आजको भौतिकवादी संसारमा पैसाको निकै महत्त्व छ । पैसाले गर्न नसकिने काम कमै मात्र छन् । पैसाले हाम्रो जीवनलाई निकै सजिलो पनि बनाएको छ । पैसाकै कारणले संसारमा युद्धहरू भए । भैरहेकै छन् । जबकि, पैसाको अवधारणा मानिसको कल्पना मात्र हो । न यो कुनै उत्पादन हो, न त सेवा नै । यो मानव मस्तिष्कको उपज मात्र हो जसले संसारको सबै उत्पादन र सेवाहरूलाई प्रभावित गरिरहेको छ । पैसाको तागत समयको गतिसँगै अगाडि बढिरहेको छ ।
प्रख्यात इतिहासकार तथा लेखक युभल नोआ हरारीले आफ्नो चर्चित पुस्तक ‘स्यापियन्स’ मा एउटा रमाइलो उदाहरणबाट पैसाको काल्पनिकता प्रस्ट्याएका छन्– हामीले एउटा बाँदरलाई एक हजारको नोट दिएर उसले खान लागेको केरा माग्यौं भने उसले दिँदैन । किनभने पैसा उसका लागि खालि एउटा कागतको टुक्रा मात्र हो । तर कुनै मानिसलाई एक हजारको नोट दिएर केरा माग्यौं भने उसले एउटा हैन, दर्जनौं केरा ल्याएर हामीलाई दिनेछ ।
उसो भए किन मानिसले मात्र पैसा प्रयोग गरे, अरू प्रजातिले गर्न सकेनन् ? त्यसको उत्तर पनि हरारीले आफ्नो पुस्तकमा दिएका छन् । कुनै समय अन्य जीवजन्तुजस्तै जङ्गलमा विचरण गरेर सिकार गरी आफ्नो जीविका चलाउने मानव जातिमा कुनै अज्ञात कारणले गर्दा अन्य जन्तुहरूमा नभएको ‘बुद्धि’ विकास भयो ।
त्यही बुद्धिले गर्दा मानिस अन्य जीवहरूको भन्दा कैयौं गुणा धेरै संख्यामा आपसी समझदारीमा काम गर्न सक्ने भए । त्योभन्दा पनि महत्त्वपूर्ण कुरा उनीहरूले अस्तित्वमै नभएका कुराहरूको कल्पना गर्ने र त्यसलाई विश्वास गर्न सक्ने भए । अन्य जातिले गर्न नसक्ने ‘कल्पना’ मानिसले मात्र गर्न सक्ने भयो । हरारी पैसालाई त्यही कल्पनाको एउटा परिणाम मान्छन् ।
मानिसको कल्पनाले सिर्जना गरेको पैसा कसरी यति महत्त्वपूर्ण वस्तु भयो त ?
प्रकृतिका अनगिन्ती र विशिष्ट नियमहरू छन् । ती नियममध्ये एउटा हो– स्वार्थ–सिद्धान्त । पृथ्वीमा हरेक जीव स्वार्थी हुन्छ । यो प्राणीको जन्मजात स्वभाव हो । उसले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्छ र अरू जीवहरूसँग प्रतिस्पर्धा गर्छ । यसलाई हामी जीवनवृत्ति (Living Instinct) पनि भन्न सक्छौं ।
जीव जति उन्नत जातिको हुन्छ त्यति नै बढी स्वार्थी हुन्छ । त्यसैले क्रम विकासमा फड्को मारेर सबभन्दा उन्नत बन्न सफल मानव जाति सबैभन्दा बढि स्वार्थी पनि छ । त्यसैले दैनिक जीवनमा अत्यवाश्यक सामान र सेवा विनिमयलाई सहज बनाउन भनेर उसले हजारौं वर्ष पहिला आविष्कार गरेको पैसा अहिले आम रूपमा स्वार्थ–विनिमयको मुख्य माध्यमका रूपमा परिणत भएको छ ।
प्रकृतिको अर्को नियम पनि त्यत्तिकै चाखलाग्दो छ । यो नियम अनुसार पृथ्वीमा जीवहरूको संख्या यति धेरै छ कि पृथ्वीको स्रोतसाधन सबैका लागि पर्याप्त छैन, हुँदैन । जो बलियो छ, बुद्धिमान् छ, उसले बल–बुद्धि सबै प्रयोग गरेर उपभोग गर्छ । जो निर्धो र कम बुद्धिमान् छ ऊ उपभोग गर्नबाट वञ्चित हुन्छ र कालान्तरमा आफ्नो अस्तित्व गुमाउँछ ।
