मालश्री धुन
२०७९ सालको शारदीय नवरात्र सुरु भएको छ । हाम्रो नेपाली समाज यस्तो छ जहाँ जन्मिएदेखि मृत्यु पर्यन्तका हरेक संस्कार संगीतबिना अपुरो हुन्छ । बाजा बजाएर, गाएर वा नाचेर जसरी भए पनि ती संस्कृति परम्पराका माहोलको सुरुआत संगीतबाटै भएको हुन्छ । नवरात्रको थालनी मालश्री धुनबाट भएको छ ।
मालश्री धुन दसैंको बेलामा शरत ऋतुको वर्णन गरेर, दुर्गा भवानीको स्तुति गरेर बजाइने धुन हो । मालश्रीको उत्पत्तिबारे खास लेखाजोखा गरिएको पाइँदैन । इतिहासलाई हेर्दा मल्लकालमा पनि यो धुन थियो भन्ने छ । अहिले जुन धुन मालश्रीको बज्ने गरेको छ ठ्याक्कै यही स्वरूपमा थियो भन्ने इतिहास छैन । मल्ल राजाहरूका पालामै मालश्रीको गीत रचना गरिएको भन्ने अहिलेसम्मको बुझाई छ ।
मालश्रीका गीत र धुन विशेष गरेर शाह राजाकालीन समयमा गाउने र बजाउने गरिन्थ्यो । मालश्री गीतको रचना अमरसिंह थापा र दलजित पाण्डेहरूले गरेको भन्ने पाइएको छ । त्योबेला यस्ता गीत र धुन सेनाहरूको मनोबल बनाउन र उनीहरूलाई हौसाउन गाइने बजाइने गरिन्थ्यो । सेनाले शक्तिको स्रोत भगवतीको उपासना गर्ने भएकाले सैनिक ब्यारेकमा देवीको विशेष पूजा हुन्छ । सेनाकै परम्परालाई पछ्याएर आम सर्वसाधारणले पनि दुर्गा भवानीको पूजा गर्दा मालश्री धुन र गीतलाई प्रयोगमा ल्याइएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
नवरात्रिमा प्रत्येक दिन फरकफरक देवीको पूजा गरिन्छ । तर हामीले सुन्ने गरेको मालश्रीको धुन एउटै मात्र भएजस्तो छ । यसमा बुझ्नुपर्ने के छ भने राग र धुनमा फरक छ । मालश्री भन्ने राग छ । शास्त्रीय संगीत अन्तर्गत मालश्री राग काफी थाट र चारवटा स्वर लाग्ने कल्याण थाटमा पर्छ । यसरी राग अनुसार विकास गरिएको भए मालश्री धुन सयौं सुनिन्थ्यो । सुरुदेखि नै हामीले गीत अनुसार अहिले बज्ने गरेको मालश्री धुन लिएका छौँ । त्यसैले मालश्रीको स्वरूप परिवर्तन र विकास हुन सकेन ।
बाजा बजाउँदा होस् वा गीत गाउँदा होस् अथवा नृत्य, जे गर्दा पनि एउटै खालको मालश्री धुन बज्ने गरेको छ । बाजा, ताल, कलाकार र स्थान परिवर्तन भए पनि धुन परिवर्तन भएको छैन । कसैले योदेखि बाहेक अन्य मालश्री धुन बजाउने प्रयास गर्यो भने मान्छेलाई पत्याउन मुस्किल हुन्छ । किन कि अहिलेको मालश्री धुन निकै मीठो र लोकप्रिय छ । यही मालश्री धुन सुन्ने, बजाउने र गाउने बानी परिसकेको छ । मालश्री यस्तो धुन हो, यो धुन दसैँको पर्यायवाची भएको छ । मालश्री धुन बजेपछि महान् चाड दसैँको परिकल्पना गर्ने गरिन्छ ।
जीवन दर्शन
संगीतलाई मानिसले फरक फरक तरिकाले बुझ्छन् । व्यक्ति अनुसारको बुझाइ हुन्छ । संगीतको सबैभन्दा ठूलो दर्शन भनेको यसबाट आनन्दित हुनु हो । संगीतले प्रसन्नता ल्याउँछ । आनन्द दिलाउँछ । प्रसन्नता र आनन्दले मानिसलाई उन्मुक्ति प्राप्त हुन्छ । जब मान्छे हर्षित हुन्छ, उसले सबै दुःखका पललाई बिर्सिन्छ । उसले मोक्ष प्राप्त गर्दछ । त्यसैले पनि संगीत अत्यन्त महत्त्वपूर्ण छ ।
संगीतलाई भाषाहरूको भाषा भनिन्छ । संगीतको कुनै भौगोलिक सीमा हुँदैन । संगीत आनन्दको पर्यायवाची हो । आनन्दलाई भौगोलिक सीमाले बाँधेर रोक्न सक्दैन । भाषागत रूपमा एक देशका मानिसको भाषा अर्को देशका मानिसले बुझ्न सक्दैनन् । तर संगीतको प्रस्तुतिमा गाना नै गाए पनि त्यसको मेलोडीको आनन्द लिएर सबैले कस्तो भाव हो बुझ्न सक्छन् । संगीतको रसलाई जान्दछन् ।
