हाम्रो देश कला र संस्कृतिले भरिपूर्ण छ । हामी संसारमा हिमालले चर्चित छौं । बुद्धले चर्चित छौं । हाम्रा कला र संस्कृतिले चर्चित छौं । सँगसँगै नेपाल एउटा खुला संग्रहालय पनि हो । पाटन र भक्तपुर जाँदा हामीले खुला म्युजियमको आनन्द लिन सक्छौँ । यो एकदमै खुशीको कुरा हो । सँगसँगै दुःखको कुरा के हो भने कला संस्कृतिमा यति सम्पन्न हाम्रो मुलुकमा अझैसम्म पनि व्यवस्थित र संग्रहालय भन्न सुहाँदो एउटै पनि समकालीन संग्रहालय छैन ।
भक्तपुरमा महत्त्वपूर्ण कलाकृतिहरू छन् । पाँचतले मन्दिरदेखि लिएर आसपासका क्षेत्रमा बहुमूल्य कलाहरू देख्न सकिन्छ । तर यसको राम्रोसँग संरक्षण हुन सकेको छैन । बरु दुरुपयोग भएको छ । पाँचतले मन्दिर अगाडिपट्टि क्याफेहरू सञ्चालन गर्न दिइएको छ । त्यहाँ अव्यवस्थित क्याफे सञ्चालन गर्नु, वरिपरि व्यापार–व्यवसाय गर्नु पटक्कै राम्रो होइन । सरकारले आयआर्जनका स्रोतहरू त्यसरी जथाभावी सञ्चालन गर्न दिनु हुँदैन ।
पाटन अथवा भक्तपुर यदि पश्चिमेली मुलुकमा हुन्थ्यो भने सिसामा सजाएर राखिएको हुन्थ्यो । विडम्बना, हामी त मन्दिरकै छेउमा पसल देख्छौँ । यो हाम्रो खुला संग्रहालयलाई नसुहाउने दृश्य हो । सरकारले कला र संस्कृतिको जगेर्नामा लापरबाही गर्न हुँदैन । पालिकाहरूले सामान्य ध्यान दिने मात्रै हो भने पनि यस्ता असहज दृश्यहरू देखिने थिएनन् ।
पाटन वा भक्तपुरको मात्र नभई नेपालमा समग्र कला क्षेत्रको जस्तो व्यवस्थापन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । आर्ट कलेजहरूको सही व्यवस्थापन भैरहेको छैन । कला र संस्कृतिका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिएको छैन । आर्ट कलेजमा प्राध्यापकहरूको कमी छ । जो जति छन् तिनले पनि उचित पारिश्रमिक पाएका छैनन् । कला र संस्कृतिको यति सम्पन्न मुलुक भएर पनि हामीले कलाका विद्यार्थीलाई चाहिनेजति छात्रवृत्ति दिन सकेका छैनौं । विद्यार्थीहरूले चाहेर पनि यो विषय पढ्न सकेका छैनन् ।
ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति छँदा (सन् २०१४ देखि २०१८ सम्म) मैले प्रधानमन्त्री र मन्त्रीहरूलाई कला विषयको महत्त्व बुझाउन धेरै प्रयत्न गरेकी हुँ । मुलुकमा एउटा राम्रो संग्रहालय स्थापना गरौं भनेर जोड दिएँ । पटक–पटक प्रस्ताव पनि राखेँ । कला र संस्कृति जगेर्ना गर्ने योजनाहरू बनाएको पनि हो । धेरै योजना बनाएर पनि कार्यान्वयन गर्न नसकिएकामा दुःख लागेको छ ।