मानिसले पनि अन्य जीवजस्तै आफ्नो अस्तित्वका लागि संघर्ष र प्रतिस्पर्धा गर्छ । कुनै समय आफूजस्तै अन्य जीवहरूसँग प्रतिस्पर्धा गर्ने मानव जाति अन्य जीवहरूभन्दा माथि उठेपछि आफू आफूहरूबीचमा प्रतिस्पर्धा गर्न थाल्यो । तर मानव विकास हुँदै जाँदा प्रतिस्पर्धाको साथसाथै मानिसलाई अरूसँग सहकार्यको पनि उत्तिकै जरुरत हुन पुग्यो । मानिस एक्लै बाँच्न सम्भव भएन । सबै काम एक्लैले गर्न पनि सम्भव भएन । सहकार्यका लागि आपसमा सामान र सेवा आदानप्रदान गर्नुपर्ने भयो । त्यसैको परिणाम हो पैसाको उत्पत्ति ।
सामानको सट्टापट्टा गर्न सजिलो होस् भनेर सबैले मान्ने एउटा सांकेतिक वस्तुको रूपमा हजारौं वर्ष अगाडिदेखि प्रचलनमा आएको पैसाको अवधारणा सुरुमा सिपीका खपटाहरू र पछि सुन, चाँदी र अन्य बहुमूल्य धातु हुँदै अन्तमा एघारौं शताब्दीमा चीनमा कागजमा परिणत हुन पुगेको थियो । कागजको पैसाले लामो समय शासन गर्यो । अझै पनि यसको प्रभुत्व बाँकी नै छ । तर प्रविधिको विकाससँगै अब पैसा कागजबाट पनि रूप परिवर्तन गरेर अदृश्य हुने क्रममा छ । त्यसलाई विभिन्न प्रकारका ‘डिजिटल’ मुद्राले विस्थापित गर्ने क्रम जारी छ ।
बीसौं शताब्दीको मध्यतिर अमेरिकामा क्रेडिट कार्डको अवधारणाबाट विद्युतीय भुक्तानी प्रणालीको अवधारणा विकसित भयो । यो अवधारणा विकसित र व्यापक बन्दै जाँदा अहिले बजारमा थरीथरीका विद्युतीय कारोबारहरू र विद्युतीय मुद्रा बनेका छन् । विद्युतीय कारोबारमा सहयोग गर्ने सफ्टवेयरहरूको आफ्नो पैसा हुँदैन तर बैंकमा राखेको पैसा विद्युतीय कारोबारमार्फत छिटो र सुरक्षित रूपमा भुक्तानी गर्न सहयोग गर्छन् । अहिले बजारमा सयौंथरी विद्युतीय भुक्तानी गर्न सघाउने ‘प्लाटफर्म’ हरू छन् । नेपालमा प्रयोग हुने ‘इसेवा’, ‘फोन पे’ यसैका उदाहरण हुन् ।
अहिलेको मानव जीवनमा पैसा कसरी अदृश्य हुँदै छ भन्ने कुरा हामी हाम्रै आफ्नै दैनिकीबाट पनि बुझ्न सक्छौं । मानौं तपाई कुनै कम्पनीमा काम गर्नुहुन्छ । हरेक महिना तपाईंको तलब सोझै तपाईको बैंक खातामा जान्छ । तपाईं त्यही बैंकको क्रेडिक या डेबिट कार्ड चलाउनुहुन्छ । त्यो कार्ड तपाईंको मोबाइलमा रहेका इसेवा, फोन पेजस्ता तेस्रो पक्षका एप या बैंक आफैंले पनि उपलब्ध गराएका विद्युतीय भुक्तानी (इ–पेमेन्ट) एपहरूसँग जोडिएका छन् । तपाईंले जे खरिद गर्दा पनि मोबाइल नै प्रयोग गर्नुहुन्छ । अनि त्यही मोबाइलमा रहेका तिनै ‘इ–पेमेन्ट’ एपमार्फत रकम भुक्तानी गर्नुहुन्छ ।
सामान्य तरकारी बजारमा होस् या सार्वजनिक सवारीमा यात्रा गर्दा, गाडीको पार्किङमा होस् या सपिङ मलमा । अनलाइनमा सामान किन्न, प्लेनको टिकट लिन सबैतिर मोबाइल मात्र प्रयोग गर्नुहुन्छ । तपाईंले गोजीमा कागजको पैसा बोक्न छोडेकै धेरै भैसकेको छ । कागजको पैसा प्रयोग गर्ने आवश्यकता नै छैन भने बोक्नु नै किन ?