कुनै पनि शुभकार्य गर्नुअघि गणेश भगवानकाे पूजा गरिएजस्तै कार्यक्रमहरूको शुभारम्भमा हामीले शुभकामना धुन बजाउने गरेका छौं । आजभन्दा २० वर्षअघि विवाह व्रतबन्ध, पूजापाठ र कुनै पनि शुभकार्यमा मोर्डन ब्यान्डबाजा प्रयोग हुन्थ्यो भने अहिले आएर सोचमा केही परिवर्तन आएको छ । सनाई पञ्चेबाजा, न्याउलीबाजाजस्ता परम्परादेखि चल्दै आएका बाजाहरूको प्रयोग हुन थालेको छ । सारंगी, बाँसुरी, मादल, सनाईजस्ता पुराना लोकबाजा र लोकसंस्कृति झल्किने वाद्यवादनहरूलाई विशेष महत्त्व दिएर सेना प्रहरीहरूले ती धुन र बाजाहरूको संरक्षण गरेका छन् ।
पहिलाभन्दा धुनहरू राम्रा पनि हुँदै छन् । कुनै पनि काममा साधना, मिहिनेत र लगन जति बढी भयो त्यसले त्यति नै छिटो सिद्धि पाउँछ । पुर्खा र पूर्वजहरूले तयार पारेका धुनहरू हजारौँ वर्ष लागेर परिष्कृत हुँदै आजको दिनसम्म आइपुगेका हुन् । परम्परागत धुनहरू हाम्रा सांस्कृतिक सम्पदा हुन् । ती धुनहरू हराएका छैनन् । हराउन दिनु पनि हुँदैन ।
शास्त्रीय संगीत
शास्त्रमा आधारित परम्परादेखि नै चल्दै आएको संगीत शास्त्रीय संगीत हो । शास्त्रीय संगीतका दुईवटा पाटा छन्– शैली र व्याकरण । शैलीले परम्परागत पहिचानलाई जीवन्त राखिदिन्छ । व्याकरणले कुनै पनि विधाको संगीतकर्मीले अगाडि बढ्नका लागि बुझ्दा, अध्ययन गर्दा वा तालिम लिँदा शास्त्रीय संगीत भनेर बुझाउने गर्दछ । संगीतका कुनै पनि विधामा लाग्नेले यो बुझ्नु जरुरी छ ।
संगीत भनेकै शास्त्रीय संगीत हो । यसलाई कुनै नाम दिइरहनै पर्दैन । संगीतका कुनै पनि विधामा लाग्ने व्यक्तिले जानेर होस् या नजानेर शास्त्रीय संगीत प्रयोग गरिरहेका हुन्छन् । त्यसैले शास्त्रीय संगीत जान्दिन, मान्दिन वा सिक्दिन भन्नेले पनि शास्त्रीय संगीतको ज्ञान लिएकै हुन्छन् । यसको नियममा रहेर नै संगीतमा लागेका हुन्छन् ।
जो संगीत साधनामा लागेको छ उसले आफ्नो साधना दिगो बनाउन शास्त्रीय संगीतका नियम र महत्त्व जान्नुपर्ने हुन्छ । अहिले केही मानिसले शास्त्रीय संगीतको शैलीलाई लिएर विवेचना गर्न थालेका छन् । शास्त्रीय संगीत सिक्दैमा त्यसैको शैली पछ्याउनुपर्छ भन्ने छैन । एउटा लोकगीत, दोहोरी गीत वा आधुनिक गीत पनि शास्त्रीय संगीतको आधार लिएर बनेको छ भने त्यसको संगीतमा अझ बढी निखारता र मिठासपन आउन सक्छ ।
शास्त्रीय संगीतका राग र धुनबारे कतिलाई अलमल भएको देखिन्छ । अर्थ बुझ्नेहरूले रागलाई शास्त्रीय संगीतको एउटा व्याकरण हो भनेर बुझेका हुन्छन् । शास्त्रीय संगीतको नियममा बाँधिएर बनाइएका कम्पोजिसनहरू रागभित्र पर्दछन् । धुन भनेको एउटा सानो अंश मात्रै हो । धुनमा कुनै एउटा निश्चित रागलाई पछ्याइएको हुन सक्छ । धेरै रागको मिश्रण पनि हुन सक्छ ।
रागभन्दा अलग संसारमा कुनै पनि संगीत हुन सक्दैन । जुनसुकै संगीतमा रागहरूको प्रयोग भएको हुन्छ । कसैले जानेर गर्छन् कसैले नजानेर । रागको प्रयोग बृहत् ढंगको हुन्छ । शैली, व्याकरण, मिठास लगायत सबै पक्षलाई ख्याल गरेर यसको प्रयोग गरिन्छ । रागका धेरै प्रकार हुन्छन् । सबैको वर्णन गर्न सम्भव हुँदैन । गणितीय हिसाबमा ३६ हजार ४ सय ८४ वटा राग हुन्छ । त्यसको भेदलाई गन्ने हो भने करोडौँ भेद हुन्छन् ।
कतिपयले नेपाली शास्त्रीय संगीतलाई भारतको संगीत भन्छन् । यसलाई भारतको संगीत भन्न मिल्दैन । शास्त्रीय संगीत यस उपमहाद्वीपभित्र प्रचलनमा आएको संगीत हो । उपमहाद्वीपभित्र हजारौँ राष्ट्र थिए । ती राष्ट्रमध्ये नेपाल सबैभन्दा पुरानो राष्ट्र हो ।