आखिर नेपालमा किन बनाइएको छैन समकालीन कला संग्रहालय ? जबकि यसबाट हाम्रो पहिचान त बढ्छ, बढ्छ, आर्थिक रूपमा पनि हामी सक्षम हुन सक्छौं । विदेशमा म्युजियमहरूको उचित व्यवस्थापनले त्यहाँको आर्थिक स्थिति सुध्रिएको छ । विदेशीहरूले कलाको महत्त्व र आयआर्जनको भूमिका राम्रोसँग बुझेका छन् ।
नेपालका नेताले पनि बुझ्ने हो भने, नेपालका ललितकला, थांका, पौवा र अन्य पेन्टिङ राखेर २० करोड रूपौयाँ लगानी गरेर एउटा म्युजियम खोल्न आखिर केले रोकेको छ ? यति मात्रै गर्न सके जसरी मोनालिसाको पेन्टिङ हेर्न मानिस घण्टौँ लाइनमा बसेर जान्छन् त्यसरी नै विदेशीहरू हाम्रो देशका कला हेर्न आइपुग्छन् । विदेसीलाई कम्तीमा १५ डलर र नेपालीलाई सय रुपैयाँ शुल्क तोकिदिने हो भने त्यो संग्रहालय आफैं आयआर्जनको माध्यम बनिहाल्छ ।
अहिले हराएका मूर्तिहरू धमाधम फेला पर्न थालेका छन् । पहिलो कुरा त मूर्ति किन हराउँछन् ? दोस्रो भेटिएका भनिएका मूर्ति सक्कली हुन् कि नक्कली ? त्यो पनि छानबिन हुनुपर्याे । सक्कली हुन् भने उचित संरक्षण हुनुपर्यो ।
सधैँजसो नेताहरू हामीलाई आय आर्जन गर्नुस् भनेर सम्झाउनुहुन्छ । आय आर्जन भन्ने कुरा लगानी गरेपछि मात्र हुन्छ । पैसाको लगानी चाहिन्छ । समयको लगानी चाहिन्छ । कलाजस्तो सिर्जनात्मक विधाका लागि त लामो समय साधना गर्न सक्ने व्यक्तिहरू (असल कलाकार) उत्पादनका लागि समेत लगानी चाहिन्छ । यी सबै व्यवस्था मिलाउन र कलाकारका कलाकृतिहरू किन्न सरकारले बजेट छुट्ट्याउनुपर्छ ।
मुलुकमा भएकै बीरेन्द्र आर्ट म्युजियम पनि भद्रगोल छ । सरकारले उतिबेलै भत्काउन लागेको थियो । मेरो कुलपतिको कार्यकालमा मैले त्यो म्युजियम भत्काउन दिइनँ । त्यतिबेला डा. स्वर्णिम वाग्लेको सहयोगमा प्रधानमन्त्रीलाई भनेर भत्काउनबाट जोगाएको थिएँ । ८० करोड रुपैयाँको बजेटमा रेक्टोफिटिङ प्रविधिबाट त्यो भवन बनाउने सहमति गराएको थिएँ । पूरै भत्कायो भने कमिसन धेरै आउने भएकाले पनि यहाँ पूरै भत्काउने प्रयास गरिँदोरहेछ । कम से कम एउटा मात्रै भए पनि समकालीन आर्ट म्युजियम भइदिए कला क्षेत्र र सिंगो मुलुकलाई लाभ मिल्ने थियो ।
म कुलपति भएका बेला वीरेन्द्र आर्ट ग्यालरीमा २५० वटा आर्ट संकलित थिए । भूकम्पको समयमा विदेशी टोली भ्रमणमा आउँदा लाजैमर्दो भयो । एउटा संग्रहालयमा कम्तीमा पनि एक हजार आर्ट त हुनैपर्छ । संग्रहालयले त्यो समयको इतिहास बोकेको हुन्छ । आजभन्दा १०० वर्ष पुराना चित्रले त्यतिखेरको जीवन, संस्कृति र भावना प्रदर्शन गरिरहेको हुन्छ ।
नेपालामा धेरै उत्कृष्ट कलाकारहरू बितेर जानुभयो तर उहाँहरूको नामसमेत थाहा छैन । यो हाम्रो विडम्बना हो । उहाँहरूको कला जापान, जर्मनी र बेलायतका संग्रहालयहरूमा पाउन सक्छौँ तर नेपालमै पाउन एकदमै गाह्रो छ ।
