अमेरिकी लेखक मार्क ट्विनको एउटा चर्चित भनाई छ, ‘नेता र डाइपर उस्तै हुन्छन् । निरन्तर फेरिरहनु पर्छ ।’ फेर्नु पर्नाको कारण चाहिँ एउटै हुन्छ– दुर्गन्ध ।
नेपालको राजनीति अहिले यस्तै अवस्थामा छ । बेइमान र भ्रष्ट नेताहरूका कारण यो अत्यन्तै दुर्गन्धित भैसकेको छ । त्यसैले यहाँ नेताहरूको एउटा सिंगो सेट नै फेर्ने बेला भएको छ । लामो समय कुर्दै र हेर्दै बसेको नतिजा देखिसकिएको छ । अब पनि पालो परिवर्तनकै आएको छ । अर्को नयाँ क्रान्तिको । मौलिक विचारको । नवीन सोचको ।
एक महिला अधिकारकर्मी लेख्छिन्, ‘जीवन सुरू गर्ने सही वीर्य र देश बनाउने सही नेता करोडौंमा एक मात्र निस्कन्छ ।’ गर्भाशयमा कुन वीर्यकणले अण्डसेचन गर्ला र त्यसबाट कस्तो शिशु जन्मेला त्यो हामीले यकीन गर्न नसकौंला तर भोलिको दिनमा आफू कस्तो शासकबाट शासित हुने हो त्यो नेता छान्न त अवश्य सक्छौं । दुर्भाग्य नै भन्नुपर्छ, सही नेता छान्न हामीले सकिरहेका छैनौं । अब सक्नै पर्छ ।
२००७ सालदेखि नै हामीले थुप्रै नेता पायौं तर लायक नेता पाउन सकेनौं । लायकहरू र नायकहरू कि मध्यम रोजगारी वा व्यवसाय गरेर बसेका छन् वा विदेश भागेका छन् । राज्यसत्तामा नालायक र खलनायकहरूको बाहुल्य छ । सक्षम र लायकहरूलाई त्यहाँ पुग्नै दिइँदैन । पुगे भने पनि केही गर्न र अघि बढ्न दिइँदैन । अक्षमहरू देशमा राज गर्न अनि गरिरहन कसैको गोटी बनिरहेका छन् । कुनै न कुनै ब्यापारिक घरानाको हली बनेका छन् । त्यसैले अब परिवर्तन आवश्यक छ । मौका नेपालीको हातैमा छ । यदि यसलाई उम्कन नदिने हो भने मुलुकले कोल्टे फेर्न संभव छ । अन्यथा हामी सबै उत्तानो पर्ने निश्चित छ ।
आइन्सटाइनको कथन छ, ‘भ्रष्टाचार गर्ने नेता खराब होइनन् तर त्यो सहेर अनि देखेर पनि केही गर्न नसक्ने जनता सबैभन्दा खराब हुन् ।’ यो अभिव्यक्ति हाम्रो सन्दर्भमा एकदमै लागू हुन्छु । हामी आम जनता खराबै त नहौंला तर हामीमा अझै पनि राजनीतिक चेत नभएको वा त्यसको कमी भएको चाहिँ पक्कै हो ।
होइन भने हामी किन बारम्बार तिनै अक्षम नेताहरूलाई चुनिरहन्छौं जो उहिल्यै काम नलाग्ने सावित भइसके ? गन्धे र प्रदूषित व्यक्तिहरूलाई नै किन महान् मानिरहेका छौं ? हरेकपल्टको निर्वाचनमा किन उनीहरूलाई नै विजयी गराईरहेका छौं ?
के अब पनि हामी जनता नजाग्ने ? आँखाको पट्टी खोलेर सही बाटोमा नलाग्ने ? पार्टीका पुराना डाइपरहरूलाई नफाल्ने ? थोत्राथाम्रा र सडेगलेका जति सबैलाई एकैपल्ट डस्टविनमा नहाल्ने ? पटक पटक असफल भइसकेका बुढा नेताहरूलाई विदाई गर्ने यो मौका पनि चुकाउने ?