जुन बेला नेपालमा शास्त्रीय संगीतको प्रचलन थियो भनेर भरत नाट्यशास्त्रमा भनिएको छ, त्यतिबेला आजको राष्ट्र भारतको उत्पति नै भएको थिएन । आधुनिक भारत भन्ने राष्ट्र सन् १९४७ मा आयो । त्यसैले नेपाली शास्त्रीय संगीतलाई भारतको संगीत भन्नेहरू अल्पज्ञान भएका पटमूर्ख संगीतकारहरू मात्र हुन् । अलिकति पनि ज्ञान नभएकाहरूसँग विवाद गर्नु बुझ्ने संगीतकारहरूका लागि पनि मूर्खता मात्र हो ।
निश्चय पनि भारतमा शास्त्रीय संगीतको विकास राम्रोसँग भएको छ । उनीहरूले शास्त्रीय संगीतमा ठूलो त्याग, तपस्या र लगानी गरेका छन् । भारत सरकारले शास्त्रीय संगीतको विकासका लागि प्रशस्तै कामहरू गरेको छ । दुर्भाग्यवश हाम्रो राष्ट्रले त्यसो गर्न सकेन । शास्त्रीय संगीत नेपालको पनि मौलिक सम्पदा हो । विडम्बना, अहिले नेपाली शास्त्रीय संगीत पनि भारतकै हो कि भनेर भ्रम पो फैलिएको छ ।
भरत नाट्यशास्त्रमा दोस्रो तस्रो शताब्दीमा लेखिएको श्लोकमा शास्त्रीय संगीतको प्रचलन कहाँकहाँ छ भन्ने सन्दर्भमा भारतको नाम उल्लेख छैन । भारतका केही प्रान्त वा ठाउँहरू अंग, भंग, कलिंग, मगदजस्ता अहिलेका राज्यबारे उल्लेख छ । नेपालको नाम पनि त्यसमा उल्लेख छ । नाट्यशास्त्रमा उल्लेख भएका अरू कुनै पनि देश अहिले अस्तित्वमा छैनन् । केवल हाम्रो देश नेपाल मात्रै अस्तित्वमा छ । यो नेपालीका लागि गर्वको विषय हो ।
यसरी लामो परम्पराबाट आएको संगीतलाई नेपालले जीवन्त बनाइराखेको छ । शास्त्रीय संगीतलाई जोगाउन मल्लकालीन कैयौँ ग्रन्थहरू साक्षी छन् । मल्ल राजाहरू शास्त्रीय संगीतका ज्ञाता थिए । राणाकालमा भारतका विभिन्न राज्यमा विदेशी आक्रमण भएर शास्त्रीय संगीतको अवस्था नाजुक थियो । यता नेपालको दरवारले शास्त्रीय संगीतको संरक्षण गरिदियो । अठारौं र उन्नाईसौं शताब्दीमा यदि नेपालले ती शास्त्रीय संगीतकारहरूलाई संरक्षण नदिएको भए अहिले अवस्था अर्कै हुन्थ्यो ।
अहिले नेपाली शास्त्रीय संगीत इतिहासलाई हेरेर सुध्रिने बेलामा छ । अल्प ज्ञानले कमाएको नाम र चर्चाले देशको विकास गर्न सकिँदैन । नेपाली शास्त्रीय संगीत देशको सामूहिक सम्पदा हो । सामूहिक धरोहर हो । लोकसंस्कृति र शास्त्रीय संगीत संस्कृतिबाटै नेपालमा अन्य संगीतको जन्म भएको हो । यी विधाको संरक्षण र प्रवर्धन गर्नुपर्छ । आज राज्यले खेलकुदमा जति लगानी गरेको छ त्यसको १० प्रतिशत मात्रै नेपाली संगीतमा लगानी गरिदियोस्, त्यो लगानीबाट सय गुणा प्रतिफल सुनिश्चित गर्न सकिन्छ ।
पूर्वीय र पाश्चात्य संगीत
एसियाली क्षेत्रका धेरै सभ्यताहरू पूर्वीय सभ्यताभित्र पर्दछन् । पूर्वीय सभ्यता अन्तर्गत विभिन्न सभ्यताहरू छन् । चीनको आफ्नै सभ्यता होला, जापानको आफ्नै होला, इन्डोनेसियाको आफ्नै होला । नेपालको आर्यावर्त, हिमवतखण्ड, भारतवर्ष भनेर जुन भन्ने गरेका छौँ, त्यसको अर्कै एउटा विशिष्ट खालको पहिचान छ । पूर्वीय अध्यात्म र दर्शनभित्रको जुन सनातन परम्परा छ, त्यसले हाम्रो अलग्गै सांस्कृतिक र सांगीतिक पहिचान दिलाउँछ ।
हामीले यहाँ प्रयोग गर्ने संगीतको स्रोत हजारौँ वर्षअघिदेखिको सामवेद हो । वेदबाट नै संगीतको सिर्जना भएको हो । यसरी हेर्दा संगीतको इतिहास अत्यन्त पुरानो छ । पश्चिमेली आयामका संगीत अमेरिका, युरोप र अफ्रिका लगायत मुलुकमा प्रचलनमा आएका संगीतहरू छन् । अध्यन अध्यापनका दृष्टिले हामीमा सबै प्रकारका संगीतको ज्ञान हुनु आवश्यक छ ।
