काठमाडौं– चाडपर्व नजिकिदै छ । कोरोना कम भएको र चुनाबी माहौल समेत रहेकाले दसैं, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा यसपल्ट बढी यात्रु बाहिरिने अनुमान छ । चाडपर्व लक्षित अग्रिम टिकट बिक्रीले पनि यस वर्ष बढी सर्वसाधारण बाहिरिने देखाएको छ ।
राष्ट्रिय यातायात व्यवसायी महासघं नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीका अनुसार गत वर्ष करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष दोब्बर संख्यामा बाहिरिने अनुमान छ । यस्तो अवस्थामा सवारी साधन र यात्रुको बढी चापले सवारी दुर्घटनाको जोखिम अझ बढ्ने देखिन्छ । त्यसैले सवारी सुरक्षाका हर संभव उपायहरू आजै र अहिल्यैदेखि अपाउन थाल्नु अत्यावश्यक छ ।
- असोज ६ मा मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो । २५ जना घाइते भए । काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको दुर्घनाग्रस्त यात्रु बसमा ३५ यात्रु थिए ।
- असोज ६ मै रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटनामा ५ जनाको मृत्यु भयो । काठमाडौँबाट रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १७ मध्ये १३ जना घाइते भए ।
- असोज ६ मै धादिङको गजुरी गाउँपालिका– १ गजुरी बजारमा काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नंको बसको ठक्करले गजुरीकै आदर्श माविमा अध्ययनरत ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भयो ।
- असोज ६ मै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा १ प १५५१ नं को बसले ठक्कर दिदाँ पैदल यात्रु भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको मृत्यु भयो ।
- असोज ६ कै राति दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । पाँचजना सख्त घाइते भए ।
मुलुकका विभिन्न भागमा एकै दिन भएका यी सवारी दुर्घटनाले हाम्रो मुलुकमा सडक सुरक्षाको अवस्था अत्यन्तै भयावह र दयनीय रहेको देखाएको छ । सडकको दुरावस्था, चालकको लापरबाही, थोत्रा सवारी साधन, यात्रु तथा सवारी साधनको अत्यधिक चापलगायतका कारणले बर्सेनी दुर्घटना बढिरहेका छन् । प्रहरी अभिलेखअनुसार पछिल्लो १० वर्षमा सवारी दुर्घटना करिब तेब्बर बढेको छ । दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् भने घाइतेहरूको संख्या अझ बढी छ ।
दश वर्षअघि (आव २०६८/६९) मा ८ हजार ९२ वटा सवारी दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका थिए । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु भएको थियो भने ४ हजार १९ जना गम्भिर घाइते भएका थिए । त्यसको १० वर्षपछि (आव २०७८/७९) मा सवारी दुर्घटना बढेर २४ हजार पाँच सय ३८ पुगेको छ । उक्त वर्ष ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सात हजार दुई सय ८२ यात्रु गम्भिर घाइते भए ।
दशक अघिको एक वर्ष र दशक पछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटनाको संख्या १६ हजार चार सय ४६ ले बढेको छ भने मानवीय क्षति १ हजार ४६ ले बढेको देखिन्छ । दुर्घटनामा परेका सवारी साधनमध्ये आधाजसो मोटरसाइकल छन् । आर्थिक वर्ष २०७८÷७९ मा कुल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार नौ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । दोस्रोमा जीप/कार आठ हजार नौ सय ७५, त्यसपछि बस दुई हजार सात सय ८६ र चौथोमा ट्रक÷ट्याङ्कर दुई हजार चार सय ७६ दुर्घटना भएको अभिलेख छ ।
दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिप/कार रहेको विवरणले पुष्टि गर्छ ।
प्रहरी प्रधान कार्यालयले केही अघि गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार (तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । सबै तथ्य तथ्यांकले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ ।
तथ्यांकहरूका अनुसार विसं २०७२ सालदेखि सवारी दुर्घटना त्यसअघिको तुलनामा निकै वृद्धि भएको छ । विसं २०७५ सम्म सवारी दुर्घटना संख्या ११ हजार नाघेको थिएन । त्यसपछि त दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा पाँच हजारभन्दा बढी दुर्घटना भए । त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजार कै हाराहारीमा दुर्घटना संख्या बढेको छ ।
यातायात विज्ञ आशिष गजुरेलका अनुसार नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित हुन सकेका छैनन् । ‘सार्वजनिक सवारीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, नीजि क्षेत्रले चाहेका बेला निकाल्ने र थन्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र नै छैन’ उनले भने, ‘त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।’
साँघुरा सडकले जाम र दुर्घटना दुबै बढाउँछन् । कैयन् सडक फुटपाथ विहिन छन् । भएकै फुटपाथ पनि या त मिचिएको छ, नभए पनि सहज आवगमनका लागि योग्य छैनन् । सडक र फुटपाथ दुबै ज्येष्ठ नागरिक, बालिबालिका र अपाङ्ग मैत्री छैनन् ।
सडक पुर्वाधार, सवारी साधनको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन जस्ता सबै पक्ष कमजोर रहेकाले दुर्घटना बढिरहेका छन् । तत्काल उद्धार र राहतको स्थिति पनि नाजुक छ ।
गजुरेलका अनुसार नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत छ । त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्छ । ग्रामिण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिन्छ ।
दुर्घटना कम गराउन राज्यले कम्तिमा वर्षको दुई पटक सवारी साधनको अवस्था प्रमाणित गर्न लगाउनुपर्छ । यो नियम कडाइका साथ पालना गराउनुपर्छ । ‘हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भने जस्तो भएपछि कसरी दुर्घटना कम हुनु ?’ गजुरेलको प्रश्न छ ।
दुर्घटनाको यस्तो भयावह अवस्था देख्दा देख्दै यातायात क्षेत्रका मजदुरले भने २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानून अवैज्ञानिक र अव्यावहारिक रहेको भन्दै सच्याउन माग गरिरहेका छन् । स्वरोजगार यातायात मजदुर संगठन आवद्ध मजदुरले पत्रकार सम्मेलन गर्दै उक्त व्यवस्थाले व्यवसायी र मजदुरलाई मर्कामा पारेको बताएका हुन् । उनीहरूका अनुसार बीस वर्षे सवारीसाधन हटाउने नीतिका कारण गत असार मसान्तसम्म मात्रै साविकका ६ अञ्चलका आठ हजार नौ सवारीसाधन विस्थापित हुने अवस्थामा पुगेका छन् । सबै गरी विस्थापित हुनु पर्ने सवारी साधनको संख्या १० हजार भन्दा बढी छ ।
सरकारले २०७१ असोजदेखि सार्वजनिक सवारी साधनमा २० वर्षे हदम्यादको नीति लागू गरेको थियो । पछि सो अवधिलाई बढाएर २०७३ फागुनदेखि यो नीति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यसवर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई नै व्यवस्थापन गर्न लागिएको छ । रासस