सबैलाई थाहा भएकै कुरा हो, महिला, पुरुष वा अन्यलिंगीहरूले जन्मजात रूपमा फरकफरक जैविक संरचना लिएर आएका हुन्छन् । यो फरक जैविक संरचना प्राकृतिक देन हो जसको असर उमेर बढ्दै जाँदा व्यक्तिको मनोविज्ञानमा पनि देखिन थाल्छ ।
त्यही जैविक संरचना र मनोवैज्ञानिक प्रभावमा आधारित रहेर आदिम युगदेखि नै मानिसहरूले आ–आफ्नो बल, बुद्धि र हैसियत अनुसारका सामाजिक, सांस्कृतिक र कानुनी संरचनाहरू तय गर्दै आइरहेका छन् । यसरी संरचनाहरू निर्धारण गर्दा समाजमा जुन लिंगका व्यक्तिहरू प्रभावशाली छन्, उनीहरूकै बोलबाला हुने नै भयो । समय र स्थानअनुसार त्यसमा परिवर्तन वा अन्तर्विरोध हुने नै भयो । त्यस्ता परिवर्तनहरूका बेला सम्बद्ध हल्लाखल्ला, वैचारिक ध्रुवीकरण वा द्वन्द्व नै निम्तिनु पनि अस्वाभाविक होइन ।
नेपालमा पछिल्ला केही दशकयता लैंगिक सवालहरूमा घनीभूत विचार विनिमय अघि बढेको पाइन्छ । लैंगिक समानताका प्रश्नहरूलाई लिएर नियम कानुनहरूमा समयानकूल परिवर्तन वा पुनरवलोकन गर्ने क्रम एकातिर छ भने सँगसँगै लैंगिक हिंसा वा जघन्य अपराधका नयाँनयाँ घटनाहरू पनि सहतहमा आइरहेका देखिन्छन् ।
नाबालिकामाथि यौन दुर्व्यवहार र बलात्कारजस्ता घटनाहरूमा पछिल्लो पटक चर्चित नामहरू जोडिएसँगै यसले समाजमा एक प्रकारको तरंग पैदा गरेको छ । सेलिब्रेटीहरूसँग जोडिएकै कारण यिनले दूरदराजका सामान्य गाउँबस्तीका यस्तै घटनाहरूका तुलनामा सञ्चारका माध्यम र सामाजिक सञ्जालहरूमा ठूलो ठाउँ पाएका छन् । अन्यथा यी केके न कोकोलो गनुपर्ने कुरा होइनन्, विद्यमान कानुनी प्रावधान र प्रक्रियाबाट स्वतः निरूपण हुने विषय हुन् ।
जहाँसम्म कानुनी व्यवस्था नै ठीक भएन कि, वा कानुनको दुरुपयोग पो भयो कि भन्ने कतिपयको तर्क छ, त्यसमा हामीले सामाजिक चेतना र कानुनलाई बराबर रूपमा हेर्नुपर्ने हुन्छ ।
हामीले हाम्रा बालबालिकालाई उनीहरूको सही उमेरमा शारीरिक विकास, यौन शिक्षा, यौन दुर्व्यवहार, प्रजनन प्रक्रिया आदिबारे सही शिक्षा दिन सकेका छैनौँ । अभिभावहरूलाई आफ्ना बालबालिकालाई कुन उमेरमा कसरी मार्गदर्शन गर्ने भन्ने कुरा बुझाउन सकिएको छैन ।
स्कुलका बालबालिकालाई सिकाउने र सचेत बनाउने जिम्मेबारी त्यहाँका शिक्षक शिक्षिकको हो । जबकि शिक्षकबाटै बालिकाहरूमाथि दुर्व्यवहार भएका समाचार दिनहुँजसो कहीँ न कतैबाट आइरहेकै हुन्छन् । यसको अर्थ हामीले हाम्रा शिक्षशिक्षिकाहरूलाई नै सही अर्थमा सचेत तुल्याउन बाँकी छ ।
बालबालिका लाई पनि स्कुलदेखि नै यस्तो शिक्षा दिन आवश्यक छ । अहिले १८ वर्षभन्दा मुनिका नाबालिकालाई जसरी दुर्व्यवहार भएको देखिन्छ, त्यस्तोमा कसरी ‘स्मार्ट ट्याकल’ गर्ने भन्ने कुरा सिकाउन एकदमै जरुरी छ ।
