काठमाडाैं– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएपछि पार्टिहरुभित्र अन्तर्कलहहरु सुरु भएका छन् । पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् ।
पार्टीले टिकट नदिएपछि एमालेका निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पनि पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसका नेता अमरेशकुमार सिंहले पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रदेश (ख) मा महिला सघ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीको स्वतन्त्र उम्मेदवारी छ ।
एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ ।
‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो’, साहले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेँ ।’
प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आइतबार तालाबन्दी गरेका छन् ।
दुई दिन अघिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको नाम फाइनल गरेको भए पनि अन्तिम अवस्थामा थापालाई टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएका हुन् । उता राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपकबहादुर सिंहले मकवानपुर १ बाटै उम्मेदवारी दर्ता गराएका छन् ।