गलकोट, बागलुङ- विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत रुपमै सुनिश्चित गरिसक्नुभएको छ ।
पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको उहाँले बताउनुभयो । “भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन”, ज्याकले भन्नुभयो, “अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।”
बागलुङ सदरमुकाम घुम्नका लागि आउने आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ ? बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँ ।
बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरु अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको बरदानको रुपमा रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको वासिन्दा स्थानीय खिमबहादुर थापाको बताउनुहुन्छ ।
अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइसकेको छ ।
एउटा पर्यटकीय गन्तब्य बन्नका धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलाेकन । यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निर्माण गरिएको छ ।
भकुण्डेको मध्यभागमा सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अर्ग्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् ।
तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोन गर्न सकिन्छ । भकुण्डेस्थित मूलावारीमा रहेकाे हिराताल विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमश्रृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरु सम्मोहित हुने गरेका छन् ।
घरबासमा आएका पहुनाको स्वागत र बिदाई गर्ने संस्कारले घरबासमा आउने पर्यटकहरु लोभिन्छन् । यहाँकाे मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ । भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ ।
घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको शहिदसहितको उद्यान समेत निर्माण भइरहेको छ । क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रुपमा स्याङजाको शिरुबारीमा घरबास सञ्चालन गर्नुभएको थियो ।
आन्तरिक पर्यटकको आकर्षण केन्द्रका रुपमा लिए पनि यहाँको घरबास विदेशी पर्यटकहरु हेलिकप्टरमार्फत समेत आउने गरेका छन् । भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटकहरु आउने गर्दछन् ।
घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा गर्दै यहाँ आउन थालेका छन् । साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् ।
घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडाध्यक्ष तीलबहादुर थापाले बताउनुभयो । थापाका अनुसार यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ, बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो हुँने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पुर्याउन पहल भइरहेको उहाँले बताउनुभयो ।
“यहाँका महिलाहरु चुलाचौकामा मात्रै सीमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरु समेत निर्माणले गति लिएको छ” थापाले भन्नुभयो “अहिले मुख्य समस्या भनेको पानी र सडकको सुधार हो ।
खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ । केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा रहेको छ ।”
बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताउनुभयो ।
“गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शिर्षकमा बर्षेनी बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरे अगाडि बढ्नेछ” उपप्रमुख खड्काले भन्नुभयो । भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसके पनि पर्यटकीय पूर्वाधारमा जोड दिइएको उहाँको भनाइ छ ।