पशु अधिकार र जनावरहरूको संरक्षबारे चेतना जगाउन आज (अक्टोबर ४मा) पशु दिवस मनाईंदैछ । विडम्बना, दशैंको महानवमीसमेत परेकाले देवीलाई बलि चढाउने नाममा आजै घर–मन्दिरहरूमा व्यापक पशुवध पनि भइरहेको छ ।
चेतनाका दृष्टिले हामी मानिसले आफूलाई सबै प्राणीभन्दा श्रेष्ठ ठहर्याउँदै आएका छौं जुन सर्वथा गलत छ । गलत यसकारण कि यस धर्तिमा मानिसले जति अपराध अन्य कुनै जीवले न गरेको छ न अब गर्न नै संभव छ ।
यस पृथ्वीमा सम्मानपूर्व बाँच्न पाउने अधिकार हरेक जीवजन्तुमा छ उत्तिनै छ जति मानिसमा । मानिस मात्रै यस्तो जीव हो जसले आफ्नो स्वार्थका लागि संसारका अरु सबै जीव र वनस्पतिलाई आफ्नो नियन्त्रणमा लिने गरेको छ । मानिसकै कारणले प्राणी प्राणीबीचको पर्यावरणीय सम्बन्धमा खलल पुगेको छ ।
मानिसलगायत प्रकृतिमा रहेका अन्य पशुपंक्षी तथा जीवहरूको उपस्थितिबाटै पर्यावरणीय चक्र सन्तुलित र सक्रिय रहने हो । कुनै पनि जीवजन्तु लोप हुँदा त्यसले पर्यावरणीय चक्रमा असन्तुलत पैदा गर्छ र त्यसको असर अन्य प्राणीमा पनि पर्न जानछ । पशुहरूको समुचित संरक्षण हुन नसके स्वच्छ वातावरणमा समेत असर पर्न जान्छ ।
अन्तर्राष्ट्रिय वातावरण कानूनले सबै प्राणीको बाँच्न पाउने अधिकारलाई मानिसको जस्तै जन्मसिद्ध अधिकार ठहर गरेको छ । द वर्ल्ड चार्टर फर नेचरको प्रस्तावनामा भनिएको छ– ‘सबै प्राणीको आफ्नो छुट्टै अस्तित्व हुने भएकाले मानव जातिको उपयोगमा आए वा नआए पनि उसको संरक्षणको सुनिश्चितता गर्नु पर्दछ ।’
मानिससँगको सम्बन्ध भए पनि नभए पनि पशुपंक्षीहरूको पनि आफ्नै स्वतन्त्रता हुन्छ जसको संरक्षण गर्नु मानिसको थप दायित्व हो । तर हामी त त्यो दायित्व पालना गर्नु त परै पशुहरूलाई अनेक यातना दिएर आफ्नो व्यापार व्यवसाय बढाउने र खाने पिउने मेलो पो गरिरहेका छौं ।
वर्ल्ड अर्गनाइजेसन अफ एनिमल हेल्थको निर्देशिकाको परिच्छेद ७.१.२ मा पशुकल्याणसम्बन्धी आधारभूत सिद्धान्त छ जसले पशु कल्याणका निम्न आधारभूत पक्षलाई सुनिश्चित गरेको छ ।
भोक प्यास र कुपोषण हुन नदिने ।
त्रास र तनाव हुन नदिने ।
भौतिक तथा शीत–तपाजन्य असुविधाबाट सुरक्षित गर्ने ।
पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने ।
सामान्य व्यवहार अभिव्यक्त गरी जीवनरक्षा सुनिश्चित गर्ने ।
पाषाण युगमा मानिस र पशु बराबर हैसियतमा थिए । दुबै एक अर्कादेखि डराउँथे । जब मानिसले हतियार र आगोको आविष्कार गर्यो जनाबरमाथि उसको हैकम बढ्न थाल्यो । त्यो क्रम बढ्दैजाँदा मानिसले पशुलाई आफ्नो निजी सुख सुविधाका लागि श्रममा लगाउने र निजी सम्पत्ति सरह मनपरि प्रयोग गर्न थाल्यो । हामी जति जति समाजलाई आधुनिक बनाउँदै र आफूलाई चेनशील भनाउँदै लगिरहेका छौं, त्यति त्यति पशुहरूमाथि क्रूर र बर्बर बनिरहेका छौं ।
विभिन्न पशु र जनावरका हत्या हिंसा हुने उद्यमहरू चलाइरहेका छौं ।
मानिसको यस्तो निर्मम र अमानवीय प्रवृत्ति गलत हो भन्ने अवधारणा पछिल्ला वर्षहरूमा कतिपय पशुअधिकारी र सात्विक विचारधारा भएका अभियन्ताहरूबाट बुलन्द हुन थाले पनि त्यो पर्याप्त छैन । पशुपंक्षीलाई निजी सम्पत्ति मानिए पनि वा मानिसले पालेकै भए पनि उनीहरूमाथि अत्याचार र अमानवीय तवरबाट यातना प्रताडना दिने कार्य रोक्न यस्तो आबाज अझ बुलन्द बनाउनु आवश्यक छ ।
