सार्वजनिक पुस्तकालयको अवधारणा र विकास चौधौं शताब्दीमा इटालीबाट भएको पाइन्छ । सत्रौं शताब्दीमा आएर बेलायतले सिटी लाइब्रेरीको रूपमा व्यापक विकास र विस्तार गर्यो । सन् १८५० मा पब्लिक लाइब्रेरी एक्ट ल्याएर व्यवस्थित रूपमा सञ्चालन गर्यो । त्यसैको प्रभावमा आज युरोप, अमेरिका, रुस, क्यानडा, जापान, चीन अस्ट्रेलिया लगायतका विकसित राष्ट्रहरूले पब्लिक लाइब्रेरीको विकास र विस्तार गरे ।
नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पहलमा सन् १९३० मा सरस्वती सदनको रूपमा पहिलो सार्वजनिक पुस्तकालय स्थापना भयो । सन् १९५० पछि नेपालमा विश्वविद्यालय र विद्यालयस्तरमा पुस्तकालय स्थापना हुन थाले । पुस्तकालय त स्थापना भए तर त्यसको प्रयोग प्रभावकारी भएन ।
आजभन्दा करिब १५ वर्षअगाडि म स्कुल पढ्ने बेला हाम्रो स्कुलमा पनि पुस्तकालय स्थापना भयो । हामी विद्यार्थी निकै खुसी भयौं । नयाँ पुस्तक पढ्न पाइने भएकाले । सामाजिक विषय पढाउने सर पुस्तकालय प्रमुख हुनुभयो । सुरुमा हरेक दिन एक घण्टा खुल्ने पुस्तकालय बिस्तारै बन्द भयो । यसरी हाम्रो स्कुलको पुस्तकालयजस्तै सार्वजनिक विद्यालयका पुस्तकालय आज पनि प्रयोगविहीन छन् ।
विश्वविद्यालयका पुस्तकालयको हालत पनि उस्तै छ । पुस्तकालय छ, तर पर्याप्त पुस्तक छैनन् । अहिले सूचना प्रविधिको जमानामा इ–लाइब्रेरीको झनै खाँचो छ । तर पनि सरकारले सार्वजनिक पुस्तकालयलाई व्यवस्थित गर्दै सबैको पहुँचमा पुर्याउन सकेको छैन । निकै नाजुक अवस्थामा रहेका पुस्तकालयलाई व्यवस्थित गर्दै लैजान सके पठन संस्कृतिको विकासमा योगदान पुग्ने थियो । सर्वसाधारण नागरिकका लागि ज्ञान र सूचनामा सहज पहुँच पुर्याउन सार्वजनिक पुस्तकालय अति आवश्यक छ ।
विकसित देशमा सर्वसाधारण नागरिक जमघट हुने थलोमध्ये सार्वजनिक पुस्तकालय पनि हो जहाँ बालबालिका, युवा, प्रौढ, वृद्धवृद्धा सबै उमेर समूहका मानिस आ–आफ्ना दौंतरीसँग पुस्तकालय आउँछन् । आफ्नो रुचिअनुसार रमाउँछन् । जहाँ बालबालिका, युवा, वृद्धवृद्धा र सर्वसाधारण नागरिकका लागि छुट्टाछुट्टै युनिटको व्यवस्था गरिएको हुन्छ ।उनीहरूका रुचि र आवश्यकता अनुसारका सामग्री राखिएका हुन्छन् । छलफल र बैठकका लागि कार्यक्रम हलको समेत व्यवस्था गरिएको हुन्छ । अनलाइन अध्ययनका लागि कम्प्युटर र इन्टरनेट सहजै उपलब्ध हुन्छ । अनुसन्धानकर्ताका लागि आवश्यक स्रोत सामग्रीको व्यवस्था गरिएको हुन्छ ।
