शौचको आदत ! सुन्ने वित्तिकै यो अलिकति नयाँ विचारजस्तो लाग्न सक्छ । किनभने यस विषयमा पहिले खासै चर्चा भएको छैन । अनि धेरैलाई लाग्न सक्छ– शौचको पनि कुनै आदत हुन्छ र ? हो हुन्छ । हुन्छ मात्र हैन, शौचको आदतले हाम्रो स्वास्थ्यमा गम्भीर प्रभावसमेत पारिरहेको हुन्छ ।
‘शौच’ शब्दले सामान्यतः दिसा पिसाव जाने दुबै क्रियालाई जनाउँछ । तर यो आलेखमा उठाउन खोजिएको विषयवस्तु दिसा गर्ने बानीसँग सम्बन्धित छ ।
शौचको आदत र खाना खाने बानी अन्तर्सम्वन्धित छन् । खाना खाने बानीमा हामी कस्तो खानेकुरा खान्छौं ? कतिबेला खान्छौं ? कति मात्रामा खान्छौं ? आदि कुराहरू पर्छ । शौचको आदत भनेको पनि हामी कतिबेला, कतिपल्ट, कति समय लगाएर शौच जान्छौं भन्ने नै हो ।
खाएको निश्चित परिमाण हाम्रो शरीरले पचाउँछ । नपचेर बाँकी रहेको पदार्थ हामी शरीरबाट निकाल्छौं । यो प्राकृतिक प्रक्रिया नै हो । प्राकृतिक प्रक्रिया भए पनि यो प्रक्रियालाई केही न केही मात्रामा हामी आफ्नो वशमा राख्न सक्छौं । हामी जस्तो खाना खान्छौं, जस्तो शौचालय प्रयोग गर्छाैं, शौचालयमा जति समय बस्छौं, त्यही अनुसार शौचको समय र समस्या निर्धारित हुन जान्छ ।
शौचको आदत यस्तै हुनुपर्छ भन्ने किटानीका साथ भन्न सकिन्न । तर त्यस्तो आदत कम्तिमा स्वस्थ्य चाहिँ हुनै पर्छ । स्वस्थ्य आदत हो कि होइन भनेर थाहा पाउन शौच कतिपल्ट गर्नु सामान्य हो, एक दिनमा कतिपल्ट र हप्तामा कतिपल्ट भनेर हामीले बुझ्नु पर्छ ।
दिनमा सामान्यतः एकपल्ट दिसा गर्नु उपयुक्त मानिन्छ । तर तीन पटकसम्म गर्दा पनि असामान्य भन्न मिल्दैन । दुई दिनमा एकपल्ट गर्नु पनि सामान्य नै हो । किनभने कसै कसैलाई दिनहुँ दिसा नलाग्न पनि सक्छ । तर दुई दिनभन्दा बढी बिराएर जानु चाहिँ नराम्रो हो ।
शौचालय जाने समयले पनि स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ । आज बिहान गएर भोलि चाहिँ बेलुका मात्रै जाने अवस्था छ भने त्यो असामान्य भयो । त्यस्तै कहिले बिहान ५ बजे त कहिले बेलुकी ४ बजे जाने हो भने त्यो पनि सामान्य आदत मानिन्न । ठ्याक्कै दुरुस्त नभए पनि केही घण्टाको अन्तरलाई भने अस्वाभाविक मानिँदैन ।
दिसा गर्दा दुख्नु भएन, रगत आउनु हुँदैन, धेरै पहल गर्नु पनि हुँदैन । दिसा गरेपछि बाँकी छ कि छैन भन्ने ख्याल राख्नु पर्छ । आफूलाई खुलस्त भएको महसूस हुनु पर्छ । तर भएन भने पनि बल गर्नु हुँदैन ।
