सन् २०२०को नोभेम्बरमा प्रख्यात अमेरिकी टेलिभिजन प्रस्तोता ओपरा विनफ्रेले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामासँग लिएको अन्तर्वार्ता प्रकाशित भयो । त्यो अन्तर्वार्ता अलि फरक किसिमको थियो । फरक यस अर्थमा कि अन्तर्वार्तामा ओबामा र ओपरा आ-आफ्नै अफिसमा थिए । प्रविधिको सहयोगले उनीहरू दुवै एउटै कोठामा एक अर्काको सम्मुख भएर अन्तर्वार्ता गरिरहेजस्ता देखिन्थे।
हामी पनि यदि कुनै कारणले आफ्नो परिवार र प्रियजनबाट टाढा छौं भने त्यसरी नै नजिकै बसेर कुरा गर्न चाहौंला । विगतको तुलनामा अहिले प्रविधिले सञ्चारमा आकाश जमिनको फरक ल्याइसकेको छ । हामी संसारको जुनसुकै कुनामा भए पनि मोबाइलमा भिडियो हेरेर कुरा गर्न सक्छौं । तैपनि सम्मुख बसेर कुरा गर्न पाएजस्तो रमाइलो अनुभव भिडियोमा पक्कै हुँदैन ।
एक अर्काको सम्मुख भएर कुरा गर्न सकिने प्रविधिको तीव्ररूपमा विकास भैरहेको छ । त्यसरी कुरा गर्न हामी ओबामा र ओपराजस्तै धनी र प्रख्यात हुनुपर्ने छैन । ठ्याक्कै उही प्रविधिमा नआउला तर सामान्य मानिसका लागि पनि यो प्रविधि भविष्यमा सजिलै उपलब्ध हुनेछ ।
इन्टरनेटको आरम्भसँगै अनेक कुराहरू भौतिकबाट ‘भर्चुअल’ हुँदै गैरहेको हामीले देखिरहेकै कुरा हो । आभासित वास्तविकता अर्थात् भर्चुअल रियालिटी (Virtual Reality) र संवर्धित वास्तविकता अर्थात् अग्मेन्टेड रियालिटि (Augmented Reality) अहिलेको पुस्तामा निकै लोकप्रिय भैरहेका छन् । कुनै वस्तुसँग भौतिक रूपमा अन्तर्कृया नगरीकनै त्यसको भौतिक अस्तित्वको अनुभव गर्न सकिने यी प्रविधिसँगै अन्य यस्तै प्रविधिहरू पनि दिनदिनै विकसित हुँदैछन् ।
अहिले मूलतः कम्प्युटर गेममा लोकप्रिय रहेका यी प्रविधि मानव जीवनका अन्य प्रयोगको लागि पनि सहज र सर्वसुलभ बनाउनको लागि विश्वका ठूला कम्पनीहरूले ठूलो धनराशी खर्च गरेर अन्वेषण गरिरहेका छन् । सबै प्रविधिलाई मिलाएर विस्तारित वास्तविकता (Extended Reality) मार्फत् शिक्षा, स्वास्थ्य र सञ्चारका क्षेत्रमा यसको प्रयोग गर्ने गरी प्रविधि जगतका कम्पनीहरूले काम गरिरहेका छन् । अहिले हामीमध्ये धेरैको लागि कल्पना मात्र लाग्ने यो प्रविधि छिट्टै हाम्रो जीवनको एउटा अभिन्न अङ्ग हुन गैरहेको छ ।
त्यसो त ‘भर्चुअल रियालिटी’ र ‘अग्मेन्टेड रियालिटि’को अनुभव नगरेको जस्तो लागे पनि हामीले थाहै नपाई हाम्रो जीवनमा धेरै भौतिक वस्तुहरू भर्चुअलमा परिणत भैसकेका छन् । हामीले सबभन्दा पहिले त कागतमा लेखिने चिठ्ठी कै हातल हेरौं ।
अहिले कागतमा चिठ्ठी लेख्ने मान्छे संसारमै पाउन मुश्किल भैसकेको छ । त्यही हालत रिल भएको क्यामराको भयो अनि गीत सुन्ने र भिडियो टेपको पनि भयो । अब बिस्तारै पुस्तकहरू पनि भर्चुअल हुँदैछन् । यी त हामीले दैनिक जीवनमा देखेका र भोगेका सामान्य उदाहरण भए । यस्ता उदहारणहरू अनगिन्ती छन् ।
यसरी हाम्रो जीवनलाई भौतिकबाट भर्चुअलतर्फ डोर्याउन सूचना प्रविधि र त्यसमा पनि इन्टरनेटले महत्वपूर्ण भूमिका खेलेको छ । हुन त इन्टरनेट हाम्रो जीवनको अभिन्न अङ्ग भएको तीन दशक मात्र भएको छ तर यस अवधिमा संसारमा सूचना प्रविधिले यति धेरै परिवर्तन ल्यायो कि अब ‘इन्टरनेट बिना पनि जीवन सम्भव छ र ?’ भन्ने स्थिति आएको छ । सूचना प्रविधिसँगै योसँग जोडिएका अन्य प्रविधिले पनि समान रफ्तारमा विकास गर्दा मानव जीवनको दिनचर्यामा अकल्पनीय परिवर्तन ल्याएको छ ।