समय परिवर्तनशिल छ । के हामी मतदाताको सोच चाहिँ परिवर्तन हुनु पर्दैन ? हाम्रा आँखा खुल्नु पर्दैन ? यो पार्टीका हुन् वा त्यो, यतिबेला आम मतदाताले आफ्नै विवेकको निर्मम समीक्षा गर्ने बेला आएको छ ।
देङ्ग स्याओपिङ्गको प्रख्यात भनाइ छ, ‘बिरालो कालो होस् कि सेतो होस्, बस् मुसा मार्नु पर्छ ।’ ढाडे होस् कि पाङ्ग्रे, कुनै बिरालोको कुनै काम हुन्न यदि त्यसले मुसा मार्दैन भने ।
यो देशमा अनेक रूपरङ्गका बिरालाहरूले शासन गरिसके तर मुसा मरेनन् । झन् भन्दा झन् मुसाहरूको संख्या बढ्दै गयो । बाली बिनाश बढेको बढ्यै भयो । कु–सोचका बिरालाले दूधभात मन पराउन छोडे बरु मुसाकै संख्या बढाउनमा फाइदा देख्न थाले । नयाँ नयाँ मुसा पाल्न र खान पल्किए ।
मुसाहरूको संख्या यति बढ्यो कि घर घरै, खेत खेतै बालीनाली सखाप भइरहेको छ । अघाएका ढाडेहरूलाई त्यसको कुनै पर्वाह छैन । त्यसैले अब बेला भएको छ– भएभरका ढाडे बिराला र छुद्र मुसाहरूलाई विदाई गर्ने । मंसिर चार– धूर्त बिरालामाथि प्रहार, दुष्ट मुसाका थुतुनो काट्ने विचार ।
कलहान्तानि हर्म्याणि कुवाक्यान्तं च सौहृदम्।
कुराजान्तानि राष्ट्राणि कुकर्मान्तं यशो नृणाम्॥
संस्कृतका अनेक अमृतवाणीहरू हामीले चिन्नै सकेनौं । यो श्लोकले भन्छ– ‘कलहले परिवार बिग्रन्छ । गलत शब्दको प्रयोगले मित्रता र सम्बन्ध बिग्रन्छ । कुकर्मले इज्जत नाश हुन्छ । खराब शासकका कारण कारण राष्ट्रकै विनाश हुन्छ ।’ साक्षी हाम्रै आँखा अघिल्तिर हाम्रै मुलुक छ ।
राष्ट्रहरू किन विफल हुन्छन् ? (ह्वाई नेसन्स् फेल) पुस्तकमा अर्थशास्त्रीहरू एसमग्लु र रबिन्सन लेख्छन्– यो संसारका धेरै देशहरू असफल हुनुको कारण खराब संस्कार पोखिँदै आउनु हो । उनीहरूले लगभग तीस बर्ष सबैभन्दा असफल भएका र बिग्रेका मुलुकहरूको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । संसारका सबैभन्दा बढि असफल १० मुलुकको सूचीमा नेपाल पनि छ । त्यसका दुई मूल कारण छन्– पहिलो, सत्ता वा शक्तिको लालचपूर्ण ‘राजा–संस्कार’ । दोस्रो, सम्पत्तिवालाहरूसँगको राजनैतिक साँठगाँठ ।
नेपाल मानदेव, अंशुवर्मा, लिच्छवी, मल्ल, शाह हुँदै अनेक राजाहरूको शासनद्वारा चलिरह्यो । इतिहासका यी सबै राजा महाराजा जहिल्यै आफ्नै मोजमस्तीमा बढी कन्द्रित भए । उनीहरूले राज्यस्रोतको दोहन मात्र गरेनन्, विदेशी शक्तिहरूसँग भीख मागेर भए पनि आफू र आफ्ना भाइभारदारको मात्र उन्नति र प्रगति चाहे ।
नेपालमा त्यो राजा–संस्कारको बिऊ यति नराम्ररी रोपियो कि एकपल्ट सत्तामा बसेको वा त्यसको नजिकै पुगेको शासकलाई मृत्युले बाहेक अरु केहीले पनि त्यसबाट छुटाउनै नसक्ने भयो । आजसम्म पनि हामीलाई त्यही ‘राजा–संस्कार’ उखेल्न निकै सकस भइरहेको छ ।
