हाम्रा परम्परामा वेद अनादि र सनातन मानिन्छ । त्यसैले वैदिक सनातन वर्णाश्रम धर्म पनि अनादि नै मानिन्छ । भारतवर्षअन्तर्गतको हिमवत्खण्डमा पर्ने नेपाल देवतात्मा हिमालयको काखमा रहेकाले यो पुण्यभूमि देव–देवीहरूको क्रीडास्थल र ऋषि–मुनिहरूको तपोभूमिका रूपमा प्राचीनकालदेखि नै परिचित छ । यहाँका बासिन्दाहरूले वैदिक धर्म, संस्कृति, चाडपर्व र परम्परालाई महत्त्व दिएर तिनको राम्ररी अनुपालन गर्दै आएको देखिन्छ ।
काठमाण्डौँ उपत्यकाको कला र संस्कृति
काठमाण्डौँ उपत्यकाका निवासी नेवार–समुदायको धर्म र संस्कृति पनि मूल रूपमा वेदबाटै निर्दिष्ट भएको देखिन्छ । यस समुदायभित्र नै चातुर्वर्ण्य–समाज रहेको र त्यसभित्रका प्रत्येक जातिले प्राचीन कालदेखि आआफ्ना निर्दिष्ट कार्य गरेर धर्म, संस्कृति र परम्परालाई अविच्छिन्न रूपमा आजसम्म ल्याइरहेका छन् । यस उपत्यकामा विद्या, धर्म–संस्कृति, मठ–मन्दिर, जात्रा–पर्व र विविध प्रकारका कला–कौशलको अनुपम सङ्गम रहेको पाइन्छ ।
उपत्यकाको यो सभ्यता विश्वमै दुर्लभ र विलक्षण पनि छ । नेवार–समुदायमा समाजलाई आवश्यक पर्ने विभिन्न कार्यहरू गर्ने निश्चित जाति र थरका मानिसहरू छन् जसबाट यस समाजको भौतिक समृद्धि पनि राम्ररी भएको छ । यस्तो व्यवस्थित कार्यविभाजनले वंशपरम्पराबाट नै विविध कलाकौशलको संरक्षण हुँदै आएको छ ।
अहिलेको भूमण्डलीकरणले यसमा बाधा–व्यवधान पुर्याउन खोजेको देखिन्छ । तथापि सावधान भएर सबै नेपाली मिलेर आवश्यक पर्दा त्याग र तपस्या गरेर पनि आफ्ना धर्म, संस्कृति, कला र परम्परालाई जोगाउनुपर्छ । साथै नयाँ पुस्ताका युवा–युवतिहरूलाई पनि यसमा रमाउने बनाउनुपर्छ । महत्त्वपूर्ण र दुर्लभ मानवचोला केवल क्षणिक भौतिक भोगविलास गरेर मात्र बिताउन हुँदैन भन्ने कुरा बुझ्न र बुझाउन पर्छ ।
शास्त्रीय संस्कृति र लोकसंस्कृति
काठमाण्डौँ उपत्यकामा विभिन्न जात्राहरू र चाड–पर्वहरू मनाइने गरेका छन् । नेपालका अन्य भूभागहरूभन्दा यो उपत्यका यस दृष्टिले पनि अत्यन्त समृद्ध छ । इन्द्रजात्रा पनि एउटा प्राचीन तथा शास्त्रीय आधारमा चलेको जात्रा हो । सामान्यतया संस्कृतिलाई दुई वर्गमा विभाजित गर्न सकिन्छ— शास्त्रीय संस्कृति र लोकसंस्कृति । कुनैनकुनै रूपमा शास्त्रमा उल्लेख भएका संस्कृतिलाई शास्त्रीय संस्कृति र शास्त्रमा उल्लेख नपाइने तर लोकमा चलेका संस्कृतिलाई लोकसंस्कृति भन्न सकिन्छ । इन्द्रजात्राचाहिँ शास्त्रीय संस्कृतिभित्र पर्दछ । लोकसंस्कृतिका रूपमा विकसित भएका थुप्रै चाडपर्व र जात्राहरू पनि यहाँ चलेका छन् ।
वैदिक देवता इन्द्र