अहिलेको विश्वव्यापीकरणमा हामीले कुनै पनि क्षेत्र वा विषयलाई एउटा सीमित क्षेत्रमा मात्र राख्न सक्दैनौँ । यो ज्ञान मलाई आवश्यक छैन भनेर बस्न सक्दैनौँ । हिजो हामी आफैँले अध्ययन–अध्यापन गर्दा पश्चिमा शैलीका संगीतलाई त्यति महत्त्व दिँदैनथ्यौं । आज हामीलाई थाहा छ तिनको पनि त्यति नै महत्त्व छ । आफ्नै गरिमा छ । तिनको ज्ञान हामीले लिएर हाम्रो संगीतमा मर्ज गर्न सक्यौँ भने नयाँ किसिमका शैलीहरू निस्किन्छन् । नयाँ भाव पैदा हुन्छन् । त्यसैले विश्वविद्यालयका पाठ्क्रमहरूमा पाश्चात्य संगीतलाई पनि समावेश गर्न खोजिएको छ । यसले हाम्रो ज्ञानको तहलाई विस्तृतीकरण गर्छ ।
त्यसो त, हामीले कुनै पनि संगीतलाई आत्मसात् गर्नुको मतलब हाम्रो आफ्नो संगीतलाई छोड्नु होइन । ज्ञान अभिवृद्धि गर्ने कुरामा नयाँनयाँ काम गर्दा नयाँपन थपिन्छ र नयाँ कुरा सिक्ने, जान्ने र प्रस्तुत गर्ने मौका पाइन्छ । गुणस्तरीयता बढाउन सकिन्छ । अरू संगीत सिकेर आफ्नो संगीतलाई बिर्सिने भन्ने कुरा कदापि हुँदैन ।
हाम्रो संगीतको मर्म, महत्त्व, मूल्य, मान्यता र आदर्श जुन छ जसले हाम्रो संस्कृतिको प्रतिनिधित्व गर्दछ, त्यस संगीतलाई छाड्ने कुरा नै हुँदैन । पश्चिमा संगीत लिए पनि पप, आधुनिक संगीत गाउने गायकले नेपालीपन झल्किने गीत संगीत बनाइरहनुभएको छ । त्यसरी नै हो संगीतका साधकले काम गर्ने । अरूको संगीत सुनेर, सिकेर आफ्नोपनमा ढाल्ने हो । अरूको नक्कल गर्ने होइन आफ्नोपनमा उतारेर विस्तृत गर्ने हो ।
अहिलेका युवा संगीतकार र कलाकारहरूले केही सीमित क्षेत्रमा रहेका संगीतलाई नयाँ प्रयोग गरेर व्यापक बनाइरहनुभएको छ । आज नेपाली गीत–संगीत युरोप, अमेरिकाजस्ता विभिन्न मुलुकमा विस्तार भइरहेको छ । यो ढंगले नेपालको संगीतको दायरालाई विस्तृत भइरहेको छ । आज नेपाली संगीत संसारका विभिन्न मुलुकमा गइरहेको छ । भाषा र संगीतको नयाँ प्रयोगले व्यापकता पाएको छ ।
अरूको संगीतलाई पूरै नक्कल गरेर आफ्नो संगीतलाई बिर्सियौं भने त्यसले हाम्रो संस्कृति र सभ्यतालाई धराशायी बनाउँछ । तर प्रयोग गर्ने, सिक्ने र त्यसलाई आफ्नो संस्कृति परम्परा झल्किने आचरण व्यवहारसँग ढाल्ने हो भने नेपाली संगीतको श्रीवृद्धि हुन्छ ।
नेपाली संगीतको अवस्था
नेपाली गीत–संगीतको समग्र अवस्थालाई हेर्ने हो भने पहिलाको तुलनामा अहिले धेरै राम्रो भएको छ । आज संगीतको जुनसुकै विधामा, जुनसुकै शैलीमा लाग्न खोज्ने व्यक्तिले शास्त्रीय संगीतको महत्त्व बुझेका छन् । शास्त्रीय संगीत सिकेर अर्को विधामा लाग्नुपर्छ भन्ने प्रचलन र अभ्यास बढेको छ ।
हिजो संगीतलाई आनन्द प्राप्ति, मोक्ष प्राप्तिका लागि भनेर सुन्ने र सिक्ने गरिन्थ्यो । आज सबै किसिमका संगीत शास्त्रीय हुन् या लोक, जुनसुकै संगीत पनि व्यावसायिकतामा बदलिएको छ । संगीतका माध्यमबाट नेपालमा रोजगारी पाउने थुप्रै कलाकार छन् । अधिकांश कलाकारले पेसाको रूपमा लिएर जीवन निर्वाह गरिरहेका छन् । फिल्मी क्षेत्र, स्टुडियो क्षेत्र, कुनै पनि गीतमा संगीतको प्रयोग उत्कृष्ट हुँदै छ ।
नेपाली भाषाका चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अन्य भाषामा डबिङ गरेर अन्य देशमा प्रदर्शन गरिएको छ । यसबाट पनि नेपाली मौलिक परम्परा झल्किने गीत संगीतले व्यापकता पाएको छ । लोकगीत, दोहोरी गीत, आधुनिक, पप, चलचित्र वा शास्त्रीय जेसुकै भए पनि नेपालीपन भएकाले विश्वमा लोकप्रियता पाइरहेको छ ।
