झापा– ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदछ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ ।’
२०२६ साल ताकातिर गायक जेबी टुहुरेले साहित्यकार लव प्रधानका यी शब्दमा स्वर भरेपछि अहिलेसम्म जनजनमा लोकप्रिय छ यो गीत । राजनीतिक जागरणका लागि जनताको जीवनलाई दुरुस्त उतारिएको यो गीतले उतिबेला पहाडी भूगोलमा गरिबी, अभाव र बेरोजगारीका कारण बसाइँ हिँड्नेको ताँतीले गाउँ नै उजाडेको सन्देश बोकेको छ । तर यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
त्यसो त साहित्यकार लीलबहादुर क्षेत्रीले पूर्वी पहाडको यही जनसांख्यिक विशेषतालाई कथावस्तु बनाएर ‘बसाइँ’ उपन्यास लेख्नुभयो । धने भन्ने पात्रले बिहानीपख उज्यालो नहुँदै पहाडको थातथलो छाड्दा भएको रुवाबासीले कसको मन पगाल्दैन र ! गीत र उपन्यासको यो अभिशप्त जीवनचर्चा अहिले पनि पूर्वी पहाडको नियति बनिरहेकै छ ।
समृद्ध र सुखी समाजको परिकल्पना गर्दै अनेक युग फेरिए पनि यहाँको बसाइँ हिँड्नुपर्ने बाध्यता अझै हटेको छैन । यो तथ्य जनगणनाले पनि प्रष्टै देखाएको छ । वि.संं २०७८ को जनगणनाको प्रारम्भिक नतिजाको मिहिन विश्लेषण गर्दा प्रदेश नं १ का हिमाली र पहाडी क्षेत्रले बसाइँसराइका कारण ठूलो जनसांख्यिक क्षति व्यहोरेको देखिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले गत माघमा सावर्जनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेश नं १ का हिमाली र पहाडी क्षेत्रका ११ जिल्लाको जनसंख्या घट्दै गएको हो । हाल स्थानीय तहहरूमा भएको जनसंख्या र अघिल्लो दशक (वि.सं २०६८ मा गरिएको जनगणना)को नतिजाका आधारमा विश्लेषण गर्दा हिमाली र पहाडी क्षेत्रका ७५ स्थानीय तहमा जनसंख्या घटेका छन् । अर्थात् यी पालिकाहरूको जनसंख्या वृद्धिदर ऋणात्मक छ । तथ्याङ्क कार्यालय मोरङका प्रमुख तीर्थ बरालका अनुसार प्रारम्भिक तथ्याङ्कमा संस्थागत जनसंख्या (होस्टल, ब्यारेक, कार्यालय आवास आदि)को जनसंख्या समेटिएको छैन ।
हिमाल र पहाडमा राज्यले अर्बौं लगानी गरेर विकासका पूर्वाधार पुर्याउने अनवरत प्रयास गरे पनि मानिसहरू नअडिएपछि त्यस क्षेत्रका जनप्रतिनिधि चिन्तित हुन थालेका छन् । यसैगरी मानिसहरू आफ्नो पालिकालाई त्याग्दै नयाँ गन्तव्य खोज्ने हो भने केही दशकपछि जनसंख्या अभावकै कारण हिमाली र पहाडी क्षेत्रका पालिकाहरू एक आपसमा गाभिनु पर्ने स्थिति आउने पो हो कि भन्ने चिन्ता उनीहरूलाई छ ।
‘हिमाली र पहाडी क्षेत्रका पालिकामा निरन्तर जनसंख्या ओरालो लाग्नुले हाम्रो विकासको मोडललाई नै चुनौती थपेको छ,’ लालीगुराँस नगरपालिका तेह्रथुमका प्रमुख अर्जुन मावोहाङ भन्नुहुन्छ, ‘हामी नगरबासीको सुख र समृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी गरिरहने तर नगरबासीहरू हामीलाई छाड्दै तराईतिर बसाइँं सरिरहने । आखिर विकास र मानिसका आकांक्षामा किन तालमेल भइरहेको छैन ? यो चिन्ताको विषय हो ।’