बेल्जियम नेपालभन्दा सानो देश हो । त्यहाँ एउटा सिटीमा कम्तीमा एक दुईवटा ठाउँमा म्युजियम छन् । युवालाई नयाँनयाँ कामका लागि प्रोत्साहन गरिएको हुन्छ । युवालाई नै परिचालन गरिएको हुन्छ । दुई–तीन महिनामा चित्रकला प्रदर्शनी गरिएको हुन्छ । यसले गर्दा हरेक पटक नयाँ कलाकारको जन्म हुन्छ । पुरानाको कलाकारितामा निखार आइरहेको हुन्छ । कलाको महत्त्व बढिरहेको हुन्छ । कलाकारलाई उन्नति र प्रगति गर्न समय लाग्दैन उसले राम्रोसँग सजिलै आयआर्जन गर्न सक्छ ।
संग्रहालयको कुरा गर्दा कतिले आर्ट म्युजियम र आर्ट ग्यालरीलाई एउटै ठान्ने गरेको पाइन्छ । यसमा अन्तर छ । आर्ट ग्यालरी एउटा कलाकारले खोल्न सक्छ । त्यहाँ कलाकृतिहरूको किनबेच हुन सक्छ । तर म्युजियममा त्यस्तो हुँदैन । म्युजियमले एउटा सिंगो इतिहास बोकेको हुन्छ । त्यस्तो इतिहास जुन नयाँ पुस्ताले थाहा पाउनैपर्ने हुन्छ ।
फेरि पनि म भन्छु– नेपालमा म्युजियमहरूको अवस्था नाजुक छ । म्युजियममा लगानी गर्न र त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने चेत हाम्रो सरकारहरूमा पुग्ने राजनीतिक नेतृत्वमा अझ पनि राम्ररी घुसेकै छैन ।
हाम्रा संस्कृतिमन्त्रीलाई संस्कृतिबारे थाहै हुँदैन । यो लज्जास्पद कुरा हो । उनले संस्कृतिबारे केही अध्ययन गरेकै हुँदैनन् । राजनीतिक चलखेलका भरमा मन्त्री भएर आएकाहरूले न संस्कृति जान्दछन्, न इतिहासको विरासतलाई बुझेर मुलुकको भविश्य बनाउने संस्कार नै जानेका हुन्छन् ।
अज्ञानतावश गरिएका कामबाट कहिल्यै राम्रो र कसैको भलो हुँदैन । म चाहन्छु– जोसँग जुन ज्ञान छ, सीप छ, लगन छ उसले त्यही गर्ने हो । रुचिअनुसारको काम गर्ने हो । कुनै ज्ञान र सीपबिनाको काम लथालिङ्ग हुन्छ । भताभुङ्ग हुन्छ । देशलाई बचाउनु छ, कला संस्कृति जगेर्ना गर्नु छ भने यही क्षेत्रमा काम गरेका योग्य मान्छे योग्य पदमा हुनुपर्छ ।
हामीकहाँ चुनावमा धेरै पैसा खर्च भैरहेको छ । चुनाव लोकतान्त्रिक पद्धतिद्वारा जनप्रतिनिधि चुन्नका लागि हो नि । यहाँ खर्च त अरूअरू नै प्रयोजनमा बढी भैरहेको देखिन्छ । राष्ट्रले गौरव गर्ने कुरामा लगानी कम भैरहेको छ । कलाकारको अस्तित्व नै सकिन लागिसकेको छ ।
म नेताहरूलाई हात जोडेर भन्न चाहन्छु– चुनावमा अनावश्यक खर्च गर्नुभन्दा कला, संस्कृतिमा लगानी गर्नुस् । कला, संस्कृति बाँच्यो भने मात्र हाम्रो देश बाँच्छ । हाम्रो मुख्य देखाउने सम्पत्ति भनेकै कला, संस्कृति हो । म मुलुकलाई माया गर्ने एउटा कलाकारको हैसियतले राजनीतिज्ञहरूलाई आग्रह गर्न चाहन्छु– कृपया कला क्षेत्रलाई राजनीतिबाट टाढै राखिदिनुस् ।
