काठमाडौं– नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता । आयोजना हुँदैछ–मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा । खेलकुद आयोजना हुने मिति असोज २८ देखि कात्तिक ३ सम्म हो । तर अचम्म, हालसम्म ७ स्वर्णसहित २७ पदकको छिनोफानो भैसकेको छ ।
सदावहार कारण हो– पूर्वाधार अभाव । तर त्योभन्दा पनि खास कारण हो– लाचार व्यवस्थापन । समय र पूर्वाधार अभावका कारण देखाउँदै केही खेल प्रतियोगिता उद्घाटन नहुँदै सुरु गराइएको छ भने गण्डकी प्रदेशका ८ जिल्लामा हुने भनिएको राष्ट्रिय खेलकुद अन्तर्गतकै पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा खेलिइसकेको छ । महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् ।
२७ पदकको छिनोफानो भइसकेपछि सरकारी अधिकारीहरूले बल्ल प्रतियोगिताको तयारी पूरा भएको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा शुक्रबार गर्नेछन् । समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।
राज्यको जतिसुकै लाचारी र कमजोर व्यवस्थापन रहेपनि खेलाडी र खेलप्रेमीको उत्साह भने तारिफयोग्य छ । त्यसैले त खेलकुदप्रति चासो राख्ने सबैको ध्यान अहिले पोखरा र वरपरका जिल्लामा ज्यादा केन्द्रित छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका जिल्लामा सञ्चालन हुने यस प्रतियोगितामा जम्मा ३६ खेल विधा छन् ।
पोखरामा पहिलोपल्ट २०४० मा दोस्रो राष्ट्रिय खेलकुद आयोजना गरिएको थियो । त्यसयता पोखराले चार दशकपछि पुनः प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
नेपाली खेलकुदको कुम्भमेलासमेत मानिने यस प्रतियोगितामा करिब आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षक सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना संक्रमण्का कारण केही पर सरेको हो ।
प्रतियोगितामा केही खेलविधा तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सातै प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएन) टिमले ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिमन्यास्टिक, ह्याण्डबल, सफ्टटेनिस, सेपाताक्रो, स्क्वास, उसु, जुडो, ‘फुलकन्ट्याक्ट’ कराते, पौडी, हक्की, भारत्तोलन, गल्फ, साइक्लिङ, ट्रायथलन प्याराग्लाइडिङ, आर्चरी, फेन्सिङ, कबड्डी, आइटिएफ तेक्वान्दोे, बास्केटबल, कराते, बुद्धिचाल र कुस्तीलगायत केही प्रदर्शनी खेलविधा समेटिएको छ । प्रतियोगितामा ३ हजार ६ सय ८५ महिलासहित ७ हजार ७ सय ९० खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता आयोजक समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रत्येक टोलीबाट कम्तीमा ३ सय ३५ महिला खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण र तयारीका लागि केन्द्रीय सरकारले प्रत्येक प्रदेशलाई ४९ लाख रूपैयाँ उपलब्ध गराएको थियो ।
प्रतियोगिताको मुख्य आकर्षणका रूपमा यसपटक १० लाख रूपैयाँको लागतमा ‘रनिङ ट्रफी’ तयार गरिएको छ । प्रतियोगिता आयोजनाका लागि संघिय सरकारले ६० करोड रुपैयाँ बजेट निकासा गरेको थियो ।
नेपाली सेना १२ पदकसहित शीर्ष स्थानमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा अहिले महिला क्रिकेट, फेन्सिङ र महिला तथा पुरुष ह्याण्डबल खेल जारी छन् । फेन्सिङमा ६ स्वर्णसहित २४ पदकको टुङ्गो लागेको छ । नेपाली सेना हालसम्म पदक तालिकामा शीर्ष स्थानमा छ ।
आर्मीले दुई स्वर्ण, चार रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ । लुम्बिनी प्रदेशमा तीन वर्षअघि सम्पन्न आठौँ राष्ट्रियमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । आर्मीकी रमाकुमारी सिंह र इन्द्र पौडेलले फेन्सिङमा स्वर्ण प्राप्त गरेका छन् ।
बागमती प्रदेश दुई स्वर्ण र एक कास्यसहित तालिकाको द्वितीय स्थानमा छ । बागमतीका ओमकार सिंह र शिक्षा नापितले फेन्सिङमा स्वर्ण जिते । सशस्त्र प्रहरीको एपिएफ क्लब एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थानमा छ । एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङमा स्वर्ण जिते ।
सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले फेन्सिङमा स्वर्ण जितेका छन् । सुदूरपश्चिमले एक स्वर्ण र एक कास्य जितेको छ । नेपाल प्रहरीको पुलिस क्लबले पुरुष क्रिकेटमा स्वर्ण जितेको छ । आयोजक गण्डकी प्रदेशले हालसम्म एक कास्य पदक प्राप्त गरेको छ । कर्णाली, लुम्बिनी, मधेस, प्रदेश नं १ र एनआरएन हालसम्म पदकविहीन छन् ।