संस्कृतको वैज्ञानिकता
संस्कृतलाई कतिले गाह्रो भाषा ठान्ने गर्छन् । सायद संस्कृत भाषामा अरू भाषामा जस्तो जथाभावी लेख्न नपाइने भएकाले होला । संस्कृत एउटा अत्यन्त नियमनिष्ठ र सिद्धान्तसहितको भाषा हो । संस्कृत वैदिक र लौकिक गरेर दुई किसिमका हुन्छन् । वेदहरू वैदिक संस्कृतमा लेखिएका छन् । वेदबाहेकका सामान्य ग्रन्थहरू लौकिक संस्कृतमा लेखिएका हुन् । सामान्यतः हामीले पढ्ने गरेको संस्कृत लौकिक संस्कृत हो । वेद, उपनिषद्बाहेक अन्यत्र वैदिक संस्कृत पाइँदैन । संस्कृत बिस्तारै अब कम्प्युटरको भाषा पनि बन्दै छ ।
संस्कृतमा ओठले, नाकले वा घाँटीले बोलेर उच्चारण गरिने अक्षरहरू छुट्टाछुट्टै छन् । यसका सस्वर वाचन र लेखनका नियम एकदमै कडा पनि छन् । संस्कृतमा जस्तो वर्ण विन्यास र अक्षर विन्यास अरू भाषामा छैन ।
संस्कृत भाषामा हदैसम्मको लचकता छ । सामान्यतः भाषाहरूमा कर्ता, कर्म र क्रिया मिलेपछि वाक्य बन्छ । संस्कृतमा पनि त्यही नै हो । तर फरक के भने यसमा कर्ता, कर्म र क्रिया अगाडि पछाडि जता पारेर लेख्न, पढ्न पाइन्छ । जस्तै अहम् भक्तम् खादामि (म भात खान्छु) । यो वाक्यलाई ‘भक्तम् अहम् खादामी’ भन्न सकिन्छ । ‘खादामि भक्तम् अहम्’ भन्न पनि मिल्छ । यो लचकता कम्तीमा नेपाली वा अंग्रेजी भाषामा छैन ।
व्याकरणका दृष्टिले केही हदसम्म गाह्रो भए पनि प्रयोगका दृष्टिले संस्कृत एकदमै सजिलो र रमाइलो भाषा हो । यसको शब्दभण्डार अगाध छ । पत्याइनसक्नु पर्यायवाची शब्दहरू छन् जसले गर्दा अनेकौं छन्दमा अनेकौं मन्त्र र श्लोकहरूको रचना सम्भव भएको छ । यी सबै कारणले संस्कृतका मन्त्र, श्लोक र सन्देशहरूको खोजीनीति अब नासाजस्ता वैज्ञानिक संस्थाहरूले पनि गर्न थालेका छन् ।
पुराणको विज्ञान
पौराणिक मान्यता अनुसार पुराणहरू प्रस्तुत गर्नका लागि भगवान् आफैं वेदव्यासको रूपमा आउनुहुन्छ । पुराणमा सबै किसिमका विषय पाइन्छन् । सामाजिक, आर्थिक, विज्ञान, गणित, योग, तर्क, गायन र अन्य विषयको ज्ञान पनि पुराणमा पाइन्छ ।
अहिले हामी शून्य (०) कसले पत्ता लगाएको हो भनेर कसैले सोध्यो भने कुनै एउटा वैज्ञानिकको नाम लिन्छौं । अथवा गुगलमा हेरेर यसो भन्या छ, उसो भन्या छ भन्छौँ । हामी अहिले यस्तो जमानामा छौं जहाँ गुगल नै गुरुहरुको पनि गुरु (गुगलम् गुरुणां गुरु) भएको छ । आत्मज्ञान, अनुभव र विवेकका आधारमा भन्दा पनि हामी गुगल वा यस्तै सर्च इन्जिनहरूले भनेका कुराहरूलाई मानेर आफ्ना विचार निर्माण गरिरहेका छौं । त्योभन्दा एक पाइला अगाडि बढ्ने हो भने ‘पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते, पूर्णस्यपूर्णमादाय पूर्णमेवावशिष्यते’ भन्ने वैदिक उद्बोधनमै गणितको सार अन्तर्निहित पाउन सकिन्छ ।
