हरेक मान्छेका आफ्नै खालका भोगाइ हुन्छन् । जीवनप्रतिका बुझाई छन् । कुनै मान्छे सायदै यस्तो नहोला जोसँग रोग, भोक र शोक नहोस् । लेख्ने हो भने हरेक मानिसका बेग्ला बेग्लै आत्मकथाहरू बन्छन् । मैले पनि सामान्य व्यक्तिको भन्दा केही फरक किसिमको जीवन जिउनु पर्यो । जिइरहेको छु ।
सामान्य व्यक्तिको फरकपनलाई समाजले सहजै स्वीकारेको हुन्छ । समाजमा यस्ता असमानता पनि छन् जुन सबैलाई स्वीकार्य छैनन् । आज यो प्ल्याटर्फमबाट म र मजस्ता हजारौंका गुनासा सुनाउन गइरहेको छु जुन कुरा प्राकृतिक हो । जुन कुरालाई प्रकृतिले नकार्न सकेन तर समाजले स्वीकार्न पनि सकिरहेको छैन ।
मजस्ता धेरै युवा साथी छन् तर उनीहरू भन्न सकिरहेका छैनन् कि आफू को हो र के हो भनेर । हाम्रो समाजको संरचना यसरी निमार्ण भएको छ जहाँ आफ्नैबारे बोल्न पनि लाज, डर र त्रासको भुँमरीमा पर्नुपर्छ ।
हो, म समलंगी हो । आज म आफू समलिंगी हो भन्न सक्छु तर हिजोको दिनसम्म मलाई आफ्नै शारीरिक र मानसिक पहिँचानबारे बताउनेसम्म पनि आँट थिएन । म आफू समलिंगी हो भन्न सक्दैनथेँ । होस् पनि कसरी ? समाजले ममाथि हजारौं प्रश्न उठाउँथ्यो । शंकालु नजरले हेर्ने गर्थ्याे।
के म यो देशको नागरिक होइन ? के मलाई समान्य व्यक्तिलाई जसरी बाँच्ने हक छैन ? के मभित्र पनि भावना छैन ? यदि छ भने किन यो असमानता ? किन यो भेदभाव ?
म मध्यम परिवारको मानिस हुँ । मेरो बाल्यकाल सामान्य नै थियो । गाँउकै स्कुलबाट एसएलसी सकेपछि मलाई पनि मेरो सपनाले पछ्यायो । सानैदेखि डाक्टर बन्ने सपना थियो । त्यो सपना सकार पार्न मैले मेहनत गर्नु पर्ने बेला आएको थियो ।
म चितवनको भरतपुरमा हुर्किएको हुँ । चितवनमै प्लस टु सम्मको अध्ययन सकेपछि आयुर्वेदमा चिकित्साशास्त्र अध्ययन गर्नका लागि म दाङ पुगेँ । त्यहाँ आयुर्वेदमा चिकित्सा शास्त्रमा स्नातक गर्दै थिएँ । म मेरो सपनाको नजिक पुग्दै थिएँ । सबै कुरा सामान्य नै चलिरहेको थियो । म मेरो जीवनसँग सन्तुष्ट नै थिएँ ।
मानिस भावनाले भरिएको प्राणी हो । प्रत्येक मानिसलाई साथी चाहिन्छ । मनको कुरा, सुख दुःखमा कोही होस् भन्ने कसलाई हुँदैन र ? उमेर पनि फेरि उस्तै चञ्चले ।
सबैको साथी देख्दा मलाई मेरो पनि कोही भैदिए हुन्थ्यो जोसँग मैले मनमा लागेका सबै कुरा सुनाउन सकौं जस्तो लाग्थ्यो तर अन्र्तमुखी स्वभावका कारण म पहिलेदेखि नै चाहेर पनि कसैसँग नजिक हुन सक्दैनथेँ ।
