म प्रायः विभिन्न राजनीतिक भेटघाटमा सहभागी भइरहेको हुन्छु । विशेषगरी युवा, नयाँ पुस्ता जसले यो देशमा बढी समय बिताउनेवाला छन् र जसलाई यो देश बढी चाहिएको छ, उनीहरूसँग निरन्तर सम्पर्कमा हुन्छु । मेरो उमेर खासै धेरै भएको त छैन । तर पनि उहाँहरूलाई भेट्दा आफूलाई बूढोबूढो महसुस गरिरहेको छु । आउँदै गरेको पुस्ता फरक छ । हामीले जसरी विषयवस्तुलाई हेरिरहेका छौं, यो पुस्ताले ती विषयलाई त्यसरी नै हेरिरहेको छैन ।
केहीअघि नैकापस्थित श्री विद्यामन्दिर माविमा अन्तरक्रियाका लागि गएको थिएँ । त्यहाँका शिक्षकहरूसँग भेट्ने मौका मिल्यो । मेरो मनमा उठेका प्रश्न- जब त्यहाँ विद्यार्थी पढ्न र शिक्षक पढाउन स्कुलभित्र छिर्छन्, त्यतिबेला उनीहरूको मनमा यो स्कुलमा पढेर-पढाएर केही हुँदैन भन्ने पर्छ भने त्यो विद्यार्थी, त्यो शिक्षक र त्यो विद्यालयले कसरी सफलता कसरी हासिल गर्लान् ?
स्कुल नजिकैको खेतबारीमा कोही २० वर्षदेखि उही तरिकाले खनीखोस्री गरिरहेका छन् । उनीहरूको त्यो कामले सोचेजस्तो कमाइ दिइरहेको छ कि छैन ? उत्पादन बढेको छ कि घटेको छ ? घरपरिवार चलाउन सहज छ कि मुस्किल हुँदै गइरहेको छ ? एसईई सकेका करिब ४ लाख भाइबहिनीले यो मुलुकमा आफ्नो भविष्य कस्तो देखिरहेका छन् ? के सोचिरहेका छन् ? उनीहरूमध्ये अधिकांशमा उत्साह छ कि उद्विग्नता ? यस्ता विषयमा मुलुकका नेतृत्वकर्ता, प्रशासकहरूले अलिकति गम्भीर भएर के कहिल्यै सोचेका छन् ? हाम्रा मुख्य भनिएका राजनीतिक दलहरूका बैठकमा के कहिल्यै यस्ता प्रश्नहरूमाथि पनि विचारविमर्श हुन्छ ?
दुःखका साथ भन्नुपर्छ- बिलकुलै हुँदैन । यदि यस्तो हुन्थ्यो भने हामीले युवापुस्तालाई राजनीतिमा जबर्जस्ती धकेलिरहनुपर्ने आवश्यकतै पर्ने थिएन । त्यसैले हामी राजनीति गर्दा हरेक नेपालीको आत्मसम्मान, शिक्षा, स्वास्थ्य, रोजगारी भनेर लागिरहेका छौं । अबको १० वर्षपछि व्यापार, व्यवसाय, राजनीति र शैक्षिक संस्था लगायत सबैमा नेतृत्व गर्ने अहिलेको पुस्ताले हो । त्यसैले हामी अबको १० वर्षपछि नेपाल कस्तो होला भनेर खोज्ने, छलफल गर्ने प्रयास गरिरहेको छौं । हाम्रो भविष्य कतातिर डोर्याउने ? सबैभन्दा राम्रो र सही दिशा के हुन सक्छ भनेर पहिल्याउने प्रयास गरिरहेको छौं ।
नेतृत्वको मूल कर्तव्य देशलाई एउटा सही दिशामा लैजानु हो । मेरो काम पनि अबको १०-१५ वर्षपछिको नेपाल कस्तो हुनुपर्छ भनेर ठम्याउने नै हो । मानौं हामी अहिले जुन अवस्थामा छौं, १० वर्षपछि पनि केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड नै प्रधानमन्त्री भइरहने हो भने यो मुलुक कस्तो होला ? अथवा त्यो ठाउँमा बालेन साह, हर्क साम्पाङ, पुकार बम, रञ्जु दर्शना वा मिलन पाण्डेहरू पुग्दै गर्दाको चित्र कस्तो होला ? यी पछिल्ला अनुहारहरू आउँदा मात्र हामीले भविष्य बदल्न सक्छौं भन्ने मेरो विचार हो ।
अहिले हामी एउटा राजनीतिज्ञमा हुनुपर्ने गुण इमानदारी हो भनिरहेका हुन्छौं । तर मलाई यो भनाइ नै एकदमै विडम्बनापूर्ण लाग्न थालेको छ । यसै पनि इमानदार नभई नेता बन्न पाइन्छ र ? यो इमानदार छ, यसले हाम्रो भलो गर्छ, यसले हामीलाई दुःखपर्दा साथ दिन्छ भनेर जसमाथि धेरैको भरोसा हुन्छ, त्यही नेता बन्ने होइन र ? हो भने त फेरि नेतामा हुनुपर्ने गुण इमानदारी हो भन्दै छलफल गर्नुपरेकै किन छ त ?
