत्तिकै हुन्छन् । कतिपय अवस्थामा सिनियर डाक्टरहरूले जुनियर डक्टरलाई उचित व्यवहार नगर्ने र जुनियरले पनि सिनियरको आदर नगर्ने अवस्था देखिन्छ । यी र यस्तै गुनासाहरू पछिल्लो समयमा बढ्ने क्रममा छन् जसको एउटै कारण हो- मेडिकल संस्कारको कमी ।
मेडिकल संस्कार
चिकित्सकहरूको आफ्नो छुट्टै प्रकारको जीवन हुन्छ । उनीहरूको पेसागत वृत्तभित्र सहकर्मी, सहयोगी, अग्रज, अस्पताल, गुरु र बिरामीलगायत पर्छन् । आफ्नो कोठाको ढोका खोलिदिने कार्यालय सहयोगीदेखि लिएर आफूलाई ज्ञान दिएर जीवनकै ढोका खोलिदिने गुरुहरूसम्मलाई सही र शिष्टतापूर्ण व्यवहार गर्न सक्नु नै मेडिकल संस्कार हो । र, त्यो नै एक संस्कारी चिकित्सक हो जसले जस्तै विषम परिस्थितिमा पनि मेडिकल संस्कारलाई भुल्दैन ।
मेडिकल संस्कारयुक्त चिकित्सक भद्र, नम्र, प्रसन्न, धैर्य र उत्सुक हुन्छ । किनभने यिनीहरू नै संस्कारका उच्चतम आधार हुन् । यस्तो चिकित्सकले सबैसँग उही रूपमा व्यवहार गर्छ । खासगरी उसले आफ्ना सहकर्मी साथीहरू र अग्रजहरूलाई खुला दिलले सम्मान गर्न सक्छ। किनभने अरूलाई सम्मान गर्न जान्नेले नै अरूबाट पनि उचित सम्मान र इज्जत पाउँछ ।
अरूहरूसितको तुलनामा बिरामीसितको चिकित्सकको व्यवहार अझ सरल, सौम्य, नम्र र भद्र हुनुपर्छ । किनभने बिरामीले हामीबाट त्यस्तो बेला साथ–सहयोग चाहेको हुन्छ, जतिबेला उ जीवनका जटिल परिस्थितिहरूबाट गुज्रिहरेको हुन्छ ।
जीवन–मरणको दोसाँधबाट गुज्रिरहेका हामी नै उसको विश्वासको अन्तिम आधार हुन्छौं । त्यस्तो बेला ऊसित गरिने व्यवहार रूखो वा निर्मम हुन गयो भने एउटा मात्र हैन, सबै चिकित्सकप्रतिको उसको भरोसा टुट्छ । त्यसैले बिरामीसित सही व्यवहार गर्न सक्नु मेडिकल संस्कारको एउटा अभिन्न पाटो हो ।
बिरामीसँग कसरी व्यवहार गर्ने भन्ने प्रश्नमा सबैकाे शतप्रतिशत एउटै धारणाा नहुन सक्छ । तैपनि उनीहरुसित कसरी प्रस्तुत हुने भन्नेबारे न्यूनतम साझा अवधारणा तय हुन सक्छ । बिरामीसँग व्यवहार गर्दा ध्यान दिनुपर्ने केही मुख्य बूँदाहरु यी हुन सक्छन्-
आफैं अभिवादन गर्ने : बिरामीलाई देख्नेबित्तिकै चिकित्सक आफैं अभिवादन गर्न अग्रसर हुनुपर्छ । बिरामी वा उसका आफन्तले आफूलाई मान गरून् भन्ने अपेक्षा गर्नु हुँदैन । म चिकित्सक हुँ र म अरूहरूभन्दा निकै नै फरक हुँ भन्ने घमण्ड रहेसम्म मनमा यस्तो भावना पैदा हुन सक्दैन । जसले म पनि अरू आम पेसाकर्मीसरहकै एक हुँ भन्ने सम्झन सक्छ, उसले बिरामीलाई आफैं नमस्कार गर्न अलिकति पनि हिच्किचाउँदैन ।
कुराकानी सुरु गर्ने : कुराकानी गर्दा बिरामीलाई चिकित्सकको ध्यान पूरापूर ममाथि नै छ भनेर महसुस हुनु पर्छ । बिरामीसँग बोल्दै मोबाइल चलाउँदै वा अरूतिर ध्यान दिङ्गदै गर्नु हुँदैन । बिरामीले भनेका हरेक कुरालाई उत्तिकै ध्यान दिइएको हुनुपर्छ । उपचारका क्रममा उसले भनेका सबै कुराले अर्थ नराख्न सक्छन् । तर बिरामीले मेरो कुरा डाक्टरले राम्ररी सुन्दा पनि सुनेनन् भन्ठान्ने अवस्था आउन दिनु हुँदैन ।