आजभन्दा ९÷१० बर्षअघिको कुरा हो– सोसल मिडियामा एकजना पुरुष साथीसँग मेरो हाई हेलोबाट कुरा सुरु भयो । सुरुमा त हामी सामान्य विषयमा कुरा गर्थ्याैं । जीवन र जगत्कै विषयमा कुरा हुने गथ्र्यो । विस्तारै त्यो सम्बन्ध साथीभन्दा माथि हुँदै गरेको न उसले चाल पायो, न मैले ।
हामी हाम्रो दुःख, सुख, हाँसो, रोदन सबै सेयर गर्ने भइसकेका थियौँ । सोसल मिडियाबाट सुरू भएको सम्बन्ध भेटघाटमा परिणत भयो । उ मभन्दा सिनियरसँगै परिपक्व पनि थियो ।
मलाई सम्झाउने बुझाउने, पढ्नुपर्छ र जीवनमा कोही गर्नुपर्छ भनेर हौसला थप्ने मान्छे थियो उ । म दाङबाट नेपालगञ्ज उसलाई भट्न जान्थेँ । उ एक निजामति कर्मचारी थियो । उ मलाई धेरै व्यावहारिक पक्ष सिकाउँथ्यो । मैले पनि उसले जसो जसो भन्छ उसै उसै गर्दै गएँ । म उसलाई सुन्ने मात्रै होइन, उसँग मेरोे भावनात्मक परनर्भिरता पनि बढ्दो थियो ।
जब जब उसँग मेरो भेट हुन्थ्यो, मलाई उप्रति धेरै नै आर्कषण बढेको महसुस हुन थाल्यो । मलाई आफैँप्रति कता कता लाज पनि लाग्न थाल्यो । मन मनै सोच्न लागेँ, के मेलै जे महसुुस गरेको छु उसले पनि त्यस्तै महसुस गरेको छ त ? मेलै मनको कुरा मनमै राखेँ । भन्नै सकिन । यसै पनि हाम्रो आत्मीयता यस्तो थियो कि हामीले हाम्रो मौनताको भाषा पनि बुझ्ने भैसकेका थियौँ ।
त्यतिबेला मैले देबनारायण प्रधानको गीत ‘कति कुरा नभनेरै पनि मिठा मिठा मिठा हुन्छन्, भनिएका कुुरा बरू झुटा झुटा झुटा हुन्छन्’ भन्ने गीत संझिए । मैले मुखैले भनिरहनु पर्ने जरुरी ठानिन, जो जस्तो चलिरहेको छ, त्यही नै ठिक छ भन्ने लाग्यो ।
हामी यतिसम्म नजिक भइसकेका थियौँ कि एक दिन कुरा हुन पाएन भने पनि के बिर्सियो के बिर्सियो, के नपुगे के नपुगेजस्तो हुने गर्थाैं।
उसले आफ्नो सरकारी जागिर छोडेर बाहिर पढ्न जाने निर्णय लिग्यो । म पनि उसको निर्णयसँग खुशी थिएँ । हामीमा शारीरिक रूपको मात्रै आर्कषण होइन, मानसिक र भावनात्मक रूपमा पनि उत्तिकै नजिक थियौँ । उ बाहिर जाने बेलामा मलाई बिछोडले धेरै नै सताएको थियो । तैपनि म उसको लागी खुशी थिएँ ।
मलाई विश्वास थियो– उ एक दिन र्फकिएर नेपाल आउनेछ, अनि हामी फेरी सँगै हुने छौँ । उ उता गएर पढ्दै थियो । म पनि यता आफ्नो पढाईमा व्यस्त भइरहेको थिएँ ।
जस्तो व्यस्ततामा पनि हामी थोरै समय निकालेर फोनमा बोल्ने गथ्र्यौं । दिन बित्यो, महिना बित्यो । बर्ष बत्दै थियो । उसले मसँग अलिअलि गर्दै दूरी बढाउन खोजेजस्तो मलाई लाग्यो । उसले एकदिन अचानक फोन गर्यो र भन्यो, ‘हेर अब म तिमीसँग थप नजिक हुन सक्दिन । मेरो परिवारले मेरो विहेका लागि मलाई अति नै प्रेसर गरेका छन् ।