नेपालको सन्दर्भमा मैले बुझेको वैकल्पिक राजनीति भनेको सुसंस्कारयुक्त राजनीति हो । एउटा इमानमा चल्ने, सुसंस्कारमा चल्ने, आफ्नो मूल्य-मान्यता, संगठन र त्यही अनुसारको कार्यशैलीमा चल्नुलाई नै सुसंस्कृत भनिएको हो ।
विश्वभर मानिसहरूले परिवर्तन खोजेको आभास हुन थालेको छ । कतै कलाकार नेतृत्वमा उदाएका छन्, कतै अभियन्ता, कतै खेलाडी । युक्रेनमा कलाकार आए । दिल्लीमा अभियन्ता केजरीवाल उदाए । अथवा फाइभ स्टार आन्दोलनलाई पनि हेर्न सक्छौं ।
संसारभरका मानिसहरू परिवर्तन खोजिरहेका छन् । नागरिकहरू हालको अवस्थामा सन्तुष्ट र खुसी देखिँदैनन् । कतै विद्रोह भइरहेको छ । कतै विद्रोहको नाममा परिस्थिति झनै गएगुज्रेको पनि भएको छ । कतै पुरानै कुरा धर्म जातिवादजस्ता कुराहरूमा समाज झनै अड्किएको छ । हाम्रो नजिकै अफगानिस्तान यसको उदाहरण छ ।
सचेत मुलुकहरूले नयाँ पुस्ता, युवा पुस्तालाई अगाडि सारेर वातावरण, शिक्षा, स्वास्थ्यजस्तो क्षेत्रमा नेतृत्व लिएको देखिन्छ । शिक्षा र चेतनाको कमी भएको देशमा जात, धर्म, वर्ग, सम्प्रदायजस्ता कुरामा अझै पनि समाज विभाजित गर्ने राजनीति हुँदै आएको छ ।
हामी विगत १० वर्षदेखि वैकल्पिक राजनीति गरिरहेका छौं । एक दशकदेखि कांग्रेस, एमाले र माओवादीको पनि विकल्प छ भन्ने आम नागरिकमा परिसकेको छ । त्यसमा कुनै न कुनै रूपमा विवेकशील नेपालीको भूमिका छ । इन्धनको भाउ बढ्दा नेपाल बन्द हुन्थ्यो । ढुंगामुढा हुन्थ्यो । रेलिङ भाँचिन्थ्यो । तर आज त्यो अवस्था धेरै कम भएको छ । २१ वर्षे रञ्जु दर्शना विवेकशील नेपालीले मेयरमा उठाउँदा के मुर्ख्याइँ गरेको होला भन्ने टन्नै आएका थिए । तर आज ३१ वर्षे बालेन साह काठमाडौंको मेयर हुनुभएको छ ।
पत्रकारिता र कलाकारिता छोडेर राजनीतिमा आउने लहरै चलेको छ । राजनीतिमा कांग्रेस, एमालेलाई टक्कर दिन नयाँ पार्टी, नयाँ व्यक्ति आउन सक्छन् भनेर विश्वास जगाउने विवेकशील नेपाली हो । हामीले वैकल्पिक राजनीति सुरु गर्दा वैकल्पिक राजनीतिलाई चिनाउन र स्थापित गर्न १०-१५ वर्ष लाग्छ होला भनेर सोचेकै थियौं । तर आज वैकल्पिक राजनीतिको औचित्य र आवश्यकता एक हिसाबमा ५-७ वर्षमै प्रमाणित हुँदा हामी खुसी छौं ।
राजनीति भनेको सफा नदीझैं हुनुपर्छ । तर, नेपालको राजनीति जमेको फोहोर पोखरीझैं भएको छ । यसलाई सफा गर्छु भनेर हिँडेका छौं । सफा गर्छौं । हामीले यो एक हदसम्म गर्न सक्यौंझैं लागेको छ । म आफू र आफ्नो टिमप्रति विश्वस्त छु कि यो फोहोर हामीले सफा गरेरै छोड्छौं । उमेरसहितको ऊर्जा बोकेर हिँडेका छौं ।