विकसित मुलुकका पुस्तकालयहरूमा अध्ययनका लागि घर र होस्टेलको भन्दा कैयौं गुणा राम्रो वातावरण हुन्छ । हरेक शिक्षालयका आ–आफ्नै पुस्तकालय हुन्छन् । सार्वजनिक पुस्तकालयहरूमा समसामयिक विषयका पुस्तक, पत्रपत्रिका, अनुसन्धानात्मक प्रतिवेदन, विश्वका विभिन्न देशका महत्त्वपूर्ण दस्तावेजहरू समेटिएका हुन्छन् । इतिहास, दर्शन र वैज्ञानिक खोज अनुसन्धानमूलक सामग्रीहरू पनि सहजै पाइन्छन् ।
नागरिकको सहज पहुँच हुने स्थानमा पुस्तकालय निर्माण गरिएको हुन्छ । हरेक सहर र इलाकामा सामुदायिक पुस्तकालय हुन्छ । स्थानीय सरकारले नै पुस्तकालयको व्यवस्थापन गर्ने गर्छ । सहर होस् वा गाउँ कम्तीमा एउटा पुस्तकालय हुनुपर्ने मापदण्ड नै हुन्छ । पुस्तकालयको सहज पहुँचले गर्दा आम नागरिकमा पठन संस्कृति विकास भएको पाइन्छ ।
नेपालमा सामुदायिक पुस्तकालय कसरी व्यवस्थित गर्ने भन्ने चुनौतीको विषय छ । एक त हामीसँग पुस्तकालयको संख्या निकै थोरै छ । पर्याप्त स्रोत–साधन र जनशक्ति पनि छैन । हरेक वडा तहसम्म पुस्तकालय निर्माण गर्नुपर्नेमा स्थानीय तहको केन्द्रमा समेत पुस्तकालय छैन । सरकारले सबै स्थानीय तहमा एउटा पुस्तकालय निर्माण गर्ने निर्णय गरे पनि त्यसको ठोस योजना र कार्यक्रम छैन ।
अहिले धेरैतिर स्मार्ट सिटीको चर्चा छ । तर स्मार्ट सिटी र स्मार्ट पालिकाभित्र स्मार्ट लाइब्रेरीको चर्चा भएको पाइँदैन । सामुदायिक भवन तथा भ्युटावर निर्माणको होडबाजी चलिरहँदा सामुदायिक पुस्तकालयको आवश्यकता र औचित्यको चर्चा भएको पाइँदैन ।
हामीले मुलुकको कस्तो विकास खोजेका हौं ? के भौतिक विकासले मात्र हामी सम्पन्न हुन्छौं ? मानवीय विकासमा लगानी खै त ? हामीले निर्माण गर्न खोजेको समाज कस्तो हो ? अबको नयाँ पुस्तालाई कसरी सृजनशील बनाउने ? हाम्रो इतिहास, दर्शन, सभ्यता र संस्कृतिको संरक्षण कसले गर्ने ? ज्ञान र विज्ञानको क्षेत्र कसरी विस्तार गर्ने ? युवालाई समाज रूपान्तरणमा कसरी लगाउने ? अन्तरपुस्ता ज्ञान र सीपलाई कसरी हस्तान्तरण गर्ने ? यी सवालहरूमा गम्भीर बहस जरुरी छ । बहस मात्र हैन, निष्कर्षहरूलाई कार्यान्वयनमा लैजान अझ जरुरी छ ।
सामुदायिक पुस्तकालय सभ्य समाजको एउटा महत्त्वपूर्ण अंग हो । नेपालमा सामुदायिक पुस्तकालयको अवधारणालाई वडा तहसम्मै विस्तार गर्नु जरुरी छ । सार्वजनिक पुस्तकालयका लागि राज्यले देशभरका सबै स्थानीय तह र वडाहरूमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्नुपर्छ । त्यसमा सार्वजनिक सरोकारको विषयमा छलफल गर्न सभाहल वा बैठक कक्ष, पुस्तकायल कक्ष, स्थानीय कला संस्कृतिको जगेर्ना गर्न आर्ट कक्ष, कृषि सूचना तथा परामर्श कक्ष, इन्टरनेट तथा कम्प्युटर कक्ष लगायतका छुट्टाछुट्टै एकाइहरू निर्माण गर्न सकिन्छ ।
