काठमाडाैंँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
त्यसको समयसीमा आजै साँझ ५ बजे सकिएको हो । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गर्नुभएको थियो ।
दाहालले प्रधानमन्त्रीका रूपमा आज शपथ लिने हुनुभएकाे छ । सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बन्न लाग्नु भएका दाहालकाे शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ।
सत्ता गठबन्धनबाट प्रधानमन्त्रीमा पहिलो कार्यकाल दाबी गर्नुभएका दाहालकाे माग पुरा गर्न कांग्रेस तयार नभएपछि दाहालले एमालेसँग गठबन्धन गर्दै प्रधानमन्त्री पद सुनिश्चित गर्नुभएकाे हाे ।
सात दलको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच बालकोटमा आजै अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको हो।