हामी सफल हुन हामी नै यो देशको मेयर वा प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । बालेन र हर्क साङ्पाङले नेतृत्व गरेर सफा राजनीति गर्नु भनेको पनि हाम्रो जित हो । उहाँहरू हाम्रै पुस्ताका राजनीतिको प्रतिनिधि हुनुहुन्छ । नयाँ मान्छे आउनु एदमै खुसीको कुरा हो । जितेर केही गर्ने प्रयास गरिरहनुभएको छ ।
नयाँ पुस्तामा राजनीतिप्रति चासो छ । नयाँ उम्मेदवारहरूप्रति मतदाताको विशेष चासो छ । ओली, देउवा र दाहालहरूको चर्चा घटेको छ । त्यसैले अहिले वैकल्पिक राजनीति र नयाँ राजनीतिको परीक्षणकाल चल्दै छ । बिजुलीको चिम बनाउन हजारौंले कोसिस गरे तर सफल एक जना भए । वैकल्पिक राजनीतिमा जेजे भैरहेका छन् यी सबै प्रयोग हुन् । अहिले यो प्रयास धेरै जनाले गर्दै हुनुहुन्छ ।
नागरिकको हक सेवक-सरकार हो । जवाफदेही नेतृत्व हो । त्यसका निम्ति अब युवामा भरोसा देखाउनुपर्छ । नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ । पुरानो पुस्ताका पनि सबै अक्षम छैनन् । नेपालको राजनीतिमा पुरानो पुस्ता रहेसम्म नेतृत्वमा नवीन चिन्तन र विकासको नयाँ बाटो पहिल्याउन मुस्किल छ । प्रचण्ड रहेसम्म केपी ओली, केपी ओली रहेसम्म शेरबहादुर देउवावाला चक्र चलिरहनेछ । त्यसैले, आसन्न निर्वाचनबाटै यो सिंगो चक्रलाई नै विस्थापित गर्न जरुरी छ ।
कांग्रेस, एमाले, माओवादी लगायत ठूला दल अब नयाँ पुस्तामा जान आवश्यक छ । युवाले आफ्नो अक्षम अध्यक्ष वा सभापतिलाई चुनौती दिन सक्नुपर्छ । युवाले के बुझ्न जरुरी छ भने, होमा हो मिलाएर नेता बन्न सकिँदैन । गलतको विरुद्ध आवाज उठाउने नै असल नेता हो । दुर्भाग्य, आज कसले ठूलो ताली बजाउँछ त्यो नै नेता बन्छ । ठूलो ताली बजाएर नेता बन्ने प्रवृत्ति तोड्नुपर्छ ।
प्रचण्डले माओवादीमा ३५ वर्ष राजनीति गरेर नेतृत्वमा दोस्रो व्यक्ति तयार गर्न नसक्नु वा नखोज्नु प्रचण्डको सफलता हो कि असफलता ? उनी त सफलता मानेर आफूलाई महान् देखाइरहेका छन् । तर के उनको पार्टीका कार्यकर्ताले यसको मूल्यांकन गर्नु पर्दैन ? त्यसैले म भन्छु- व्यक्ति यो वा त्यो भन्ने होइन, जुनसुकै पार्टीमा रूपान्तरणको सख्त जरुरी छ । पुरानै नेतृत्व, पुरानै शैली र ढंगले कहिल्यै नयाँ गन्तव्यमा पुग्न सकिँदैन ।
