काठमाडौं– आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल २ खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४.९ प्रतिशतले घटेको छ । आयात १३ प्रतिशतले घटेको छ ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ । जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ ।
पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम।एस।ब्लेटलगायत वस्तुको आयात घटेको छ ।