पुस्तकालय व्यवस्थापनका लागि तालिमप्राप्त दक्ष र प्राविधिक जनशक्ति तयार पार्नुपर्छ । देशभरका पुस्तकालयमा एकरूपता ल्याउन अनलाइन डिजिटल प्लाटफर्मको विकास गर्नु आवश्यक हुन्छ । पुस्तकालय व्यवस्थापनको जिम्मा समुदाय र स्थानीय सरकारलाई दिइनुपर्छ । सामुदायिक पुस्तकालयलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न केन्द्रीय सरकारले अनुदान र स्थानीय सरकारले आन्तरिक स्रोत जुटाउनेजस्ता कार्य गर्नु उपयुक्त हुन्छ ।
मुलुक संघीयतामा गएसँगै सामुदायिक पुस्तकालयको आवश्यकता झनै बढेको छ । केन्द्रीकृत विकास विकेन्द्रीकरण भएको छ । गाँउहरूमा पनि बिस्तारै विकासले गति लिँदै छ । भौतिक विकाससँग मानवीय विकासमा पनि यतिबेलै लगानी गर्नु छ । के गाउँ, के सहर, सबै ठाउँ उत्तिकै सभ्य र सुसंस्कृत र बस्नलायक हुनुपर्छ ।
नेपालका तीनै तहका सरकारमा बस्नेहरूले सामुदायिक पुस्तकालयको महत्त्व बुझ्न बाँकी नै छ । प्रदेशमा प्रदेशस्तरीय पुस्तकालय र हरेक स्थानीय तह, त्यसमा पनि वडा तहसम्मै सामुदायिक पुस्ताकालय बनाउनुपर्छ । नागरिकहरू सार्वजनिक स्थानमा भेला भएर संवाद गर्ने थलो बन्न सक्छ पुस्तकालय । अन्तरपुस्ता संवादले ज्ञान हस्तान्तरणमा टेवा पुग्छ ।
विकसित देशले आज जुन सामाजिक विकास गरे त्यसमा पुस्तकालयको ठूलो योगदान छ । समाजलाई सही गति दिन खुला बहस र संवाद निरन्तर हुनुपर्दछ । हाम्रा गाउँ–नगरहरू व्यवस्थित छैनन् जहाँ सबै उमेर समूहका मान्छे भेला भएर संवाद गर्न सकून् ।
विद्यालय र विश्वविद्यालय परिसरमा मात्र नभई प्राज्ञिक बहस र संवादका लागि पुस्तकालय उपयुक्त स्थान हुन सक्छ । त्यो सिक्ने र सिकाउने चौतारी बन्न सक्छ र बन्नुपर्छ । हरेक हप्ता पुस्तकालय परिसरमा समसामयिक विषयमा अन्तरसंवाद चलाउन सकिन्छ ।
विकसित देशमा पुस्तकालय र सामुदायिक भवन प्रायः एउटै स्थानमा हुन्छन् । एउटै भवनभित्र धेरै सुविधा उपलब्ध हुन्छन् जसले गर्दा नागरिकलाई सहज हुन्छ । नागरिक समाज सशक्त र जागरुक भए स्वच्छ एवं वैचारिक बहसको थालनी हुन्छ । समाजलाई गतिशील बनाउन आग्रह–पूर्वाग्रहरहित वैज्ञानिक बहस हुनु जरुरी छ ।
समाजमा चेतनाको विकास गर्दै सभ्य समाजको निर्माण गर्न सामुदायिक पुस्तकालयको ठूलो भूमिका छ । पठन संस्कृतिको विकासले समाजमा सकारात्मक प्रभाव पार्दछ । समाजलाई गतिशील बनाउन पुस्तकालय एक उपयुक्त माध्यम हो । वालवालिका एवं युवामा बढ्दो इन्टरनेटको कुलतबाट मुक्त गर्न पनि पुस्तकालय विस्तार गर्नु आवश्यक छ ।