काठमाडौँ- कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् ।
सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका दर्शकमा १२ दशमलव दुई, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेको देखाएको छ भने समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभई आक्कलझुक्कलरूपमा गर्न थालेको पाइएको छ ।
मुलुकभरका १८ वर्ष उमेरमाथिका पाँच हजार पाँच सय ८२ जना बीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकाष्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ले केही रोचक तथ्यह उजागर गरेको छ, जसले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वसानीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ ।
अध्ययन प्रतिवेदनअनुसार सर्भेक्षणमा सहभागीमध्ये रेडियोको प्रयोगको सङ्ख्या ४५ दशमलव दुई प्रतिशत, टेलिभिजनको प्रयोग ४८ दशमलव पाँच प्रतिशत, मोबाइल र इन्टरनेटको प्रयोगको सङ्ख्या ६३ प्रतिशत र अनलाइन न्यूज पोर्टल प्रयोगको ३० प्रतिशत र पत्रपत्रिका प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् ।
अध्ययन र विश्लेषणमा मधु आचार्यको नेतृत्वमा डा भूमिराज चापागाईँ, डा सुधाम्शु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी सम्लग्न रहनुभएको थियो ।
सोही संस्थाले सन् २०२० मा गरेको यस्तै प्रकारको अध्ययनको तुलनामा रेडियो, टेलिभिजन र पत्रपत्रिकाका प्रयोगकर्ता घटेका छन् । मोबाइल र सामाजिक सञ्जालको प्रयोगकर्ता बढेका छन् । अध्ययनले रेडियो र टेलिभिजन सेटबाट नभई इन्टरनेटको प्रयोगबाट मोबाइलबाटै रेडियो सुन्ने र टेलिभिजन हेर्नेहरू पनि बढिरहेका छन् ।
सूचना तथा प्रसारण विभागको अभिलेखअनुसार देशभरबाट आव २०७७/७८ सम्ममा दर्ता भएका पत्रपत्रिकाको कुल सङ्ख्या सात हजार आठ सय ७४ रहेको छ । यीमध्ये काउन्सिलको वर्गीकरणमा करिब एक हजार पर्ने गरेका छन् । पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन सङ्ख्या घट्न थालेको छन् ।
पत्रपत्रिकाहरूले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् । दूरदराजमा पत्रपत्रिकको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेशा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ ।
प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको पछिल्लो आँकडा तीन हजार छ सय २४ पुगेको छ । काउन्सिलको ४८औँ वार्षिक प्रतिवेदनले पनि सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको उल्लेख गरेको छ ।