बझाङ– आँखैसामु लहरै हिमशृंखला । फराकिला पाटनमा सेताम्मे हिउँ । चिरबिरचिरबिर गर्दै भुर्रभुर्र उडिरहेका चराहरू । झाडी र पाटनमा लुकामारी खेलिरहने कस्तूरी र मृगहरू । अञ्जुलीमा उठाएर पिउँदा अमृत बिर्साउने कञ्चन पानी । अनि कलकल बग्ने खोला । कतै पहाड, कतै खोँच, पाटन र सिमसार ।
सुदूरपश्चिमका चार जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने खप्तडले अनेक विविधता बोकेको छ । २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा पर्ने खप्तड जैविक विविधताको सुन्दर राजधानी हो ।
वास्तवमै खप्तड क्षेत्र अलौकिक छ । सुन्दर छ । अनुपम छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक हिसाबले अद्वितीय छ । खप्तडमा सिजन अनुसार जंगली फूल, हिउँ फूल र हिमाल हेर्न पाइन्छ । यहाँबाट अपी र साइपाल हिमाल प्रस्टै देखिन्छन् । अन्य थुप्रै हिमशृंखला खप्तडको समानान्तर देखिँदा मन प्रफुल्लित हुन्छ ।
यहाँका फराकिला र ठूला पाटनले बेलायतको घाँसे मैदानलाई बिर्साउँछ । खप्तडमा वर्षैभरि घुमे पनि अघाइँदैन ।
दुर्लभ जीवजन्तु, वनस्पति र अनुपम प्राकृतिक छटा भएको खप्तडले भू-स्वर्गको उपमा पाएको छ । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले यस क्षेत्रको घुमफिरपछि लेखेका छन्, ‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एक ज्वलन्त उदाहरण हो, खप्तड ।’
अनेक फूल फुलेर रंगीन हुने खप्तडका पाटनको दृश्य एकदमै लोभलाग्दो हुन्छ । महँगो अत्तर बिर्साउने फूलका मगमग बास्नाले यहाँ आइपुग्ने जोसुकैलाई प्रफुल्लित पार्छ । चैतदेखि कात्तिकसम्मै फूलैफूलले ढाकिने खप्तड हिउँद याममा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश अत्यन्तै मनमोहक र रोमाञ्चक भैदिन्छ । पर्यटकहरू खप्तडमा जुनै बेला पनि रमाउन पाउँछन् । खप्तडबाट प्राकृतिका सौन्दर्यको अविस्मरणीय आनन्द लिन सक्छन् ।
विसं २०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुन्जको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर छ । निकुन्ज कार्यालयका अनुसार यसमध्ये वन क्षेत्र १९९.७३, घाँसे मैदान १३.४७, कृषि भूमि ९ र झाडी बुट्यान २.८० वर्गकिलोमिटर छ ।
यहाँ ५२ पाटन (चौर), ५३ थुम्का र २२ वटा दह छन् । ३ सय ८२ प्रकारका रूख, वनस्पति र जडीबुटीहरू पाइन्छन् । जसमा ५७ प्रजातिका रूख, ७८ प्रजातिका बुट्यान, २ सय ३ प्रजातिका घाँसपात, ८ प्रजातिका लहरा र १९ प्रजातिका उन्यु छन् । खप्तडलाई कालकूट, पाँचऔंले, नीरमसीजस्ता जडीबुटीको भण्डार मानिन्छ । यहाँ लेकसल्लो, भोजपत्र, खस्रु, गुराँस, रानीसल्लो, उत्तिस, महुवा, लौठसल्ला लगायतका रूख वनस्पति पाइन्छन् ।
१२ वटा गुफा रहेको खप्तडमा २ सय ८७ प्रजातिका पन्छी, २३ स्तनधारी, १७ सरिसृप, र ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहाजस्ता दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा लगायत भेटिन्छन् । संरक्षित जीवहरू कस्तूरी मृग, चरीबाघ र ब्वाँसा पनि यहाँ छन् ।
जैविक विविधता र पर्यटकीय दृष्टिले मात्र नभई खप्तडको धार्मिक र पौराणिक महत्व पनि उत्तिकै छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । संस्कृतको ‘खेचर’ शब्द अपभ्रंस हुँदै जाँदा खप्तड भएको स्थानीय बूढापाकाहरू बताउँछन् । खेचरको अर्थ आकाशमा विचरण गर्ने भन्ने हो ।
पौराणिककालमा मायावी शक्ति भएका देवीदेवताहरूले गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने गरेको आर्षपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । देवीदेवता र सिद्धहरूको क्रीडास्थलका रूपमा रहेको खप्तड ऋषिमुनिहरूको पनि तपस्थल मानिन्छ ।
