काठमाडौं– धन योगा फाउण्डेशन नेपालको आयोजनामा नुवाकोटको पञ्चकन्या गाँउपालिका– १, बानियाँटारमा मधुमेहसम्बन्धी निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
‘मधुमेह स्वास्थ लाभ–२०२२’ अन्तर्गत मधुमेहका रोगीलाई लक्ष्यित उक्त कार्यक्रम यही मंसीर १७ गते बानियाँटारस्थित इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको हो ।
शिविरमा त्यस क्षेत्रका ४० वर्षभन्दा बढी उमेरका वासिन्दाको रक्त, रक्तचाप, आँखा तथा दाँत लगायत मधुमेहले असर पार्न सक्ने अंगहरूको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा परीक्षण गराउन उक्त वडाका साथै आसपासका क्षेत्रका सर्वसाधारण आएका थिए ।
शिविरमा डा.किरण ध्वजु, डा. इग्नेश अर्याल, डा.सलीना कार्की र डा. पूजा अर्यालका साथै तिलगंगा आँखा अस्पतालको टोलीले सेवा प्रदान गरेका थिए । पञ्चकन्या गाउँपालिकाका स्वास्थ्य अधिकृत, वडा नं १ र वडा नं २ मा कार्यरत नर्सहरू र इन्द्रयणी माविका कक्षा ९ र १० विद्यार्थी स्वयंसेवकका रूपमा खटिएका थिए ।
राजधानी नजिकैको जिल्ला भए पनि नुवाकोटको उक्त क्षेत्रमा मधुमेहका बिरामी बढ्दै गईरहेको तर आर्थिक लगायत विभिन्न कारणले उनीहरूको नियमित स्वास्थ्य परीक्षण हुन नसकीरहेको जानकारी आएपछि आफ्नो लक्ष्यअनुरुप स्वास्थ्य शिविर सञ्चालन गरेको फाउण्डेसनकी अध्यक्ष स्मृति शर्मा तिवारीले बताउनुभयो ।