काठमाडौं– धन योगा फाउण्डेशन नेपालको आयोजनामा नुवाकोटको पञ्चकन्या गाँउपालिका–२ सहरेटारमा मधुमेहसम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भदौ १७ र १८ गते आयोजित उक्त शिविरमा निशुल्क औषधि वितरण र मधुमेहसम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
शिविरमा मधुमेहका बिरामीहरूको रगत, पिसाब, रक्तचाप, फोक्सो, आँखा र दाँत परीक्षण गरिएको थियो । शिविरमा पञ्चकन्या गाउँपालिकाका साथै आसपासका क्षेत्रबाट समेत गरी १ हजारभन्दा बढी स्थानीय सहभागी भएका थिए ।
शिविरमा बालरोग विशेषज्ञ डा. महेश गौतम, आँखा विशेषज्ञ डा. तेजसु सिंह मल्ल, मुटुरोग विशेषज्ञ डा. आनन्द खनाल, जनर फिजिसियन डा. किरण ध्वजु र डा. सुप्रिता श्रेष्ठ, दन्त सर्जन डा. प्रतिभा धमला र डा. सलिना कार्की, शल्यचिकित्सक डा. सुमन श्रेष्ठ, पोषणविद् अमृता घिमिरे, नर्सहरू स्वास्थ्य प्राविधिकहरू र फाउन्डेसनका पदाधिकारीहरूले सेवा पु¥याएका थिए ।
स्वास्थ्य शिविरमा करिब करिब अढाई लाख रूपैयाँ बराबरको औषधिहरूका साथै दाँत सफा गर्न ब्रस र टुथपेष्ट निशुल्क वितरण गरिएको थियो । औषधिहरू क्बेष्ट फर्मास्युटिकल्सले निःशुल्क उपलब्ध गराएको थियो ।
काठमाडौंसँगकै जिल्ला भए पनि नुवाकोटको उक्त क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधारहरूको उचित व्यवस्था नहुँदा स्थानीयवासी उपचारका लागि काठमाडौं धाउनु पर्ने वाध्यता छ । पाको उमेरका व्यक्तिहरूलाई शारीरिक र कतिपयलाई आर्थिकलगायत कारणले काठमाडौं आउन सहज नभएकाले गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको फाउन्डेसनकी अध्यक्ष स्मृति शर्मा तिबारीले बताउनुभयो । उहाँका अनुसार फाउण्डेसनले ६ महिनापछि फेरि यस्तै शिविर सञ्चालन गर्नेछ ।