मानिसको व्यक्तिगत सम्पत्ति हो भन्दैमा अन्य निर्जीव सम्पत्तिलाई जस्तो पशुपंक्षीलाई अमानवीय व्यवहार गर्न मिल्दैन । प्राण हुने भएकोले पशुपंक्षीमा पनि मानिसमा जस्तै भावना हुन्छ । हामीलाई जसरी दुःख पीडा हुन्छ, त्यसरी नै उनीहरूलाई पनि हुन्छ । त्यसैले पशुहरूमाथि पनि दया, माया, करूणा लगायतका मूल्य मान्यताहरूको आधारमा व्यवहार गर्नुपर्छ ।
पूर्वीय सभ्यतामा जनावरलाई विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्ममा पशुलाई देवताको प्रतीकका रूपमा पूजा गर्ने संस्कार छ । गाई, गोरु, काग, कुकुर, सर्प, कछुवा आदिलाई फरक फरक संस्कृतिसँग जोडेर पूजा गरिन्छ । तर पछिल्लो समयमा गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार क्रूर हुन थालेको छ । दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको छ ।
पूजा आजाकै नाममा पशुलाई क्रूरतापूर्वक निर्मम हत्या गरेर पशुअधिकारको थप हनन गर्ने काम भइरहेको छ जबकी बारा जिल्लास्थित गढिमाईलगायतका मेला, धार्मिकस्थलमा दिने गरिएको बलीका सन्दर्भमा जनावरहरूउपर हुने गरेको क्रूर र यातनापूर्ण व्यवहार नगर्न वा त्यस्ता कृत्यलाई विस्तारै हजाउँदै जानेतर्फ पहल गर्न सर्वोच्च अदालतले आदेशहरू जारी गरेको छ ।
पश्चिमा मुलुकहरूमा पशुहत्या अझै बढि हुन्छ । तर पनि त्यहाँका समेत कतिपय मुलुकले पशु अधिकार संरक्षणका लागि विभिन्न नियम कानून बनाएको पाइन्छ । जर्मनीले सन् २००२ मा संविधान संशोन गरी पशुअधिकार सुनिश्चित गरेको छ भने स्विट्जरल्याण्डले पनि संविधान संशोधनमार्फत् नै पशु बस्तु होइन, प्राणी हुन् भन्ने मान्यता स्थापित गरेको छ ।
अष्ट्रिया, स्लोभानियाजस्ता देशले संविधानमै पशुलाई अनावश्यक पीडा, डर र त्रासबाट स्वतन्त्र हुने अधिकार उल्लेख गरेका छन् । बेलायतको पशु कल्याण ऐनले जनावरलाई पीडा र तनावबाट मुक्त राख्ने व्यवस्था मात्र गरेको छैन, पशुहरूप्रति क्रूर व्यवहार वा लापरवाही गर्ने व्यक्तिलाई सजायँको व्यवस्था समेत गरेको छ । कानून उल्लंघन गरे आजीवन घरपालुवा जनावर राख्न नपाईने व्यवस्थादेखि ५१ हप्तासम्म कैद वा जरिवाना हुन सक्ने व्यवस्था छ । भारत, केन्या, लगायतका अरु कैयन् मुलुकले पशुहरूविरुद्ध क्रूर व्यवहार हुन नदिन विभिन्न कानूनी व्यवस्था गरेका छन् ।
नेपालको सन्दर्भमा पशुसम्बन्धी गतिविधिहरूलाई नियमन गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६, पशु वधशाला र मासु जाँच ऐन २०५५ र पशु वधशाला र मासु जाँच नियमावली, २०५७ लगायत छन् । पशु ढुवानी मापदण्ड २०६४, पशु क्वारेन्टाइन (पहिलो संशोधन) कार्यविधि २०७१ र पशु कल्याण निर्देशिका २०७३ पनि छ । मुलुकी (अपराध संहिता) ऐन २०७४ को परिच्छेद २७ मा पशुपंक्षी कसुरसम्बन्धी व्यवस्था छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पशुप्रति हुने निर्दयी व्यवहार रोक्न एउटा समिति गठन गर्न सक्ने र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार सोही सूचनामा तोकिएबमोजिम हुने भन्ने व्यवस्था छ । तर ऐन जारी भएको लामो समयसम्म पनि उक्त समिति गठन हुन सकेको देखिन्न ।