दिसाको परिमाण एउटा निश्चित हुने भए पनि त्यो मानिसको आहारा कति छ भन्नेमा निर्भिर गर्छ । बैज्ञानिक रुपमा भन्नु पर्दा एकपल्टको दिसा २ सय देखि ४ सय ग्राम हुनुपर्छ । तर हाम्रो मनोविज्ञानमा दिनमा १ पल्ट दिसा बस्नुपर्छ र पेटमा भएको सबै निकाल्नु पर्छ भन्ने छ । यस्तो आदत सही होइन ।
यी सबैभन्दा पनि महत्वपूर्ण कुरा हामीलाई शौचालय कति समय बस्नु पर्छ भन्ने थाहा हुनु पर्छ । आजकल मानिसहरू मोबाईल चलाउँदै गेम खेल्दै, गीत सुन्दै शौचालयमा बस्ने गर्छन् । यो एकदमै खराब बानी हो । किनभने हामीले मोबाइल चलाउँदा चलाउँदै १५-२० मिनेट बितेको पत्तै हुँदैन । १५-२० मिनेट कमोडमा बिताउनु राम्रो होइन ।
यसो किन भनिएको हो भने जति धेरै समय कमोडमा वितायो हामीले दिसा होस् भनेर उति लामो समयसम्म कनिरहेका हुन्छौं । धेरै कन्दा मलद्वार वरिपरिका नसाहरूमा निरन्तर दवाव पर्न गई फुट्न सक्ने जोखिम हुन्छ । पछि गएर त्यसैले पायल्स वा अन्य जटिल रोगको रुप लिन सक्छ ।
शौचको आदत व्यक्ति वा विरामीको विश्वस्ततासँग पनि जोडिएको हुन्छ । खाएको कुरा पच्यो पचेन भन्ने कुरा सामान्य मानिसलाई पनि थाहा हुन्छ । खाँदा खेरी पेट दुखेन र उल्टी भएन भने पचेको मानिन्छ । दिसा गोटा जस्तो हुनु हुँदैन । धेरै पातलो पनि हुनु हुँदैन ।
शौचको गलत आदत खाने कुरासँग सम्बन्धित छ । कहिले जंक र कहिले गरिष्ठ भोजन गर्दा हाम्रो खाने बानी नै बिग्रिइरहेको हुन्छ । सँधैजसो चाउचाउजस्ता खाद्य प्रयोग गर्दा समस्या छिट्टै देखा पर्छ । जंक फुड खाँदा दिसा नै राम्रोसँग बन्दैन । दिसा राम्रो नबनेपछि सफा हुन गाह्रो हुन्छ । त्यस्तो अवस्थामा हामी दिसा आएन भनेर झन् बढी बल गर्छौं । कसै कसैको त एक घण्टासम्म पनि बस्ने बानी हुन्छ ।
खाना खाने सबैको आ–आफ्नै तौरतरिका हुन्छ । खाना खाँदा सबै मिलाएर खानु पर्छ । रेशादार खानेकुरा खानु पर्छ । हामी सामान्य खानेकुरामा पनि फाइबर पाउँछौं । जस्तै भात, रोटी तरकारी सबैमा फाइबर हुन्छ । चाउचाउ, बिस्कुट, ब्रेड चाहिँ फाइबर विहीन हुन् । फाइबारको ओभरडोज हुँदैन । आफूलाई कति चाहिन्छ भन्ने कुरा आफैंलाई अन्दाज हुन्छ ।
खाने समय नियमित भयो भने शौचालय जाने समय पनि आफैं नियमित हुन्छ । मानिसहरू बिहान उठ्ने वित्तिकै शौचालय जान खोज्छन् । बिहान उठेर उपयुक्त मात्रामा नास्ता खायो भने शौचालय जान आफैं मन लाग्ने हुन्छ । बिहान सबेरैको नास्ता स्वस्थ्यकर र उपयुक्त मात्रामा हुनु पर्छ । यसो हुँदा त्यसको आधि घण्टामा दिसा हुन्छ । त्यसका लागि हामीले विहानको नास्ताको समय निर्धारित गर्नु पर्ने हुन्छ ।