जबसम्म प्रज्ञामा राजनीतिक चलखेल हुन्छ तबसम्म यसको उन्नति संभव छैन । विवाद मात्रै भइरहन्छ । विवादरहित बनाउने हो भने प्रज्ञाका पदाधिकारी र प्राज्ञ इमानदार र नैतिकतामा अडिनुपर्ने हुन्छ । गुटबन्दी बनाएर जानु हुँदैन । यदि मन्त्रीले आफ्नो मान्छेको योग्यता पुग्दैन भने कुनै पनि सरकारी कार्यालयमा माथिल्लो तह होस् या तल्लो सिफारिस गर्नु हुँदैन । आफ्नोलाई भन्दा राम्रोलाई छान्ने व्यवस्थित नियम बनाउनुपर्छ । मान्छे धेरै थुपारेर काम धेरै हुने होइन । थोरै मान्छे भए पनि योग्यता अनुसारको काम बाँडफाँड गरियो भने समग्र देशको विकास हुन्छ । नेपालको कलालाई अन्तर्राष्ट्रिय स्तरमै अगाडि बढाउन सकिन्छ ।
साहित्य, संगीत र कलालाई एकै ठाउँमा राखेर दाँज्ने हो भने साहित्यलाई भाषाले बाँध्छ । संगीतलाई पनि अक्सर गीतको साथ चाहिन्छ, जुन कुनै न कुनै भाषामै हुन्छ । भाषा विचार विनिमयको एउटा यस्तो माध्यम हो जुन एक देशका बासिन्दाले अर्को देशमा बुझ्दैनन् । नेपालमै पनि एक ठाउँको भाषा अर्को ठाउँमा बुझिन्न । एक गाउँकाले अर्को गाउँको भाषा नबुझ्ने अवस्थासमेत छ । साहित्य अनुवाद गरियो भने बुझ्न सकिन्छ । चित्रकलाको भाषा विश्वव्यापी हुन्छ । यो संसारले बुझ्न सक्छ । यो मौन भाषा हो तर सबैले बुझ्न सक्छन् । चित्रकला त्यस्तो भाषा हो जसलाई अनुवाद गर्नु पर्दैन, जुनसुकै भाषाभाषीले पनि मजाले बुझ््न सक्छ ।
त्यसैले चित्रकारहरू पर्दामा देखिने अरू कलाकारजस्ता हुँदैनन् । यिनीहरू अरूभन्दा फरक छन् र विशेष पनि छन् । त्यसो भन्दैमा सबै कलाकार एकै खालका हुँदैनन् । सबै कलाकारले देखेका कुरालाई महसुस गर्दैमा अनुभवी बन्न सक्दैनन् । कलाकारले प्राविधिक कुरा मात्र जानेर वा कोरेर पनि हुँदैन । मनसँगै दिमागको सिर्जनात्मकता उत्तिकै आवश्यक हुन्छ ।
पहिला र अहिलेका कलाकारको अवस्था तुलना गर्दा अहिलेका कलाकार इन्टरनेटको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा छाउन सक्षम भएका छन् । अनलाइन बिक्री बढी हुन थालेको छ । कलाकारलाई पेन्टिङ बेच्न सहज भएको छ । अहिले एक्सपोजर छ । विदेश जान पाउँछन् । कलाकारहरूले अरू कमर्सियल काम गर्न पनि पाउँछन् । पहिला यस्तो थिएन । विदेशमा पेन्टिङ बेच्न गाह्रो थियो । अहिले अनलाइनबाट सजिलै डिल गर्न सकिन्छ । नेपालमा बसीबसी मार्केटिङ गर्न सकिन्छ । अहिले विदेशमा बसेर नेपालीहरूले डायस्पोरा आर्टबाट पनि आफ्नो नाम र देशको नामलाई उच्च बनाइराखेका छन् ।