तथ्याङ्क कार्यालय मोरङका अनुसार प्रदेश नं १ का ताप्लेजुङका–८ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकाबाहेक सात तहको जनसंख्या वृद्धिदर घट्दो अवस्थामा छ । पाँचथरको फिदिम नगरपालिकासहित सबै आठवटै तहको जनसंख्या घट्दो अवस्थामा छ । इलामको चुलाचुली र इलाम नगपालिकाबाहेक तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको जनसंख्या निरन्तर घट्दो छ ।
तेह्रथुमका सबै छवटै पालिकामा जनसंख्या घटेको छ । कुनैबेलाको क्षेत्रीय सदरमुकाम भएको जिल्ला धनकुटाका सबै सातवटै तहको जनसंख्या ओरालो लागेको छ । यसैगरी सङ्खुवासभाको खाँदबारी नगरपालिकाकाबाहेक ९ पालिकाको जनसंख्या घटेको छ । भोजपुरका ९ वटै पालिकाको जनसंख्या २०६८ को तुलनामा २०७८ मा घट्यो । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाबाहेक ७ पालिकाको जनसंख्या घट्यो ।
ओखलढुङ्गाका ८ वटै स्थानीय तहको जनसंख्या घट्यो । खोटाङका सबै १० वटै पालिकाको जनसंख्या घटेको छ । भित्री मधेसको जिल्ला उदयपुरको पनि चार गाउँपालिकाको जनसंख्या घटेको छ । यसरी प्रदेश नं १ का १४ मध्ये ११ वटा जिल्लाका ७५ स्थानीय तहको जनसंख्या वृद्धिदर घटेको छ ।
विगतमा खानेपानी, विजुली, इन्टरेट, बाटो केही नहुँदासमेत पहाडी क्षेत्रमै बस्ने रुचाउने मानिसको पछिल्लो समय ठूला शहर बजारतिर बसाइँ सर्ने क्रम बढ्दो रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा पनि प्रष्टै देखिन्छ ।
लालीगुराँस नगरपालिकाकै उदाहरण हेर्ने हो भने पनि २०६८ को तुलनामा २०७८ मा एक हजार ५ सय १६ जना घटेको देखिन्छ । यो अघिल्लो दशकको तुलनामा करिब १ (०.९) प्रतिशत कम हो । जनगणनाको प्रारम्भिक नतिजा अनुसार यो नगरपालिकाको जनसंख्या १५ हजार ४ सय १८ रहेको छ ।
‘अहिलेको भन्दा सरल र सुखी जीवन सबैको चाहना हो, त्यसैले सक्षम र केही पैसा हुनेहरू बसाइँं सरेका कारण हाम्रो जनसंख्या घटेको हो,’ उहाँले भन्नुभयो, ‘जापान, कोरियादेखि साउदीका देशमा श्रम गर्न जानेहरूमध्ये धेरैले आफ्ना परिवार काठमाडौं, विराटनगर र धरानजस्ता ठूला सुविधायुक्त सहरमा सारिसके ।’
माबोहाङका अनुसार जनसंख्या वृद्धिको प्राकृतिक नियमअनुसार जन्मिने दरमै उल्लेख्य कमी भएको होइन र अस्वाभाविक मृत्यु दर बढेर पनि जनसंख्या घटेको होइन । यो सबै बसाइँंसराईकै कारण उत्पन्न परिस्थिति हो ।
तेह्रथुम जिल्लामा चार गाउँपालिका र दुई नगरपालिका छन् । यहाँका पनि सबै पालिकाको जनसंख्या घट्दो छ । आठराई गाउँपालिकामा विगतमा २१ हजार ७ सय ४७ रहेकोमा हाल १८ हजार २ सय १०, छथरमा वि.सं २०६८ मा १६ हजार ७ सय १५ रहेकोमा हाल १४ हजार २ सय ४४, मेन्छ्याम गाउँपालिमा विगतमा ८ हजार ७८ रहेकोमा हाल ६ हजार ६ सय ९८ जनसंख्या छ ।
म्याङलुङमा विगतमा १९ हजार ६ सय ५९ रहेकामा हाल १९ हजार ७८ र फेदाप गाउँपालिकामा वि.सं २०८६ मा १७ हजार ७ सय रहेकोमा हाल १५ हजार २ सय ३६ रहेको जनगणनाको प्रारम्भिक प्रतिवदेनमा उल्लेख छ ।
छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बसाइँ सर्ने क्रमलाई संघीय र प्रदेश सरकारले गम्भीर रूपमा नलिने हो भने १० बर्ष पछि बस्तीहरू जंगलमा परिणत हुने बताउनुभयो । उहाँले पहाडी जिल्लाहरूमा सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाएर भरपर्दो सेवा दिन आवश्यक रहेको बताउनुभयो ।