मुलुकी (अपराध संहिता) २०७४ को परिच्छेद २७ ले पशुपंक्षीसम्बन्धी कसुरलाई अलग परिच्छेदमा उल्लेख गरेको छ जसमा गाई, गोरूलाई मार्न वा काट्न निषेध गरिनुका साथै पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने उल्लेख छ । कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई यातना दिन नहुने उल्लेख छ । हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न नपाइने त्यसमा व्यवस्था छ । त्यसप्रकारको काम गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै पशु कल्याण निर्देशिका २०७३ ले अन्तर्राष्ट्रिय घोषणा पत्रले व्यवस्था गरेझैं पशु कल्याणको आधारभूत स्वतन्त्रताको सम्मान गर्दै पशुलाई काममा लगाउँदा अपनाउनु पर्ने सावधानीहरू अपनाउन भनेको छ । पशुमा भारवहन सामग्रीको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू, काम गराउने उपयुक्त मौसम र समयसम्बन्धी, कार्यबोझसम्बन्धी, आश्रयसम्बन्धी, दानापानीसम्बन्धी, बाँध्ने वा थुन्नेसम्बन्धी, स्वास्थ्योपचारसम्बन्धी, संक्रामक रोग व्यवस्थापनसम्बन्धी, निवृत्त पशु व्यवस्थापनसम्बन्धी, पशुप्रति हुने निर्दयी व्यवहारसम्बन्धी, पशु कल्याणसम्बन्धी जिम्मेवारी र उत्तरदायित्वसम्बन्धी, पशु कल्याण मापन सूचकसम्बन्धी लगायतका सम्बन्धमा पनि व्यवस्था छ ।
पशु सेवा विभागले जारी गरेको पशु ढुवानी मापदण्ड, २०६४ ले पशु ढुवानी गर्दा बाँध्न नहुने, दाना पानीको व्यवस्था गरिनुपर्ने, स्याहार सुसार गर्नुपर्नेलगायत व्यवस्था गरेको छ । यी सबै व्यवस्थाहरूको आशय पशुहरूप्रति अमानवीय व्यवहार नहोस् भन्ने नै हो ।
पशुअधिकार रक्षाको माग गर्दै दायर गरिएको एक रीट निवेदनमा सर्वोच्च अदालतले २०७४ पुस १२ गते सरकारका नाममा निर्देशनात्मका आदेश जारी गरेको छ जसमा अदालतले पशु पनि कानूनी व्यक्ति सरह भई उसको आफ्नै अधिकार हुन्छ भन्ने सिद्धान्त तथा त्यसमा नागरिकको अभिभावकत्व र कर्तव्य हुन्छ भन्ने मान्यता राखेको छ । पशुहरूको भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने, सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सुनिश्चित गर्न सर्वोच्चले नेपाल सरकारलाई आदेश दिएको छ ।
आदेशमा भनिएको छ– ‘पशुहरूउपर गरिने कस्तो प्रकारको कार्यहरू क्रूर र अमानवीय हुने, क्रूर र अमानवीय व्यवहार रोक्न जनचेताना फैलाउने, क्रूर र अमानवीय कार्यको अनुगमन कसले कसरी गर्ने, पशुहरूउपर क्रूर र अमानवीय व्यवहार भएमा कुन निकायमा कसरी उजुरी गर्ने, सजाय र क्षतिपूर्ति के हुने, पशुधनीको कर्तव्य के हुने, पशु वध तथा स्थानान्तरण गर्दा कम पीडा दिई उपयुक्त प्रविधिको प्रयोग कसरी गर्नेलगायतका कुराहरूलाई स्पष्टसँग उल्लेख गरी तथा वैज्ञानिक परीक्षणको लागि पशुहरूको प्रयोग, जिनेटिक इन्जिनियरिङ, जिनेटिक मोडिफिकेसन लगायतका विषयहरूको सम्बन्धमा समेत आवश्यक व्यवस्था गरी पशु अधिकार र कल्याणको लागि पशु कल्याण निर्देशिका, २०७३ को सापेक्षतामा निर्देशिकाद्वारा संरक्षित गरिएका व्यवस्थाहरूलाई समेत मध्यनजर राखी आवश्यक कानून तर्जुमाको लागि व्यवस्था मिलाउने । पशु कल्याणसम्बन्धी विशेष कानून नआएसम्मको अवधिका लागि पशु कल्याण निर्देशिका, २०७३ लाई पशु स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने सन्दर्भमा प्रभावकारी कार्यान्वयन गर्ने, गराउने तथा सो निर्देशिकाको कार्यान्वयनमा उजुरी व्यवस्थापन, अनुगमन र समन्वयको लागि आवश्यक व्यवस्था मिलाउने । पशु स्वतन्त्रताको सम्मान र संरक्षण गर्न भएका कानून, निर्देशिका र फैसलाको व्यापक प्रचार प्रसार गरी राज्यको सम्बन्धित निकाय र नागरिकको दायित्व बोध गराउने ।’