तीन हजार वर्षअघि लेखिएको पुराणमा शून्यको चर्चा छ । पुराणमा नै लेखिएको कुरा पछि आविष्कार भए भनेर आएका थुप्रै कुरा छन् । तिनै कुरा कसैले आफ्नो भाषामा भने, कसैले लुकाएर भने अथवा साभार गरे । गणितमा भएको जोड, घटाउ मात्र होइन ऐकिक नियम, घन, वर्ग र तिनका सूत्रहरू पुराणहरूमै उल्लेख छ । नारद पुराणमा अंक गणित, बीज गणित (अल्जेब्रा), ध्वनि विज्ञान, छन्द विज्ञान, संगीत विज्ञान समाविष्ट छ । गणितमा १, २, ३, ४ कसरी भयो भन्ने नारद पुराणमा वर्णित छ ।
पुराणमा सर्ग, प्रतिसर्ग, मनु, मन्वन्तर, र वंशानुचरित गरी मुख्य पाँच विषय छन् । सर्ग भनेको सृष्टि हो । हामीले जुनसुकै दर्शन वा विद्या पढे पनि एउटा न एउटा परमशक्तिमाथि विश्वास गर्नैपर्ने हुन्छ । एउटा आस्था लिनैपर्छ । संसारमा नास्तिक भनेर हिँड्ने पनि छन् तर तिनीहरूमा पनि एउटा धारणा अवश्यै रहेको हुन्छ । नास्तिक नै भए पनि प्रकृति वा सृष्टिप्रति आस्था देखाउँछ । सृष्टिकर्तालाई मान्छ ।
बाबुका बाबु, उनका पनि बाबु, तिनको पनि बाबु को थिए भनेर खोजी गर्दै जाँदा ईश्वरीय सत्ता स्वतः सिद्ध हुन्छ । आफ्नो आमाले जन्माएको मान्ने हो भने हाम्रा पुर्खामध्येका पूर्वपुरुषलाई पनि कसैले जन्माएको थियो भन्ने मान्नु कुनै वाद र सिद्धान्त नभएर यथार्थ प्रकृतिको सत्ता स्वीकार गर्नु हो । आमाले बच्चा जन्माउन बाबाको संसर्गमा जानैपर्छ । यो सबै प्रकृति हो यसलाई सबैले मान्नैपर्छ । भोक लाग्नु, सुत्नु, उठ्नु यी सबै प्रकृतिमा पर्छन् । हामीसँग प्रकृति जोडिएको हुन्छ ।
पुराणले सृष्टिको कुरा गर्दा गर्दै प्रलयको पनि कुरा गर्छ । कोही जन्मन्छ भने अवश्य मर्छ । यो संसारको एउटा चक्र छ । आइतबारपछि सोमबार आउँछ भनेजस्तै युगहरू बित्दै जान्छन् ।
कलियुगको आयु चार लाख बत्तीस हजार वर्ष छ । हरेकमा चार लाख बत्तीस हजार वर्ष थप्दै जाने हो भने एउटा युग परिवर्तन हुन्छ । सत्य, त्रेता, द्वापर र कलि गरेर चार युग छन् । यी चार युगको आयु ४३ लाख २० हजार वर्ष हुन्छ । यी चार युग सकिएको दिन प्रलय आउँछ । यो प्रलय हामी कसैले देखेका छैनौँ । प्रकृति अनुसार बिहानपछि बेलुका भएजस्तै यो नाश पनि एक दिन अवश्य हुनेछ ।
पुराणमा जन्म, लयको साथसाथै वंशको पनि वर्णन छ । जन्म भएका सबै केही न केही वंश र अंशमा जन्मिएका छन् । यस्तै गरेर पुराणमा राजा, ऋषि आदि इत्यादि वंशहरूको चरित्र वर्णण छ । तिनीहरूको काम, कर्तव्यको पनि वर्णन छ ।