अहिले कुनै पनि संगीतकार र कलाकार राज्यको भर परेर हिँडेका छैनन् । कला र संस्कृतिले भरिपूर्ण देशमा छौँ तर यहाँको मौलिकता, महिमा र विशेषतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन विश्वका विभिन्न राष्ट्रमा भ्रमण गर्नुपर्दा कलाकारहरूले राज्यबाट कुनै सहयोग पाएका हुँदैनन् ।
विदेशका विश्वविद्यालयमा गएर नेपाली संगीतबारे बोल्दा वा प्रस्तुति दिँदा उनीहरूले देखाएको चासोबाट नेपाली संगीतको कति महत्त्व छ भन्ने थाहा हुन्छ । राज्यले संगीत विषयलाई एउटा आम औपचारिक अध्ययनको विषय बन्ने अवसर मात्रै जुटाइदिने हो भने हाम्रो देशका लागि संगीत क्षेत्र वरदान नै साबित हुन सक्छ ।
औपचारिक पठनपाठन
नेपालमा संगीतको अनौपचारिक शिक्षा लिने ठाउँ प्रशस्तै छन् । औपचारिक संगीतको शिक्षा लिने ठाउँ भने कमजोर छ । इतिहास हेर्ने हो भने पहिलोपल्ट विसं १९०४ मा जंगबहादुरले तालिमखाना भनेर संस्था खोलेको देखिन्छ । आफ्ना दरबारभित्रका परिवार र सुसारेहरूलाई तालिम दिनका लागि मनहरा दरबारमा पाठशालाजस्तो खोलिएको पाइन्छ । मल्ल र लिच्छविकालसम्म पुग्ने हो भने त्यतिबेला वादित्रगोष्ठी भन्ने एउटा संस्था वा समूह हुन्थ्यो जसले संगीत सिकाउने, बाजा बजाउन सिकाउने, मन्दिरहरूमा र दरबारमा गाना गाउने र बाजा बजाउने काम गर्थ्याे।
त्रिभुवन विश्वविद्यालयको स्थापनापछि संगीतको औपचारिक शिक्षा सुरु भयो । पछि पद्मकन्या क्याम्पसमा पहिलो औपचारिक संगीत शिक्षा सुरु भयो । त्यसपछि बिस्तारै रत्नराज्य, ललितकला क्याम्पस आदिमा संगीतको पढाइ सुरु भएको हो । निजी क्याम्पस सिर्जना कलेज अफ आर्टमा संगीत विषयको पढाइ हुन्छ । पैँसठ्ठी वर्षको इतिहासमा नेपालमा चारवटा क्याम्पसमा मात्रै संगीत शिक्षाको पढाइ हुन्छ । यी ठाउँमा पहुँच नहुनेहरूले चाहेर पनि औपचारिक संगीत शिक्षा लिन सकिरहेका छैनन् । यो लज्जास्पद कुरा हो ।
त्यसो त, नेपालमा संगीतमा मास्टरदेखि पीएचडीसम्मकै अध्ययन गर्न पाइन्छ । आम स्तरमा संगीत शिक्षाको अध्ययन अध्यापन नहुँदा र बीचको तह खाली गराई उच्चशिक्षाका लागि मात्र अवसर दिने हो भने संगीतको स्तर उन्नति गर्न सकिँदैन । विद्यार्थीले धेरै पैसा तिरेर पढ्छु भन्दा पनि गुणस्तरीय शिक्षा लिन पाएका छैनन् । दस जना विद्यार्थी पुर्याउनुपर्ने जुन नियम छ त्यसले चाहेर पनि संगीत विषय पढ्न पाएका छैनन् ।
म अहिले ललितकला क्याम्पसको केन्द्रीय विभागमा छु । मैले हिजो त्यहाँका जिम्मेवार व्यक्तिहरूलाई त्यहाँको परिस्थिति, नीति नियम भएन भनिरहँदा त्यसको सुनुवाइ नभएको महसुस गर्थेँ । आज आफैं केन्द्रमा भएर पनि त्यस्ता नीति नियम परिवर्तन गर्न सकिरहेको छैन । म बाध्य छु । मैले मेरा जिम्मेवारी पूरा गर्न सकेको छैन ।
स्रोतसाधन नभएकाले चाहेर पनि विद्यार्थीहरूलाई भर्ना लिन सकिरहेको छैन । १० जना विद्यार्थी पुर्याउनुपर्ने जुन गलत नियम छ, यसलाई पनि चाहेर हटाउन सकिरहेको छैन । संगीतका धेरै विषयहरू खोल्न सकिरहेको छैन ।
संगीत शिक्षाको विस्तारका लागि स्कुल तहमा आधारभूत पढाइ हुनुपर्छ । त्यसपछि प्लस टुमा र बिस्तारै माथिल्लो तहमा पढाइ हुुनुपर्ने हो । तर जहिलेदेखि प्रवीणता प्रमाणपत्र तहमा हटाइयो तबदेखि समस्या आएको छ । रोजगारी र विद्यार्थीको संख्या कम भएको छ । यस्ता कुरामा राज्यले ध्यान नदिँदा संगीत विषयको औपचारिक शिक्षा धराशायी बन्दै गएको छ ।
