कर्णाली– मुलुकमा दुर्गम क्षेत्र र विषम परिस्थितिको उदाहरण दिनु प¥यो भने सबैको मुखमा आउँछ– कणार्ली । कर्णाली खासमा किन यसरी पछि पर्यो ? के भौगोलिक विकटता मात्रै यहाँको समस्या हो ? यहाँको चेतनास्तर किन माथि उठ्न सकेन ? यी केही यस्ता सवाल हुन् जसको उत्तर कर्णालीका जनताले विगतमा कस्ता नेता पाए र अबको निर्वाचनबाट कस्तो नेतृत्व पाउलान् भन्ने सवालमा गएर जोडिन्छ ।
मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारका प्रस्तावित नाम केन्द्रमा पठाइसकेका छन् । स्थानीय र जिल्ला कमिटी हुँदै प्रदेशमा आइपुगेका प्रस्तावित नाममध्ये दलहरूले आफ्ना अधिकांश मुख्य नेतालाई नै प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेका छन् । कर्णालीका सुर्खेत र दैलेखमा प्रतिनिधिसभाका दुई–दुई तथा बाँकी आठ जिल्लामा एक–एक गरी १२ निर्वाचन क्षेत्र छन् ।
यस प्रदेशबाट प्रस्तावित दलहरूका मुख्य नेताहरूमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय अर्थमन्त्री जनार्दन शर्मा र पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का प्रदेश इञ्चार्ज यामलाल कँडेल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्ती शाही र प्रवक्ता ज्ञानेन्द्र शाही छन् ।
कांग्रेस उपसभापति खड्कालाई पार्टीको जिल्ला कार्यसमितिले सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस गरेको हो । माओवादी केन्द्रले उपसभापति खड्काको क्षेत्रमा कसैलाई सिफारिस गरेको छैन । एमालेले सांसद ध्रुवकुमार शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम पठाएको छ ।
अर्थमन्त्री शर्मा रुकुमपश्चिममा सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । त्यहाँ कांग्रेस र एमालेले तीन–तीन जनाको नाम प्रस्ताव गरी केन्द्रमा पठाएका छन् । कांग्रेसले गोपालजीजङ्ग शाह, प्रेमप्रकाश वली र यामबहादुर केसी तथा एमालेले नन्दराम देवकोटा, प्रवीण नेपाल र सरिता सुनारलाई सिफारिस गरेको छ । माओवादी केन्द्रका अर्का उपमहासचिव बस्नेतलाई जाजरकोटबाट सर्वसम्मत सिफारिस गरिएको छ । जाजरकोटबाट कांग्रेसले पूर्व सभासद राजीवविक्रम शाह र रामजङ्ग शाह तथा एमालेले केन्द्रीय सदस्य नीरज आचार्यलाई सर्वसम्मत सिफारिस गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस गरेको छ । हुम्लाबाट एमालेले प्रतिनिधिसभामा प्रदेशका पूर्वमन्त्री दल रावलको नाम मात्र सिफारिस गरेको छ । कालीकोटबाट माओवादी केन्द्रले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित काशीचन्द्र बराल, विष्णुबहादुर विश्वकर्मा र लक्ष्मीप्रसाद चौलागाईँलाई सिफारिस गरेको छ भने कांग्रेसले युवानेता भूपेन्द्रजङ्ग शाही, मीनबहादुर बोगटी, अशोकनाथ योगी र एमालेले केन्द्रीय सदस्य नगेन्द्र शाहीलाई सर्वसम्मत सिफारिस गरेको छ ।
एकीकृत समाजवादीले सल्यानबाट केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको नाम एकल पठाएको छ । त्यहाँ माओवादी केन्द्रले रमेश मल्ल र सांसद टेकबहादुर बस्नेतको नाम सिफारिस गरेको छ । मल्ल अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव हुनुहुन्छ । सल्यानमा एमालेले गुलाबजङ्ग शाहको नाम एकल नाम पठाएको छ ।
एमाले प्रदेश इञ्चार्ज कँडेलको नाम पनि सुर्खेत २ (क) क्षेत्रबाट प्रदेशसभामा एकल सिफारिस गरिएको छ । उहाँ हाल कर्णाली प्रदेशसभामा विपक्षी दलको नेता हुनुहुन्छ । कांगे्रस प्रदेश सभापति ललितजङ्ग शाही जुम्ला प्रदेशसभा (क) मा सिफारिस हुनुभएको छ ।
एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई दैलेख–१ बाट उक्त पार्टीले प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस गरेको छ । दैलेख–२ बाट एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहसँगै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही पनि प्रतिनिधिसभामा सिफारिस हुनुभएको छ । राप्रपा केन्द्रीय उपाध्यक्ष गिरी सुर्खेत–२, महामन्त्री शाही दैलेख–१ र प्रवक्ता शाही जुम्लाबाट प्रतिनिधिसभामा एकल सिफारिस हुनुभएको छ ।