बिरामीलाई बोल्न दिने : चिकित्सकको पेसा नै यस्तो हो कि ऊ सधैं हतारमै हुन्छ । एउटा बिरामी हेर्न भ्याएको हुँदैन, अर्को हेर्न बितिसकेको हुन्छ । तर जति नै व्यस्त भए पनि बिरामीलाई आफू हतारोमा भएको छनक दिनु राम्रो होइन । उसलाई आफ्ना जिज्ञासा शान्त नभएसम्म चिकित्सकले पर्याप्त समय दिए भन्ने महसुस हुने वातावरण बनाउनुपर्छ । साथै आफ्नो समय अति महत्वपूर्ण र बिरामीको समयको महत्व नै नभएजस्तो गर्नु हुँदैन । हामीकहाँ बिरामीलाई एकदमै कुराउने चलन छ । यसो गर्नु गलत हाे । केही गरी कुराउनुपरेको छ भने ‘सरी’ भन्न हिच्किचाउनु हुँदैन ।
आँखाको भाका बुझ्ने : बिरामीले भनेका कुरा सँग सँगै उसको बडी ल्यांग्वेजले पनि विभिन्न कुरा भनिरहेका हुन्छन् । त्यसलाई नियाल्न सक्नुपर्छ । कतिपय शब्दमा व्यक्त नभएका कुरा आँखाले भनिरहेका हुन्छन् । अक्सर बिरामी कत्तिको पीडामा छ भन्ने कुरा पनि उसको आँखा नियालेरै पत्ता लाग्छ ।
ओपन इन्डेड प्रश्न सोध्ने : बिरामीका समस्याका उत्तर केवल ‘हो’ वा ‘होइन’ मा मात्र आउँदैन । कैयन् समस्या यस्ता हुन्छन् जसका उत्तर ठ्याक्कै वस्तुगत नहुन सक्छन् । त्यसैले उसलाई के भयो ? किन भयो ? कहाँ भयो ? कसरी भयो ? कहिले भयो ? कोसित भयो ? यी सबै प्रश्नहरू सोध्न छुटाउनु हुन्न । उदाहरणका लागि पेट दुख्ने समस्या लिएर आएको कुनै बिरामीलाई एउटा चिकित्सकले कसरी प्रश्न सोध्नु उपयुक्त होला भनेर हेरौं –
तरिका १ : तपाईंलाई सधैं त पेट दुख्दैन होला नि हैन ?
तरिका २ : तपाईंलाई कहिले कहिले पेट दुख्छ ?
तरिका ३ : तपाईंको पेट दुखाइबारे बताउनुस् न ।
यी तीन तरिकामध्ये पहिलोभन्दा दोस्रो तरिका ठीक । दोस्रोभन्दा तेस्रो तरिका अझ ठीक छ । किनभने पहिलो तरिकाले बिरामीलाई उत्तरको कम विकल्प दिन्छ । दोस्रो तरिकाले पहिलोभन्दा बढी विकल्प दिन्छ । तेस्रो तरिकामा बिरामी आफैंले पूरै जवाफ दिनुपर्ने हुन्छ ।
प्राविधिक कुरा नगर्ने : बिरामीले टेक्निकल जार्गनहरू हैन, आफ्ना समस्याको समाधान सुन्न चाहेका हुन्छन् । यदि प्राविधिक पक्षहरूबारे बताउनैपर्नेछ भने, त्यसको सबिस्तार सरल र बुझिने गरी व्याख्या गरिदिनुपर्छ । बिरामी डाक्टरसित मेडिकल साइन्सका टर्मिनोलोजीहरू सिक्न हैन, रोगमुक्त हुन आएका हुन्छन् ।
थप अवसर दिने : आफ्ना सबै परामर्श, उपचारविधि, औषधि वा निर्णयहरू सुनाइसकेपछि बिरामीलाई त्यसबारे केही थप बुझ्नु छ कि भनेर फेरि बोल्ने वा आफ्ना कुरा सोध्ने अवसर दिनुपर्छ । यसले बिरामीमा उपचार प्रक्रियाप्रति पूर्ण भरोसा पैदा गर्छ ।
आशावादी बन्ने : बिरामीसँगको संवाद सकेसम्म सकारात्मक र आशावादी कुराहरू गरेर टुंग्याउनुपर्छ । उसको हालत जतिसुकै नाजुक भैसकेको भए पनि त्यसमा निराशा थप्ने काम गर्नु हुन्न । बीचैमा कुनै समस्या आइपरे कसरी सम्पर्क गर्ने भन्ने जानकारी दिनुपर्छ ।