त्यसकारण पनि अब म तिमीसँग टाढा हुनुपर्छ । मेरो परिवारले केटी हेरिसकेका छन् । दुबैको परिवारको एकआपसमा कुरा मिलिसकेको छ । त्यसकारण मलै विहेको प्रेसर थेग्न सकिरहेको छैन ।’
उसको यो कुरा सुनेर मलाई दुःख लागे पनि मैले उसलाई सोधेको थिएँ, ‘ल ठिकै छ तिमीलाई घरबाट त्यति नै प्रेसर छ भने विहे गर तर विहे गर्दैमा बोल्न छोड्न पर्छ र ?’ त्योबेला उसले भनेको थियो, ‘ठीक छ हामी बोल्ने छौँ तर पहिलेजस्तो हाम्रो सम्बन्ध भने नरहला । कारण बिहे भएपछि यो सबै गाह्रो हुन्छ ।’ उसको कुरालाई मैले स्वीकार गरेँ । उसको विहे भयो । विहे भएको दुई चार दिनसम्म पनि अलिअलि कुरा भएको थियो । तर पाँचौं दिनमा उसले मलाई सबै तिरबाट ब्लक गर्यो । सोसल मिडियादेखि फोन सबैतिर ।
मलाई विश्वास गर्नै गाह्रो भयो । मलाई यस्तो माया गर्ने मान्छे, अचानक मबाट कसरी टाढा हुन सक्छ भनेर । आखिर विगतको दिनमा पनि त उसले मायाको अनुभूति गराएको थियो । महसुस गराएको थियो ।
ठिक छ, उसले विहे ग¥यो यसमा म बाधक त भएको थिइन नि । हामी मिल्दा र मिलेसम्म कुरा गर्ने भनेर बसेका थियौँ । दिनमा २ मिनेट पनि के उसले मलाई दिन नसक्ने भयो त ? उसले मलाई सबैतिर ब्लक गरेपछि मेरो जीवनमा यसरी अन्धकार आयो कि, म केही गर्नै नसक्ने भएँ ।
म रुने, एकान्तमा बस्न रुचाउने भएछु । उसले ब्लक गरेको दोस्रो दिनमा मलाई यकीन भयो कि म साँच्चै नै समलिंगी रहेछु । भावनात्मक निकटता यस्तो बलियो हुने रहेछ, जति कोसिस गरे पनि म ती हाम्रा विगतमै बल्झिन पुगेँ ।
म उसका याद र हामीले विताएका समय संझिएर रूने, मुर्छा पर्ने भएपछि मसँगै कलेजको होस्टलमा बस्ने केटा साथीहरूलाई अलिअलि मनमा शंका पस्यो ।
मैले मेरो रूममेट साथीलाई रूँदै सबै कुरा सुनाएँ । म समलिंगी भएको जानकारी पनि दिएँ । मभित्र यतिसम्मको छट्पटी भयो कि जिन्दगीको सारा खुशी एउटै मान्छेमा समेटिएजस्तै । मनमा खालि अब सबै सकियो मेरो, म बाँच्नुको केही सार छैन, म मर्नु पर्छ जस्ता कुरा आए ।
कहिले कोठमा झुण्डिएको पंखालाई हेरेँ । कहिले विष खोजेर खान्छु भन्ने सम्मका कुरा मनमा आए । म मानसिक रूपले अति नै विछिप्त भइसकेको थिएँ । मेरो अवस्था देखेको मेरो रुममेटले घरमा फोन गरिदिएछ । उसले भनिदिए छ कि म अति नै बिरामी छु । एक्लै बस्ने, रुने, कराउने, ननिदाउने, नखाने, झर्किएर बोल्ने मेरो स्वभाव बनिसकेको थियो ।
