नेपाली समाजले सम्मोहनलाई जादूको छडीका रूपमा बुझेको छ । यो कुनै जादूको छडी होइन । अझ कतिले त यसलाई गलत रूपमा प्रयोग गरिने तान्त्रिक विधिका रूपमा बुझेका छन् । यसबाट लूटपाटलगायतका अपराधजन्य गतिविधि हुने धेरैमा आशंका रहन्छ । यो कुरा केही हदसम्म सत्य पनि हो । केही व्यक्तिले साँच्चै नै सम्मोहन विधि प्रयोग गरी मानिसलाई ठगेको देखिन्छ । तर सम्मोहनलाई त्यतिमै मात्र सीमित राख्न मिल्दैन ।
सम्मोहनको अभ्यास मूलतः मानव जीवनका समस्या निराकरण गरी सहज बनाउनका लागि हो । सहजताको खोजीका लागि हो । रोगबाट मुक्ति पाउन वा सम्बन्धहरूलाई सुमधुर बनाउनका लागि हो । सफलता प्राप्तिका लागि हो ।
नेपाली समाजले प्राचीन ढंगबाट बुझेको र अहिले हामीले अभ्यास गरिरहेको सम्मोहनका बीचमा केही भिन्नता छ । भित्री रूपमा हेर्ने हो भने समानता पनि छ । सम्मोहन विद्याको सुव्यवस्थित पठन पाठन गर्न र अभ्यासको आधिकारिक निकायबाट नियमन गर्न नसक्दा अहिले नेपाली समाजले सम्मोहनलाई जसरी बुझेको छ, त्यसको यथार्थ लगभग त्यस्तै नै छ ।
सम्मोहन ब्यक्तिको जिन्दगी सहज बनाउनका लागि हो । ध्यान, साधना, तन्त्र–मन्त्र लगायतका विभिन्न प्राचीन किसिमका विधि मानव जीवन सुखी र सम्पन्न बनाउनकै लागि विकास भएका हुन् । व्यक्तिको मनोविज्ञान, भावनात्मक वा आध्यात्मिक घटनासँग जोडिएका कतिपय रोग प्रचलित उपचार पद्धतिहरू (मेडिकल, आयुर्वेद, होमियोप्याथी) बाट निको नहुन पनि सक्छन् । त्यस्ता रोगहरूको निवारण सम्मोहन विधिबाट गर्न सकिन्छ । कतिपय अवस्थामा शारीरिक समस्या पनि ठिक गर्न सकिन्छ ।
सम्मोहनबाट हामीले बिग्रेका सम्बन्धहरूलाई पनि सुधार्न सक्छौँ । यसको सदुपयोग गरी अद्भुत र सामञ्जस्यपूर्ण सम्बन्ध विस्तार गर्न सकिन्छ । जीवनमा प्रगतिको बाटो लम्कन सकिएन भने पनि सम्मोहनको प्रयोगले व्यक्तित्व विकास गर्न सकिन्छ । आत्मविश्वास लगायत तीक्ष्ण क्षमता बृद्धि गर्न सकिन्छ ।
सम्मोहनका धेरै आयाम छन् । कति फाइदा लिन सकिन्छ भन्ने कुराचाहिँ व्यक्तिपिच्छे फरक पर्न सक्छ । अपराधी वा अभियुक्तले अपराध कबूल नगरेको अवस्थामा प्रहरी अनुसन्धानलाई सहज बनाउन सम्मोहन विधि प्रयोग गर्न सकिन्छ । कतिपय देशमा यस्तो प्रयोग भएको पनि पाईन्छ । हामी भारतमै प्रयोग भएको उदाहरण लिन सक्छौँ । सम्मोहनका माध्यमबाट पत्ता लागेको प्रमाण भनी अदालत समक्ष पेश गर्न नसकिए पनि अन्वेषकहरूलाई अपराधी पत्ता लगाउन पक्कै सहयोग पुग्छ ।
सम्मोहनलाई राजनीतिक मुद्दाहरूमा पनि प्रयोग गर्न नसकिने होईन । कतिपयले ‘उसो भए नेताहरूलाई सम्मोहनमा लिए भैहाल्यो नि’ भन्ने गर्नुहुन्छ । मैले सम्मोहन जानेको छु, यसको अर्थ म जसलाई जहाँ भेट्यो त्यहीँ सम्मोहित गराउँदै हिँड्छु भन्ने होइन नि । यदि मकहाँ पवित्र उद्देश्य लिएर कोही आउनु हुन्छ भने म सहयोग गर्न तयारै छु । नेताहरूलाई पनि कोही कसैले ल्याउन तयार हुनुहुन्छ भने म सहयोग गर्न तयार छु ।
सम्मोहनको दुरूपयोग हुने सम्भावना धेरै छ । यसको दुरुपयोग गर्न पनि त्यति सजिलो चाहिँ छैन । त्यसका लागि सम्मोहनको चरम अवस्थासम्म पु¥याउन सक्नु पर्छ । मैले सिकाएका विद्यार्थी अहिले विभिन्न देशमा हुनुहुन्छ । ती सबैले सम्मोहनको सही प्रयोग गरिरहनु भएको होला भनेर म जिम्मा लिन सक्दिन । केहीबाट दुरुपयोग भएको भन्ने पनि सुन्नमा आएको छ । कृपया कसैले पनि यस्तो नगरिदिनुहोला । किनभने यस्ता दुरुपयोगले अपराध पनि हुन सक्छ । समाजमा यो विद्याप्रति नै नकारात्मक धारणा बस्न जान्छ । ती व्यक्तिबाट सम्मोहनको दुरुपयोग हुँदैन जसको आध्यात्मिक चेतनाको स्तर एकदमै माथिल्लो तहमा पुगेको हुन्छ । कम्तिमा म के भन्न सक्छु भने मबाट त्यस्तो गलत प्रयोग भएको छैन र गर्ने पनि छैन ।
