काठमाडौं– नेकपा एमालेले आगामी चुनावका लागि २० प्रतिबद्धतासहित २० हजार शब्दको घोषणापत्र सार्वजनिक मंगलबार सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल डिस्प्लेमार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा आगामी ५ वर्षमा गर्ने कामलाई निम्न अनुसारका २० बुँदमा (ग्यारेन्टीका रुपमा) संक्षेपीकरण गरेको छ ।
१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने ।
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने ।
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने ।
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने ।
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने ।
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने ।
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने ।
८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने ।
९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क ।
१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क ।
११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने ।
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने ।
१३. ‘व्यवस्थित सहर : स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने ।
१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने ।
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने ।
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने ।
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने ।
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने ।
१९. ‘सभ्य समाज : मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने ।
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने ।
अध्यक्ष ओलीले ओलीले घाेषणापत्र सार्वजनिक गरेपछि बाेल्दै आउँदो निर्वाचनलाई षड्यन्त्रमूलक ढंगबाट विस्थापित गरिएको जनमतलाई पुनर्स्थापित गर्ने मौका भनेका छन् । उनले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको स्पष्टीकरण पनि दिए । उनले जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको प्रष्टीकरण दिएका हुन् ।
‘जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए’ ओलीले भने, ‘पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनका घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरियो ।’
ओलीले आफू प्रधानमन्त्री भएपछि राजनीतिक स्थायीत्व हासिल भएको, प्रणालीगत स्थिरता काम भएको र राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएको बताए । सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएपछि त्यसलाई असफल बनाउने प्रयास भएको उनले बताए ।