वैदिक देवविद्यामा देवता भनेको के हो भनेर परिभाषा गरिएको छ— “ऋषिले मन्त्रमा ऋचामा) जुन तत्त्वलाई प्रधानता दिएर अभीष्टसिद्धिका निम्ति स्तुति गर्दछन् त्यो नै त्यस मन्त्रको देवता हुन्छ” । यास्क मुनिको निरुक्त नै निर्वचनशास्त्र र देवविद्या पनि हो । त्यहाँ यो कुरा यसरी उल्लेख गरिएको छ— यत्काम ऋषिर् यस्यां देवतायामार्थपत्यमिच्छन् स्तुतिं प्रयुङ्क्ते तद्दैवतः स मन्त्रो भवति ७।१) ।
इन्द्र एक प्रमुख वैदिक देवता हुन् । अग्नि र सोमको जस्तै नै प्रशस्त वर्णन र स्तुति इन्द्रको पनि वैदिक ऋचाहरूमा गरिएको देखिन्छ । ऋग्वेदका लगभग एक चौथाइ सूक्तमा इन्द्रको वर्णन र स्तुति गरिएको छ भन्ने अनुसन्धाताहरूको भनाइ छ ।
इन्द्रसित बल धन इत्यादिका निम्ति प्रार्थना पनि ऋचाहरूमा गरिएको छ । इन्द्रलाई वैदिक यज्ञमा सोमलता नामको लहरोलाई कुटेर त्यसलाई निचरेर निकालिएको ताजा रस हवन गरेर दिइन्छ । वैदिक अध्ययनमा दुर्बल कतिपय आधुनिक लेखकहरूले सोमरसको अर्थ गलत बुझेर अन्यथा लेखेका पनि छन् ।
मुख्य रूपमा वैदिक देवता तीनओटा छन्— पृथिवीमा अग्नि, अन्तरिक्षमा वायु वा इन्द्र र द्युलोकमा सूर्य । यिनै तीन देवताका ऐश्वर्यले र कार्यभेदले गर्दा नै तिनका अरू नाम पनि भएका हुन् । यो कुरा निरुक्तमा यसरी बताइएको छ— तिस्र एव देवता इति नैरुक्ताः । अग्निः पृथिवीस्थानः । वायुर्वेन्द्रो वाऽन्तरिक्षस्थानः । सूर्यो द्युस्थानः । तासां माहाभाग्यादेकैकस्या अपि बहूनि नामधेयानि भवन्ति । अपि वा कर्मपृथक्त्वात् ७।५) ।
इन्द्रको प्रमुख कार्य रसप्रदान गर्नु र वृत्रको वध गर्नु हो भनिएको छ । साथै बलको काम गर्नु पनि इन्द्रकै कार्य मानिएको छ । रसप्रदान गर्नु भनेको वृष्टि गराउनु हो । यो कुरा निरुक्तमा यसरी बताइएको छ— अथाऽस्य कर्म रसानुप्रदानं वृत्रवधः । या च का च बलकृतिरिन्द्रकर्मैव तत् ७।१०) ।
वृत्रवध भनेको वृत्ररूपी मेघमा वज्र प्रहार गरेर जललाई मुक्त गराउनु हो । त्यसपछि पृथ्वीमा वर्षा हुन्छ । यही कुरालाई पुराणमा वृत्रासुरको वध भनेर आख्यानको रूप दिइएको पाइन्छ । त्यसैले इन्द्रलाई वर्षाका देवता भन्दछन् । वर्षा भएपछि अन्न उब्जने हुनाले इन्द्रदेवलाई लोकमा प्राचीन कालदेखि नै महत्त्व दिइएको देखिन्छ । इन्द्र आयुर्वेद, व्याकरण इत्यादि शास्त्रको अविच्छिन्न परम्परामा जोडिएका देवता पनि हुन् ।
पाणिनिको व्याकरण अष्टाध्यायीमा “इन्द्रियमिन्द्रलिङ्गमिन्द्रदृष्टमिन्द्रसृष्टमिन्द्रजुष्टमिन्द्रदत्तमिति वा” ५।२।९३) भनिएको छ । यस सूत्रले इन्द्रको अर्थ आत्मा हो भन्ने बताएको छ । ऋग्वेदको “इन्द्रं मित्रं वरुणमग्निमाहुः .....। एकं सद् विप्रा बहुधा वदन्ति ...” १।१६४।४६) भन्ने ऋचाअनुसार पनि इन्द्र परमात्माकै नाम हो भन्ने बुझिन्छ । यसबाट अन्ततः जुनसुकै देवताको आराधना गरे पनि परमात्माकै आराधना हुने कुरा बुझ्न सकिन्छ ।
