वैदिक धर्मका अनुयायीहरूको जीवनपद्धति मूलतः वैदिक शास्त्रबाट निर्दिष्ट हुँदै आएको छ । वैदिक वाङ्मयमा व्यक्ति, कुटुम्ब, कुल, समाज र राष्ट्रलाई व्यवस्थित रूपमा चलाउन विभिन्न नीतिनिर्देश गरिएको थियो । चार वर्ण र चार आश्रमको निर्देश गरिएकाले वैदिक धर्मलाई वर्णाश्रमधर्म पनि भनिन्छ ।
राष्ट्रवासीका लागि राष्ट्रको आवश्यकता पर्छ र त्यसलाई सुव्यवस्थित गर्न राष्ट्रप्रमुखको दरकार पर्छ । त्यसैले राष्ट्रप्रमुखका रूपमा राजामा हुनुपर्ने गुणहरू वेद, वेदाङ्ग, स्मृति, पुराण आदि शास्त्रमा बताइएको छ । राजा भन्नाले अहिले शासक वा नेता भन्ने बुझिन्छ । वैदिक आदर्श राज्यलाई रामराज्य पनि भन्ने गरिन्छ । रामराज्यमा सबैले आआफ्ना धर्म र कर्तव्यको पालन गर्थे भन्ने उल्लेख छ । यसको पनि मुख्य कारण असल राजा वा शासक नै हो ।
वैदिक धर्मका खास लक्ष्य धर्म, अर्थ, काम र मोक्ष हुन् जसलाई चार पुरुषार्थ पनि भनिन्छ । यिनै चार पुरुषार्थ प्राप्तिका निम्ति सन्तुलित जीवन यापन गर्नु हिन्दुहरूको विशेषता हो । त्यसका निम्ति स्वतन्त्र राष्ट्र र सुव्यवस्था आवश्यक हुन्छ । राष्ट्रव्यवस्था राम्रो हुन राम्रो राजा चाहिन्छ । त्यसैले यस आलेखमा राष्ट्र के हो, राष्ट्ररक्षा तथा लोककल्याणका निम्ति कस्तो राजा वा शासक चाहिन्छ र उसमा केकस्ता गुण हुन आवश्यक हुन्छन् भन्ने चर्चा गर्न खोजिएको छ । किनभने युग वा समाज परिवर्तन भए पनि नेता वा शासकमा अपेक्षित गुण आज पनि तिनै हुन् जुन हिजोका दिनमा अपेक्षित थिए ।
राष्ट्र भनेको प्रमुख स्वार्थ र आदर्श समान भएका, कुनै साझा भूभागलाई निवास र जीविकाका लागि आफू अधीनमा राखेका तथा आफू आफू कसैको पनि हितको प्रतिकूल नहुने गरेर मिलिजुली सबैको उन्नतिका लागि काम गर्ने मानिसहरूको समुदाय हो । यस्तै समुदायलाई प्राचीन कालदेखि राष्ट्र मानिँदै आएको कुरा यास्कद्वारा रचित देवताविज्ञान तथा निर्वचनशास्त्र निरुक्तमा बताइएको छ— “तत्रैतन् नरराष्ट्रमिव” (७।२।१) ।
संस्कृत–व्याकरणअनुसार ‘राजन्ते अनेन इति राष्ट्रम्’ यस्तो व्युत्पत्ति राष्ट्र–शब्दको हुन्छ । अर्थात् जसबाट राष्ट्रवासी सबैको समुन्नति हुन्छ त्यो राष्ट्र हो । शुक्लयजुर्वेदमा पनि यस्तै भावना व्यक्त गरिएको छ—
रुचन्नो धेहि ब्राह्मणेषु
रुचं राजसु नस्कृधि ।
रुचं विश्येषु शूद्रेषु
मयि धेहि रुचा रुचम् ।। —१८।४८
