‘ए, हो र ? यो उमेर मै ?’
‘हो नि, घरमै बेलुकाको खाना खाएपछि छाती भारी भएर आयो भन्दैथ्यो रे । सहनै नसकेपछि अस्पताल लगेको– हार्ट एट्याक भएको भन्दैथ्यो ।’
‘उ त भर्खर ३० वर्ष मात्र होइन र ?’
‘हो नि । कहिल्यै केही नभएको मान्छे । अस्पताल भनेको गएकै थिएन ।’
‘अलिअलि चुरोट तान्थ्यो । खानपिनचाहिँ रमाइलो गर्नुपथ्र्यो ।’
‘त्यही भएर अलि खाइलाग्दो नै थियो ।’
‘अलि अल्छी नि गथ्र्यो । खेल्नु नि नपर्ने ।’
‘अनि उपचार भयो ?’
‘अँ, राति नै एन्जियोप्लास्टि भयो रे ।’
‘त्यो भनेको के ?’
‘मुटुलाई रक्त सञ्चार गर्ने रक्तनली बन्द भएको थियो रे । त्यसलाई खोलिदिएको रे ।’
‘धन्न । अहिले कस्तो छ त ?’
‘अहिले त राम्रो छ रे ।’
आजभोलि यस्तो संवादप्रायः सुनिने गरेको छ । युवामा पनि हार्ट एट्याक हुने क्रम बढ्दो छ । मुटुरोग सम्बन्धी अस्पतालको पहुँच हुने ठाउँ छ भने केही सहज हुन्छ र समयै उपचार पाउन सकिन्छ । तर नजिकै मुटु अस्पताल नभएको ठाउँमा वा कुनै कारणले समयमै उपचार पाउन नसकिने अवस्थामा हार्ट एट्याकबाट नराम्रो स्थिति हुन सक्छ ।
हार्ट एट्याक भन्नासाथ यसै पनि डरलाग्दो भैहाल्छ । हुन पनि हो, मुटुमै आवश्यक रक्तसञ्चार हुन नसकेपछि मुटुलाई आघात भैहाल्छ । त्यसैले त नेपालीमा भनिन्छ नि– मुटुमै हान्यो । यसलाई हृदयाघात पनि भनिन्छ ।
मुटुको ठुलो भागमै यस्तो समस्या भयो भने मृत्युसम्म हुन सक्छ ।
के यस्तो हार्ट एट्याक हुन सक्ने सम्भावना पहिल्यै थाहा हुन सक्छ ?
ठ्याक्कै भन्दा– सक्दैन ।
कारण, रक्तनली साँघुरिँदै गरेको वा एक्कासि बन्द हुने सम्भावनाको कुनै लक्षण पहिले नदेखिन सक्छ ।
कसैकसैलाई उकालो हिँड्दा, छिटोछिटो हिँड्दा, गाह्रो काम गर्दा छाती भारी भयो वा गह्रौं भयो वा सास धेरै फुल्यो भने शंका गर्न सकिन्छ । तर त्यस्तो केही नभए पनि हार्ट एट्याकको प्रमुख कारण वा मुटुको रक्तनली साँघुरिन मद्दत गर्ने केही कारण भने पहिल्यै पत्ता लगाउन सकिन्छ ।
हार्ट एट्याक भएका व्यक्तिहरूमा गरिएका धेरै अध्ययन अनुसन्धानबाट खासखास कारणले रक्तनली साँघुरिन मद्दत गर्ने देखाएको छ । जस्तै– वंषाणु, उमेर, पुरुष, धूमपान, उच्च रक्तचाप, चिनी रोग, रगतमा धेरै खराब चिल्लो, धेरै मोटोपन, कम शारीरिक व्यायाम आदि ।
यीमध्ये चाहेर पनि वंषाणु, उमेर र पुरुषजस्ता कारण बदल्न सकिन्न । हर्ट एट्याक महिलालाई नहुने भन्ने होइन । तर महिनावारी होउन्जेल पुरुषको तुलनामा कम हुने भएकाले पुरुषलाई जोखिम समूहमा लिइएको हो ।
यी तीन कारण बदल्न नसकिए पनि अरू सम्भावित जोखिमपूर्ण कारकलाई चाहि त्यत्तिकै छोड्ने त ? हार्ट एट्याक नै गराउन सक्ने जोखिमपूर्ण कारक थाहा पाउन पाए त किन नियन्त्रण नगर्ने ? विभिन्न अध्ययन अनुसन्धानले देखाएका तथ्यांकलाई नियाल्ने हो भने ती कारकलाई नियन्त्रण ग¥यो भने हार्ट एट्याक हुने सम्भावना केही भए पनि न्यून हुन्छ । साथै हार्ट एट्याक भैहाले पनि यसका खतराहरू कम हुन्छन् । शून्य नभए पनि न्यून हुँदा, बाँच्ने सम्भावना बढ्छ । हार्ट एट्याकै भए पनि न्यून जोखिमको मात्र हुन सक्छ ।
त्यसैले ती परिवर्तन गर्न सकिने कारकलाई एकपटक किन नचिन्ने ?
उच्च रक्तचाप छ कि छैन भनेर ब्लडप्रेसर नापे थाहा भैहाल्छ ।
चिनी रोग छ कि छैन, खराब चिल्लो छ कि छैन – एक पटक खाली पेटमा रगत जाँचे थाहा भैहाल्छ ।
आफ्नो उमेर र उचाइभन्दा तौल धेरै छ कि, मोटो छ किभन्ने कुरा पनि तौल नापे थाहा पाइहालिन्छ ।
शारीरिक व्यायाम गर्न मन लागेको छैन भने थाहा भैहाल्छ ।
धूमपानको लत छ भने त्याग्नेतिर लाग्न सकिन्छ ।
यी कारणहरू थाहा भैसकेपछि नियन्त्रण गर्ने त आफ्नो सकारात्मक सोच र तदारुकता पनि हो । आफ्नो माया आफैंले नगरे अरू कसले गर्छ ?
मुटुलाई माया गरौं । मुटुदेखि नै माया गरौं ।