एक बिहानको नास्तामा दुई वटा ब्रेड, दुई वटा अण्डा, अलिकति उमालेको सब्जी र एउटा कुनै एउटा फलफूल जस्तै स्याउ, अनार वा केरा ठिक्क हुन्छ । यति भयो भने पर्याप्त हुन्छ । सँधै यसरी नै खायो भने भोलिपल्टदेखि दिसा लाग्ने समय पनि नियमित भैहाल्छ । व्रतले पनि दिसाको आदतमा समस्या पार्छ । पानी कति मात्रामा पिउने गरिएको छ भन्नेमा पनि भर पर्छ ।
खाना मुखमा हालेदेखि दिसा बनेर निस्कने बेलासम्मको अवधिलाई आन्द्राको पाचन प्रक्रियाको समय भनिन्छ । यो अवधि २४ देखि ४८ घण्टासम्म हुन्छ । खाएको कुरा ७२ घण्टा भन्दा बढी पेटमा रहनु हुँदैन । दिसा बाहिर निस्कनका लागि प्रेरित गर्ने अर्को तत्व भनेको शारीरिक व्यायाम हो । त्यसैले दिनमा १ घण्टा अनिवार्य व्यायाम गर्नु पर्छ ।
शौचको गलत आदत भयो भने मलद्वारको वरिपरि संक्रमण हुन सक्छ । पायल्स, हेमोरोइडस् र फिसर शौचको आदतसँग सम्बन्धित हुन्छन् । कतै मेरो शौचको आदत गलत त छैन भन्नेमा हामी सचेत रहनुपर्छ । किन नियमित समयमा दिसा लागिरहेको छैन भन्ने कुरा बुझ्नु पर्छ । सबैभन्दा ख्याल गर्नु पर्ने कुरा चाहिँ शौचालय बस्ने समयमा सुधार गर्नु पर्छ । घडि हेरेर तीन मिनेट बस्नु पर्छ । यदि भएन भने सफा गरेर उठ्नु पर्छ । नत्र एकैपल्ट पायल्स वा अन्य जटिल समस्या भइसकेपछि अत्तालिने स्थिति आउँछ ।
प्राकृतिक प्रक्रिया अनुसारै अहिल्यै दिसा खुलेन भने पनि केही बेरमा खुलिहाल्छ । बिहान खुलेन भने बेलुका खुल्छ । तर हाम्रो मनोविज्ञानमा एकाबिहानै दिसा गर्नु पर्छ भन्ने परेको छ । त्यो सँधै सबैमा लागू नहुन सक्छ । कहिले काहिँ थोरै खाना खाँदा दिसा राम्रोसँग बनेको हुँदैन । त्यसैले पर्याप्त मात्रामा नखाएसम्म आउँदैन । त्यसैले यस्तै हुनुपर्छ भनेर जबर्जस्ती गर्न खोज्नु हुँदैन ।
शौचको आदतबारे हाम्रोमा जनचेतना एकदमै न्यून छ । यो क्षेत्रमा म दिनहुँ एक दर्जन र मासिक दुई–तीन सय बिरामी हेरिहरको छु । तर कसैलाई पनि यो विषयमा ज्ञान भएको पाएको छैन । शौचको आदतबारे कहिँ कतै लेखिएको पनि खासै पाइएको छैन । खाना अपच भएकादेखि पाइल्स भएका बिरामी समेतले यस विषयमा बढी ध्यान दिनुपर्छ ।
हामीकहाँ शाैचकाे आनीबानीबारे अध्ययन अनुसन्धान भएको वा कुनै दस्तावेज छैन । पाइल्सबारे अनुसन्धान गर्दा दिसा गर्ने समस्याबारे केही अध्ययन भने भएका छन् । यो यस्तो विषय हो जसमा राज्यलाई वा अरु कसैलाई गुहारिहनु पर्ने आवश्यकता पर्दैन । व्यक्ति आफैं सचेत भए पुग्छ । यदि हामी आफ्नो आची पनि सही ढंगले गर्न सक्दैनौं भने अरु ठूला गफ चुट्नु त बेकारै छैन र ?
