‘मेरो नाम पुष्पा उपाध्याय हो । म नवलपरासीदेखि आएको हुँ । म पनि यहाँ आउनु भएका अरुहरूजस्तै मिटरब्याज पीडित हुँ । हामी यहाँ कुन अवस्थामा आइरहेका छौं, कुन अवस्थामा बसिरहेका छौं । कुन अवस्थामा खाइरहेका छौं । त्यो सब हाम्रा समस्याहरू, हाम्रा पीडाहरू छन् ।
हाम्रा यत्रा नेताहरू हुनुहुन्छ, तर खोई त आइदिनु भएन ? हामीले फोन गर्दा खेरि पनि, बोलाउँदा खेरि पनि ‘ल हामी आउँछौं’ भन्नुहुन्छ तर उहाँहरू एक चोटी पनि आउनु भएन । भोट माग्न चाहिँ हामीहरूको दैलोमा पुग्नुहुन्छ । तर पीडित जनतालाई भेट गर्नलाई चाहिँ समय छैन ? समय त जति पनि छ नि । उहाँले आउन नखोजेको हो । हामीसँग चैं मिल्न नखोजेको हो । हाम्रो यो पीडा र वेदना कसरी समाधान हुन्छ ? हामी समाधान होला कि भनेर आएको हो । तर हाम्रो केही पनि भएन । केही पनि सुनुवाई भएन । आज एक महिना, १६ गते एक महिना पुग्यो । त्यसैले बालुबाटार जानु परेको हो । हामीलाई मिटरब्याजीहरूले साह्रै दुःख दिए । साह्रै सताए । हामी किसानलाई दलालहरू, लुटखोरहरूले यहाँसम्म पुर्याए । के हाम्रो सरकारलाई हाम्रो दया माया छैन ? दया माया त हुनु पर्यो नि । त्यसैले उहाँहरूले आदेश दिनुहुन्छ भने हामी जान्छौं, नभए यहीँ ज्यान फालेर मर्छौं ।’
पुष्पा उपाध्यायको जस्तै समस्या लिएर विभिन्न जिल्लाका मिटरब्याज पीडितहरू यतिबेला संघिय राजधानीमा आन्दोलनरत छन् । तर सरकारका सम्बद्ध निकायले उनीहरूका गुनासालाई उचित सम्बोधन गर्न सकेका छैनन् ।
माइतीघर मण्डलाको सडकछेउमा आइतबार र्सलाहीकी लीलादेवी कोइरी छोरासहित भेटिइन् । उनीसँगै थिए– महोत्तरीका गोविन्द चौधरी । अलग अलग जिल्लाका यी दुबैको न कुनै नाता सम्बन्ध न पुरानो चिनजान । तर दुबैलाई यहाँ ल्याइपुर्याएको छ उनीहरूको साझा समस्याले ।
चरम गरिबी, अभाव र साहूको शोषण उनीहरूका साझा पहिचान हुन् । कुनै बेला आफ्ना ब्यावहारिक समस्या टार्न मिटरब्याजमा ऋण लिएका लीलादेवी र गोविन्दजस्ता सयौं बिपन्नहरू अहिले ब्याज तिर्न नसकी घरबारविहीन हुने अवस्थामा पुगेका छन् । ‘ऋण दिनेले दियो, हामीले लियौं । बेलैमा तिर्न नसक्दा ब्याज पनि बढ्यो होला,’ पीडित भन्छन्, ‘तर कति बढ्ने भन्ने पनि त सीमा होला नि । जति मनलाग्यो त्यति ब्याज भयो भन्दै हामीलाई उठिबास लगाउन खोजेपछि आन्दोलन गर्नुको के विकल्प छ ?’
लीलादेवी कोइरी भन्छिन्, ‘म मात्रै होइन । मजस्ता पीडित विभिन्न जिल्लामा छन् । यहाँ त सबै एउटा पीडितले सुन्ने अर्कोले सुनाउने मात्र भइरहेको छ । त्यति नै गर्दा पनि धेरै राहत छ ।’
साहूको चर्को ब्याजका कारण आफूहरूको बाँच्ने अधिकारै छिनिन लागेको उनी बताउँछिन् । ‘गरिब हुनु, अशिक्षित हुनु गल्ती हाम्रो होला तर बाँच्नै गाह्रो हुने गरी मान्छेलाई मान्छे नै नगन्नु कति सम्मको अन्याय हो ?,’ दुःख र आक्रोस मिश्रित भावमा उनले भनिन्, ‘हाम्रो आत्मसम्मानको त कुरै छाडौं, बाँच्ने अधिकार पनि खोसिँदैछ । कतिले त कर्जा तिर्न नसकेर आत्महत्या नै गरेका छन् ।’
आफूले लिएको कर्जाको १० गुना पैसा तिर्न साहूले दबाव दिएपछि केही उपाय नलागेर राजधानी आएको उनले बताइन् । ‘मैले जम्मा लिएको १ लाख हो । अहिले १० लाख माग्दैछ । तम्सुक पनि उसैले गराउँछ, उही राख्छ । हुँदा हुँदा अहिले त घरै भत्काइदिन्छु भन्न थालेको छ ।’
जग्गा साहूकै नाममा रहेको र पैसा लिएपछि पनि फिर्ता पास नगरिदिएको उनको गुनासो छ । ‘जवरजस्ती घर बेचिदियो,’ उनले भनिन्, ‘खेत बेचिदियो । बैकको ब्याज लियोस् ठिक छ । पैसा लिएको रिन हामीले तिर्न पर्छ । तर जबरर्जस्ती ब्याजको सियाज त्यसको पनि दोब्बर र तेब्बर लिने ?’ यसो भन्दै गर्दा लीलादेवी झण्डै भण्डै रुन मात्रै सकिनन् ।
‘मैले आफ्नो बालबच्चा पढाउन पनि सकिन । कमाउन पनि सकिन । अब यो मेरो गल्ती हो कि कसको ? न्यायको लागि म कसलाई भनूँ ? कसलाई सोधूँ ?’ उनले प्रश्न गरिन् ।
लीलादेवीसँगै महोत्तरीका चौधरी हातमा एउटा फाइल लिएर बसेका थिए । उनले पनि आफूले ऋण लिँदा गरेको तमसुक, आफुले जग्गा पास गरेको र आफ्नै जग्गा अरुलाई महाजनले बेचेको कागजाज देखाउँदै गुनासो गरे । ‘म यी कागजात देखाउँदै कति ठाउँ चाहारेँ तर कसैले वास्ता गरेन,’ उनले भने ।
विभिन्न जिल्लाका मिटरब्याज पिडितहरूले पीडकहरूलाई कारबाहीको माग राख्दै आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि बालुवाटारसम्म मार्च पास गरे । किसान मजदुर संघर्ष समितिका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध विहान ११ बजे मण्डलामा भेला भएका पीडितहरू दुइ बजे बालुवाटार पुगेका थिए । मिटरब्याजका कारण आफु घरबारविहीन हुँदा पनि सरकारले न्याय नदिएको भन्दै बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको उनीहरूले बताए ।
उनीहरुले ‘दृष्टिबन्धक खारेज गर’, ‘जाजी तमसुक मन्दैनौं’ जस्ता नाराहरू लगाएका थिए । पछिल्लो समय मिटर मिटरब्याजी विरुद्ध विभिन्न जिल्लाहरूमा उजुरी समेत परेको छ । सरकारले पीडितहरूलाई उजुरी दिन आह्वान गरेपछि स्थानीय प्रशासनमा उजुरीहरू परेका हुन् ।