नेपालमा अबको १० वर्षपछि दुई प्रकारका समाचार सुनिन सक्ने सम्भावना छ । पहिलो, जुन अहिले भैरहेको छ त्यसकै भर्सन । अर्थात्, के प्रचण्डले केपी ओली अथवा शेरबहादुरलाई समर्थन गर्लान् ? के वाम गठबन्धन कायम रहला ? वा गगन थापालाई हराउँदै पुनः शेरबहादुर देउवा नै पार्टी सभापति चयन हुनुभएको छ । यस्तैयस्तै समाचार सुनिन सक्छ ।
अर्को सम्भावना पनि छ । तर, त्यसका लागि हामीले नै अलि बढी मिहिनेत गर्नुपर्छ । हामीले यो अवस्थालाई रोक्न सक्यौं भने मुलुक निकै परिवर्तन भैसकेको हुनेछ । त्यो अवस्थामा बन्ने समाचार हुन सक्छन्- नेपालमा शिक्षाको गुणस्तर दक्षिण एसियामै उत्कृष्ट हुँदै गएको छ । नेपालीले यी-यी रोगका औषधि निःशुल्क पाउन थालेका छन् । नेपालमा बेरोजगारीको संख्या निकै कम भएको छ । नेपालमा धार्मिक/आध्यात्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ । आदिआदि ।
अबको १० वर्षपछि यी दुईमध्ये जुन पनि अवस्था आउन सक्छ । आम युवाले, राजनीतिक दलका कार्यकर्ताले, र सचेत नागरिकले अहिलेको अवस्थालाई रोकेर परिवर्तनको बाटो रोज्नुपर्छ । हामीले व्यवस्था हैन, अवस्था बदल्ने राजनीति गर्नुपर्छ । संविधान च्यात्ने राजनीति नेपाली नागरिकको घाँटीघाँटीसम्म पुगिसकेको छ । त्यसैले, हाम्रो प्रयत्न शिक्षा, स्वास्थ्य, बेरोजगारी लगायतका समस्या समाधान गर्ने राजनीति गर्नमा हुनेछ । प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने राजनीति हुनेछ ।
मेरा आँखाले यतिबेला दुवै खाको भविष्य देखिरहे पनि प्रयत्न दोस्रो दृश्यतर्फ लाग्ने नै हो । त्यसैका लागि म १० वर्षदेखि राजनीतिमा छु । १० वर्षपछि पनि यही आन्दोलनमै हुनेछु । यो आन्दोलनलाई अझै समृद्ध बनाउनेछु । प्रगतिशील लोकतन्त्रलाई संस्थागत गर्नेछु । नेतृत्व भनेको अध्यक्ष वा संयोजक हुनु मात्र होइन । राम्रो विचारलाई बोकेर हिँड्छ, त्यसलाई मैले सघाइरहेको हुनेछु ।
हामीजस्तो विचार बोक्ने, हामीले भनेको कार्यान्वयन गर्न सक्ने व्यक्ति जो भए पनि समर्थन गरिन्छ । आजको नेतृत्व बिग्रेकै आफैं पदमा बस्नुपर्छ भनेर हो । यो मानसिकतालाई परिवर्तन गर्न जरुरी छ । १० वर्षपछि मैले पदमै बसेर नेतृत्व नगरे पनि मेरो विचारले भने अवश्य गर्नेछ । यसै पनि हाम्रो टिममा एकदमै राम्रा साथीहरू हुनुहुन्छ । पुकार बम, रञ्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल, हरिश भट्ट, सरोज गौतमहरू मभन्दा राम्रा नेता हुनुहुन्छ । कुनै पनि पार्टीको नेताले आफू पछिका १० जनाको नाम लिन सक्छन् जस्तो मलाई लाग्दैन । तर हाम्रो संस्कार नै फरक छ । हिजो उज्वल थापा हुनुहुँदा म साधारण सदस्य मात्र थिएँ । तर विवेकशील नेपालीको अध्यक्षभन्दा कम महसुस हुँदैथ्यो ।
