डुम्रे (तनहुँ)– तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय पाका किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका ओझा अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउँछन् ।
पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभर नै बास्ना थाहा हुने गरेको सम्झँदै उनी भन्छन्, “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलमा गुलियोपन छैन ।” खेतीपातीमा प्राङ्गारिक मल प्रयोग गर्ने चलन नै हराएकाले पनि चामलकाे स्वाद नभएको उनकाे अनुमान छ ।
“विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको थियाे तर अहिले त्यस्ताे छैन” उनले भने, “ढिँकी, जाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानीपिसानी हुँदा स्वाद फरक परेको हो ।”
अहिले खेतीपाती गर्नु निकै खर्चिलो भएको उले बताए । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको उनले बताए । “भकारीको धान निकाल्नु भन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरु । दुःख किन गर्छन् र ?” उनले प्रश्न गरे ।
आफ्नै खेतबारीमा उत्पादन भएको धान पनि किनेर खानुपर्ने अवस्था आएको बताउँदै उले भने, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानु परेको छ ।” विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने ओझाले केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताए ।
व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले पनि उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए । “खेतीपाती गर्न सकिदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमिन बाँझो छ र किनेर बजारको चामल खानुपर्ने बाध्यता छ,” शाहीले भने । बजारबाट किनेको चामलको मूल्य भन्दा उत्पादन लागत बढी हुने हुँदा युवा पुस्ताले चासो दिन छाडेको उनले बताए ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए । “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्यवृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन,” उनले भने । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमिन बढ्दै जान्छ,” तिवारीले भने ।
यति हुँदा हुँदै पनि चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन बृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । “गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उनले भने । गत वर्ष ३२ हजार आठ सय २४ मेट्रिकटन धान उत्पादन भएकामा यसवर्ष उत्पादन क्षेत्र केही बढेकाे उनले बताए ।
यसवर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले चामल किनेर खानुपर्ने अवस्था रहेको उनले बताए ।
कृषि पेसाबाट विमुख
कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने किसान बढ्दै गएका छन् । आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि युवाले दुःख गर्न नचाहेका हुन् । धान उत्पादनका लागि धेरैखर्च बढ्दा किसानले नै विदेशबाट आयातित चामल किनेर खान थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय दिनानाथ लम्सालले बताए । उनले भने, “पुरानो परम्परागत खेतीपाती गर्ने प्रचलन नै छैन ।”
स्थानीय स्तरमा उत्पादित मल, बीउ हराएको र पूर्ण रुपमा आयातित मल, बीउबिजन हुने भएकोले उत्पादन राम्रो भएको देखिने गरेको उनकाे अनुभव छ । धेरै देखिए पनि यस्ताे खेती प्रणाली दीर्घकालसम्म टिक्दैन । तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने पनि उनले बताए ।
रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने किसानको बुझाइ छ । विगतमा तनहुँ करिब धान उत्पादनमा आत्मनिर्भर रहेको मात्र होइन, अन्यत्र निर्यात समेत हुने गरे पनि हाल आयात हुने गरेको छ । व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँट धान उत्पादनको राम्रा क्षेत्र हुन् ।
देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबेँसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रुपमा जग्गा खण्डीकरण गर्ने र बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ । रासस