सुर्खेत – मुलुकका विभिन्न भागमा केहीदिन देखि लगातार परेकाे पानीले धानबालीमा क्षति पुर्याएकाे छ । कतिपय ठाउँमा पूरै धानबाली नष्ट भएको छ । धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घट्ने भएकाले किसान चिन्तित छन् ।
अविरल वर्षाका कारण सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिकाकाे पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्रहरु डुबानमा परेका छन् । ती क्षेत्रमा लगाइएका धानबालीमा ठूलाे क्षति पुगेकाे छ ।
वर्षाले बैतडीको दोगडाकेदार गाउँपालिका–३, श्रीकोटका किसानले काटेर सुकाउन निन हालेको धान क्षति पुर्याएको छ । पाँच दिनदेखि लगातार परेको झरीले निनको धान खेतमै उम्रिन थालेको किसानले बताएका छन् ।
दोधारा चाँदनीकी किसान देवकी पन्तका अनुसार वर्षाले धानबालीमा ठूलाे क्षति भएको छ । “चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ । धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ” उनले भनिन् “गतवर्ष जस्तै यसवर्ष पनि धान उत्पादन घट्ने चिन्ता छ ।”
भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि वर्षाले धानमा नराम्ररी क्षति पुर्याएकाे बताए । “सुरुमा धानमा रोग देखिएर क्षति भयो । अहिले भित्र्याउने बेला वर्षाले क्षति पुर्याएकाे छ” उनले भने,“धानका बोट ढलेर खेतमै कुहिन लागेका छन् ।”
कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यसवर्ष पनि केही दिन यता लगातार वर्षाले धानको उत्पादन घट्न सक्ने बताए । “गतवर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पुरयाएको थियो” उनले भने, “यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ । उत्पादन घट्ने नघढ्ने केही दिनपछि थाहा हुन्छ ।” कञ्चनपुरमा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ । रासस