इन्द्रजात्रा वा इन्द्रध्वजोत्थापन
इन्द्र देवताको उत्सव मनाउन गरिने विभिन्न क्रियाकलापलाई काठमाण्डौँ उपत्यकामा इन्द्रजात्रा भनिने गरिएको छ । शुक्लयजुर्वेदको उच्चारणका प्रभावले गर्दा नेपालीका धेरै शब्दमा “य”वर्णको “ज” उच्चारण गरिने भएकाले यात्रालाई पनि नेपालीमा जात्रा भन्ने गरिएको हो । त्यसैले संस्कृतको इन्द्रयात्रालाई नेपाली भाषामा इन्द्रजात्रा भन्ने गरिएको हो ।
यात्राको सामान्य अर्थ एक ठाउँबाट अर्को ठाउँमा जानु भन्ने भए पनि यस प्रसङ्गमा उत्सवका रूपमा यात्रा गर्नु भन्ने बुझिन्छ । इन्द्रजात्रालाई शास्त्रीय भाषामा इन्द्रध्वजोत्थापन पर्व भन्न सकिन्छ । प्राचीन वाङ्मयमा इन्द्रध्वजोत्थापन भन्ने नै उल्लेख पाइन्छ । यस पर्वको परम्परा लामो छ ।
आधुनिक कालमा भारतवर्षमा अन्यत्र वैदिक देवता इन्द्रको पर्व चलेको कमै पाइन्छ । कतिपय वैदिक सनातन धर्मका द्वेषीहरुले इन्द्रलाई असुर भनिने मानिसका सहर ध्वस्त पार्ने आर्यहरूका सरदार भनेर भ्रम फैलाउन खोजेको पनि देखिन्छ । कतिपय लेखक–पत्रकारले त्यही भ्रममा परेर कलम चलाएको पनि पाइन्छ ।
वैदिक देवताका सम्बन्धमा यस्तो भ्रममा पर्न हुँदैन । अनादि वैदिक संस्कृतिको केन्द्र काठमाण्डौँ उपत्यकामा इन्द्रध्वजको उत्थापन गर्ने पर्वको प्रचलन अद्यापि छँदै छ । भाद्र महिनालाई नेपालभाषामा “ञला” भन्ने गरिन्छ । यसको अर्थ इन्द्रको महिना भन्ने हुन्छ । त्यसैले पनि भाद्रमा इन्द्रको पूजा गर्ने र जात्रा गर्ने गरिएको हो भन्ने बुझिन्छ । यसै महिनाको शुक्लपक्षका द्वादशीमा इन्द्रध्वजोत्थापन गर्ने विधान निर्णयसिन्धु भन्ने धर्मशास्त्रसम्बन्धी निबन्धग्रन्थमा पनि छ । त्यहाँ गर्गको वचन भनेर यस्तो श्लोक दिइएको छ—
द्वादश्यां तु सिते पक्षे मासि प्रौष्ठपदे तथा ।
शक्रमुत्थापयेद् राजा विश्व–श्रवण–वासवे ।।
अर्थात्— “भाद्र–शुक्ल–द्वादशीका दिन अनुराधा, श्रवण र धनिष्ठा नक्षत्रमध्ये कुनै एक नक्षत्रको योग परेका वेलामा इन्द्रको लिङ्गो ठड्याओस् ।” यसबाट पनि यो उत्सव प्राचीन कालमा भारततिर पनि व्यापक रूपमा चलेको रहेछ भन्ने बुझिन्छ ।
काव्य–नाटकहरूमा पनि इन्द्रध्वजोत्थापनको उल्लेख प्रशस्त पाइन्छ । संस्कृतका महाकवि कालिदासका रघुवंशमहाकाव्यमा इन्द्रध्वजोत्थान–दर्शनको यस्तो उल्लेख गरिएको छ—
पुरुहूतध्वजस्येव तस्योन्नयन–पङ्क्तयः।
नवाभ्युत्थानदर्शिन्यो ननन्दुः सप्रजाः प्रजाः।।—४।३ ।
यसको कोमलनाथशर्मा अधिकारीले गरेको नेपाली अनुवाद यसप्रकारको छ—
रघु इन्द्रध्वजा जस्तै प्रजाले खूब हेरिए ।