‘हरेक गाउँका बस्तीमा बाटो पुगेको छ,’ उहाँले भन्नुभयो, ‘तर भरपर्दो रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था नहुँदा त्यही बाटो भएर गाउँलेहरू रातारात बसाइँ सरिरहेका छन् ।’ उहाँका अनुसार पहाडी जिल्लाबाट बसाइँ सर्नेेहरूमध्ये अधिकांशले झापा, सुनसरी र मोरङलाई ज्यादा रोजेका छन् ।
खोटाङको अति दुर्गम मानिने खोटेहाङ्ग गाउँपालिकाका कतिपय वडा बसाइँसराइका कारण खाली हुने अवस्थामा पुगेको पालिका अध्यक्ष उदिनबहादुर राईले बताए । वन्यजन्तुले सताएको र यातायातको असुविधा रहेका कारण यो पालिकाका बासिन्दा बसाइँ सरेको उहाँको भनाई छ । सो पालिकाको जनसंख्या वि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार १९ हजार २ सय ९५ छ । २०६८ सालमा २१ हजार ४४ रहेको थियो । एक दशकमा यो पालिकामा १ हजार ७ सय ४९ जना मानिस घटेका छन् ।
पहाडी क्षेत्रमा जनसंख्या घट्नुको कारण बैदेशिक रोजगारी प्रमुख भएको अध्यक्ष राईले बताए । ‘गाउँमा रोजगारी नपाएर परदेश जाने धेरै छन्, राईले भन्नुभयो, ‘उनीहरूले दुई चार पैसा कमाउँछन्, सुविधा भएको ठाउँमा जग्गा किनेर परिवार सार्छन् । गाउँ त यसरी नै रित्तिने भयो ।’
तथ्याङ्क कार्यालय मोरङका प्रमुख बरालले समग्र राष्ट्रिय स्तरको जनसंख्या बढे पनि प्रदेश १ का पहाडी जिल्लामा घटेको बताउनुभयो । उहाँका अनुसार, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, भोजपुर, धनकुटा, सोलुखम्बु, ओखलढुङ्गा, तेह्रथुम, संखुवासभा र उदयपुरको जनसंख्या घटेको छ ।
तर तराई क्षेत्रमा पर्ने झापा, मोरङ सुनसरीमा २०७८ सालको जनसंख्यामा वृद्धि भएको तथ्याङकमा उल्लेख छ । झापाको जनसंख्या १ देखि ३.४५ प्रतिशत, मोरङको ३.९३ प्रतिशत र सुनसरीको २.३७ प्रतिशतले बढेको देखिन्छ । उहाँले बसाइँसराई न्यूनीकरणका लागि स्थानीयस्तरमै अधिकतम् रोजगारी उपलब्ध गराउने खालका औद्योगिक विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउनमा सरकारले विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।
मानिसको स्वभाव नै घुमन्ते र सुविधाको खोजीमा भौतारिने भएकोले बसाइँ नसर भनेर कसैले कसैलाई रोक्न नसक्ने जनता बहुमखी क्याम्पस इटहरीको जनसंख्या विषयका उपप्राध्यापक बिमल नेपाल बताउनुहुन्छ । हिमाल र पहाडमा जनसंख्याको सन्तुलित वितरणका लागि व्यवस्थित बसाइँंसराईको नीति राज्यले अवलम्बन गर्नु पर्ने उहाँले बताउनुभयो । भौतिक सुविधाहरूलाई पहाडी र हिमाली जिल्लाहरूमा विस्तार गर्न सकिए मात्रै यो क्रम रोकिन सक्ने उहाँले औंल्याउनुभयो ।
‘हिमाली र पहाडी क्षेत्रमा त्यहीँका बासिन्दालाई रोक्ने नीति होइन, तराईका मानिस हिमाली र पहाडी क्षेत्रमा बसाइँ सर्ने स्थिति बनाउनु पर्छ’ नेपालले भन्नुभयो, ‘यसका लागि पालिकाहरूले एकीकृत बस्ती विकास, रोजगारीका नयाँ क्षेत्रको पहिचान र पालिकामा बसाइँ सरेर आउनेलाई विशेष सहुलियत, कृषि र पशुपालनमा आकर्षक कार्यक्रमहरू ल्याउनु पर्दछ ।’ रासस