व्यापारिक क्षेत्रमा पनि हामी ‘भर्चुअल’को दबदबा बढिरहेको देख्न सक्छौं । फ्याक्ट्रिहरूमा रोबोटले काम गर्न थालेक छन् भने अफिसहरू पनि भौतिकरूपमा खुम्चिदै छन् । संसारमा अफिस नभएका कम्पनीहरूको संख्या दिन प्रतिदिन बढ्दै छ ।
‘कस्टमर सर्भिस’मा अधिकांश कम्पनीहरूले मानिसकै जस्तै सोच्न सक्ने र मानिसले जस्तै कुरा गर्न सक्ने च्याटबोटहरू राख्न थालेका छन् । सडकमा चालकविहीन गाडीहरू कुद्न थालिसकेका छन् । सामान ढुवानी ड्रोनहरू मार्फत हुन थालेको छ । अस्पतालमा कठिन शल्यकृयाहरूमा मानिसको भन्दा रोबोटको विश्वास गरिन्छ । यी सबै उदाहरणले के देखाउँछ भने अहिलेको विश्वमा हाम्रो जीवनमा ‘भर्चुअल’ प्रयोग बढ्दो छ ।
यो सबै देख्दा हामीलाई लाग्न सक्छ ‘भर्चुअल’ बिगबिगी अलि ज्यादा नै भयो कि ? तर सूचना प्रविधिप्रति चासो राख्नेहरूका लागि यो त आरम्भ मात्र हो भन्ने थाहा छ । सूचना प्रविधिले भौतिकबाट भर्चुअलमा बदल्न सक्ने कुराहरू त भर्खर सुरु मात्र भएका छन् । यो त हिमशिलाको टुप्पो मात्र हो । यसको विशालता त पानी मुनि लुकेको हिमशिलाको मुख्य भाग हो । अहिले जति नै ‘बिगबिगी’ जस्तो देखिए पनि निकट भविष्यमा हामीले यसलाई सामान्यरूपमा लिन सुरु गर्नेछौं ।
सूचना प्रविधिले सुरु गरेको अहिलेको भर्चुअल यात्रा कहाँ र कहिले टुङ्गिएला ? हाम्रो जीवनमा अरू के कस्ता परिवर्तन आउलान् ? कालान्तरमा सबै कुरा ‘भर्चुअल’ नै होलान् त ?
यी प्रश्नहरूको उत्तर त्यति सजिलो छैन किनभने भविष्य कसैले देखेको छैन । अहिलेको स्थितिको अवलोकन र विश्लेषण गरेर प्रविधिको भविष्य कतातिर जाला भन्ने केही आकलन गर्न सकिन्छ तर सूचना प्रविधि र यसलाई सहयोग गर्ने अन्य प्रविधिहरू यति तीव्र गतिमा विकसित भैरहेका छन् कि भोलि के होला भनेर कसैले पनि भन्ने आँट गर्दैन ।
प्रविधि कसरी विकसित हुन्छ भन्ने विषयमा वाल्टर आइज्याक्सनले लेखेको स्टिभ जब्सको जीवनीमा आधारित पुस्तकको कथन उल्लेख गर्नु सान्दर्भिक हुन्छ । उनलाई ‘तपाईँले आफ्ना उत्पादनहरू डिजाइन गर्नुभन्दा पहिले किन ग्राहकहरूको राय बुझ्नुहुन्न ?’ भनेर सोध्दा उनले भनेका थिए, ‘ग्राहकहरू आफूलाई के चाहिन्छ भन्न कुरामा स्पष्ट हुँदैनन् । हामीले जे दिन्छौं त्यही प्रयोग गर्छन् ।’
आफ्नो कथन पुष्टि गर्न उनले हेनरी फोर्डको उदाहरण दिंदै भनेका थिए- यदि हेनरी फोर्डले कार बनाउनु भन्दा पहिले ग्राहकहरूलाई के चाहिन्छ भनेर सर्वेक्षण गरेको भए ग्राहकहरूले राम्रो पाङ्ग्रा भएको र बलियो घोडाको गाडा चाहिन्छ भन्थे । तर हेनरी फोर्डले ग्राहकलाई सोधेनन् । आफ्नो कल्पनामा आधारित गाडी बनाए र बजारमा पठाए । ग्राहकहरूले त्यसलाई निकै रुचाए ।