संगीत विषयलाई राजनीतिशास्त्र, अर्थशास्त्र, विज्ञान र इतिहासजस्तो विषय ठान्नु भएन । विश्वविद्यालयका पदाधिकारीहरू, राजनीतिक क्षेत्रका जानकारहरू, शिक्षा क्षेत्रका व्यक्तिहरू र नीति निर्माताहरूले यो कुरा अन्दाज गर्न सक्नुभएको छैन । संगीतको विशेषता के हो र यसलाई किन अरू विषयको भन्दा पृथक् खालको व्यवहार गरिनुपर्छ भन्ने बुझ्न सक्नुभएन । उहाँहरूले यो विषयमा त्यस क्षेत्रका विज्ञहरूसँग परामर्श नगरी टुंगो लगाउँदा संगीत क्षेत्र संकटमा परेको छ ।
अहिले नेपाली संगीत व्यापक हुनुमा निजी क्षेत्रहरूबाट भएको मिहिनेतले मात्र काम गरेको छ । राज्यको तर्फबाट शिक्षाका जिम्मेवारी लिएका निकायहरू र विश्वविद्यालयहरूले यसको विस्तारका लागि गर्नैपर्ने कामहरू गर्न सकेका छैनन् । संगीतका समस्याहरू लिएर जो व्यक्ति त्यस निकायसम्म पुग्छन्, त्यहाँ ती व्यक्तिलाई अर्कै ग्रहबाट आएका मान्छेसरह व्यवहार गरिन्छ ।
पुर्ख्याैली विरासत
संगीत क्षेत्रमा मेरो परिवारको म चौथो पुस्ता हो । मेरो हजुरबुवाको बुवा देवचन्द्र रेग्मी नेपालबाट बनारस गएर २० वर्ष संगीत सिकेर आउनुभएको थियो । उहाँ देवशमशेरको पालामा सामवेदको यज्ञ गराउने नेपाली विद्वान्को नामले चिनिनुहुन्थ्यो । उहाँले नै सितार बाजालाई लोकप्रिय बनाउनुभएको हो ।
मेरो हजुरबुवा कृष्णचन्द्र रेग्मीले नेपालमा संगीतका क्षेत्रमै काम गरेबापत इन्द्रराज्यलक्ष्मी प्रजा पुरस्कार पाउनुभएको थियो । बुवा शतिशचन्द्र रेग्मीले तीसौँ वर्ष विश्वविद्यालयमा संगीतको प्राध्यापकको रुपमा काम गर्नुभयो ।
मैले घरमा नै संगीतको शिक्षा लिएको थिएँ । मेरो संगीतको पढाइ घरमा नै भएपनि प्राइभेट जाँच दिएर औपचारिक कक्षा पास गरेको थिएँ । आजभन्दा तीस–बत्तीस वर्ष अगाडिसम्म पनि संगीतलाई शिक्षाको रूपमा स्वीकारेको थिएन । त्यतिबेला मेरो रुचि अनुसारको संगीत शिक्षा घरबाटै लिएँ भने औपचारिक शिक्षा घरबाट बाहिर गएर लिएँ ।
संगीतमा पीएचडी गरिसकेको तर संगीत सिकिरहेको र संगीत कर्ममा नै लागिरहेको मजस्तो संगीतको विद्यार्थीको सफलताको मापन दर्शक र श्रोताले गर्ने हो । मलाई मेरो साधनाको मिहिनेतले खुसी बनाएको छ । म सन्तुष्ट छु । संगीतको कर्ममा सफल भइरहेको छु । संगीत क्षेत्र होस् या अरू कुनै क्षेत्र मानिसले तीन–चारवटा कुराको ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो प्रतिष्ठा, पद, धन आर्जन र शैक्षिक उपाधिलाई हेरेर मानिसले सफलताको मापन गर्न सक्छ ।
मैले संगीतमा उच्च शिक्षा हासिल गरेको छु । विभिन्न सेमिनार, गोष्ठी र मिडियामा आफूलाई प्रस्तुत गर्ने मौका पाएको छु । संगीत क्षेत्रले मेरो जीविकोपार्जन राम्रै भइरहेको छ । सम्मानयुक्त जीवन व्यतीत गरिरहेको छु । कार्यक्रम, विदेश यात्रा, पठनपाठन सबै क्षेत्रमा मैले अवसर पाएको छु । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको पदमा पुगेको छु । यी सबैलाई हेर्दा मेरो क्षेत्रकासँग तुलना गर्दा म आफूलाई सफल भएको महसुस गर्छु ।
कतिपय स्थानमा मलाई लाग्छ मैले चाहेको जति अझै म सफल हुन सकेको छ्रैन । मैले योभन्दा धेरै राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास भएर पनि केही गर्न सकेको छैन । कारण हो– यो देशमा क्षमताको कदर हुन सकेको छैन । प्राध्यापकजस्तो पदमा नियुक्ति हुँदा पनि राजनीतिक भागबन्डाको सिकार भइन्छ । कुनै दलसँग या कुनै आस्थासँग आबद्ध भइएन भने सफल हुन सकिँदैन । धेरै नै गाह्रो हुन्छ । व्यक्तिगत आचरण र क्षमताले अगाडि बढिरहँदा जुन सफलता पाइएको हुन्छ, त्यसमा राजनीतिक हस्तक्षेप हुन्छ ।
