कर्णाली– घरको सदस्य गुमाउँदा कुन परिवारलाई पीडा हुँदैन ? त्यसमा पनि मातृत्व र पितृत्व दुवै त्यागेर रोजेको जीवन साथी अनि घरको मूल मान्छे गुम्दाको पीडा हरेक श्रीमतीका लागि अझ असह्य हुन्छ । तर सहनुको विकल्प पनि हुँदैन ।
त्यही असह्य पीडा छेडागाड नगरपालिकाको साल्मामा स्थायी घर भई हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा अस्थायी रुपमा बस्दै आएकी पद्मा रावतको जीवनमा पर्यो । विश्वव्यापी महाव्याधिका रुपमा फैलिएको कोरोनाका कारण पद्माले २०७८ वैशाख १७ मा पति बीरबहादुर बुढा गुमाउनु पर्यो ।
वि.सं २०७७ मा मालिका कृषि तथा ड्रागन फ्रुट फर्म स्थापना गरी ड्रागन फ्रुट खेतीबाट कर्णालीको नमूना व्यवसायी बन्ने सपना बुनेर बुढा ड्रागनको बेर्ना लिन सोही सालको चैत अन्त्यतिर भारतको गुजरात पुग्नुभयो । त्यतिबेला भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमणको निकै ठूलो त्रासदी थियो । त्यहाँ व्यापकरूपमा फैलिँदै गएपछि वैशाखमा नेपालमा पनि बन्दाबन्दी गरिएको थियो ।
बेर्ना लिएर नेपाल फर्केको केही दिनपछि उहाँलाई कोरोना सङ्क्रमण देखियो । ‘सङ्क्रमण देखिएपछि उहाँ आफैँले एम्बुलेन्स बोलाएर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जानुभएको थियो । त्यतिबेलासम्म स्वास्थ्यमा खासै समस्या थिएन,’ पद्माले भन्नुभयो, ‘दुर्भाग्य, अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो ।’ बीरबहादुरको निधनले परिवारको भरोसाको खम्बा ढल्यो ।
पति वियोगले उहाँलाई केही समय सम्हालिन गाह्रो भयो । असह्य पीडाले जीवन आँसुको आहालमा परिणत भयो । मावि तथा आधारभूत तहमा पढ्दै गरेका छोरी र छोराले पितृत्व अभावको महसुस गर्न थाले । पद्मालाई जीवन शिशिरको पतझरजस्तो लाग्न थाल्यो । तर पनि छोराछोरी हेरेर चित्त बुझाउनुको विकल्प थिएन ।
पतिले लाखौं ऋण लिएर सुरु गरेको ड्रागन फ्रुट खेती डुब्दै जाने अवस्था आयो । उहाँको विछोडको पीडा एकातिर छँदै थियो, अर्कोतिर त्यो ऋणको भारीबाट कसरी मुक्त हुने भन्ने चिन्ताले पद्मालाई पिरोल्न थाल्यो । सुरु गरिसकेको खेती छोड्ने अवस्था पनि थिएन । ड्रागन फ्रुट खेती उहाँको पतिको जीवनको सपना थियो ।
पद्माको परिवार जाजरकोटको साल्मा पहाडबाट भित्री मधेशमा पर्ने सुर्खेत वीरेन्द्रनगरमा झर्दा धेरै मान्छेसँग चिनजान पनि थिएन । राम्रोसँग रहनसहन नभएको ठाउँमा मर्दा पर्दा गाउँको जस्तो सजिलै दुःख–सुख बाँड्न सक्ने अवस्था हुनु अझ परको कुरो भयो । झनै कोरोना रोगले मृत्यु भएको भन्ने सुनेपछि भेटघाटमा आउने आफन्त र अन्य शुभचिन्तकहरू चाहेर पनि भेट्न मान्दैनथे ।
पति विछोडको वेदना खेप्दै गर्दा रोगको प्रकृतिले पनि झनै पीडा दिलायो, रावतको परिवारलाई । त्यो बेला कोरोना लागेको वा त्यसबाट मृत्युको खबर सुन्नेहरू डरले नजिक नआएरै भाग्थे । कोभिड–१९ लागेको भनेपछि समाजले पनि कमजोर र अपमानित दृष्टिकोणले नजर लगाउँथ्यो ।
समाजको यस किसिमको व्यवहारले पीडा भएर रावतको दैनिकी आँसुको आहालमा परिणत हुन्थ्यो । त्यसबेला उहाँले पतिको सद्गतसमेत आफ्नो संस्कार अनुसार गर्न पाउनुभएन । पतिको अवसानपछि उहाँको पार्थिव शरीर हेर्न र नजिकै गएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्नसमेत पाउनु भएन । टाढैबाट हात हल्लाएर अन्तिम विदाई गर्नुपर्यो ।