उपेक्षाबाट बच्ने : बिरामीको अघिल्तिर अन्य चिकित्सक, सहकर्मी, सहयोगी वा अरू कसैको पनि उपेक्षा नहोस् भन्नेमा एकदमै सचेत रहनुपर्छ । अरूले दिएको रिपोर्ट हेरेर तत्काल नकारात्मक टिप्पणी गर्नुभन्दा पनि बीचको बाटो रोज्न सकिन्छ । यसको मतलब अरूले गलत काम गरेछन् भने त्यसलाई पनि स्वीकार्नैपर्छ भन्ने होइन । अर्को चिकित्सकले जाँचेर पठाएको बिरामीको रिपोर्ट हेर्दा अपुरो लाग्न सक्छ । मेडिकेसन उचित नलाग्न सक्छ । तैपनि तपाईं भन्न सक्नुहुन्छ– तपाईंको रिपोर्ट हेरें, कहिलेकाहीँ सबै कुरा छर्लंग हुन्न । दोहोर्याएर हेर्नुपर्छ । फेरि एकपटक म यसलाई गम्भीरतापूर्वक हेर्छु है ।
यसरी एक जना चिकित्सकको व्यवहार राम्रो भयो भने त्यसको जस सम्पूर्ण चिकित्सकलाई जान्छ । नराम्रो भयो भने सबैको बदनाम हुन्छ । कुनै पनि चिकित्सक जतिसुकै अनुभवी भए पनि उसका सिक्ने बाटोहरू सदैव खाली नै रहन्छन् । किनभने सिकाइ भनेकै कहिल्यै नसकिने प्रक्रिया हो । सिकाइको नदी सधैं सिनियरबाट जुनियरतर्फ मात्र बग्छ भन्ने मान्यता राख्नु हुँदैन ।
असल शिक्षक त्यो हो, जसले विद्यार्थीलाई सही शिक्षा दिन सक्छ । त्यो उत्कृष्ट शिक्षक हो, जसले विद्यार्थीलाई सिकाउनुअघि उनीहरूबाटै शिक्षा लिइरहेको हुन्छ । यो तथ्य चिकित्सा शिक्षा क्षेत्रमा अझै बढी लागू हुन्छ ।
संस्कारले हामीलाई सधैं न्यानो सम्बन्ध बनाइराख्न सहयोग पुर्याउँछ । साथै गुणस्तरीय उपलब्धितर्फ प्रेरित गर्दछ । एउटा चिकित्सकलाई प्रतिष्ठित बनाउन उसको योगदान, क्षमता र लगाव जति महत्वपूर्ण छ उसको संस्कार पनि त्यति नै महत्वपूर्ण हुन्छ । सबै कुरा भएर पनि यदि संस्कार भएन भने जीवनमा कहिल्यै आनन्द प्राप्त हुँदैन ।
अचेल हाम्रो सिंगो समाजमा संस्कार खस्किएको र मानवीय मूल्य–मान्यताहरू विचलित हुँदै गइरहेको महसुस हुन थालेको छ । मानिसहरू स–सानो कुरामा पनि तीव्र रुपमा असन्तुष्ट हुने, रिसाउने वा झर्किने गर्छन् भनिन्छ । किनभने उनीहरू अनेक खालका मानसिक तनावमा हुन्छन् ।
आज संसारभर अन्य पेसाकर्मीहरू मात्र नभई चिकित्सकसमेत मानसिक रोगको सिकार भएका छन् । यसको मूल कारण के भने हामी शिक्षित त भयौं तर त्यही अनुपातमा संस्कारी हुन सकेनौं । हिजो हाम्रा आमाबाबा, हजुरबुबाहरूसँग शिक्षा थिएन तर संस्कार थियो । त्यसैले निरक्षर रहँदा पनि उनीहरूको जीवन आजको जस्तो तनावपूर्ण थिएन । आज धेरै मानिससँग उच्च शिक्षा त छ तर उचित संस्कार नपाउँदा उनीहरू दुःख, चिन्ता र तनावमा छन् ।
म को हुँ ? के हुँ ? कहाँ छु ? के गर्दै छु ? कुन जिम्मेवारीमा छु ? के मेरो पदीय हैसियतले यी सब गर्न दिन्छ जुन मैले गरिहरको छु ? यी प्रश्नहरूमा हरेक चिकित्सक एकदमै प्रस्ट रहन जरुरी छ । चिकित्सकीय संस्कार पहिल्याएर त्यसलाई दैनिक व्यवहारमा उतार्न सक्ने चिकित्सकले आफ्नो पेसागत जीवनमा एउटा उल्लेखनीय उचाइ त हासिल गर्छ नै साथ साथै अन्तर्मनदेखि नै आत्मसन्तुष्टिसमेत प्राप्त गर्दछ ।
(डा. रिजालको प्रकाशोन्मुख कृतिबाट )