हे अग्नि, हाम्रा ब्राह्मणहरूमा तेज स्थापित गर । हाम्रा क्षत्रियहरूमा तेज स्थापित गर । हाम्रा वैश्यहरूमा र शूद्रहरूमा तेज स्थापित गर तथा हामीमा पनि अविच्छिन्न तेज स्थापित गर हाम्रा राष्ट्रका चारै वर्णलाई तेजस्वी बनाऊ) । यसबाट राष्ट्र भनेको त्यसका प्रत्येक सदस्यलाई प्रदीप्तिको समुन्नतिको) उचित अवसर दिने सङ्घटन हो भन्ने कुरा स्पष्ट हुन्छ । वैदिक राष्ट्रगानका रूपमा पनि लिने गरिएको शुक्लयजुर्वेदको अर्को मन्त्रमा पनि सबैको योग अप्राप्तको प्राप्ति) र क्षेम प्राप्तको रक्षा)को प्रार्थना गरिएको छ—
आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा
राष्ट्रे राजन्यः शूर इषव्योऽतिव्याधी महारथो
जायतां दोग्ध्री धेनुर्वोढानड्वानाशुः सप्तिः
पुरन्धिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवाऽस्य
यजमानस्य वीरो जायतां निकामेनिकामे नः
पर्जन्यो वर्षतु फलवत्यो न ओषधयः पच्यन्तां
योगक्षेमो नः कल्पताम् ।। —२२।२२
हे ब्रह्मन्, यस राष्ट्रमा ब्रह्मतेजले अर्थात् वेदाध्ययन र सच्चरित्रले युक्त ब्राह्मण जन्मियोस् । पराक्रमी, धनुर्विद्यामा निपुण, लक्ष्यवेधी र महारथी क्षत्रिय उत्पन्न होओस् । दुधालु गाई, भारी बोक्ने बलियो गोरु र शीघ्रगामी घोडा होऊन् । स्त्री सर्वगुणले सम्पन्न होउन् । रथमा बसेर युद्ध गर्ने व्यक्ति विजयशील होओस् । यस यजमानको सभामा जान योग्य समर्थ वीर पुत्र जन्मियोस् । हामीलाई चाहिएर कामना गरेका–गरेका वेलामा मेघले वर्षा गराओस् । हाम्रा धान, जौ इत्यादि ओषधि फलयुक्त होऊन् । हाम्रो योग र क्षेम होस् ।
यसबाट राष्ट्रमा सबै प्रकारको जनशक्तिको सुव्यवस्था गरिने, त्यस जनशक्तिलाई आआप्mना क्षेत्रमा निपुण बनाइने र विविध प्रकारको भौतिक समृद्धिसमेत राष्ट्रमा हुने परिकल्पना गरिएको कुरा स्पष्ट हुन्छ । अतः वैदिक राष्ट्रले आपूmलाई धार्मिक, सांस्कृतिक, आध्यात्मिक र भौतिक रूपमा पनि समृद्ध बनाउने नीति अवलम्बन गर्ने गर्दथ्यो भन्ने स्पष्ट हुन्छ ।
राष्ट्रलाई नै राज्य पनि भनिएको छ । राज्यसञ्चालन गर्न आवश्यक पर्ने विभिन्न अङ्ग र उपाङ्गहरूको चर्चा स्मृतिहरूमा प्रशस्तै पाइन्छ । राज्यका प्रमुख सात अङ्ग हुन्छन् भनेर मनुस्मृतिमा यसरी बताइएको छ—
स्वाम्यमात्यौ पुरं राष्ट्रं
कोशदण्डौ सुहृत् तथा ।
सप्त प्रकृतयो ह्येताः
सप्ताङ्गं राज्यमुच्यते ।। —९।२९४
१. स्वामी राजा), २. अमात्य (मन्त्री, सचिव, सेनापति इत्यादि), ३. पुर राजधानी, मुख्य दुर्ग), ४. राष्ट्र देशवासिसहित देश), ५. कोश खजाना), ६. दण्ड सेना), ७. मित्र । यी राज्यका सात प्रकृति उपादान ¬कारण) हुन् । त्यसैले राज्यलाई सप्ताङ्ग सात अङ्गले सहित) पनि भनिन्छ । मनुस्मृतिमा यी सात अङ्गको विस्तृत विवेचना पनि गरिएको छ ।