राजनीतिको आडमा तलबाट खुट्टा तान्ने, पछाडिबाट घचेट्ने र माथिबाट टुप्पी तान्ने हजारौँ हुन्छन् । जीवनमा कोही कसैको झोला बोक्न नपरोस्, कसैले टीका लगाइदिएर अगाडि बढ्न नपरोस् । अहिलेसम्म जे छौँ आफ्नै मिहिनेतले हामीले गरिरहेका छौँ, अझै गर्छौं।
हामीलाई कसैको चाकरी गरेर केही चाहिएको छैन । जब संस्थामा स्रष्टाको क्षमतालाई ओझेलमा पारेर उसको राजनीतिक आवरण खोजिन्छ भने त्यो देशमा कहिलै क्षमतामवान् व्यक्तिले उसको क्षमता अनुसारको स्थान, मान र पदवी पाउँछ भन्ने विश्वास छैन । शास्त्रीय संगीतमा पनि हामीले आफ्नै क्षमताले अगाडि बढिरहेका छौँ । यस्तो राजनिति चाकडीपनालाई हटाइदिने र यसमा आकर्षित नहुने हो भने हामीले अझै ठूलो गर्व गर्ने स्थानमा नेपाली शास्त्रीय संगीत पुग्नेछ ।
सुकर्म ब्यान्ड
नेपालको सांस्कृतिक सांगीतिक धरोहर भनेर लोकसंगीत र शास्त्रीय संगीतलाई लिइएको छ । यो सही हो । सुकर्म ब्यान्डको दर्शन शास्त्रीय संगीत र लोकसंगीतलाई एउटै मञ्चमा विविध ढंगले प्रस्तुत गर्ने हो । यसरी हाम्रा दुईवटै सांगीतिक धरोहरलाई संरक्षण गर्न सकियोस् श्रीवृद्धि गर्न सकियोस् भन्ने हाम्रो चाहना हो । यो सुकर्म ब्यान्डको अभियान हो ।
शास्त्रीय संगीतमा राग हुन्छ, रागको थिमलाई विस्तार गरिन्छ, त्यसको नियमलाई पछ्याइन्छ । केही लामो समयसम्म प्रस्तुति गर्ने एउटा परम्परा छ त्यसलाई तोडेर आधुनिक गीत, लोक, दोहोरी अथवा पप र अन्य मोर्डन आर्किस्टाहरूको ढंगसँग जोडेर सुकर्मले कम्पोजिसन बनायो । यसले शास्त्रीयतालाई मर्न दिइएको छैन र लोकसंगीतलाई समावेश गरिएको छ । यसरी नेपालमा मात्रै नभई विश्वका जुसुकै ठाउँमा जहाँ गएर प्रस्तुति दिँदा पनि सबैले मन पराएका छन् ।
नेपाल र भारतको संगीतको मेलोडी लगभग उस्तैउस्तै हुन्छन् । भारत र चीनजस्ता दुई ठूला देशहरूमा संगीतमा र संगीतकारलाई राज्यले लगानी गरेको हुन्छ । उनीहरूसँग नेपालले प्रतिस्पर्धा गर्न नेपालका संगीतकारहरूलाई गाह्रो हुन्छ । किनकि नेपालमा राज्यले संगीतकारलाई लगानी गर्दैन । भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्दा व्यक्तिगत हिसाबले नेपाली संगीतकारले जानुपरेको छ । भारत, चीनजस्ता देशमा नेपालीपनाको शास्त्रीय संगीतलाई प्रस्तुत गरियो भने संगीतको राम्रो बजारीकरण गर्न सकिन्छ ।
अहिलेसम्म सुकर्म ब्यान्डले प्रस्तुत गरेका संगीत जसले सुनेका छन्, उनीहरूले मन पराएका छन् । त्यसैले त देशविदेशमा प्रस्तुतिका लागि बोलाइन्छ । सुकर्म ब्यान्डले जाने मौका पनि पाएको छ ।
नेपाली शास्त्रीय संगीतलाई अन्य देशको संगीतभन्दा पृथक् मानिएको छ । विश्वका प्रमुख राष्ट्रमा घुम्ने क्रममा राज्यले सहयोग गरोस्–नगरोस् नेपाली भएर नेपालीको झन्डालाई बोकेर कार्यक्रम प्रस्तुत गरिरहँदा र कार्यक्रमपछि नेपालको बारेमा दर्शकले सोध्ने बेलामा गर्वका साथ बोल्न पाउँदाको आनन्दभन्दा ठूलो कुरा सुकर्म ब्यान्ड र मलाई अरू के हुन सक्छ र ? हो, त्यतिबेला थाहा हुन्छ राष्ट्रियता भनेको के रहेछ । नेपालको पहिचान दिलाउने र नेपाललाई सम्मान दिलाउने दायित्व सम्झेर हामीले काम गरिरहेका छौँ । जीवनपर्यन्त राज्यको आह नगरी निःस्वार्थ रूपमा निरन्तर रूपमा कार्यरत भइरहन्छौँ ।
इसं १९५७ सालमा स्थापना हुँदा जो साथीहरू सुकर्ममा हुनुहुन्थ्यो उहाँहरू सबै जना तितरबितर भएर धेरै ठाउँमा छरिनुभएको छ । म भने अहिले पनि यसको नेतृत्व गरिरहेको छु । साथीहरू आवश्यकता अनुसार आउने–जाने गर्नुहुन्छ ।