आजका ठुटे राजाहरू पनि त्यही सिको गरिरहेका छन् । स्वाद स्वादका मुसा पाल्दै, आफ्नै मात्र पेट भरिरहेका छन् । यहाँ जनताको जीउधन, घरखेत, अन्नबाली, उचनीच वा न्यायअन्यायको कसैलाई कही मतलब छैन । त्यसैले समय आएको छ यो कुसंस्कारको समूल अन्त्य गर्ने । हेर्ने र कुर्ने समय सकिएको छ । आम नेपालीले दृढ अठोट गर्नु परेको छ– असल नेताको खोजी, मंसिर चारमा रोजीरोजी ।
नेपाललाई सतीले सरापेको देश भन्ने गरिन्छ । सराप्नु पर्नाको कारण अरु केही नभएर यहाँको पदलोलुपता र द्रब्यलोलुपता नै हो । राम्रा मानिसलाई टिक्नै नदिने, माथि पुगेकालाई तानेर भए पनि झार्ने र मार्ने प्रवृत्तिकै कारण हो । दुश्मनसँगै किन नहोस् नसो जोड्ने र आफ्नै घरपरिवार फोड्ने परम्परा नै हो हाम्रो समस्याको जरो ।
हाम्रा व्रmान्तिकारी भनाउँदा नेताहरूले हाम्रै आँखा अघिल्तिर कसैको एक पाउ चोक्टामा लोभिए र उनीहरूले जे गराए, त्यही गरे । ब्यापारीहरूलाई देश दुलो पारेर भए पनि द्रब्य मात्र संकलन गर्नुछ । नेताहरूलाई तिनकै साथ सहयोग चाहिएको छ । त्यसैले देश जोगाउने हो भने अब जनता जाग्नै पर्छ । सबैले प्रण गरौं– मंसिर चार, अन्त्य गरौं नेपाल आमाको चित्कार !
हामीले अहिलेको राजनीतिक नेतृत्वमा व्यापक परिवर्तन गर्न किन जरुरी छ ? किनभने, विद्यमान नेतृत्वमा, कम्तिमा शीर्ष भनिएका नेताहरूमा इमान्दारी देखिएन । भलै उनीहरूमध्ये कोही इमान्दारै होलान् तर देश र जनताप्रति त्यो अभिव्यक्त भएको देखिएन ।
उनीहरूमा सामूहिकताको भावना विल्कुलै छैन, गुट उपगुट चलाउने र त्यसैमा रमाउने बानी बसिसकेको छ । आफ्नो आधिपत्य नमान्ने जसोसुकैलाई लगहत्याउन पछि नपर्ने संर्कीण सोच हावी छ ।
उनीहरूमा अरूको दुःखमा सुख खोज्ने संस्कार छैन । आफ्नो मात्र दुनो सोझ्याउने सोच छ । साम, दाम, दण्ड, भेद जे जे प्रयोग गरेर भए पनि पटक पटक आफैं सत्तामा पुग्नु पर्ने प्रवृत्ति छ ।
अहिलेको नेतृत्व पंक्ति सहजै कसैको गोटी हुन तम्तयार छ । जबकि अन्तर्राष्ट्रिय स्वार्थ समूहहरू हामीलाई जुटाएर हैन फुटाएर आफ्नो अभीष्ट पूरा गर्न लागि परिरहेको छन् । धर्म र जातको आत्मघाती कुस्ती खेलाएर मौका छोप्न उद्यत छन् । अनि हामी स्वाँठहरू पाखुरा सुर्केर एक आपसमा कुस्ती खेल्न रिङ्ग भित्र पस्दै छौं, फस्दैछौं ।
त्यसैले, गब्बरसिंहरूको गिदीमा सुद्धि भर्नकै लागि मात्र भए पनि हामीले यसपल्ट विकल्प खोज्नै पर्छ । नयाँ सोच र सद्विचार भएको कोही नेतृत्वमा आउन सक्छ कि भनेर परख गर्नका लागि मात्रै भए पनि नयाँलाई अवसर दिनै पर्छ । केही नहुनु भन्दा, केही गतिलोको थालनी होला कि भन्ने अपेक्षाले मात्र भए पनि नयाँ पुस्ताका र दाग नलागेका उम्मेदवारहरूलाई जिताउनै पर्छ ।
यदि दुर्गन्धमा बस्दा बस्दा हामीले आफ्नो घ्राणशक्ति नै गुमाईसकेका छैनौं भने, महसुस गरौं– डाइपरहरू दुर्गन्धित छन् । यिनलाई बदल्ने बेला भएको छ ।