जब मानिसले भविष्य देख्न सक्दैन, त्यसपछि विगतमा खेल्न थाल्छ । मेरो बुझाइमा आजका नेताले देशको भविष्य देखाउन सकेका छैनन् । त्यसैकारण आज केहीले संविधानमा खोट देखाउने, राजतन्त्रलाई पुनःस्थापित गर्नेजस्ता कुरा गरिरहेका छन् । संघीयता लगायतका कुरालाई कमजोर ठानिरहेका छन् । विगतका भूत देखाएर तर्साउने नेतृत्वबाट हामी सचेत हुनुपर्छ । व्यवस्थाका नाममा आन्दोलन गर्नेबारे त यसै पनि ‘तिनीहरूले चाहिँ के गरे त ?’ भन्ने प्रश्न उठिसकेको छ । हाम्रो पुस्ता पनि यही वादविवादमा नफस्ला भन्न सकिन्न । हामीले व्यवस्थाभन्दा पनि जनाताको अवस्था परिवर्तन गर्न जरुरी छ ।
तर यो त्यति सजिलो छैन । हामीले नागरिकलाई नै विवेकशील बनाउने आन्दोलन गर्नुपर्नेछ । कुनै एउटा स्नातक गरेको विद्यार्थी आन्दोलन वा विद्रोहको नाममा माइतीघर आउँछ । उसले त्यहाँका बोटबिरुवा भाँच्छ । बानेश्वर आउँछ र त्यहाँका ढुंगा उक्काउँछ । आकासेपुलमुनिबाट बाटो काट्छ । हाम्रो शिक्षा र संस्कारमै ठूलो समस्या छ ।
हामीले संस्कारयुक्त शिक्षा दिन सकेका छैनौं । जति पनि अव्यवस्थाहरू देखिइरहेका छन्, त्यसका लागि संस्कार र व्यवहारमा भएका गल्तीहरू जिम्मेवार छन् । हामी नेतालाई गाली त गरिरहेका हुन्छौं तर आफैं हामी जेब्राक्रसिङबाट बाटो काट्दैनौं । सरकार त दोषी नै छ । सरकारले संस्कार र शिक्षा दिन सकेको छैन । पाठ्यक्रमलाई व्यावहारिक रूपमा लागू गर्न सकेको छैन । तर नागरिक आफैं पनि सचेत हुन जरुरी छ ।
अहिले काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याएर राखौं भनिएको छ । नागरिकले यसको पालना नगर्ने अनि दोषीचाहिँ बालेनलाई ठहर्याउने ? के सही कुरामा नेतृत्वलाई समर्थन गर्नु नागरिकको दायित्व होइन ? हो, त्यसका लागि चाहिने पूर्वाधार, सहारा, सिकाउन पर्ने कुराहरू महानगरले व्यवस्था गर्नुपर्छ । आफ्नो कर्तव्य र दायित्व बिर्सेर नेतालाई मात्र गाली गरेर समृद्धिको बाटोतर्फ लाग्न सकिँदैन ।
जापानमा भर्खरै स्कुल जान लागेका नानीबाबुलाई जुत्ता कसरी र्याकमा राख्ने भनेर सिकाइन्छ । उनीहरू सिक्छन् र पछिसम्मै त्यसै गर्छन् पनि । नेपालको कुनै ठूलो कम्पनीमा पस्दा जुत्ता र्याकमा नभई बाहिरै छरपस्ट हुन्छ । यसको अर्थ हाम्रो संस्कारमै समस्या छ । संस्कारमा समस्या हुनु भनेको सही शिक्षा नभएर हो ।