यिन्को नयाँ उदयले सारा रैती खुसी थिए ।।
इन्द्रजात्रा काठमाण्डौँ, ललितपुर र भक्तपुर यी तिनै सहरमा मानिने प्रमुख जात्रा हो । काठमाण्डौँमा विशेष धुमधामसित मनाइने गरिन्छ । यो जात्रा भाद्र–शुक्ल–द्वादशीदेखि आश्विन–कृष्ण–चतुर्थीसम्म आठ दिन चल्दछ । द्वादशीका दिन हनुमान्ढोकाको अगाडि राजकीय इन्द्रध्वजोत्थापन गरिन्छ जसलाई लिङ्गो उभ्याउने भन्दछन् ।
इन्द्रध्वजोत्थापनको अर्थ इन्द्रको ध्वजालाई उठाउनु भन्ने हो । यस दिन र अरू दिन पनि देव–देवीहरूको प्रदर्शन, विभिन्न सांस्कृतिक नाचगानको आयोजना र दीपावलि गर्ने गरिन्छ । चतुर्दशीमा कुमारीको रथयात्रा गर्ने परम्परालाई मल्लकालमा महत्त्व दिइएको बुझिन्छ । यस दिनलाई काठमाण्डौँ उपत्यकामा विशेष महत्त्व दिने राजकीय परम्परा रहेको छ । यस दिन उपत्यकामा बिदा दिइन्छ ।
इन्द्रजात्राको कथा
यस जात्रालाई हाम्रो संस्कृतिको द्योतक मान्न सकिन्छ । पौराणिक कथामा असुरबाट पराजित इन्द्र विष्णुका शरणमा गएपछि विष्णुले इन्द्रलाई यो ध्वजा लिएर युद्ध गर्न गयौ भने विजयी हुनेछौ भनेर ध्वजा दिएको प्रसङ्ग आउँछ । त्यसपछि इन्द्र विजयी भएको र इन्द्रले असुरमाथि विजय प्राप्त गरेपछि ध्वजाको पूजा तथा उत्सव पनि हुन थालेको भन्ने उल्लेख पाइन्छ । यसै जात्रासित सम्बद्ध विभिन्न लोककथा पनि जनजीवनमा प्रसिद्ध छन् । एउटा लोककथा यस्तो छ—
देव–दानव मिलेर समुद्रमन्थन गर्दा निस्केका वस्तुहरूमध्ये पारिजात फूलको वृक्ष नेपाल उपत्यकाको कैलाशमा रहेको थियोे । एउटा ज्यापूले किसानले) त्यस पारिजात वृक्षको वरिपरि आकर्षक फूलले सुशोभित बगैँचा बनाएका थिए । त्यस बगैँचाको सौन्दर्य देखेर देवराज इन्द्रले नेपाल उपत्यकामा आएर आफूलाई मनपर्ने पारिजातको फूल टिपेर स्वर्गमा लैजाने गर्दथे । त्यस बगैँचाको मालिक किसानले पारिजातको फूल चोरी भएको चाल पाएर पूmल चोर्ने इन्द्रलाई उपाय गरेर एक दिन पक्रिए । इन्द्रले किसानसँग क्षमा मागे ।
किसानले हाम्रा राजा पनि तपाईँको भक्त हुनुहुन्छ, उहाँलाई पनि दर्शन दिएर जानुहोला भनी इन्द्रलाई राजाकहाँ पुर्याए । राजाले इन्द्रलाई आदरका साथ सत्कार गरी भने— तपाईँको दर्शनले मेरो पाप नाश भयो । मेरा प्रजाहरूले पनि तपाईँको दर्शन गर्न पाउनुपर्छ भनी प्रजाहरूलाई यथाशक्ति धूप, बत्ती, माला लिएर स्वर्गका राजा इन्द्रको दर्शन गर्न आउनू भनी खबर गरे । प्रजाहरू भेला भएर इन्द्रदेवको पूजा गरे ।