द्वापर युगमा युधिष्ठिर र पाण्डव यतैबाट स्वर्ग गएका पौराणिक मान्यता वा लोकोक्तिहरू छन् । खप्तडको त्रिवेणी धाममा गंगा दशहरामा मेला भरे मोक्ष प्राप्त हुने दह्रो जनविश्वास छ । सहस्त्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भूदेउ ढुङ्गालाई शिव स्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ ।
खप्तड आसपासमा ब्राह्मण, क्षत्री, ठकुरी र जनजातिको उल्लेख्य बसोबास छ । उनीहरूको छुट्टै वेशभूषा र परिचय छ । खप्तडमा हरेक वर्ष जेठ शुक्ल दशमीका दिन लाग्ने गंगादशहरा मेलामा उनीहरूका संस्कृति र परम्पराको मौलिकता देख्न पाइन्छ ।
यिनै अनेकता बोकेको खप्तडले पछिल्लो समय पर्यटकलाई तान्न थालेको छ । कुनै बेला गौचरनमा सीमित खप्तडका पाटनहरूमा बढ्दो प्रचारप्रसारले गर्दा अचेल पर्यटक देखिन थालेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका दारुगाउँका स्थानीय पुष्कर रावल भन्छन्, ‘हाम्रा लागि खप्तड त गोठालो गर्ने, खर्क बस्ने ठाउँ मात्र थियो । अचेल टुरिस्ट घुम्ने ठाउँ भएको छ ।’ १७ वर्षदेखि खप्तड राष्ट्रिय निकुन्जमा कार्यरत कृष्णदत्त अवस्थीका अनुसार पछिल्ला वर्षहरूमा नयाँ अनुहार र उद्देश्यका मानिस आउने क्रम बाक्लिएको छ । तर यस क्षेत्रलाई जति व्यवस्थित बनाउन र पर्यटन प्रवर्धन गराउन सकिन्थ्यो त्योअनुरूप भने बिलकुलै हुन सकिरहको छैन ।
ठूलो लगानी, नगण्य उपलब्धि
प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण खप्तड अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बन्न सक्ने सुदूरपश्चिमको मुख्य पर्यटकीय स्थल हो । तर यति महत्वपूर्ण खप्तडको पर्यटन विकासका लागि भएका प्रयास गतिलो नहुँदा यहाँ राज्यको लगानी मात्रै खेर गएको छैन, निकुन्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि यसबाट पाउनुपर्ने लाभ लिन सकेका छैनन् ।
खप्तडको विकासका लागि सरकारले पछिल्लो एक दशकमा करोडौं खर्च गरे पनि आर्थिक अनियमितताका कारण लगानी अनुसारको उपलब्धि बिलकुलै हुन सकिरहेको छैन । यस क्षेत्रको भूक्षय, खानेपानी, फोहोर व्यवस्थापन, पदमार्ग, गोरेटो र घोडेटो बाटो निर्माण र मर्मतका नाममा पछिल्लो एक दशकमा मात्रै ६१ करोड ७० लाख ९१ हजार ९ सय २२ रुपैयाँ खर्च भैसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खप्तड पर्यटन विकास समिति, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभाग, खप्तड राष्ट्रिय निकुन्ज, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, तत्कालीन, जिविस, गाविस र हालका पालिकाहरूबाट यति ठूलो धनराशि खर्च भैसकेको भए पनि अहिलेसम्म खप्तडमा सुविधायुक्त होटल र ढुक्कले हिँड्न सकिने बाटासमेत बनेका छैनन् ।
यसले गर्दा अथाह सम्भावना हुँदाहुँदै पनि खप्तड आउने पर्यटकको संख्या खासै बढ्न सकेको छैन । २०६४ देखि २०७८ सालसम्म जम्मा ४ सय ५२ जना विदेशी मात्रै खप्तड पुगेको निकुन्जको तथ्याङ्क छ । पछिल्ला वर्षहरूमा वार्षिक ३ देखि ४ हजारको हाराहारीमा स्वदेशी पर्यटक खप्तड पुग्ने गरेका छन् ।
पर्यटकहरूलाई लक्षित गरेर मध्यवर्ती क्षेत्रमा खोलिएका होमस्टेहरू पनि राम्रोसँग चल्न सकेका छैनन् । ‘ठाउँ राम्रो देखेर घुम्न आएकाहरू पनि बस्ने खाने समस्या भएको गुनासो लिएर फर्किन्छन्’ खप्तडको मध्यवर्ती क्षेत्रमा पर्ने बझाङको दारुगाउँमा होमस्टे सञ्चालन गरिरहेका हिरेन्द्र रावल भन्छन्, ‘आएको बजेट नेता कार्यकर्ता खल्तीमा हाल्छन् । त्यहाँ गतिलो कामै हुँदैन ।’ उनका अनुसार, लगानी अनुसारको काम भैदिएको भए अहिले खप्तड आउने पर्यटकको संख्या निकै बढिसकेको हुने थियो ।