यस्तो दैनिकी धेरैका लागि ठ्याक्कै मिलेको होला । यदि तपाईं अझै यस्तो दैनिकीमा पुगिसक्नुभएको छैन भने पनि केही वर्षपछि तपार्इंको दैनिकी यस्तो हुने निश्चित छ । विश्वका धेरै स्थानमा यो वास्तविकता भैसकेको छ र संसारभरि निकै तीव्र गतिमा वास्तविकतामा परिणत हुने क्रममा छ ।
अहिले कागजी या अन्य प्रकारका भौतिक मुद्रा लोप गराउनमा विद्युतीय भुक्तानीमा सघाउने तेस्रो पक्षका एपहरूको सबैभन्दा महत्त्वपूर्ण भूमिका छ । तेस्रो पक्षका ती एपहरू डिजिटल करेन्सी हैनन्, तिनले अहिलेकै कागजी मुद्राको भुक्तानी विद्युतीय माध्यमबाट गरेका मात्र हुन् ।
त्यसका अलावा डिजिटल करेन्सी भनिने साँच्चिकै विद्युतीय मुद्राका अनेक प्रकारहरू पनि चलनचल्तीमा छन् । त्यसमा डिजिटल करेन्सी र क्रिप्टो करेन्सी मुख्य हुन् ।
डिजिटल करेन्सी सामान्यतया कुनै देशको केन्द्रीय बैंकले कागजी पैसाको विकल्पको रूपमा ल्याएको मुद्रा हो । यसमा केन्द्रीय बैंकको पूरै नियन्त्रण हुन्छ । खालि कागजको पैसा डिजिटलमा गएको मात्र हो ।
क्रिप्टो करेन्सी भने कुनै पनि देशको बैंकको नियन्त्रणबाहिर रहेको पूर्ण रूपमा स्वतन्त्र पैसा हो । वर्तमान अवस्थामा अधिकांश कागजबिनाको पैसा विद्युतीय भुक्तानीका रूपमा छ । डिजिटल करेन्सी र क्रिप्टो करेन्सीको बजार हिस्सा निकै कम छ ।
सीमित देशहरूले मात्र डिजिटल करेन्सीलाई परीक्षणका रूपमा सुरु गरेका छन् । क्रिप्टो करेन्सीलाई त झन् अहिलेसम्म दुईवटा देश, एल साल्भाडोर र मध्य अफ्रिकी गणराज्यले मात्र कानुनी मान्यता दिएका छन् । अधिकांश देशहरूमा यो प्रयोग गर्न त पाइन्छ तर आधिकारिक पैसाको मान्यता पाएको छैन । नेपालमा त सबै क्रिप्टो करेन्सीलाई प्रतिबन्ध नै लगाइएको छ ।
अहिलेसम्मका सबैजसो विद्युतीय भुक्तानी प्रायः ठूला कम्पनीहरूले आफ्ना एपमार्फत बैंकहरूको सहकार्यमा चलनचल्तीमा ल्याएका छन् । डिजिटल करेन्सीलाई पनि यस्तै लोकप्रिय रूपमा विश्वभर चलन चल्तीमा ल्याउनेतर्फ पनि सबैजसो मुलुक सकारात्मक छन् । यसमा कदम चाल्न पनि थालिइसकेको छ ।
‘डिजिटल’ मुद्रा चलनचल्तीमा ल्याउन अब कसैले पनि रोकेर नरोकिने स्थिति पैदा भैसकेको छ । कागज या धातुको भौतिक मुद्राको तुलनामा ‘डिजिटल’ मुद्राका धेरै फाइदा हुनाले पनि यसलाई अपनाउनु मुलुकहरूको हितमा छ ।
