काठमाडौं– वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने निर्णय गरेसँगै दुईवर्षदेिखि सुस्ताएकाे घरजग्गा काराेबारमा अब विस्तारै सुधार आउने संकेतहरु देखा परेका छन् ।
वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बुधबार बसेको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ ।
माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।
मुद्दति निक्षेपकाे ब्याजदर क्रमश घट्दै गएपछि संभवत आगामी वैशाखदेखि कर्जाकाे ब्याज पनि घट्न थाल्नेछ । कर्जाकाे ब्याज घटेसँगै बैकहरुबाट घरजगग्गा खरीदका लागि ऋण लिने क्रम पनि बढ्नेछ जसले लामाे समय सुस्ताएकाे घरजग्गा काराेबारलाई माथि उकास्नेछ ।
घरजग्गामा अब सुधार आउने संकेत देखिएसँगै केही बैंक तथा वित्तिय संस्थासँग आवद्ध व्यक्ति तथा समूहहरु, सञ्चालक तथा सीइओ लगायत अहिले नै सुस्ताएकाे भाउमा घरजग्गामा लगानी बढाउन क्रियाशील भइसकेकाे बुझिएकाे छ । घरजग्गामा लगानी गर्ने याे स्वर्णिम अबसर भएकाे उनीहरुकाे बुझाइ छ । किनभने यतिबेला मन्दीका कारण काराेवार ठप्पजस्तै छ । यस्ताे बेलामा किनेर अब भाउ बढ्ने वित्तिकै नाफा खाएर बेच्न सकिने आशामा उनीहरुले बैंककाे पैसा चलाएर आफू पर्दा पछाडि बसी फाइदा लिने रणनीति लिएका छन् ।
बैंकर्स सङ्घको अध्यक्षमा केसी
बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन हुनुभएको छ । बुधबार सम्पन्न विशेष साधारणसभामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको हो । यसअघि केसी सङ्घको उपाध्यक्ष रहनुभएको थियो । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।
सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुनुहुन्छ ।