काठमाडाैं– अर्थशास्त्री एवं नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीले शनिबार सार्वजनिक गरेको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन्।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको थियो । त्यसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य थिए ।
पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र भनेर दाबी गरेका हुन् ।
‘घोषणापत्रमा मनगढन्ते कुराहरू राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुरा मात्रै राखेका छौँ। वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ। दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्पपत्रमा विकासका लक्ष्यहरू राखेका छौँ,’ उनले भने, ‘स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरू यहाँ ल्याएका छैनौँ। युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएका छौँ। डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने विश्वसनीयताका आधारहरू समावेश गरेका छौँ।’
नेता वाग्लेले घोषाणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे।
नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालीक आर्थिक एजेन्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए।
आयात, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फीतिका विषयहरू रहेका छन्। मुद्रास्फीतिको विषय आगामी सरकार बनेको ६ महिनाभित्रमा समाधान हुने डा. वाग्लेको दाबी छ।