आमाले त्यो कुरा थाहा पाएपछि रुँदै फोन गर्नु भयो ? ‘के भयो तँलाई ? घरको आशा, भरोसा भनेकै तैँ थिइस् । तँ पनि एक्लै बस्छस् रे । साथीहरूसँग पनि बस्दैनस् रे । के भो तँलाई ? हामीले केही भनेझैं लाग्दैन । के भयो भन् मलाई,’ आमा भन्दै हुनुुहुन्थ्यो, ‘दाजु भाउजुको सम्बन्ध राम्रो छैन्, तँबाट सबै आस छ छोरा हाम्रो । दाइको सम्बन्धले गर्दा घर नै तहसनहन हुन लाग्या बेला तँ पनि यस्तो नभैदे, के भो छोरा ? भन् तेरोलागि हामी छौँ । हाम्रोलागि तँ नै होस् ।’
आमाको प्रत्येक बोलीले मलाई पोलिरहेको थियोे । आमालाई कसरी भनुँ म, मैले घरबार जोड्न सक्दिन भनेर ? मैले कसरी भनुँ म समलिंगी हो भनेर ? मैले कसरी भन्ने मेरो प्रमी जसलाई म असाध्यै माया गर्थ्याे उसले मलाई छोड्यो र म यति दुःखी छु भनेर ? यस्तै दुःखी मेरा बाआमालाई थप दुःखी बनाउन म चाहँदैनथेँ ।
त्यसैले मलाई जे भएनि तपाईंहरूलाई के मतलब भनेर बेला बेला म झर्किरहे । मेरो मानसिक स्वास्थ्य बिग्रिँदो देखेर साथीले खबर गरेपछि बुवा लिन आउनु भयो ।
म बुवासँग चितवन फर्किएँ । घरको आँगनमा पुग्दा नपुग्दै आमाको लास देख्दा म के भएँ, मैले के गरेँ, मलाई यादै छैन । सबै गल्ती मेरो नै हो, म समलिंगी भएकैले आमालाई मस्तिष्कघात भएको भन्ने लाग्यो ।
सबैको नजर मैतिर छ जस्तो लाग्न लाग्यो । म नै दोषी हो, सबै कुराका लागि भन्ने भयो । त्यसपछि मलाई बाँच्ने आस झनै मर्दै गयो ।
आमाको किरिया १३ दिनसम्म गर्दा पनि मलाई आमा गुमाउनु परेकोमा दुःखी छु या माया गर्ने मान्छेले छोड्दा बढी दुःखी छु भनेर म फरक छुटउन सक्ने अवस्थामा थिइन ।
आमाको १३ दिनको काम सकेर म अस्पताल गएँ । अस्पताल जाँदा डाक्टरले २ मिनेट पनि मलाई सुन्दैथे । मेरो लक्षणको आधारमा औषधी दिएर पठाउने गर्थे । दिनमा ३ देखि ४ पटक औषधी खाएर बाँच्ने भएको थिए म ।
सुत्न नसकेर निन्द्रा लाग्ने औषधी खाँदा पनि मलाई राम्रोसँग निद्रा पर्दैनथ्यो । ६ महिनासम्म भतरपुर अस्पतालको औषधी खाँदा पनि २० को १९ नभएको महसुस भयो । मैले कति पटक डाक्टरलाई मेरो कुरा राख्न खोजेँ तर उनी सँधै औषधी थपेर पठाउने काम मात्र गर्थे । डाक्टरको यस्तो पाराले म दिक्क भइसकेको थिएँ । मैले आफ्ना लक्षणहरूका आधारमा आफूलाई के भएको होला भनेर सामाजिक सञ्जालहरूमा खोज्न थालेँ ।
मलाई मानसिक समस्या छ र मनोपरार्मश चाहिएको छ भन्ने लाग्यो । संगै थेरापीको पनि जरुरी छ जस्तो लाग्यो । त्यसपछि म सोध्दै खोज्दै त्रिवि शिक्षण अस्पतालको मनोचिकित्सा विभागमा पुगँे । त्यहाँ मैले डा. सरोज ओझालाई भेटेँ ।
मेरो जीवनको पहिलो ठाँउ र मान्छे थिए त्यहाँ जहाँ मैले मनको घाउ देखाउने ठाँउ पाएको थिएँ । मलाई अर्को कुरा के महसुुस भयो त्यो बेलामा भने मान्छेले आफूले मनको कुरा बिसाउने र सुनिदिने मान्छे पाउँदा पनि आधा सञ्चो हुने रहेछ । ५ पटकसम्म थेरापी र सेसन लिएपछि मलाई म महसुस भयो– म जस्ता समलिंगी यो संसारमा धेरै छन्, म मात्रै होइन ।