अमरकोषमा २।८।१७–१८) पनि राज्यका सात अङ्गकै उल्लेख पाइन्छ । त्यहाँ पुरलाई दुर्ग र दण्डलाई बल भनिएको छ । राज्यका अङ्गलाई मनुस्मृतिमा र अमरकोषमा प्रकृति पनि भनिएको छ । “राजा प्रकृतिरञ्जनात्” भन्ने रघुवंशमहाकाव्यको ४।११२) उक्तिले यिनै प्रकृतिलाई प्रसन्न पार्ने हुनाले राजालाई राजा भनिएको हो भनेर राजा–शब्दको सार्थकता देखाएको छ ।
राजा वा शासकका गुण
राजा नहुँदा शत्रुबाट राष्ट्रको रक्षा हुन नसक्ने भएकाले राजाको आवश्यकता अनुभव गरिएको हो । असुरसित युद्ध हुँदा देवताहरू हारेका हुनाले उनीहरूले राजा नभएकाले नै आफूले हार्नुपरेको ठहर गरी बलवान् र तेजस्वी इन्द्रलाई राजा बनाए । राजाले राष्ट्रलाई भरणपोषण गरेर धारण गर्ने वैदिक ग्रन्थ शतपथब्राह्मणमा आएकोे छ— “राजानो वै राष्ट्रभृतस्ते हि राष्ट्राणि बिभ्रति” ९।४।१।१) ।
ऋग्वेदमा वरुणलाई “हे राजा वरुण, सत्यद्वारा असत्यलाई छुट्याउँदै मेरा राष्ट्रको आधिपत्य लिनुहोस्” भनेर प्रार्थना गरिएको छ—
ऋतेन राजन्ननृतं विविञ्चन्
मम राष्ट्रस्याऽऽधिपत्यमेहि ।—१०।१२४।५
यसबाट राजाले सत्य र असत्यको राम्ररी विवेक गर्नुपर्ने र आफू पूर्णतया सत्यनिष्ठ भएर राज्यसञ्चालन गर्नुपर्ने स्पष्ट हुन्छ ।
वैदिक मन्त्रहरूमा अन्यत्र पनि राजाका विषयमा प्रशस्त विचार व्यक्त भएका छन् । जस्तै ऋग्वेदका यी दुइ ऋचालाई मनन गरौँ—
आ त्वाऽहार्षमन्तरेधि
ध्रुवस्तिष्ठाऽविचाचलिः ।
विशस्त्वा सर्वा वाञ्छन्तु
मा त्वद् राष्ट्रमधि भ्रशत् ।। —१०।१७३।१
हे राजन्, तिमीलाई हाम्रा राष्ट्रका स्वामीका रूपमा ल्याएँ । तिमी हामीहरूका बीचमा स्वामी होऊ । राष्ट्रमा अविचलित र स्थिर भएर रहू । सबै प्रजाहरूले यिनै हाम्रा राजा होऊन् भनेर तिम्रो चाहना गरून्, हाम्रो यो राष्ट्र तिम्रा हातबाट भ्रष्ट नहोस् ।
ध्रुवा द्यौर् ध्रुवा पृथिवी
ध्रुवासः पर्वता इमे ।
ध्रुवं विश्वमिदं जगद्
ध्रुवो राजा विशामयम् ।। —१०।१७३।४
जसरी द्युलोक, पृथिवी, यी पर्वतहरू र यो सम्पूर्ण जगत्समेत अटल छन् त्यसै गरी यी प्रजाहरूका राजा अटल होऊन् ।
उक्त वैदिक ऋचाहरूमा राष्ट्रमा स्थिर तथा सबल राजा चाहिने र राजाले नै वैदिक राष्ट्रलाई राम्ररी धारण वा सञ्चालन गर्न सक्ने आशय व्यक्त भएको छ । साथै राजाका पदमा बस्ने व्यक्ति आप्mना कर्तव्यहरूबाट कहिल्यै भ्रष्ट नहोस् भन्ने कामना पनि गरिएको छ । प्रजाहरूबाट राजा चुनिनुपर्ने कुराको सङ्केत पनि उक्त पहिलो ऋचामा पाइन्छ ।