सुकर्म ब्यान्डसँग बेलाबेलामा साहित्य र कला पनि सँगै यात्रा गर्न आइपुग्छन् । साहित्य, कला र संगीतको यात्रा सम्झिँदा दिव्य यात्रा भएको महसुस हुन्छ । साहित्यकारहरूले साहित्यमार्फत दिनुभएको अभिव्यक्ति र भावनाले संगीतको उचाइ त बढ्छ नै यसले कलाको पनि न्याय गरेको हुन्छ । संगीतको स्तर उन्नतिमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । संगीतको दायरालाई फराकिलो बनाइदिएको हुन्छ ।
केही समयदेखि हामीले साहित्य र संगीतको सहयात्राको अवसर पाएका छैनौँ । कसैकसैले साहित्य र संगीतको सँगैको यात्राले साहित्य ओझेलमा पर्न सक्ने धारणा व्यक्त गरिदिनुहुन्छ । साहित्य, कला र संगीत एकअर्काका परिपूरक हुन् भन्ने नजान्दा यस्तो गलत धारणा उत्पन्न हुने हो । बुझ्नेले अहिले पनि साहित्य र संगीतलाई एकै ठाउँमा प्रस्तुत गर्ने कार्यक्रम बनाउनुहुन्छ । यसरी सँगै गरेको यात्राले कोही कसैको क्षमता ओझेलमा पर्दैन । यस्तो स्वर्ण अवसरलाई कोही पनि कलाकारले गुमाउनु हुँदैन । यस्तो बौद्धिक अवसरमा संलग्न हुँदा कलाकार र साहित्यकारलाई मात्रै होइन राष्ट्रलाई नै फाइदा पुग्छ ।
राज्यको दायित्व
कला, संस्कृति र संगीतको संरक्षण गर्नु राज्यको दायित्व हो । त्यसका लागि राज्यले एउटा राम्रो वातावरण र नीति बनाइदिने हो । सबै स्रष्टाहरूमाथि राज्यले समान व्यवहार गर्नुपर्छ । भेदभाव हुनु भएन । कला, संगीत, भाषा र साहित्यको क्षेत्रमा पनि आफ्नौ कार्यकर्ता मात्र खोज्नु भएन । काम गर्ने मान्छे खोज्नुपर्यो । काम गर्ने मान्छेलाई प्रोत्साहन गर्नुपर्यो । व्यवहारमा त यसको ठ्याक्कै विपरीत पो भइरहेको छ । कुनै ठाउँमा मौका पायो कि त्यो ठाउँका लागि योग्य व्यक्ति होस् नहोस्, क्षमता होस् नहोस् त्यो ठाउँमा कार्यकर्तालाई नियुक्ति दिएको हुन्छ । यस्तो भयो भने कसरी विकास हुन्छ ?
संगीतका कोही पनि साधकलाई राज्यले पैसा दिनु पर्दैन । आफ्नो मर्यादामा रहेर नीति निर्माण र कानुनद्वारा सहयोग गरोस् । हामी आफैं कमाउँछौं र राज्यलाई कर तिर्छौं । नेपाली कला संस्कृति र संगीतको प्रवर्धनमा योगदान पुर्याउँछौं जसले गर्दा अन्तर्राष्ट्रिय पर्यटकको आगमन नेपालमा बढाउन सहयोग पुग्छ र राज्यलाई स्वतः फाइदा हुन्छ । समग्र राष्ट्रको पहिचानका लागि, राष्ट्रको आर्थिक विकासका लागि सही नीति, कानुन र सही ठाउँमा सही व्यक्तिलाई ल्याउनुपर्यो । स्रष्टाले गर्ने कामलाई कार्यकर्ताबाट गराउनु भएन ।
राष्ट्रको प्राथमिकतामा नपरेर हाम्रा कैयन् धुन ओझेलमा छन् । राष्ट्रले संरक्षण गरोस् नगरोस् यसको मतलब नगरी संगीत क्षेत्रका स्रष्टाहरूले नेपाली संस्कृति र परम्परा जगेर्ना गर्नुपर्छ । उहाँहरूले संरक्षण गरिरहनुभएकै पनि छ । राष्ट्रहितको भावना स्वतःस्फूर्त हुने कुरा हो । यसमा राज्यले अलिकति ध्यान दिने हो भने मौलिक नेपाली गीत संगीत अझै राम्रो हुनेछ ।
यतिबेला राज्यको ध्यान राजनीतिभन्दा बाहेकका विषयमा खासै परेजस्तो देखिन्न । संविधानमा कला–संगीत भन्ने शब्दलाई छोट्याइएको छ । अझ भनौँ राख्नै चाहेको देखिन्न । निर्देशक सिद्धान्तमा संगीत शब्दको उल्लेखै छैन । नेताले भाषण गर्दा कला, संगीत, संस्कृति र कलाकार भनेका राष्ट्रका गहना हुन् भन्ने गर्छन् । त्यो गहनालाई उनीहरू आफ्नो काम परेका बेला मात्र प्रयोग गर्छन् । राज्यले संगीतको महत्त्व नबुझ्नु आफैंमा लज्जास्पद छ ।