मेरोजस्तै पीडामा परेका ती युवाको लागि मेलै धेरै काम गर्नुपर्छ । म पनि त्यत्तिकै सामान्य मानिस हुँ जो आम अरु छन् । म पनि त्यतिकै सामाजिक प्राणी हुँ जसलाई सामाजिक हुनुमा गर्व छ । प्रकृतिले दिएको प्राकृतिक व्यक्ति नै हुँ म । बरु ती मान्छे अप्रकृतिक हुन् जसले म प्राकृतिक हुँ भन्ने कुरा स्वीकार्न सकेनन् । ममा विस्तारै आत्माविश्वास आउँदै थियोे । म बिस्तारै आफ्नो दैनिकीमा फर्किंदै थिएँ ।
संगै मलाई के कुरामा पछुतो लाग्यो भने, मजस्तो मान्छे जो आयुवर्देमा चिकित्साशास्त्र अध्ययन गर्दै छु, त्यस्तो मान्छेले त मैले चिकित्सकसँग राम्ररी आफ्नो कुरा भन्न सकिन भने अरु व्यक्ति जो स्वास्थ्यसम्बन्धी जानकार नहोलान् वा जसले अक्षरसम्म पनि चिनेका नहोलान् उनीहरूको हालत के होला ?
खासमा किन मनोचिकित्सकहरू कुरा सुन्नै खोज्दैनन् ? किन उनीहरूलाई औषधी लेख्नै हतार हुन्छ ? चितवनजस्तो सहरमा त विरामीलाई ५ मिनेट समय दिएर सुन्न सक्दैनन् भने दूरदराजका बिरामीप्रति उनीहरूले गर्ने व्यवहार कस्तो होला ?
मनभित्र अन्तरद्र्वन्द्व चलिरहेको थियो । म पढाई सकेर काठमाडौँ आए । यहाँ आएर काम गर्न थालेँ । तर मलाई मेरो मनको अन्तद्र्वन्द्वले जागीर मात्रै गरेर बसिरहन दिएन । मैले साइकोजोली पढ्ने निर्णय लिएँ । म भर्ना भएँ र पढ्न थालेँ । यता जागीर पनि गर्दै गएँ ।
पछिल्लो समय एलोपोथिकभन्दा आर्युवेदमा मान्छेको विश्वास र झुकावले गर्दा दैनिकजस्तो अस्पतालमा बिरामीहरू थपिँदै गएका थिए । बिरामीहरू कोही सारै पेट दुख्यो भन्दै आउँथे । कोही टाउको दुख्यो भन्दै आउँथे । सबै जाँच गर्दा पनि कतै केही खराबी हँुदैनथ्यो । हरेक बिरामीलाई जाँच गर्ने बेला म उनीहरू बिरामी भएर आएको शारीरिक लक्षण बाहेकका पनि कुरा बुझ्ने कोशिस गरेँ । कोही रिटायर्ड जिन्दगीले गर्दा उदासीन थिए । कसैलाई भविष्यप्रतिको चिन्ताले सताएको थियो ।
एकजना बिरामी मृगौलाको समस्या भएर आएका थिए । उनमा मैले आफूले भोगेर आएकै लक्षण महसूस गरेँ । मैले उनीसँग घण्टौं कुरा गरेँ । सुरूमा उनले अलिक असजिलो माने । कुरा गर्दै गएपछि ती किशोरले मलाई आफू समलिंगी रहेको बताए । मैले मेरो विगत सम्झिएँ ।
मैले उनलाई सक्दो छिटो मनोचिकित्सककहाँ जान सुझाव दिएँ । उनले मसँग आर्युवेदको उपचार गराइरहेका थिए । उता मनोचिकित्सक र मनोपर्रामशदातासँग भट्दै गर्दा उनले पहिलेभन्दा आफूमा सकारात्मक परिर्वतन आएको कुरा बताए । यो कुराले परिवारमा पहिलेभन्दा धेरै खुशी छाएको बताउँदा मलाई जीवनमा पहिलोपल्ट आफू समलिंगी भएकामा गर्व महसुुस भयो ।