वैदिक धर्ममा राजा हुने व्यक्तिमा त्यस पदमा बस्नका लागि आवश्यक पर्ने सद्गुणहरू हुनैपर्छ भन्ने सिद्धान्त छ । राजपदमा बस्ने व्यक्तिका कर्तव्य वा धर्महरू उसका इच्छामा निर्भर हुँदैनन् । ती धर्महरू वेदादिशास्त्रबाट निर्दिष्ट हुन्छन् । राजाका पदमा बस्दा उसले शास्त्रनिर्दिष्ट रूपमा आप्mनो धर्मको पालना गर्नेछु भनेर ब्राह्मणहरूका अगाडि शपथ खानुपर्ने हुन्छ ऐतरेयिब्राह्मण ३९।१) । राजसूय यज्ञ गरेपछि मात्र वास्तविक राजा र वाजपेय यज्ञ गरेपछि मात्र वास्तविक सम्राट् भनिने वैदिक मान्यता रहेको शतपथब्राह्मणमा बताइएको छ—
राजा वै राजसूयेनेष्ट्वा भवति
सम्राड् वाजपेयेन । —९।३।४।८ ।
विष्णुधर्मोत्तरपुराणमा विशेष प्रयत्नपूर्वक परीक्षा गरेर धार्मिक तथा प्रतिज्ञापालक व्यक्तिलाई मात्र राजा बनाउन पर्ने उल्लेख छ ।
तस्मात् सर्वप्रयत्नेन
राष्ट्रमुख्यैर् नरेश्वरः ।
परीक्ष्य पूर्वं कर्तव्यो
धार्मिकः सत्यसङ्गरः ।।—२।२।१५
यसबाट राजा हुने मान्छे धार्मिक हुनैपर्छ, अधार्मिक मान्छेले ठिक प्रकारले प्रजाको रक्षा र पालन गर्नै सक्तैन । यदि अधार्मिक व्यक्ति राजा, नेता वा शासक भइहाल्यो भने उसले पाप र धर्मको वास्ता नगरी जथाभावी कार्य गर्न सक्छ । प्रजा वा जनतालाई दुःख दिन सक्छ । आपूm भोगविलासमा डुबेर राष्ट्रलाई पनि डुबाउन सक्छ । उल्लेखित श्लोकको तात्पर्य पनि यही नै हो ।
वाल्मीकि–रामायणमा राम दशरथका जेठा छोरा भएकाले मात्र होइन विभिन्न गुणले समेत युक्त भएकाले युवराज हुन योग्य छन् भनिएको छ—
धर्मज्ञो गुणवान् दान्तः
कृतज्ञः सत्यवाञ् छुचिः ।
रामो राजसुतो ज्येष्ठो
यौवराज्यमतोऽर्हति ।। —२।८।१४
अर्थात् धर्म जान्ने, गुणी, इन्द्रियविजयी, कृतज्ञ, सत्यनिष्ठ, शुद्ध र राजाका जेठा छोरा पनि राम भएकाले युवराज हुन योग्य छन् ।
राष्ट्र र जनताको रक्षाका लागि असल शासक वा राजनेताको आवश्यकता जुनसुकै युग र समाजमा उत्तिकै हुन्छ । त्यस्तो राजनेताले कसरी चल्नुपर्छ भनेर लोककल्याणका लागि शास्त्र, संविधान वा विधानहरूमा व्यवस्था गरिएको हुन्छ । त्यस्तो समाजको मात्रै सर्वाङ्गीण उन्नति संभव छ, जहाँका शासक असल, सदाचारी, धार्मिक, सत्यनिष्ठ, कर्तव्यपरायण, इन्द्रियविजयी र नियमनिष्ठ हुन्छन् । जनतामा पनि यो चेनता जागृत भयो भने मात्रै उनीहरूले गतिलो शासक चयन गर्न सक्छन् । नभए के हुन्छ, त्यो हामी सबैले देखिरहेकै छौं ।