मनाङ- मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।
हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताउनुभयो । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।
थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल (४,९१९ मि.)तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रहेका छन् । “हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ । सोही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भन्नुभयो ।
नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि.) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ । अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पुर्याएको छ । सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरुद्ध छ ।
उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा
यसैबीच उत्तरी गोरखामा पनि हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । असोज महिनाको तेस्रो साता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताउनुभयो ।
“सामागाउँमा आज अपराह्नपछि हिमपात सुरु भएको हो”, उहाँले भन्नुभयो, “हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।” हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
“मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।” सामागाउँमा कैलाश, सिम्रिक र एभरेष्ट एयरका एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।
गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ । (रासस)