चितवन- पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।
गत बुधबार रातिदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।
वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।
दसैँको दुईदिन अघिदेखि भइरहेको अविरल वर्षा नरोकिँदा म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाएका छन् । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताउनुभयो ।
बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध छ । सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै रोकिन बाध्य छन् ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम सडक खण्डको शाखा नदीको बाहव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।
दसैँका बेलामा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दसैँ पर्व मनाउन हिँडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटक बीच सडकमै अलपत्र परेको सडक कार्यालयका सुपरभाइजर शेरचनले बताउनुभयो । बेनी–मालढुङ्गा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ । पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न सकेका छैनन् । खोला बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो गएपछि मानिस पैदल हिँडेर गन्तव्यसम्म पुग्नसक्ने अवस्थासमेत नरहेको स्थानीयवासीले बताए । रासस