पेटसम्बन्धी प्रायः सबै समस्या खाने र शौच गर्ने बानीसँगै सम्बन्धित हुन्छन् । पेटका समस्या भनेका प्रायः आउने ग्याष्ट्रिक र पायल्सका समस्या हुन् । दिसा गर्ने बानी राम्रो बायो भने ग्याष्ट्रिक र पायल्सलाई रोकथाम गर्न सकिन्छ ।
पायल्सको उपचार बिरामीको अनुभव अनुसार फरक फरक प्रकृतिको हुन सक्छ । कुनै निश्चित मापदण्ड वा निर्देशिका अनुसारभन्दा पनि व्यक्तिको भोगाई र अवस्था अनुसार त्यसलाई हेरिनु पर्छ । एउटै समस्यालाई पनि हल गर्ने फरक–फरक विधि र पद्धति हुन सक्छन् ।
कब्जियत भएका बिरामीले कस्तो खानेकुरा खाने भन्ने प्रश्नको जबाफमा व्यक्तिपिच्छे फरक–फरक सूची तयार हुन सक्छ । सबै सही नै हुन्छ तर धेरैका लागि कुन चाहिँ ज्यादा प्रभावकारी हुन्छ भन्ने मात्र हो । जुन धेरै प्रभावकारी हुन्छ, त्यसैलाई एउटा मापदण्ड जस्तो बनाएर लागू गरिने हो ।
बिरामीले चिकित्सको परामर्श सुनेर त्यसलाई अक्सर भुलिदिने गरेको पाइन्छ । त्यसो हुनु भएन । बिरामीहरू प्रायः बिहान बेलुका ट्याब्लेट के खाने भन्ने कुरालाई बाहेक अरु कुरालाई गम्भीर रुपमा लिने गर्नु हुन्न । औषधीलाई मात्र उपचार मान्नु हुन्न ।
पायल्सको ८० प्रतिशत उपचार दिसा गर्ने आदत सुधारेरै गर्न मिल्छ । चिकित्सकले परामर्शमा भनेका सबैकुरा उत्तिकै महत्वपूर्ण हुन्छन् । कुनैलाई हुबहु पालना गर्ने तर कुनैलाई वास्तै नगर्ने गर्नुले समस्यालाई बल्झाइमात्र रहन्छ ।
पायल्सको शल्यक्रिया एकदमै अन्तिम अवस्थामा गरिने विकल्प हो । पायल्सलाई हेलचेक्र्याई गर्दा पछि गएर एकदमै जटिल बनिसकेको अवस्थामा मात्र शल्यक्रिया गर्ने हो । उपचार कस्तो गर्ने भन्ने कुरा रोग कुन चरणको हो भन्नेमा निर्भर गर्छ । तर यो कुरा नबुझेर बिरामीहरुले उसलाई पायल्स हुँदा त्यसो गरेको थियो मलाई किन अर्कै गर्ने भन्नुहुन्छ । यसलाई हामी चिकित्साकर्मीले पनि राम्ररी बुझाउन सक्नुपर्छ ।
दिसा बस्ने सही आदतका लागि कमोड राम्रो मानिन्छ । कमोडमा बस्दा खुट्टामा ४ इन्च जतिको पिर्काजस्तो राख्नु पर्छ । हाम्रा कमोडहरूको उचाई चाहिनेभन्दा अलिकति बढी छ । तर दिसा हुने आन्द्रा केही घुमेको हुन्छ । त्यसैले अलिकति उचाई बढाउँदा दिसा खुल्न सहज हुन्छ । प्यानमा बस्ने हो भने हातको अघिल्तिर सपोर्ट हुनु पर्छ ।