मुलुक यतिबेला चुनावको संघारमा छ । नेताहरू राम्रो भए हुने, राम्रा नेताले किन नजितेका होलान् ? यस्ता हुटहुटी सबैको मनमा छ । असल शासक जन्माउनका लागि एउटा राम्रो पार्टी बनाऔं भन्ने हाम्रो प्रयत्न थियो । विवेकशील नेपाली पार्टीले एक दशकदेखि कुनै न कुनै रूपमा आशा जोगाएको छ । नयाँ पार्टी स्थापना हुँदा धेरैको मनमा निकै राम्रो आशा र भरोसा थियो । तर गएको एक वर्ष हाम्रो पार्टी पनि समस्याहरूबाट गुज्रियो ।
अवस्था बदल्छौं भनेर पार्टी खोलेका थियौं तर तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले त राजा ल्याउनुपर्छ पो भन्नुभयो । हामीले अवस्था बदल्नुपर्छ भनेका थियौं, उहाँले व्यवस्था नै बदल्नुपर्छ भन्नुभयो । हाम्रो दृढ विश्वास के हो भने वंशवादमा विश्वास गर्नु भ्रम हो । हाम्रो उद्देश्य प्रत्येक नागरिकलाई सबलीकरण गरी राजा बन्ने हैसियतमा पुर्याइनुपर्छ ।
नेपालमा वैकल्पिक राजनीतिको चाल अब गज्जब ढंगले अगाडि बढ्नेवाला छ । हिजो कांगे्रेस, एमाले विकासको बाटोतर्फ जान सक्तैनन् भनेर उज्वल थापाहरू अग्रसर भए । बीचमा नयाँ शक्ति भन्दै बाबुरामहरू आए । नयाँ आस देखाए । त्यसपछि रवीन्द्र मिश्रहरू आए । बालेन र हर्क साम्पाङहरू आए । अहिले रवि लामिछाने र रमेश खरेलहरू थपिएका छन् ।
हामीले गर्न खोजेको राजनीतिको बाटोमा धेरैको रुचि बढेको छ । हामी हिजो सानो स्वरमा जे भन्थ्यौं आज ती कुराहरू धेरैले ठूलो स्वरमा भनिरहेका छन् । व्यवस्था हैन, अवस्था बदलौं भन्ने हाम्रो जुन अभियान थियो त्यसले राजनीतिको बजारमा ठाउँ पाएको देखेर म खुसी छु ।
फिनल्यान्ड र न्युजिल्यान्डमा अहिले महिला नेतृत्व छ । तर उहाँहरू पनि एकैचोटि प्रधानमन्त्री हुनुभएको होइन । आजभन्दा तीस-चालीस वर्षअगाडि ती देशमा महिलालाई अगाडि बढाउन अभियानहरू चलेका थिए । नीतिहरू बनेका थिए । त्यहाँका सरकारले यस्ता सवालहरूमा तीस वर्षदेखि होमवर्क गरिरहेको छ । हामीले पनि यस्ता अभियानमा समय र नीतिगत लगानी गर्नैपर्छ । ती देशले आज जे पाइरहेका छन् ती हिजोका लगानीकै प्रतिफल हुन् ।
हामीकहाँ कुनै पार्टीले युवालाई राम्रो नेता बनाउनुपर्छ भनेर तालिम दिएको सुनिँदैन । ठूला पार्टीका प्रशिक्षणमा एकले अर्को पार्टीलाई गाली गरेको मात्र सुनिन्छ । हामीले असल शासकका लागि लगानी गरेकै छैनौं । विवेकशील नेपाली दल हुँदा लिडर्सिप विल्डिङ एकेडेमीको पहिलो ब्याचको विद्यार्थी म पनि हुँ । मैले केदारभक्त माथेमा, लीलामणि पौडेल सरहरूबाट सिक्ने मौका पाएको थिएँ । त्यस्तै मौका ठूला राजनीतिक दलका कार्यकर्ताले पाउँदा के बिग्रन्छ ?