यहाँका राजा र प्रजाको भक्तिभाव देखेर प्रसन्न भएका इन्द्रले उनीहरूलाई वरदान माग्न भने । उनीहरूले— हे इन्द्रदेव हाम्रा देशमा आएर हामीलाई दर्शन दिनुभएको आजका दिनलाई हामी महान् पर्व सम्झन्छौँ । यस दिनका स्मृतिमा प्रतिवर्ष आजकै दिन भाद्र–शुक्ल–द्वादशीदेखि आश्विन–कृष्ण–चतुर्थीसम्म तपाईँका साथै स्वर्गका देवदेवीको स्वागत गर्न पाऔँँ भनी वरदान मागे । इन्द्र तथास्तु भनी स्वर्ग गए । यसै वरदानले गर्दा त्यस द्वादशीदेखि चतुर्थीसम्म आठ दिन वर्षैपिच्छे इन्द्रसहित देवदेवीहरू यस उपत्यकामा आइदिने भए ।
इन्द्रको स्वागतका निमित्त विधिवत् ध्वजा–पताकाका साथ लिङ्गोे उभ्याई दीपावली गर्ने प्रथा चल्यो । पछि स्वर्गका राजा इन्द्र र यस उपत्यकाका राजाको सल्लाहअनुसार अब कलियुगको प्रभाव पर्ने समय आएकाले अबउप्रान्त स्वर्गबाट प्रत्यक्ष रूपमा देवता नआउने, तर नगरमा काठ, ढुङ्गा र धातुबाट देवमूर्ति बनाई आराधना गरेमा ती आठ दिनसम्म ती मूर्तिहरूमा स्वर्गका देवदेवीहरूको प्रादुर्भाव हुने भनी दुवैले परस्पर सम्झौता गरे । त्यसै वेलादेखि नगरवासीहरूले इन्द्रजात्राका आठ दिनका लागि देवमूर्ति बनाई आआफ्ना घरअगाडि स्थापना गरी देवतालाई आह्वान गर्न थाले ।
लोककथाको तात्पर्य
यस लोककथाको तात्पर्य पनि बुझ्न आवश्यक देखिन्छ । बगैँचामा पारिजातको फूल चोर्न आएका इन्द्रले बगैँचे किसानसित माफी मागेको प्रसङ्ग देखाइएको छ । किसानले सभ्य तरिकाले उनको चित्त बुझाएर राजाको सम्मुख उपस्थित गराएकोबाट अपराधीको बिराम माफ गर्ने अधिकार शासकलाई मात्र छ भन्ने बुझाइएको छ ।
स्वर्गको राजा हूँ भन्दैमा इन्द्रले विनास्वीकृति अर्काको वस्तुमा हात लगाउनु युक्तिसङ्गत थिएन । सानाले गरोस् वा ठुलाले, अपराधअनुसारको दण्ड पाउनैपर्छ भन्ने तथ्य इन्द्रले बर्सेनि एक पटक जनताको अघिल्तिर (कठघरामा) उपस्थित हुनुपर्ने निमय बनाइएबाट बुझिन्छ । काठमाण्डौँको तात्कालिक सरकारले शिष्ट तरिकाले उनलाई वर्षको एक पटक उपस्थित हुनुपर्ने सजाय दिएको यो लोककथाबाट बुझ्न सकिन्छ ।
सजायभागी भएर आाउँदा पनि काठमाण्डौँका जनताले इन्द्रको पूजाआजा गरेकाले नेपालका जनता ठुलाबडाको आदर–सत्कार गर्न चुक्तैैनन् भन्ने झल्कन्छ । केही वर्ष लगातार उपस्थित भई इन्द्रले नैतिकताको पालन गरेपछि उनलाई उपस्थित हुनु नपर्ने छुट दिइएको तर चाहे जोसुकैले होस् अनुचित कार्य गरेपछि त्यसको फल भोग्नैपर्छ भन्ने कुरा पनि जनताले सम्झीरहून् भनेर उनको मूर्ति स्थापना गरेर जात्रा मनाउने पनि गरिएको ज्ञात हुन आउँछ ।
एउटा संस्कृतिसित जोडिएको लोककथाले यति धेरै नैतिक, सामाजिक र न्यायिक शिक्षा दिनु सारै महत्त्वपूर्ण छ। यस विषयको चेतना समाजमा फैलाउन आवश्यक छ । लाखे नाच, देवी नाच, महाकाली नाच इत्यादि इन्द्रजात्रामा देखाइने विभिन्न नाच विशिष्ट व्यक्तिका सम्मानमा देखाइने हाम्रा सांस्कृतिक कार्यक्रम हुन् ।