‘पीडा र आँसुको आहालबाट तंग्रिन गाह्रो त भयो नै तैपनि संसारलाई हेरें अनि चित्त बुझाउँदै शोकलाई शक्तिमा बदलेर पतिको सपनालाई पूरा गर्ने दृढ सङ्कल्प मनमनै गरें,’ पद्माले भन्नुभयो, ‘छोरा छोरी साथमै छन् । अब धेरै बिलौंना गरेर बाँकी जीवन चल्दैन भन्ने लाग्यो । त्यस दिनदेखि उहाँले बनाएको बाटोमा हिँड्न सुरु गरें ।’
दिवङ्गत बुढाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतस्थित नेवारेमा करिब ३० कट्ठा क्षेत्रफलको जग्गा लिजमा लिएर ड्रागन फ्रुटको बिरुवा रोप्न ६ सय ३४ सिमेन्टको खम्बा ठड्याइसक्नु भएको थियो । २०७८ वैशाखको पहिलो सातासम्म करिब ८५ प्रतिशत काम भइसकेको थियो ।
पतिको निधनपछि फर्म सञ्चालकको जिम्मेवारी बहन गर्दै पद्मा आफैंले ड्रागनका बिरुवा रोप्नुभयो । एउटा खम्बामा चारवटाका दरले रोप्दा ६ सय ३४ खम्बामा करिब २ हजार ६ सय ड्रागनको बिरुवा लगाइएको उहाँले बताउनुभयो । तर बिरुवा लगाउँदा यसको गोडमेल कसरी गर्नु पर्छ र कसरी फल्छ भन्ने उहाँलाई खासै सुझबुझ थिएन ।
प्राविधिक ज्ञान, आर्थिक अभाव र जनशक्ति व्यवस्थापनको राम्रो तयारी नभए पनि दृढ इच्छाशक्तिकै भरमा खेती सुरु गरेको उहाँले बताउनुभयो । ‘यो कस्तो ठाउँमा बढी उत्पादन हुन्छ ? कति पानी चाहिन्छ ? काँटछाँट कसरी गर्ने ? कति पछि, कस्तो फल दिन्छ ? भन्ने कुराको हामीलाई त्यति ज्ञान नै थिएन,’ उहाँले भन्नुभयो, ‘यो त उहाँलाई मात्र थाहा थियो ।’
बीरबहादुरले भने दाङ, चितवनलगायतका नेपालका विभिन्न ठाउँको ड्रागन फ्रुट खेतीको प्राविधिक र वातावरणीय पक्षको ज्ञान लिएर भारतको गुजरातबाट यसको बिरुवा ल्याउनुभएको थियो । त्यो प्राविधिक र वातावरणीय ज्ञान पद्मालाई जानकारी नहुँदै पतिको मृत्यु हुँदा खेती कसरी सुरु गर्ने भन्ने भेउ पाउन गाह्रो भएको थियो ।
खेती सुरु गरेदेखि अहिलेसम्म ७० लाख रुपैयाँ बजेट लगानी भइसकेको पद्माले बताउनुभयो । उहाँका अनुसार यसमा अहिलेसम्म कुनै सरकारी तथा गैरसरकारी निकायबाट सहयोग लिएको छैन । केही आफ्नो र धेरै ऋणकै भरमा लगानी गरेर ड्रागन फ्रुट खेतीलाई यो ठाउँसम्म पु¥याइएको छ । सिँचाइमा भने हेल्भटासले सहयोग गरेको थियो ।
पद्माको मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले अहिले करिब ३० कट्ठामा खेती गरिरहेको छ । वार्षिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी १५ वर्षका लागि उक्त जग्गा लिजमा लिइएको छ । हरेक वर्ष १० प्रतिशतले भाडावृद्धि हुने शर्त छ ।
ड्रागनको फल बजार जान थालेपछि भने पद्माको परिवारमा खुशी छाउन थालेको छ । उहाँ भन्नुहुन्छ, ‘प्रतिकेजी ८ सय रुपैयाँ मूल्यमा फ्रुट बजारमा बिक्री भइरहेको छ । बालबालिकाले आइसक्रिम जस्तो मानेर बढी खाने भएकाले बजारमा माग निकै छ । तर हामीले पुर्याउन सकिरहेका छैनौं ।’ २०७९ साउनमध्यसम्ममा दुई क्विन्टलभन्दा बढी बिक्री भइसकेको उहाँले बताउनुभयो ।
पद्मालाई १७ वर्षीय छोरी सपना बुढाले सहयोग गर्दै आउनुभएको छ । एसइई परीक्षा दिएपछि फुर्सदको समयमा बुबाको सपना पूरा गर्न आफू पनि लागि परेको सपनाले बताउनुभयो । ‘सायद बाबाले आफ्नो सपना पूरा गर्न मेरो नाम पनि सपना राख्नुभएको थियो’, उहाँले भन्नुभयो, ‘त्यसैले यही खेतीलाई नमूना बनाएर बाबाको सपना पूरा गर्न लागि परेको छु ।’