अहिले राजनीतिमा नयाँनयाँ अनुहारहरू आइरहनुभएको छ । रवि लामिछाने र रमेश खरेलजस्ता नाम सुनिन थालेको छ । रवीन्द्र मिश्र पनि व्यक्तिगत रूपमा राम्रो मान्छे हो । तर उहाँले आज बोलेका कुरा पाँच वर्षअगाडि नै बोल्नु पर्थ्यो । दुई वर्षअघि देशमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्प छैन भन्नुभयो । एक वर्षअघि प्रदेश खारेज गरौं, जनमतसंग्रहमा जानुपर्छ भन्नुहुन्थ्यो । आज आएर हिन्दू राष्ट्र बनाऔं, संघीयता खारेज गरौं, राजसंस्था पुनःस्थापना गरौं भन्नुहुन्छ । मेरो उहाँप्रति एउटै टिप्पणी भनेको राजनीतिक इमानदारी गर्नुभएन भन्ने हो । उहाँको बेइमानीका कारण आज वैकल्पिक राजनीति धरापमा परेको छ ।
देश बनाउने कुरा आफैंमा अमूर्त छ । कतिपयले यसलाई राम्ररी बुझ्न पनि सकिरहेका हुँदैनन् । खासमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको प्रत्यभूति गर्नु, प्रत्येकले आफ्नो क्षमता अनुसारको अवसर र रोजगारी पाउनु अनि नातावाद-कृपावादबेगर पनि काम बन्नु नै देश बन्नु हो । उद्यमीले आफ्नो व्यापार-व्यवसाय गर्न राम्रो वातावरण पाउनु, झन्झटिलो प्रणालीलाई सहज तुल्याउनु नै देश बन्नु हो ।
मेरो जीवनमा मैले नागरिकताको फोटोकपी ५ रुपैयाँ तिरेर सरकारी कार्यालयमा सयचोटिभन्दा बढी बुझाएको छु । त्यसको के अर्थ ? मैले किन त्यति धेरै फोटोकपी बुझाउनुपरेको हो त्यो आजसम्म बुझेको छैन । मेरो नागरिकताको कपी त सरकारी कार्यालयको प्रणालीमै हुनुपर्ने होइन र ?
आम मानिस पैसाका कारण स्वास्थ्य उपचार नपाएर मर्छु कि भनेर अझै कतिन्जेल पिरोलिइरहने ? मैले कसैलाई नचिने पनि यो देशमा मेरो काम बन्छ भनेर नागरिकले विश्वास गर्न सक्ने अवस्थामा देशलाई पुर्याउने कि नपुर्याउने ? नातावाद कृपावादबिनै राज्यबाट पाउने सुविधाहरू पाउने हो भने पनि धेरै नेपालीको मुहारमा खुसी देख्न पाइनेछ । यसका लागि के के न ठूलो लगानी चाहिन्छ र ? केवल भ्रष्ट नेताहरूलाई पाखा लगाए पुग्छ ।
फेरि पनि वैकल्पिक राजनीतिको कुरा गर्दा अहिले विवेकशील साझा पार्टीमा भएको समस्याका कारण हामी कमजोर भएका छैनौं । बरु हामी अझै बलियो भएका छौं । वैचारिक रूपमा सबै जना स्पष्ट भएका छौं । वैकल्पिक राजनीति बलियो रूपमा स्पष्ट र खारिएर आएको छ ।
हिजोका दिनमा विवेकशील साझा पार्टी एउटा अभियन्ताहरूको समूह मात्र हो भन्ने नागरिकको बुझाइ थियो । हामीलाई माइतीघरमा प्लेकार्ड लिएर बस्ने समूह भन्ने बुझिन्थ्यो । अहिले हामीले वैचारिक पुँजी कमाएका छौं । यही कुरा सिकाउन हाम्रा साथीहरूलाई एउटा बन्द कोठामा बसेर अध्ययन वा प्रशिक्षण गराएको भए समय लाग्थ्यो होला । यो विवादमा हामी अझै खारिएका छौं ।
हामी को हौं, हाम्रो क्षमता के हो र कमजोरी के हुन् भन्नेबारे राम्रोसँग प्रशिक्षित हुने मौका पायौं । हामीले हामीभित्रकै अवसरवादी साथीहरूलाई चाँडै चिनेका छौं । अब हामी वैकल्पिक राजनीतिलाई थप सशक्त रूपमा अगाडि लैजानेछौं । हामी लामो रेसको घोडा हौं । कहिले छिटो, कहिले ढिलो अघि बढिरहेका छौं । एक दिन अवश्य सफल हुनेछौं ।