काठमाडौं– बलात्कार आरोपी सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको हाे ।
मंगलबारदेखि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । त्यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।
थुनछेक बयानका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ दाबी गरेका थिए । उनी पक्षका वकिलहरुले पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस केन्द्रित गरेका थिए । पीडितले जन्ममिति सच्याएको र उनी नाबालिका नभएको उनीहरुको जिकिर थियो ।
तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने जिकिर गरेका थिए । होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजबाट पनि यो पुष्टि भएको बताउँदै उनीहरुले बलात्कार पुष्टि हुने दाबी गरे ।
लामिछानेले आफैंले भने कोठामा सँगै बसे पनि कुर्सीमा निदाएको र बलात्कार नगरेको दाबी गरेका थिए । पीडित किशाेरीले राति दुई पटक आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको दाबी गरेकी छिन् ।