सपनाले आमासँग काम गर्दै यो खेतीका बारेमा धेरै सिकेको बताउनुभयो । उहाँका अनुसार एउटा पिलरमा लगाइएको बिरुवाबाट तीन केजीसम्म फ्रुट फल्ने गर्छ । महिनामा दुईपल्ट उत्पादन दिने यो फल जेठदेखि असोजसम्म फल्छ । यस हिसाबले सामान्यतया एक महिनामा ३ हजार ६ सय र ५ महिनामा १८ हजार केजी ड्रागन फ्रुट उत्पादन हुन्छ । फ्रुट उत्पादनसँगै ड्रागनका बेर्ना पनि फर्मले उत्पादन गरेर २ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । एक पटक लगाएको ड्रागनको बिरुवाले २० देखि ३० वर्षसम्म फल दिने सपनाले बताउनुभयो ।
विगतमा कृषिबारे कुनै ध्यान नभएपनि एसईईको नतिजापछि ड्रागन फ्रुट खेती गर्न सहयोग पुग्ने प्राविधिक विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेको उहाँले जनाउनुभयो । ड्रागन फ्रुट बिक्रीले बुढा परिवारलाई पछिल्लो समय घर खर्च चलाउन र बालबालिकाको पढाई खर्च जुटाउन सहयोग पुगेको छ । आम्दानी बढेसँगै ऋण तिर्न र लगानी उठाउन मद्दत पुग्ने परिवारको अपेक्षा छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले एकल महिलाको प्रयासमा भएको यो खेती वर्णन गर्न लायकको रहेको बताउनुभयो । ‘यो खेतीको उत्पादन र विकास यही रफ्तारमा गयो भने यसले राम्रो आम्दानी दिने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने देखिन्छ ।’
उहाँले मालिका ड्रागन फ्रुट फर्मलाई ८० हजार रुपैयाँसहित एउटा हाते ट्रयाक्टर सहयोग गरिएको बताउनुभयो । निर्देशक रोकायका अनुसार पद्मा रावतसहित कर्णाली प्रदेशमा अहिले ८ हेक्टर अर्थात् ५ विगाहामा ड्रागन फ्रुट खेती भइरहेको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने भएकाले यसलाई ड्रागन भनिएको हो । यसको फल गुलियो र अमिलोपना मिश्रित स्वादको हुन्छ । काण्ड कमजोर हुने भएकाले खम्बा वा अन्य वस्तुको सहारा दिनुपर्ने हुन्छ ।
कर्णाली प्रदेशमा पद्माको प्रयासमा भैरहेको ड्रागन फ्रुट खेतीको हालै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले अवलोकन गर्नुभयो । मन्त्री शाहीले एकल महिलाको एकल प्रयासले भएको सफलताको प्रशंसा गर्दै भन्नुभयो, ‘कृषिका माध्यमबाट कर्णालीको अर्थतन्त्र र आत्मनिर्भरता बढाउन योगदान दिने कृषि व्यवसायीहरूमा रावत एक उदाहरणीय पात्र हुन् ।’ मन्त्री शाहीले फर्म सञ्चालक रावतलाई ड्रागन फ्रुट उत्पादनपछि बिक्रीमा समस्या हुन नदिने आश्वासन दिनुभयो ।
काम गर्दै सिकेको ज्ञान र बाध्यात्मक रुपले थपिएको जिम्मेवारीले गरेको खेती भएकाले व्यावसायिक बन्न केही समय लाग्ने पद्माको बुझाइ छ । ‘मैले पूर्वमन्त्री तथा व्यवसायी लोकेन्द्र विष्ट मगरले दाङमा गरेको ड्रागन फ्रुट खेती पनि हेरें,’ उहाँले भन्नुभयो, ‘त्यहाँको ड्रागन फ्रुट सेतो रङको रहेछ । अनि दाना पनि ठूला रहेछन् ।’
उक्त खेती अवलोकन गर्न र त्यहाँको अनुभव लिन शुल्क तिर्नु परेको सुनाउँदै उहाँले त्यस्तै रुपमा आफू व्यावसायिक बन्न अझै समय लाग्ने बताउनुभयो । ड्रागन फ्रुट खेतीको वरिपरि बलियो बार नहुँदा फलहरू चोरी हुन थालेको दुखेसो पनि उहाँको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा सिँचाइका लागि एउटा बोरिङ भने खनिदने वचन दिएको उहाँले बताउनुभयो । रासस