काठमाडौँ– आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले आफ्नाे विजय निश्चितप्राय: ठानेकाे याे क्षेत्र विगतदेखि नै पोखरेलकाे पकडमा छ । तर मुख्य प्रतिस्पर्धी पौडेललाई गठबन्धनको साथ रहेकाले पाेखेरलका निम्ति जीतका लागि निकै कसरत गर्नु पर्ने देखिन्छ ।
निर्वाचन मिति नजिकिँदै गर्दा पोखरेल–पौडेल प्रतिस्पर्धा आक्रामक बन्दै गएको छ । यस क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदानमा रहेकाले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ। यस अघिकाे विजेता हुनुका साथै एमालेमा अध्यक्षपछिकाे वरिष्ठ नेता भएकाले समेत पोखरेल पनि आफ्नाे जित कायम नराखि नहुने अवस्थामा छन् । दुवै उम्मेदवार ‘ढुक्क’ हुने स्थितिमा भने छैनन् ।
चुनाव प्रचारका क्रममा एमाले नेता कार्यकर्ताले पाैडेललाई उनी ‘स्थानीय’ नभई ‘टुरिस्ट’ उम्मेदवार भएको भन्दै आइरहेका छन् भने गठवन्धन पक्षधरले पाेखरेललाई ‘पुरानाे र यथास्थितिवादी' भनिरहेका छन् ।
गृहजिल्ला तनहुँ–२ बाट उम्मेदवार सिफारिस भए पनि पार्टीले यहाँबाट उम्मेदवार बनाएपछि पाैडेललाई प्रतिस्पर्धीले ‘टुरिस्ट’ उम्मेदवार भन्ने माैका पाएका हुन् । यस क्षेत्रमा आफूले गरेका विकास निर्माण, राष्ट्रिय राजनीति, स्थानीय तहमा निर्वाह गरेको भूमिका र पार्टीको संगठनलाई पोखरेल पक्षले बलियाे ठानेकाे छ ।
मुख्य प्रतिस्पर्धामा पोखरेल र पाैडेल देखिए पनि निर्णायक कारकहरुका रुपमा स्वतन्त्र उम्मेदवारको भूमिका निकै बलशाली रहने देखिन्छ । प्रतिनिधिसभाका लागि ३० जनाकाे उम्मेदवारी रहेकाे यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रणयशम्सेर राणा उम्मेदवार छन् जाे विगतमा कांग्रेस पृष्ठभूमिका थिए । उनले पाैडेलकाे भाेट काट्नेछन् । अर्का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठ विगतमा एमालेमा थिए जसले पाेखरेलकाे मतलाई थाेरै भए पनि असर पार्न सक्नेछन् ।
यसै क्षेत्रमा विवेकशील पार्टी त्यागेर रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् जसले २०७४ मा विवेकशीलबाट काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा करिब २४ हजार मत ल्याएकी थिइन् । उसपल्ट पनि उनले मतदाता रिझाउन निकै कसरत गरिरहेकी छिन् ।
यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौँ महानगरका २,३,४,५, बूढानीलकण्ठ नगरपालिकाका ३,४,५,६,७ र टोखा नगरपालिकाका २,३,४,५,६,७ वडा छन् ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा याे क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् । स्थानीय तहको चुनावी परिणामलाई हेर्दा एमालेका वडाध्यक्षहरुले कूल १७ हजार नौ सय ५२ मत ल्याएका छन् भने कांग्रेसका वडाध्यक्षहरुकाे १२ हजार पाँच मत आएकाे छ ।
एकीकृत समाजवादीले एक हजार आठ सय ३९ र माओवादी केन्द्रले सात सय २० मत पाएका छन् । सत्ता गठबन्धनमा आबद्ध तीन दलले पाएकाे सबै मत जाेड्ने हाे भने पनि त्याेभन्दा एमाले तीन हजार तीन सय ८८ मतले अगाडि छ।
२०७४ काे संसदीय निर्वाचनमा याे क्षेत्रमा पोखरेलसँग कांग्रेसका डा. प्रकाशशरण महत प्रतिस्पर्धामा उत्रिएका थिए । त्यतिबेला पोखरेलले महतलाई झन्डै १० हजार मतान्तरले हराएका थिए। पोखरेलले २३ हजार २९ मत पाएका थिए भने महतले १३ हजार १ सय ६९ मत ल्याए ।
त्याे भन्दा पनि अघि २०६४ र २०७० मा पोखरेल कांग्रेस उम्मेदवार नरहरि आचार्यसँग यही क्षेत्रमा पराजित भएका थिए।
प्रतिनिधि सभातर्फ निर्वाचन क्षेत्र नं ५ मा ३१ मतदानस्थल र ८१ मतदान केन्द्रबाट कूल ७० हजार नौ सय १९ मतदाता छन् । जसमध्ये महिला ३७ हजार एक सय २५ र पुरुष ३३ हजार सात सय ९१ मतदाता छन् । स्थानीय तहको निर्वाचनपछि करिब ३५ सय नयाँ मतदाता थपिएका छन् ।