संसारमा विभिन्न मनुहरू छन् । अहिले वैवस्वत मनुको राज्य चलेको छ । मनुहरूको पनि चक्र छ । सबै मनुको आयु छ । आयु त हामीले भाेगिरहेकै छौँ ।
वेद र पुराणको समय
कसै–कसैले वेद ठूलो कि पुराण भनेर वादविवाद गरेको सुनिन्छ । प्राप्त प्रमाण अनुसार वेद पुरानो ग्रन्थ हो । पुराणलाई पाँचौँ वेद भन्नेहरू पनि छन् । वेद अपरूषेय (ईश्वरको वाक्य) र श्रुति परम्पराबाट आएको भन्ने मानिन्छ । वेदहरू लेख्न÷छापिन थालेको चार सय वर्ष मात्र भयो होला । त्यसभन्दा अगाडि यो सुनिन्थ्यो र सुनाइन्थ्यो । वेदले आदेशात्मक भाषा बोल्छ । वक्ताका आधारमा वाक्य तीन प्रकारका हुन्छन् ।
- गुरु सम्मत (आदेशात्मक वाक्य)
- सुहृत् सम्मत (मित्र वाक्य)
- कान्ता सम्मत (प्रियसीले बोल्ने वाक्य)
वेदमा गुरु सम्मत वाक्यको प्रयोग छ । यसले गर या नगर भन्ने आदेश दिन्छ । पुराणमा सुहृद सम्मत वाक्य पाइन्छ । एउटा मित्रको भावले भन्ने कुरा पाइन्छ । आधुनिक साहित्यमा प्रयुक्त आख्यान, उपन्यास आदिमा प्रायः कान्ता सम्मत वाक्य पाइन्छ । प्रेमी वा प्रेयसीको मन जित्नका लागि जे पनि भन्न सकिन्छ चाहे त्यो सत्य होस् या झूट !
पुराणले कहिल्यै नराम्रो बोली बोल्दैन । सधैँ सबैको हितकारी कुरा गर्छ । वेदले आदेशात्मक भावले भन्ने र पुराणले मित्र भावले भन्ने भएका कारण पण्डितहरूले पुराणभन्दा लेघ्रो तानेर लामो गरी भन्ने गर्छन् ।
पुराण, महापुराण, उपपुराण, औपपुराण र अऔपपूराण गरी पाँच किसिमका पुराण छन् । हरेकमा अठारवटा पुराण छन् । यसरी पुराणको संख्या नब्बे हुन आउँछ । अहिले लोकमा बढी चलिआएको महापुराण हो ।
व्यक्तिगत रूपमा मैले अर्थशास्त्रका क्षेत्रमा धेरै वर्ष काम गरेको भए पनि आमाको सन्तुष्टिका लागि मैले आमालाई पुराण पढेर सुनाउन थालेको थिएँ । अर्थ, वित्त र कर भनेर मैले धेरै वर्ष बिताएको छु । तर आमाको मनमा एउटा छोरो सधैँ व्यस्त मात्र हुन्छ भन्ने परेको रहेछ । आमालाई छोराले मेरो पनि कुरा मान्दिए हुन्थ्यो भन्ने लागिरहेको रहेछ । मैले सरकारी सेवामा लाग्नुअघि पनि आमाले मैले जागिर मात्र गरेको त्यति रुचाउनुभएको थिएन । मेरो अवकाशपछि भन्नुभयो– ‘अब त तँ खाली छस्, मलाई पुराण सुनाइदे ।’
मैले आमाकै इच्छा पूरा गर्नका लागि उहाँलाई पुराणहरू सुनाउन थालेँ। उहाँलाई चित्त बुझ्ने गरी मैले बिस्तारै पुराणहरू सुनाउँथेँ । यो २०७१ सालतिरको कुरा हो । उहाँ एकासी–बयासी वर्षको हुनुहुन्थ्यो । पुराण सुनाउँदा सुनाउँदै २०७२ साल फागुनमा उहाँको देहान्त भयो । त्यसपछि मलाई लाग्यो– यो अरूलाई पनि किन नसुनाउने ?