त्यसपछि मैले मेरोमा आउने हरेक बिरामीलाई मानसिक स्वास्थ्य समस्याजस्तो लागेमा निशुल्क परामर्श दिन थालेँ । मकहाँ उपचार गर्न आएकामध्ये, यस्ता बिरामी जो मानसिक रोगसमेत भएकाले पूर्ण रूपमा आफूलाई स्वस्थ्य महसुस गर्न सकिरहेका थिएनन्, उनीहरूले समस्यामुक्त भएपछि मलाई फोन गरेर धन्यवाद दिंदा म आफूलाई साँच्चिकै भाग्यशाली महसूस गर्छु ।
कतिपय बिरामी पुनः फर्किएर अस्पताल आउँदा एउटा गुनासो राख्थे, ‘डाक्टर साब मलाई अरु कुराभन्दा पनि मनोरोगको औषधी खाएको छु भन्ने कुरा अरुले थाहा नपाए हुन्थ्यो जस्तो लाग्छ ।’ यसमा मलाई लागेको कुरा के हो भने जुन मैले मेरो बिरामीलाई पनि सँधै भन्ने गर्छु– धेरै मानिस मलाई सुगर छ, प्रेसर छ, कोलेस्टोरल छ भन्न हीनताबोध गर्दैनन् । यस्तो त जोसुकैलाई पनि हुन सक्छ भनेर हामी गर्वका साथ उत्तर दिन्छौँ । हो, ठयाक्कै त्यस्तै मानसिक समस्या पनि जोसुकैलाई हुन सक्छ । मानसिक समस्या रोगभन्दा पनि अवस्था हो । अवस्था परिर्वतन हुन सक्छ यदि हामी आत्माविश्वासका साथ औषधी खान्छौ भने ।
मैले यी सब कुराहरू भनिरहँदा र मेरा यी कुराहरू तपाईंले पढिरहँदा मेरो भावनालाई तपाईंले हृदयदेखि नै कत्तिको महसुस गर्न सक्नु भयो ? त्यो तपाईं स्वयं बुझ्नुस् । हाम्रो राज्य प्रणालीले यसलाई महसुस गर्न सकेको छ ? हाम्रा राजनीतिक दलहरूले महसुस गर्न सकेका छन् ? अवश्य छैनन् । महसुस गरेका हुन्थे भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हाम्रो पनि सम्मानजनक प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिन उनीहरूले किन सकेनन् । पार्टीका आन्तरिक पदहरूमा हाम्रो प्रतिनिधित्व गराउन किन सकेनन् ? हामीजस्तोको प्रतिनिधित्व खोई चुनाबमा ? कसले बोल्छ हाम्रो भाषा ? कसले बुझेको छ हाम्रो कुरा ? संविधानमा व्यवस्था गरेर मात्रै हुन्छ त ? कसले उठाउँछ हाम्रो मुद्दा ? तैपनि उठ्नेहरूलाई मेरो शुभकामना छ ।
हाम्रा लागि त अहिले आफ्नो परिचय खुलाएर निर्वाचनमा उठ्न सक्नु नै आफैंमा ठूलो कुरा हो । बल्लतल्ल एकजनाको उम्मेदवारी पर्न सफल भएको छ । यस्तो अवस्थामा समाजले वा राज्यले उठ्न खोजेकाहरूलाई खोई प्रोत्साहन दिएको ? त्यसैले पनि अब आउने चुनाबमा हाम्रो मुद्दा र हाम्रो सवाल साझा हुनु पर्छ । प्रतिनिधित्व नै नभए पनि हाम्रो आबाजलाई सुनिनुपर्छ जसले गर्दा आगामी दिनहरूमा यस्ता राष्ट्रिय अवसरहरूबाट हाम्रो समुदाय विगतमा जस्तै वञ्चित भइरहनु नपरोस् ।