पहिलो फाइदा त पैसा छपाउन र पैसा व्यवस्थापन गर्न लाग्ने खर्च ‘डिजिटल’ मुद्राको थालनीले कटौती गर्नेछ । चोरी वा प्राकृतिक प्रकोपले पैसा नष्ट भएर क्षति हुने चिन्ता हट्नेछ । सबैभन्दा ठूलो यसबाट अपेक्षित फाइदा भनेको भ्रष्टाचार नियन्त्रण हो । पैसाका प्रत्येक कारोबार कम्प्युटरमा रेकर्ड हुने भएकाले सरकारले जाँच्न चाहेमा त्यो सजिलै पत्ता लाग्नेछ । सरकारलाई जनताबाट कर असुली गर्न पनि निकै सजिलो हुनेछ ।
तर सरकारलाई मात्र हैन जनताको जीवनस्तरलाई पनि ‘डिजिटल’ मुद्राले निकै सहज बनाउनेछ । चोरी डकैती त कम हुने नै छ, अधिकांश काम घरमै बसेर गर्न सकिनेछ ।
यति धेरै फाइदा हुँदाहुँदै पनि ‘डिजिटल’ मुद्राका आफ्नै जटिलता, चुनौती र जोखिम पनि छन् । पहिलो चुनौती त प्रविधि नै हो । यदि प्रविधिमा परिपक्वता छैन भने ‘डिजिटल’ मुद्राको कुरा नगरे पनि हुन्छ । पैसा छपाउनुपर्ने र पैसाको व्यवस्थापन गर्न लाग्ने खर्च कम भए पनि ‘डिजिटल’ मुद्राका लागि चाहिने ‘हार्डवेयर’, ‘सफ्टवेयर’ र प्राविधिकहरूका लागि निकै ठूलो रकम खर्च हुन्छ नै ।
प्रविधिको सानो त्रुटिले पनि भयानक समस्या उत्पन्न गराउन सक्छ । दोस्रो कुरा प्रविधिको पहुँच हो । ‘डिजिटल’ मुद्रा प्रयोग गर्नका लागि सबैतिर इन्टरनेटको पहुँच हुनुपर्छ । सबै उपभोक्ताले त्यो प्रणाली चलाउन जानेको हुनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण समस्या भनेको सुरक्षा नै हो । यदि कुनै कारणवश सुरक्षा संयन्त्रमा भएको कमजोरी तोडेर बाहिरका ह्याकरहरूले कब्जा गरे भने पलभरमै अर्बौंको रकम चोरी हुन सक्छ ।
जति चुनौती भए पनि तिनलाई कम गर्ने या पूरै निमिट्यान्ट पार्ने उपायहरू खोजी हुने नै छन् । निकट भविष्यमा कुनै न कुनै रूपमा आउने ‘डिजिटल’ मुद्राको कारणले गर्दा कागजी मुद्राको विस्थापन हुने दिनहरू अब त्यति टाढा छैनन् ।
हरेक दिन नयाँ प्रविधिको विकास हुँदै गैरहेको आजको युगमा भविष्यमा कुन नयाँ प्रविधिले लोकप्रियता हासिल गर्ला त्यो अहिल्यै अन्दाज गर्न सकिने कुरो हैन । तर आजकै प्रविधि परिष्कृत भएर अहिले चलनचल्तीमा आएका विभिन्न ‘विद्युतीय पैसा’ हरू नै अस्तित्वमा रहे पनि या कसैले पूर्णतः नयाँ प्रविधिमा अर्को डिजिटल करेन्सी ल्याए पनि भविष्यको पैसा अदृश्य हुनेछ भन्नेमा चाहिँ दुईमत छैन । त्यसैले निकट भविष्यमा संसारका अधिकांश स्थानबाट र भविष्यको कुनै विन्दुमा संसारबाटै हजारौं वर्षपहिले मानिसको कल्पनाबाट सुरु भएको पैसा पुनः मानिसको कल्पनाको गर्भमै गएर अदृश्य बनेर बस्नेछ ।