कर्णाली– मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो पटक कर्णालीमा विगतमा प्रतिनिधिसभा सदस्य निर्वाचित ११ जना सांसद प्रतिस्पर्धामा छन् ।
दोहोरिनेमा सुर्खेत क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का र नेकपा (एमाले)बाट ध्रुवबहादुर शाही, सुर्खेत क्षेत्र नं २ मा नेपाली कांग्रेसकै हृदयराम थानी, सल्यानमा नेकपा (एकीकृत समाजवादी)बाट प्रकाश ज्वाला, रुकुमपश्चिम र जाजरकोटमा नेकपा (माओवादी केन्द्र)बाट क्रमशः जनार्दन शर्मा र शक्ति बस्नेत छन् ।
दैलेख क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापा, नेकपा एमालेका रवीन्द्रराज शर्मा र दैलखे क्षेत्र नं २ मा एमालेकै लक्ष्मीप्रसाद पोखरेल, कालीकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र डोल्पामा समाजवादीका उम्मेदवार धनबहादुर बुढा छन् ।
उनीहरुमध्ये यसअघि कसैले संविधानसभा त केहीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितिसकेका छन् । निर्वाचन आयोगका अनुसार आसन्न मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नं १ मा एक स्वतन्त्रसहित नौ र क्षेत्र नं २ मा नौ गरी १८ जनाको उम्मेदवारी परेको छ ।
दैलेख १ नं क्षेत्रमा तीन स्वतन्त्रसहित नौ र २ नं क्षेत्रमा पाँच गरी जम्मा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं १ मात्र भएका आठ जिल्लामा सल्यान र रुकुमपश्चिममा तीन/तीन स्वतन्त्रसहित आठ/आठ जना, जाजरकोटमा एक स्वतन्त्रसहित छ जना, कालीकोटमा तीन स्वतन्त्रसहित नौ, जुम्लामा एक स्वतन्त्रसहित पाँच, मुगुमा दुई स्वतन्त्रसहित पाँच, हुम्लामा तीन स्वतन्त्रसहित छ र दुई स्वतन्त्रसहित डोल्पामा छ जनाको उम्मेदवारी परेको छ । गठबन्धनसहित अन्य प्रमुख दलबाट स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या कर्णालीमा २२ पुगेको छ ।
यो चुनावमा गठबन्धन दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा) र नेकपा एमाले त कतै राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । कर्णालीको दैलेख क्षेत्र नं १ र जुम्लामा राप्रपा अन्य दलसँग प्रतिस्पर्धीका रुपमा देखिएको छ ।
सुर्खेत १ नं क्षेत्रमा गठबन्धन दलका साझा उम्मेदवार पूर्णबहादुर खड्का र नेकपा एमालेका ध्रुवबहादुर शाहीबीच प्रतिस्पर्धा हुँदैछ । सुर्खेत क्षेत्र नं २ मा पनि गठबन्धन दलका साझा उम्मेदवार हृदयराम थानी र नेकपा एमालेका अमृतबहादुर बिसीबीच नै प्रतिस्पर्धा हुनेछ । विसं २०७० को संविधानसभा निर्वाचित कांग्रेस नेता थानी पूर्वमन्त्री हुनुहुन्छ ।
दैलेख क्षेत्र नं १ मा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका अम्मरबहादुर थापा र नेकपा एमालेका रवीन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुनेछ । दैलेख क्षेत्र नं १ बाट राप्रपाका कुन्ती शाही पनि चुनावी प्रतिस्पर्धामा उभिनुभएको छ । त्यस्तै क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता दिक्पाल शाही र नेकपा एमालेका नेता लक्ष्मी पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
सल्यानबाट एकीकृत समाजवादीका प्रकाश बुढाथोकी ‘ज्वाला’ले गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । यसअघि प्रदेशसभा सदस्य रहेका ज्वाला यो चुनावमा भने सङ्घीय सांसद पदको चुनावका लागि मैदानमा होमिनुभएको छ । ज्वालाको प्रतिस्पर्धीको रुपमा एमालेका राजेन्द्रवीर राय उम्मेदवार हुनुहुन्छ ।
जाजरकोटमा सत्ता गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेत र नेकपा एमालेका नेता निरज आचार्यबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय राजनीतिका हिसाबले नेता बस्नेत यसअघि स्वास्थ्य तथा जनसङ्ख्या, गृह तथा वनमन्त्री भइसक्नुभएको छ ।
रुकुमपश्चिममा भने नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । उहाँ अर्थमन्त्री हुनुहुन्छ । शर्मासँग नेकपा एमालेका नेता नन्दराम देवकोटा मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा होमिनुभएको छ ।
कालीकोटमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही रहनुभएको छ । शाही विसं २०७४ को चुनावपछि कर्णाली प्रदेशको मुख्यमन्त्री र त्यसअघि सङ्घीय मन्त्री हुनुहुन्थ्यो । उहाँका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता नगिन्द्र शाही हुनुहुन्छ ।
जुम्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) महिला नेत्री गोमा कुँवर, नेकपा एमालेका नेता रतननाथ योगी र राप्रपाका नेता ज्ञानेन्द्र शाहीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल मजदुर किसान पार्टीका नेता डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा उत्रनुभएको छ । नेता काफ्लेले विसं २०७० मा नेमकिपाको समानुपातिक सभासद् भएर संविधानसभामा भाग लिइसक्नुभएको छ ।
जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका डा कलबहादुर रोकायले चुनाव नलड्ने जनाइसक्नुभएको छ । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्यसमेत रहनुभएका उहाँले उम्मेदवारी नझिके पनि प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिनुभएको छ ।
सत्ता गठबन्धनले मुगुमा साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीलाई उठाएको छ । यहाँ पनि शाही र एमालेका उम्मेदवार राजबहादुर कार्कीबीच चुनावी प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिभसा सदस्यका लागि डोल्पाबाट गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा र नेकपा एमालेका गणेशबहादुर शाही प्रतिस्पर्धामा छन् ।
हुम्लामा पनि गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा भइरहेको छ । गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्डुल लामा (कार्चेन) र एमालेका दल रावल चुनावी मैदानमा छन् । लामा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र रावल सामाजिक विकासमन्त्री भइसक्नुभएको छ ।
कर्णालीबाट मङ्गोल नेशनल अर्गनाइजेशन, नेश्नलिष्ट पिपल्स र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन जिल्लामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
कर्णालीका स्वतन्त्र उम्मेदवार
कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ वटा निर्वाचन क्षेत्र छन् । बाह्र सिट मात्र भएको प्रतिनिधिसभा सदस्य पदका लागि २२ जनाको स्वतन्त्र उम्मेदवारी छ ।
स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सल्यानबाट राजेन्द्रबहादुर शाह, डिल्लीबहादुर बुढाथोकी र जुद्धबहादुर सिंह रहेका छन् । डोल्पाबाट बद्मीक्वारी बोहोरा र वीरबहादुर रोकाय, मुगुबाट भीमचन्द्र हमाल र कृष्णबहादुर सेजुवालको स्वतन्त्र उम्मेदवारी परेको छ ।
जुम्लाबाट डा कलबहादुर रोकाय, कालीकोटबाट काशीचन्द्र बराल, धनप्रसाद पाण्डे र लक्षु चौलागाईं, जाजरकोटबाट नरबहादुर कार्की, दैलेख क्षेत्र नं १ बाट गणेशबहादुर शाही, गोपाल नेपाली र निरबहादुर थापा तथा सुर्खेत क्षेत्र नं १ बाट मानसिंह ठकुरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
रुकुमपश्चिमबाट राजन पाण्डे, तारक केसी र लालबहादुर महतको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिएकामध्ये जुम्लाका रोकायले यस अघि नै सत्ता गठबन्धनलाई सघाउने प्रेस विज्ञप्तिमार्फत जानकारी गरासक्नुभएको छ भने रुकुमपश्चिमका तीनै स्वतन्त्र उम्मेदवारले गठबन्धनलाई नै समर्थन गर्ने सहमति भएको माओवादी केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार हाल कर्णालीका १० जिल्लामा १० लाख ८५ हजार चार सय तीन मतदाता छन् । यसमध्ये डोल्पामा २२ हजार चार सय ४०, हुम्लामा ३२ हजार आठ सय ५७, मुगुमा ३४ हजार नौ सय ६२, जुम्लामा ६८ हजार तीन सय ४४ र कालीकोटमा ७२ हजार ८० मतदाता छन् ।
रुकुमपश्चिममा ९२ हजार तीन सय ४७, जाजरकोटमा एक लाख तीन हजार तीन सय ६३, सल्यानमा एक लाख ५७ हजार सात सय एक, दैलेखमा एक लाख ४८ हजार छ सय ७६ र सुर्खेतमा दुई लाख ४३ हजार छ सय १४ जना मतदाता छन् । रासस