यौन दुर्व्यवहार र यौन हिंसाबाट जोगिनका लागि औपचारिक र अनौपचारिक दुवै प्रकारले शिक्षा दिनुपर्छ । स्कुल कलेजबाट दिइने औपचारिक शिक्षामा यस्ता विषयवस्तु समावेश गरिनुपर्छ ।
घर–परिवार र मिडिया लगायतबाट दिइने अनौपचारिक शिक्षालाई पनि उत्तिकै सशक्त रूपमा अघि बढाउनुपर्छ । यौनलाई सामाजिक रूपमा अझै खुलेर छलफल नगरिने र लाजगालकै विषय मानिने भएकाले अनौपचारिक शिक्षा अझ प्रभावकारी हुन्छ । सामाजिक परिवेशले पनि सिकाइमा धेरै अर्थ राख्छ ।
कानुनी अनभिज्ञता कसैलाई पनि क्षम्य छैन । तर कानुनमा के छ भन्ने थाहै नभएकाहरूबाट प्रशस्तै यौन दुर्व्यवहार र यौन हिंसाका घटना भएका छन् ।
त्यसैले औपचारिक शिक्षामा यौन दुर्व्यवहार र यौन हिंसा सम्बन्धी कानुनी प्रावधानहरूलाई विद्यालय शिक्षामै समेट्नु अनिवार्य छ ।
हामीकहाँ कानुनी संरचनाहरू त भए तर ती पूर्ण वा स्वस्थ हुन सकेका छैनन् । हामीले कानुनलाई संविधान र ऐनमा लेखिएको कुराहरूका रूपमा ज्यादा बुझेका छौं । कानुनी संरचनाको त्यो महत्त्वपूर्ण तर एउटा पाटो वा हिस्सा मात्र हो । कानुनको त्यो प्रावधान व्यवहारमा लागू गर्ने निकायहरू पनि कानुनी संरचनाकै अभिन्न अंग हुन् ।
कुनै पनि यौन दुर्व्यवहार वा हिंसापीडित व्यक्तिले सबैभन्दा पहिले कसलाई त्यो कुरा भन्ने हो त्यो विन्दुदेखि अदालतको अन्तिम फैसला नआउन्जेलसम्मको अवस्थामा उसले जुनजुन चरणहरूबाट पार गर्नुपर्छ ती सबै पीडित मैत्री बन्न सकेका छैनन् ।
आपराधिक मानसिकता भएका व्यक्तिहरूको सोच शक्तिको आडमा कानुनलाई हातमा लिएर उम्किने वा छल्ने भन्ने हुन्छ । पीडितले न्याय पाउने कुरा कानुनमा लेखिएर मात्रै पुग्दैन, कानुन लागू गर्ने निकाय कत्तिको प्रभावकारी छन् भन्नेमा निर्भर गर्छ । कानुन कार्यान्वयन गर्ने निकाय आफैं पनि कानुनकै परिधिमा रहेर चल्नुपर्छ । कानुनभन्दा माथि कोही हुँदैन ।
किशोकिशोरी वा युवायुवती शारीरिक रूपमा परिपक्क हुनुलाई मात्र परिपक्वता मान्न सकिँदैन । मानिसका रूपमा पनि परिपक्व हुन जरुरी छ । कतिपय देशमा १४ वर्षमुनिकालाई नाबालक वा नाबालिका भन्ने गरिन्छ । तर ती देशमा १४ वर्षमा दिइनुपर्ने सबै शिक्षा दिइसकिएको हुन्छ ।
हाम्रो देशमा शिक्षा र चेतास्तर दुवै दृष्टिले १८ वर्षलाई नाबालिग उमेर ठीकै मान्न सकिन्छ । यसलाई घटाउन जरुरी छैन । सामाजिक रूपमा पनि अब म सही निर्णय लिन सक्छु है भनी मानसिक रूपमा तयार नहुँदासम्मको उमेर नाबालिग ठहर गरिनु नै उचित हुन्छ ।
पैसा, प्रतिष्ठा र यौन आम मानिसका चाहना र चासोका विषय हुन् । यी एकअर्कासँग अन्तर्सम्बन्धित छन् । पछिला घटनाक्रमले यी ३ कुरा एकअर्काका लागि प्रयोग भएको देख्न सकिन्छ । चलचित्र अभिनेता र खेलाडी जोडिएका पछिल्ला दुई घटना पैसा, प्रतिष्ठा र यौनसँगै जोडिएका छन् ।