यी सबका बाबजूद धार्मिक–सांस्कृतिक परम्पराका नाममा दशैंका बेला मुलुकका देवी मन्दिरहरूमा असंख्य पशुहरूको हत्या भएको छ । घरघरमा उत्तिकै पशुसंहार भएको छ । म्याग्दीको कोत मन्दिरमा नवमीका दिन बलि चढाइने ‘सरकारी राँगो’ मार हान्न ३ लाख १५ हजार रुपैयाँको बोल कबोल नै भएको छ ।
लाखौं खर्च गरेर प्राणीहत्याको अवसर पाऊँ भन्नेहरूको भीडले हाम्रो चेतनाको स्तर अनुमान नै गर्न नसकिने कहालीलाग्दो अवस्थाबाट गुज्रिइरहेको देखाउँछ । बाइसे चौबिसे राज्यकालदेखिको यो परम्परा केही व्यक्ति बोलेर वा अदालते आदेश दिएर मात्रै तोडिएला भनेर अपेक्षा गर्नु बेकार छ । किनभने मार हान्न यसरी हानाथाप हुनुको कारण नै मार हान्ने सबैको उन्नति प्रगति भएको ठानिनु हो । अझ उदेक लाग्दो त के भने मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ ।
संसारका जुनसुकै धर्मको मूल–ग्रन्थको अध्ययन र विवेचन गर्दा ती सबैले हामीलाई सबै प्राणीमाथि दया र करुणाकै लागि प्रेरित गरिरहेको पाइन्छ । धर्मको मूल नै अहिंसा हो । तैपनि धर्मकै नाममा यति धेरै हत्या हिंसा किन ? किनभने समयक्रममा मानिसले आआफ्नो स्वार्थ अनुसार धर्मग्रन्थहरूको अपव्याख्या गरे । यो वा त्यो धर्मग्रन्थको मात्र होइन, जसरी अहिले संसारैभर नीतिगत भ्रष्टाचार र अनियमितता हावी भएको छ, त्यसरी नै धूर्त पाखण्डीहरूले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दूषित तुल्याउने काम गरे ।
अन्याय, अत्याचार र आसुरीवृत्ति नष्ट गरी सद्गुणी सदाचारीहरूको रक्षा गर्ने जगन्माता देवीकै नाममा अबोध र निरीह प्राणीमाथि खुँडा खुकुरी चलाउनु कदापि धार्मिक कृत्य हुन सक्दैन । सम्यक् चेतनाविना कसैको पनि यो घोर अन्धकारबाट मुक्ति संभव छैन ।
यजुर्वेदमा उद्घोष छ– ‘अघ्न्या यजमानस्य पशून्पाहि’ (हे मानव, पशु अघ्न्य–कहिल्यै मारिनयोग्य नहुने– हुन्, पशुहरूको रक्षा गर्नु नै तिमीहरूको कर्तब्य हो ।)
अथर्ववेद भन्छ– ‘ब्रीरीहिमत्तं यवमत्तमथो माषमथो तिलम् । एष वां भागो निहितो रत्नधेयाय दान्तौ मा हिंसिष्टं पितरं मातरं च ।’ (हे ! दाँतका दुबै पंक्तिहरु ! चामल खाऊ, जौ खाऊ, दाल खाऊ । यो अनाज तिमीहरूकै लागि नै बनाइएको हो । जीव–जन्तुहरूलाई कहिल्यै नमार जो तिम्रा माता–पिता बन्न योग्य छन् । तिनीहरूलाई मार्नु अपराध हो।)
पद्पुराण पद्मोत्तरखण्डमा भगवान् शिवलाई माता दुर्गाको प्रश्न छ– ‘यूपे बद्धवा पशून् हत्वा करोति रक्तकर्दम । तेन चेत् प्राप्यते स्वर्गो नरकं केन गम्यते ?’ (हे प्रभु ! मौलोमा पशुलाई बांधेर हत्या गरी रगतको खोलो बगाउने क्रूर व्यक्ति स्वर्ग जान पाउने भए नरक जाने को हो त ?)
अनि महाभारतमा भनिएको छ– ‘सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां बलिस्तथा । धूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते ।’ (मदिरा, माछा, मासु र द्विजको बलि जस्ता कार्यहरू धूर्तहरूले आफ्नो स्वार्थसिद्ध गर्न सुरू गरेका हुन् वेदहरूमा यसको विधान छैन ।)