नेपालमा हाम्रा पेन्टिङ कम मूल्यमा बेचिन्छन् । नेपालमा बनेका पेन्टिङ नेपालमै बिक्री होऊन् भनेर पनि कम मूल्यमा दिने गरिएको छ । राजारानीका पालामा उनीहरू पेन्टिङ रुचिपूर्वक अवलोकन गर्थे र राम्रो दाममा किन्थे । एउटा पेन्टिङको ११ हजार रुपैयाँ तिरेर किनिएको छ । अहिले त्यही पेन्टिङको मूल्य १० लाख रुपैयाँ पर्छ । त्यही साइजको पेन्टिङ चीनमा १२ हजार डलरमा बिक्री भएको छ ।
सन् १९८६ मा म पढेर दिल्लीबाट फर्किंदा त्यतिबेला एउटा वा दुइटा ग्यालरी थिए । कलाकारलाई केही थिएन तर पर्यटकको उपस्थिति राम्रो थियो । हामी ठमेलमा पेन्टिङका प्रिन्टहरू राख्थ्यौं । प्रायः पेन्टिङ सस्तोमै दिनुपर्ने हुन्थ्यो । जति पेन्टिङको महत्त्व थियो त्यति नै संघर्ष गर्नुपर्ने हुन्थ्यो । तर बढी परिश्रम गरेको पेन्टिङ बिक्री हुँदा केही न केही मूल्य पाइन्थ्यो नै । त्यसले सन्तुष्टि मिल्थ्यो ।
व्यक्तिगत रूपमा मेरो आफ्नै निम्ति पनि त्यो संघर्षको पल थियो । हाम्रो परिवार मध्यम वर्गको परिवार हो । चार जना छोराछोरीलाई बुबाले पढाउने, हुर्काउने र बढाउने सबै जिम्मा लिनुभयो । जब म ठूलो भएँ, बाबाको परिश्रम बुझ्न थालेँ । बाबासँग घरीघरी आफ्नो आवश्यकताका लागि पैसा माग्न मन लाग्दैनथ्यो । बाबासँग पैसा माग्न मलाई लाज लाग्थ्यो । त्यसैले आफ्नो सानोतिनो आवश्यकता पूरा म पढाउने काम गर्थें । १९८३ मा आईसी ८ सय रुपैयाँ तलब लिन्थेँ । त्यसैबाट मैले आफ्नो खर्च आफैं पूरा गर्थेँ ।
काठमाडौँमा आफ्नो घर नभएकाले आफन्तको घरमा बस्नुपर्ने हुन्थ्यो । बुबाको सहयोगले थापाथलीमा मेरो स्टुडियो थियो । मुस्किल मुस्किल नै थियो जीवन निर्वाह गर्न । अहिले त आर्टबाट नै गाडी चढेर हिँड्ने कलाकार पनि हुनुहुन्छ ।
मेरो बुबालाई आर्टबाट पनि केही गर्न सकिन्छ भन्ने विश्वासै थिएन । उहँले यो बालुवामा पानी हालेजस्तै हो नगर भन्नुहुन्थ्यो । अहिले म गर्वका साथ के भन्छु भने यसमा मिहिनेत छ, संघर्ष छ । त्योभन्दा बढी धैर्य चाहिन्छ । धैर्य राखेर र लगनशील भएर निरन्तर लाग्ने हो भने सफलता अवश्य मिल्छ । मसँग अहिले गाँस, बास, कपास र नाम जे जति छ यो सबै मैले यही कलाबाटै पाएको हो ।
म ढुक्क छु मेरो सकारात्मक चर्चाको विषय भनेकै मेरो कला हो । यसले नै सबैलाई आकर्षण गर्छ र मसम्म राम्रा मान्छेहरू आउनुहुन्छ । कलाबाट मैले गरेको समाजसेवा मेरो सकारात्मक पक्ष हो । यसलाई बढाउँदै लैजाने सोच छ जसका बारेमा यो आलेखको अर्को शृंखलामा चर्चा गर्नेछु ।