मानिसले यी तीनवटै कुराको आकांक्षा राख्नु अस्वाभाविक भएन । तर आकांक्षा भयो भन्दैमा जबर्जस्ती प्राप्त गर्न खोजियो भने त्यो गलत हुन्छ । अथवा एउटालाई हासिल गर्न अर्कोको दुरुपयोग पनि गल्ती नै हो ।
पैसा, पद वा प्रतिष्ठाले कानुनलाई प्रभावित पारिनु हुँदैन । पछिल्ला दुई घटनाहरूमा प्रहरी प्रशासन र न्यायिक निकायहरूको भूमिका मान्नैपर्ने हुन्छ । यसबाट पैसा, पद वा प्रतिष्ठाले कानुन किनिन्छ भन्ने मानसिकतालाई गलत साबित गरी दिएको छ ।
कतिपयले मायाँ प्रेमलाई पनि अब प्रहरी प्रशासनको जिम्मा लगाउने दिन आए भन्ने गरेको पनि सुनिन्छ तर यहाँ कुरा छर्लङ्गै छ । नाबालिकसँगको यौन सम्बन्ध कानुनतः वर्जित हो, अपराध हो भनेपछि त्यहाँ समझदारी थियो, थिएन भन्ने प्रश्नै बाँकी रहँदैन । सही निर्णय लिन नसक्ने भनेर नै १८ वषमुनिका लाई नाबालिक भनिएको हो ।
नेपाली नारीहरू परम्परादेखि नै मानवीय असमानताका भीषण आँधीहुरी बेहोर्दै आएका छन् । लैंगिक असमानताका अवशेषहरू पुरुष मानसिकतामा यसरी जरो गाडेर बसेका छन् कि यति प्रस्ट र जगजाहेर कुरामा पनि प्रश्न महिलालाई नै तेर्स्याइएको छ । प्रश्न नाबालिगमाथि नै उठाइएको छ । र, प्रश्न पीडितमाथि नै गरिएको छ ।
प्रश्न सबैले उठाएका छैनन् । तर जतिले उठाएका छन् उनीहरूले या त कानुुनलाई राम्रोसँग बुझेका छैनन् या महिला भनेर हेप्ने मानसिकताबाट प्रेरित छन् । उनीहरूले उमेर र परिपक्वताको सवाललाई उपेक्षा गरेका छन् । ती नाबालिग किन आफैं गइन् भन्ने कुरा गरेका छन् । तर त्यो गलत हो । यसमा सहमतिको प्रश्नै उठ्दैन । नाबालिक भएपछि सहमतिमै भए पनि अपराध हो । उसलाई ललाईफकाई, प्रलोभन आदि देखाइएको हुन सक्ला । त्यसैले यी कुरालाई अरुसँग जोड्न उचित हुँदैन ।
यहाँ महिला पुरुषको कुरा छैन । महिला होस् या पुरुष । अपराध भएको छ । नाम पैसा सबै जोडिएको देखिन्छ । वयस्कले नाबालिकालाई कुनै पनि प्रलोभन वा अपरिपव मानसिकतामाथि खेलेर अपराध गरेको छ ।
यही विषयलाई लिएर पनि कतिपय महिला भावनात्मक रूपमा केही संवेदनशील भएजस्तो पनि देखिन्छ । तर पुरुषहरूले महिलालाई प्रयोग गरी सजिलै छोडिदिएका घटना एकदुई होइनन् अनेक छन् । महिलाहरू भावनात्मक रूपमा संवेदनशील हुनाले सम्बन्धहरू सहजै तोडिहाल्न सक्दैनन् ।
पुरुषहरूलाई जहिल्यै नयाँनयाँ सम्बन्धमा रुचि हुन्छ । महिला र पुरुषबीचको यो मनोवैज्ञानिक भिन्नता आफ्नो ठाउँमा छ । तर यो भिन्नता छ भन्दैमा कुनै पुरुषलाई जति पनि महिलासँग सम्बन्ध राख्ने र मन नपर्नेबित्तिकै छाडिदिने उन्मुक्ति समाज र नियम कानुनले दिन सक्दैन ।