सम्मोहन विधिद्वारा गरिने उपचार निकै महँगो भयो भन्ने गुनासा पनि बेलाबखत सुन्ने गरिन्छ । तर त्यसो होइन । चिकित्सकहरूले औषधी प्रेस्क्राइब गर्दा औसतमा त्यस्तै पाँच सात मिनेट समय लगाउन सक्छन् । तर यहाँ हामी कुनै बिरामीसँग घन्टौंसम्म जुधिरहन्छौं । यस्तो अवस्थामा कतिपय नकरात्मकताहरू स्थानान्तारण हुन सक्ने जोखिम पनि रहन्छ । हामी त्यसलाई रोक्ने गर्छाैँ । घण्टौंसम्म लागिरहनु पर्ने भएकाले कतिपय अवस्थामा यो मेडिकल उपचारभन्दा केही हदसम्म महंगो पर्न सक्छ । डाक्टरहरूले कुनै बिरामीलाई बेल्जियमदेखि मेरो नाम उल्लेख गरेर पठाउनु भएको उदाहण पनि छ । त्यसैले उनीहरूको भरोसा टुट्न नदिन मैले आफ्नो अनुसन्धान र अनुभवको सक्दो प्रयोग गर्नु पर्ने हुन्छ ।
एउटा उत्प्रेरणा दिने प्रशिक्षकले एउटा सेसनको हजारौं वा लाखौं रुपैयाँ चार्ज गर्न सक्छ । तर के त्यस्तो वक्ताको प्रेरणाले त्यो हलमा उपस्थित सबैको जीवन सफलको शिखरतर्फ लम्किन्छ नै भन्ने ग्यारेन्टी छ र ? नैपनि तिर्ने व्यक्ति खुशी हुन सक्छ भने नराम्रो भन्न सकिँदैन । तिर्ने व्यक्ति राजी छ भने महसूल ठूलो कुरा होइन । खर्चभन्दा पनि मुख्य कुरा समस्याबाट मुक्ति पाउनु हो । पैसासँग उसले प्राप्त गरेको आनन्द वा सन्तुष्टि दाँज्न सकिँदैन ।
सिग्मण्ड फ्रायडका अनुसार कुनै मानिस अभिभावकत्व गुमाएको चोट सहन नसकी आएको छ भने उसले अचेतन रूपमा चिकित्सक वा थेरापिष्टलाई नै अभिभावकको रूपमा हेर्न थाल्छ । उसको अभिभावक प्रतिको माया, प्रेम वा द्वेष जे जे थियो त्यो अचेतन रूपमै चिकित्सकका सामु स्थानान्तरण हुन थाल्छ । त्यसैले यो स्थानान्तरणको समस्याबाट बच्न जोसुकैसँग संगत गर्नु राम्रो मानिँदैन । सम्पूर्ण शास्त्रहरूले हजारौ बर्षदेखि राम्रा मानिसको मात्र संगत गर भन्नुको कारण पनि यही नै हो । कसरी स्थानान्तारण हुन्छ भन्ने कुरा बुझ्न गहिरो खोज र अनुसन्धान चाहिन्छ । धेरैले हलुका रूपमा लिने गरेको देखिन्छ । यसका लागि गम्भीर अध्ययन चाहिन्छ ।
सम्मोहनका कतिपय कुरा सबैलाई भन्न मिल्दैन । कतिपय कुरा मैले भन्दिएँ भने समाजमा गलत धारणा जान्छ । सम्मोहनमा धेरै भ्रम फैलाउने ब्यक्तिहरू पनि छन् । मैसँग सामान्य प्रशिक्षण लिएर गलत प्रयोग गर्ने बिद्यार्थी पनि छन् । कोही भने एकदमै वास्तविक रूपमा लागिरहनु भएको छ । कतिपय सेवा गर्न भनेर भारतदेखि आउनु भएको छ । धेरै सज्जन व्यक्तिहरू पनि हुनहुुन्छ ।
बिरामीका लागि जसरी हुन्छ पीडाबाट छुटकारा चाहिएको हुन्छ । उनीहरू समाधान खोज्दै जोसुकैको दैलोमा पुग्नुहुन्छ । आफू कुन व्यक्तिबाट सम्मोहित भैइरहेको छु भन्ने कुराले पनि असर गर्छ । कोही खराब ब्यक्तिबाट सम्मोहित हुनुभएको छ भने उसका खराब कारकहरू स्थानान्तारण हुन पनि सक्छन् । उसका खराब विचार, व्यवहार आदि तपाईंमा सर्न सक्छ । त्यसैले लामो अनुभव भएका ब्यक्तिसँग मात्र सम्मोहित हुनुपर्ने हुन्छ ।
सम्मोहन एकदमै महत्वपूर्ण विज्ञान हो । यसलाई सही तरिकाले प्रयोग गर्नु पर्छ । अन्यथा यो खतरनाक हातियार पनि हुनसक्छ । नेशनल हिप्नोसिस एकेडेमीले थुप्रै देशमा तालिम दिइसकेको छ । जीवन परिवर्तनका लागि यो एक महत्वपूर्ण विद्या भएकाले यसलाई संस्थागत गर्न जरूरी छ ।