त्यो समयसम्म मलाई पुराणमा एउटा मीठो रस बसिसकेको थियो । त्यो समयसम्म मैले तीन–चारवटा पुराण पढेर सकिसकेको थिएँ । आशौच बारेका बेला मलाई कार्यक्रममा बाहिर जान मिल्दैनथ्यो । इच्छा पनि लाग्दैनथ्यो । त्यसैले झन् फुर्सद मिल्यो ।
मैले पुराण पढ्न र लेख्नमै आफूलाई व्यस्त गराउन थालेँ । त्यसबीचमा मलाई अमेरिका जानुपर्ने भयो । अमेरिका जाँदा मैले किताब लिएर गएको थिएँ । त्यहाँ पनि पुराणहरू नै पढेँ । मेरो पुराणप्रतिको मोह अझै बढ्दै गयो । आमालाई सुनाउने बहानामा सुरु भएको पुराणका कहानीमा अब म आफैं रमाउन थालिसकेको थिएँ ।
मैले एउटा दुइटा गर्दै गर्दा अठारवटा (अग्नि, मार्कण्डेय, वामन, शिव, गरुड, कूर्म, विष्णु, वराह, भविष्य, ब्रह्म, लिङ्ग, भागवत, मत्स्य, नारद, ब्रह्मवैवर्त, ब्रह्माण्ड, पद्म, स्कन्द) महापुराणहरू पढेँ र तिनलाई नेपालीमा अनुवाद गरेँ । यसले नेपाली भाषामा मात्र पढ्न सक्नेले पनि अब अठारै महापुराण पढ्न पाउने अवस्था सिर्जना भएको छ ।
म ब्राह्मण परिवारमा जन्मिएको हुँ । मेरो संस्कार पनि केही हदसम्म त्यस्तै थियो । मेरो पिताजी पण्डित हुनुहुन्थ्यो । मेरा दाजु प्रा.डा. ऋषिराम पोखरेल पनि नेपालका उत्कृष्ट विद्वान्मध्ये हुनुहुन्छ । मैले बाले पुराणहरू पढ्नुभएको सुनेको थिएँ । पहिले मलाई पुराणको रस ठीकैठीकै मात्र थियो ।
सरकारी सेवाका क्रममा कहिले अर्थ मन्त्रालय त कहिले योजना आयोग, कहिले वाणिज्य मन्त्रालय कहिले महिला आयोगको सेवामा केन्द्रित हुन पुगेँ । विदेशमा पनि म अर्थशास्त्र नै पढाउँथेँ । त्यसैले मैले संस्कृत सबै भुलेको थिएँ ।
मैले संस्कृतको आचार्य र अर्थशास्त्रको पीएचडीमा गोल्ड मेडल पाएको हुँ । आफूले पाएको शिक्षालाई मैले सक्दो राम्रो काममा प्रयोग गरें भन्ने लागेको छ । त्यही ऊर्जा संस्कृत भाषामा पनि देखाउन पाएकामा अहिले म अझ खुसी छु । सबै पुराणहरूको अनुवाद गर्न सकेकामा आफूलाई भाग्यशाली पनि सम्झेको छु ।
शास्त्रहरूको संरक्षण, अनुवाद र प्रवर्धनको काम खासमा सरकारले नै गर्नुपर्ने हो । तर सरकारले गरेन भन्दैमा हामीसँग क्षमता छ भने हातमुख बाँधेर बस्नुपर्छजस्तो मलाई लाग्दैन । सायद यही बुझाइले मलाई एक्लो मेहनत र खर्चमा यी सब काम गर्न प्रेरित गरिरहेको छ । मैले अनुवाद गरेका पुराणहरूका साथै संस्कृत, नेपाली र अंग्रेजीका पुस्तकहरू अमेजनको किन्डल लिन्कमा गएर पाउन सक्नुहुनेछ ।