काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्तामा महिलाकाे उपस्थिति निकै न्यून देखिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा आइतबार साँझसम्म समावेश उम्मेदवारी विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत देशभर १ हजार ९ सय ३७ पुरुष र १ सय ९१ महिला गरी कूल २ हजार १ सय २८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ २ हजार ६ सय पुरुष, २ सय ४४ महिला र एक अन्य गरी २ हजार८ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य साँझसम्म जारी रहेको थियो । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
सोमध्ये प्रदेश नं १ मा चार सय ४५ पुरुष, ४९ महिला गरी चार सय ९४, मधेश प्रदेशमा सात सय ११ पुरुष, ५५ महिला र एक अन्य गरी सात सय ६७, बागमती प्रदेशमा पाँच सय ६१ पुरुष, ७४ महिला गरी छ सय ३५, गण्डकी प्रदेशमा एक सय ९९ पुरुष, २९ महिला गरी दुई सय २८, लुम्बिनी प्रदेशमा चार सय १४ पुरुष, २३ महिला गरी चार सय ३७, कर्णाली प्रदेशमा ७९ पुरुष, दुई महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा एक सय ९१ पुरुष, १२ महिला गरी दुई सय तीन उम्मेदवारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।