कानुन महिला वा पुरुषका लागि बेग्लै भन्ने हुँदैन । कानुनले कुनै पनि गतिविधिलाई आपराधिक हो वा होइन भनेर परिभाषित गर्छ । अथवा संरक्षण गर्नुपर्ने समूहलाई संरक्षण गर्नका लागि कानुन बनेको हुन्छ । फरक परक लैंगिक–सोचलाई ध्यानमा राखेर फरकफरक कानुन बनाउन सम्भव छैन ।
कतिपयले चर्चित व्यक्तिलाई गिराउन वा उसको सफलतामा धक्का पुर्याउन यौनलाई अस्त्र बनाइने गरेको छ भनेको पनि सुनियो । अपवाद होलान् तर आम रूपमा यो तर्क पनि हास्यास्पद छ । वयस्क व्यक्तिलाई फसाउन नाबालिग प्रयोग गर्न जरुरी छैन । त्यसरी फस्न फसाउन को तयार हुन्छ त जबकि समाजले पीडितलाई पनि बाँच्नै गाह्रो हुने गरी सामाजिक प्रश्न उठाउने गरेको छ । भोलि जीवनभर औंला महिलामाथि नै उठ्छ भने कसैलाई फसाउनका कसले त्यस्तो जोखिम लिन्छ ? त्यसैले यस्ता तर्कहरू जसरी हुन्छ महिलालाई नै गल्ती देखाउनका लागि खराब मानसिकताबाट आउने सोच मात्र हुन् ।
हामी सबैको जिम्मेवारी भनेको कानुनको पालना गर्र्नुपर्याे । नाबालिकको संरक्षण गर्नु पनि हाम्रै दायित्व हो । कोही साथी भेट्न वा कफी खान आउन राजी हुन्छ भने त्यहाँ आफ्नो शक्ति देखाउने होइन । श्रीमान्–श्रीमतीबीच हुने असहमतिको यौन सम्बन्धलाई त कानुनले बलात्कार भनिसकेको छ भने नाबालिकसँगको सम्बन्धलाई कसरी जायज भन्न सकिन्छ ?
दुई फरक व्यक्तिबीचको भेटघाट वा सम्बन्धलाई दुरुपयोग गर्ने अधिकार कसैलाई छैन । नाबालिकाहरूलाई हिँड्न डुल्नै रोक्ने भन्ने हुँदैन । कोही कसैसँग कफी खान राजी हुनुको अर्थ बेडमै जानुपर्छ भन्ने होइन । कुनै महिलाले सामाजिक सञ्जालामा फ्रेन्ड रिक्वेस्ट असेप्ट गर्नेबित्तिकै पुरुषले फरक किसिमले सोच्न भ्याइसकेको हुन्छ । कम्तीमा पुरुषहरूले यस्तो मानसिकता त्याग्नैपर्छ ।
हामी हाम्रा बालबालिकाहरूलाई अलग–अलग लैंगिक पहिचानलाई कसरी बुझाउँछौं भन्ने कुराले धेरै फरक पार्छ । छोरालाई पनि छोरा र छोरीको भिन्नता भनेको शारीरिक संरचनाको मात्रै हो भने बुझाउनुपर्छ । नियम कानुनका कुराहरू सिकाउनुपर्छ । बुझे नबुझेको थाहा पाउनुपर्छ । उनीहरूका जिज्ञासा समाधान गरिदिनुपर्छ । नियम कानुन यसै बन्दैनन् । यसलाई सम्मान गर्नुपर्ने हुन्छ । सम्मान गर्न सिकाउनुपर्ने हुन्छ ।
सामाजिक अवधारणा निर्माणमा मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले बालबालिका, महिला र पीडितहरूलाई कसरी प्रस्तुत गर्छ भन्ने कुरा समाजका मानक हुन् । हामीले कस्तो मानक तयार पार्दैछौं भन्ने कुरामा सञ्चारमाध्यमहरू अत्यन्तै संवेदनशील हुन जरुरी छ । क्षणिक चर्चाका लागि प्रचारमा नल्याउनुपर्ने विषयलाई पनि प्रचारमा ल्याउने वा प्रसार गर्नैपर्ने कुरालाई पनि प्रसार नगरिदिने गर्नुले सामाजिक अवधारणा निर्माणमा खलल पार्छ ।