स्टिभ जब्सले सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रयोग गरेर प्रविधिमा नयाँ आयाम मात्र थपेनन् यसलाई नयाँ उचाइमा पनि पुर्याए । कुन समयमा कुन नयाँ विचार लिएर कुन दूरदर्शी र अग्रगामी व्यक्तित्वको जन्म हुन्छ र कुन नयाँ प्रविधिको विकास हुन्छ अनि त्यसले समाजलाई कुन दिशामा डोर्याउँछ भन्ने कुरा कसैले यकीनका साथ भन्न सक्दैन । तर यति हुँदाहुदै पनि अहिलेको स्थितिलाई आधार मानेर निकट भविष्यमा प्रविधिले समाजलाई कतातिर डोर्याउने छ भन्ने अड्कल चाहिँ गर्न सकिन्छ ।
भर्चुअल प्रविधिको यात्राले अहिलेकै रफ्तारमा विकास गर्दै गयो भने भविष्यमा मानिसले आफ्ना अधिकांश आवश्यकता भर्चुअल माध्यमबाटै पुरा गर्न सक्नेछ । देख्ने र सुन्ने मात्र हैन, छुने, सुँघ्ने, र स्वाद लिने जस्ता मानव इन्द्रियले अनुभव गर्नसक्ने सबै कुरा यसमा अटाउनेछन् ।
कुनै दिन अहिले आँखामा लगाउने मसिन पछि गएर कुनै चिप्समा खुम्चेर र त्यसलाई मानव शरीर भित्र राखेर सोझै मानव दिमागसँग जोड्ने अनि त्यसलाई आफ्नो आवश्यकता अनुसार खोल्न र बन्द गर्न सकिने प्रविधि आयो भने पनि त्यो अचम्मको कुरा हुने छैन ।
यदि त्यो प्रविधि जनमानसको प्रयोगको लागि उपलब्ध भयो भने जब त्यो चिप्स खुल्नेछ, भर्चुअल रियालिटि र होलोग्रामको उपयोग गरेर मानिसले आफूले चाहेको वस्तु भौतिक रूपमा आफ्नो सामू प्रकट गराउन सक्नेछ । त्यो वस्तुसँग भौतिकरूपमै अन्तर्कृया गरेको जस्तो अनुभूति पनि दिनेछ ।
भविष्यमा हुन सक्ने यी दृष्यहरू हामीलाई अहिले अत्यधिक काल्पनिक लाग्न सक्छन् । प्रविधिहरूको नजरबाट हेर्दा यी कुराहरूलाई चरितार्थ गर्न खासै ठूलो चुनौती देखिँदैन । मूल विषय मानव समाजले कुन कुरालाई स्वीकार्छ र कुनलाई नकार्छ भन्ने हो । के स्वीकार्ने र के नकार्ने भन्ने कुरा त्यो बेलाको सामाजिक र राजनैतिक परिस्थितिले निर्धारण गर्ने कुरा हो । किनभने प्रविधि मात्र भएर हुँदैन, त्यसको प्रयोगको लागि हाम्रो समाज तयार छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन्छ ।
मानिसले क्लोनिङ गरेर गर्भधारणबिना नै अर्को मानिस बनाउन सक्छ तर यसलाई हाम्रो समाजले मान्यता दिएको छैन र त्यो प्रविधि हाम्रो दैनिक जीवनमा उपयोग हुन सकेको छैन । प्रविधि हाम्रो दैनिक जीवनमा प्रयोग गर्नु अगाडि हाम्रा सामाजिक मूल्य मान्यता, देशका सुरक्षाका विषय, व्यक्तिगत गोपनीयताका कुराहरू, सामाजिक सद्भावमा पर्ने सक्ने असर सबैलाई विश्लेषण गरिन्छ ।
यी वा यस्तै कारणहरूले गर्दा भर्चुअल प्रविधिको यात्रा पनि कुनै बिन्दुमा गएर नरोकिएला या अर्को दिशातिर नमोडिएला भन्न सकिन्न । जुनसुकै दिशामा मोडिए पनि परिवर्तित रूपमा यो निरन्तर जारी रहने अनुमान गर्न सकिन्छ ।
मानिस स्वभावैले अत्यन्त उत्सुक जाति हो । कुनै पनि प्रविधिले कहिले पनि प्रवीणता हासिल गर्न सक्दैनन् । त्यसैले भविष्यमा नयाँ नयाँ प्रविधिहरू अस्तित्वमा आउनेछन् । पुराना प्रविधिले विश्राम लिंदै जानेछन् ।
मानिसले यसरी नै प्रगति गर्दै गयो र ती प्रगतिहरू विनाशको बाटाेमा नगएर सकारात्मक दिशामा अघि बढे भने कुनै दिन हामीले अहिले कल्पना गरेका भगवान् भन्दा पनि शक्तिशाली हुन बेर छैन । हाम्रो पूरै दिनचर्या नै भर्चुअल हुने सक्नेछ । सँगसँगै आफ्नो अत्यधिक महत्वाकांक्षाको शिकार बनेर त्यो दिन देख्न मानिस स्वयं चाहिँ अस्तित्वमा नरहने खतरा पनि नकार्न सकिन्न।